संसदवादीहरुको लहड
यतिबेला देशको राजनीति थप तरल भएको छ । संसदवादी दलहरु सत्तालाई आफ्नो कब्जामा पु-याउन आ–आफ्नो झुण्ड बनाउन तल्लिन छन् । नेकपा माओवादी केन्द्र, एमाले र नयाँ शक्तिबीच चुनावी तालमेला र त्यसपछि पार्टी एकीकरणको सहमति भएपछि नेपाली काँग्रेसले पनि राप्रपा, राजपालगायतका दलहरु समेटेर आफ्नो छुट्टै झुण्ड बनाएको छ । देशमा भ्रष्टाचार, कालोबजारी र महँगीले सीमा नाघेको छ । विकास निर्माणका कार्यहरु लथालिङ्ग छ । जनता साँझ–बिहानको छाक टार्न नसकेर हैरान छन्, भूकम्प, बाढीपहिरो पीडित वर्षौंदेखि खुला आकाशमा रात काट्न बाध्य छन् । तर, यी संसद्वादी दलहरुलाई कुनै चिन्ता र चासो छैन । यिनीहरु आफ्नो लुटको स्वर्ग कायम राख्न तल्लिन छन् । त्यसैले यस्तो अवस्थामा अब जनता जाग्नुको विकल्प छैन । यी संसद्वादी दलहरुको लहडलाई बेलैमा लगाम लगाउन नसके देशकै अस्तित्व नामेट हुने अवस्था आइसकेको छ । तसर्थ, देश र जनतालाई यो संकटबाट पार लगाउन नेकपाले अघि सारेको एकीकृत जनक्रान्तिले मात्र सम्भव छ । त्यसैले अब आमपरिवर्तनकारी र क्रान्तिकारी दल, नेता र जनताहरुले नेकपालाई साथ दिई एकीकृत जनक्रान्तिलाई सफल पार्न कम्मर कस्नुको विकल्प छैन । अन्यथा यो देश नरहन सक्छ । त्यसैले संसद्वादी दलहरुको शान्ति र संविधानको ललीपपमा रमाउनु भनेको देशमा द्वन्द्व निम्त्याउनु र नेपाली जनतालाई भड्खालोमा हाल्ने कार्य मात्र हो । यसर्थ, अब सबै नेपाली जनता जाग्नैपर्छ र यी संसद्वादी दलहरुको जरो उखेल्नैपर्छ । अन्यथा स्थिति भयावह हुने निश्चित छ, चेतना भया ।