दल होइन, देशका लागि सोचौं

२०७४ श्रावण १४ गते, शनिबार

पछिल्लो समय देशको राजनीति थप तरल बन्दै गएको छ । काँग्रेस, एमाले र माओवादी केन्द्रको राजनीतिक सिन्डिकेटको कारण देश द्वन्द्वतिर धकेलिँदैछ । काँग्रेस, एमाले र माओवादी केन्द्रको सत्ता केन्द्रित राजीतिले देश र जनता प्रताडित बन्न पुगेका छन् । यी तीन दलले आफ्नो स्वार्थमा देशको बागडोर केन्द्रित गर्न थालेपछि स्थिति भयावह हुन थालेको हो । स्थानीय निर्वाचन, संविधान संशोधन, प्रदेश र संसद्को चुनावको रटान दिँदै यी तीन दल देशलाई दोहन गर्न तल्लिन छन् । आपूmलाई ठूला दल ठान्ने र आपूmलाई राजनेता मान्ने यिनीहरुको अहंकारी शैलीले गर्दा देश र जनता दिनप्रतिदिन थप प्रताडित बन्न पुगेका छन् । देश र जनता, शान्ति र संविधानको पुराण वाचन गरेर नथाक्ने यी दलहरुको आन्तरिक झगडा पनि अचम्मको छ । यी तीनै दल भित्रभित्रै धमिरा लागेको काठ जस्तो भएका छन् । ती दल भित्र यति धेरै गुट, उपगुट छन्, जुन बयान गरेर साध्य छैन । आफ्नै पार्टी सम्हाल्न नसक्ने र कुन बेला धराशयी हुने हो भन्ने हेक्का राख्न नसक्ने यी दलहरुबाट देश र जनताको अग्रगमन हुनै सक्दैन । यही कुराको आत्मसमीक्षा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी विघटनको प्रस्ताव नै राखिसकेको समाचार सञ्चार माध्यममा आएको छ । यो अब माओवादी केन्द्रले मात्र होइन, नेपालका तमाम अग्रगामी र परिवर्तनकारी सोच भएका दलहरुले आत्मसमीक्षा गर्नैपर्छ । वर्तमान संकटबाट देश र जनतालाई पार लगाउन र समृद्ध अनि स्वाधीन राष्ट्र बनाउन सबै क्रान्तिकारी दल एकजुट हुनैपर्छ । त्यसैले वर्तमान स्थितिमा देश र जनताको मुक्तिको लागि मैदानमा उत्रिएको नेकपालाई सबैले साथ र सहयोग गर्नु आवश्यक देखिन्छ । नेपालका तमाम क्रान्तिकारी दलहरु नेकपामा गोलबद्ध भएर अघि बढ्ने हो भने वर्तमान संकटबाट पार पाउन कुनै कठिन छैन ।

प्रतिक्रियाहरु

[anycomment]