रातारात प्रचण्डदरबारमा घुम्टो ओढ्नेहरू – खेम थपलिया
“पुँजीवादी उत्पादनको महान् सौन्दर्य के कुरामा निहित हुन्छ भने त्यसले केवल मजदुरीमा काम गर्ने व्यक्तिको पुनरुत्पादन निरन्तर रूपमा मजदुरीमै काम गर्ने मजदुरकै रूपमा गर्दै जाने मात्र नभएर पुँजीको सञ्चयको अनुपातमा सधैँ मजदुरीमा काम गर्ने मजदुरलाई सापेक्ष दृष्टिकोणबाट अतिरिक्त बासिन्दाको रूपमा उत्पादन गर्दै जानेसमेत काम गर्दछ । श्रमको आपूर्ति र मागको नियम सधैँ एउटा सही लिकमा चल्ने हुनाले मजदुरहरूको उतार–चढाव कहिल्यै पनि पुँजीवादी शोषणको लागि सुविधाको स्थिरताभन्दा बाहिर जान सक्दैन ।”
– कार्ल माक्र्स
“युद्धबाट सिर्जित विध्वंसको कारण एउटा आम क्रान्तिकारी सङ्कट पैदा भएको छ, जसको दीर्घकालिक र अप्ठ्यारा चरणहरूका बाबजुद सर्वहाराक्रान्ति र यसको विजयबाहेक अन्य कुनै तरिकाले अन्त्य हुन सक्दैन ।”
– भीआई लेनिन
“सम्पूर्ण प्रतित्रियावादीहरू कागजी बाघ हुन् । देखाइमा, प्रतिक्रियावादीहरूले आतङ्कित पारिरहेका छन् तर यथार्थमा तिनीहरू त्यति शक्तिशाली छैनन्् । दीर्घकालिक दृष्टिले हेर्ने हो भने प्रतिक्रियावादीहरू होइन, जनता नै वास्तविक अर्थमा शक्तिशाली छन् । … जतिबेला साम्राज्यवादको अन्त्य गरिनेछ, त्यतिबेला मात्र शान्ति स्थापित हुनेछ । कागजी बाघहरू बढारिएको दिन आउनेछ तर उनीहरू आफैँ र आफ्नै कारणले मात्र समाप्त हुनेछैनन््, उनीहरू हुरी र झरीबाट चुटिनु आवश्यक छ ।”
– माओ त्से तुङ
उपर्युल्लिखित विश्व कम्युनिस्ट नेताहरू कार्ल माक्र्स, भीआई लेनिन र माओ त्से तुङका महत्वपूर्ण भनाइको एउटै अर्थ हुन्छ, साम्राज्यवादीहरूको अन्त्य अनिवार्य छ र सर्वहारावर्गको अर्थात् कम्युनिस्टहरूको विजय पनि अनिवार्य छ । यो माक्र्सवादी प्रस्तावना हो । यसको निम्ति पार्टी र पार्टीजीवनलाई बुझ्नु अनिवार्य हुन्छ । हरेक वस्तु दुईमा विभाजन हुन्छन् । यो कुरा पार्टीजीवनमा पनि लागू हुन्छ । जसरी पार्टीजीवनमा एकता र फुट एक सिक्काका दुई पाटा हुन्छन्, त्यसैगरी पार्टीमा कोही मानिस भित्रिनु वा पार्टीबाट बाहिरिनुलाई पनि एकसिक्काका दुई पाटाका रूपमा बुझ्नुपर्दछ । कुनै सन्दर्भमा एकता फुट र अर्को सन्दर्भमा फुट एकता पनि हुने गरेजस्तै एक सन्दर्भमा कोही मानिस पार्टीमा भित्रिनु फुट वा विभाजन हुन्छ भने कोही बाहिरिनु पनि एकता हुन जान्छ । यसमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । यसलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट हेर्नुपर्दछ । बुर्जुवाहरूमा मात्र होइन, कम्युनिस्टहरूका लागि क्रान्तिकारी कार्यदिशाबिनाको आगमन र बहिर्गमनको कुनै अर्थ हुँदैन । वैचारिक तथा दार्शनिक आधारबिनाको आगमन वा बहिर्गमनको कुरा गर्नेहरू तथा लगिलिगेदौडको शैलीमा रातारात प्रचण्डदरबारमा घुम्टो ओढ्नेहरूले कम्युनिस्टहरूबीचको एकता वा ध्रुबीकरकणमा जति नोक्सान पु¥याएको हुन्छ, सायद दुनियाँमा त्यति अरू कसैले पनि त्यति नोक्सान पु¥याएका हुँदैनन् । नेपाली राजनीतिमा देखापरेको पछिल्लो वामगठबन्धन र लोकतान्त्रिक गठबन्धन दलाल संसदीय पुँजीवादी पनि एकसिक्काका दुई पाटा हुन् । सही कार्यदिशाबिनाको एकता, बहिर्गमन वा विलोपीकरण क्रान्तिकारी आन्दोलनमा भयानक मूर्खता हो । यतिखेर प्रचण्ड आफ्नो शरीरमा बाँकी रहेको एक मात्र लगौंटीको रक्षा गर्न एमालेको कथित राष्ट्रवादी चौपलमुनि ओत लाग्न पुगेका छन् । दलाल संसद्वादमा चुर्लुम्म डुबेका प्रचण्डको ‘माओवादी छाला’ सायद अब केही महिना मात्र बाँकी छ । अब संसारलाई थाहा भइसकेको छ कि प्रचण्डपन्थी संसदीय दुर्गन्धित सहवासले कुनै पनि हालतमा उज्ज्वल भविष्यको जन्म दिन सक्तैन ।
