भारतीय ज्यादति कति सहने ?
हालै डोटीका एक नेपाली नागरिकलाई अपहरण गर्ने भारतीय प्रहरीलाई कुनै कारवाही नगरी भारतको जिम्मा लगाएको छ । बिनाइजाजत नेपाल आएका उनीहरुले बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई अपहरण गरेका थिए । आफ्नै घरमा सुतिरहेका लालबहादुरलाई कुटपिट गर्दै नाम्लोले हातखुट्टा बाँधी मुखमा पट्टी लगाई भारततर्फ लैजाने प्रयास भएको थियो । स्थानीयको प्रयासमा प्रशासनले ती भारतीय प्रहरीहरुलाई नियन्त्रणमा त लियो तर उनीहरुलाई बिनाकारवाही भारतीय प्रहरीको जिम्मा लगाई छोडिएको छ । भारतीय प्रहरीले यसअघि पनि नेपाल छिरेर ताण्डब गर्ने गरेको सर्वविदितै छ । भारतले नेपालको सीमा मिच्ने, नेपाली नागरिकको हत्या गर्ने, नेपाली भूभागलाई डुबानमा पार्ने गरी विभिन्न भौतिक संरचनाहरु खडा गर्ने कार्य निरन्तर गर्दै आएको छ । तर, नेपाल सरकार मौन बसिरहेको छ । भारतको मिचाहा प्रवृत्तिविरुद्ध अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुको सट्टा सरकार भारतको दासजस्तो भएर देश र जनताप्रति भएको घात र प्रताडना टुलुटुलु हेरेर बसिरहेको छ । तसर्थ, अब भारतको ज्यादतिविरुद्ध नेपाली जनता नै जाग्नुपर्ने बेला आएको छ । यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले भारतीय हर्कतले देशको सार्वभौमिकता माथि नै गम्भीर धक्का लागेको बताउँदै भारतको हस्तक्षेप र सरकारको लाचारीपनाका विरुद्ध संघर्षमा उत्रन आह्वान गरेको छ । देश र जनताको पक्षमा नेकपाले गरेको उक्त आह्वानलाई सबै राजनैतिक दल र आमस्वाभिमानी नेपाली जनताले साथ र सहयोग गर्नुपर्ने देखिन्छ । अन्यथा देश र जनताको अस्तित्व संकटमा पर्ने निश्चित देखिन्छ ।