क्रान्तिकारीहरूले अब वैचारिक, राजनीतिक र सङ्गठनात्मक क्रमभङ्ग गर्दै दलाल संसद्वादको धज्जी उडाइदिनुपर्दछ, तिनको संसदीय गजुरमा आगो झोसिदिनुपर्दछ । क्रान्तिकारीहरू बाज बन्नुपर्दछ यसै भनिएको होइन । कमरेडहरू यो कुराको पनि स्मरण गरौँ कि नेपाल कम्युनिस्ट पार्टी प्रचण्डसितै रहिरहेको भए यो शक्ति पनि प्रचण्डसँगै संसद्वादी प्रतिक्रियावादमा पतन भइसक्ने थियो, त्यसबाट यो शक्ति जोगिएको छ । मोहन वैद्यसित रहिरहेको भए यो शक्ति पनि छद्म संशोधनवादी अकर्मण्यतामा फसिसकेको हुन्थ्यो तर त्यसबाट पनि अहिले यो शक्ति जोगिएको छ । वर्गसङ्घर्षका विभिन्न मोडहरूबाट जोगिएर आएका कमरेडहरूको पार्टी बहिर्गमन नभइदिएको भए हुन्थ्यो भन्ने लाग्न सक्छ तर राजनीतिमा वैयक्तिक स्वतन्त्रता पनि त हुन्छ । फेरि पनि यो कुरा पनि सत्य हो कि विभिन्न पार्टीबाट क्रान्तिकारीहरूको आगमन पनि भइरहेकै छ । कालो खानेको न जिब्रो कालो हुन्छ, नखानेले किन चिन्ता लिनु ! गोलो पृथ्वीमा नेपाल कति ठूलो छ र ! फेरि पनि त भेट हुन सक्छ । नेपालको तरल राजनीतिमा कतिखेर कोसित विछोड हुने र कोसित मिलन हुने कुराको भविष्यवाणी गर्ने कोही ज्योतिषी होलान् जस्तो लाग्दैन । पार्टीमा असल, इमानदार र प्रतिबद्ध कमरेडहरूको आगमनको रफ्तार पनि त तीब्रतामा छ । मलाई लाग्छ, हाम्रो पार्टीजीवनका पछिल्ला परिघटनाले सतहमा केही अप्रिय र नमज्जा जस्तो लागे पनि सारतः यो क्रान्तिकारीहरूलाई ठूलो अवसर हो । अनेत्र जस्तै राजनीतिमा पनि विजातीय वस्तुलाई जबरजस्ती मिलाउनुहुँदैन, जसरी तेल र पानी मरिगए पनि मिल्दैनन् । हामीलाई थाहा, हरेक घटनामा आन्तरिक पक्ष प्रधान हुन्छ । हामीले आन्तरिक पक्षमा जोड र बाह्य पक्षमा ध्यान दिनुपर्दछ । मानिसलाई देवत्वकरण र राक्षसीकरण गर्ने दुवै तरिका गलत छन् । तसर्थ, पार्टीबाट केही नेताको बहिर्गमनको परिघटना क्रान्तिकारी शक्तिहरूबीचको एकताको सुरुआत र क्रान्तिकारी सङ्घर्षको सुनिश्चितता पनि हो । यो एकीकृत जनक्रान्तिको प्रभावकारिता र वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको अवश्यम्भाविता पनि हो । नेपाली राजनीतिमा देखापरेका पछिल्ला परिघटनाले एकीकृत जनक्रान्तिको साथमा सर्वहारा सांस्कृतिक क्रान्तिको झन्डालाई माथि उठाउनु अत्यावश्यक भइसकेको तथ्यलाई नै जोड गर्दछ ।
साथै, यतिखेर नेपाली समाजमा चाडपर्वको माहोल छ । भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादले विश्वलाई नै खर्लप्पै निल्न लागेको यतिबेला हाम्रा चाडपर्व, सांस्कृतिक मूल्य–मान्यता दलाल पुँजीवादको नाफा कमाउने माध्यममा रूपान्तरण भएका छन् । हाम्रा पर्वहरू अर्थवादमा फेरिएका छन् । यतिखेर मानिसका दिमागमा मात्र छ– पैसा, पैसा फेरि पनि पैसा । ताजुव त यो छ कि परम्परागत चाडपर्वलाई प्रगतिशीलीकरण, जनपक्षीकरण, वैज्ञानिकीकरण गर्न भनेर सबैभन्दा अघिल्लो लहरमा उभिएका व्यक्ति, शक्ति वा संस्थाहरू पनि नूतन सांस्कृतिक मूल्यका विरुद्ध खडा भएका छन् । यस्तै हो भने तिम्रा सांस्कृतिक रूपान्तरणका गफ टुकुचासिवाय केही होइनन् । यो नेपाली राजनीतिमा देखापरेका विकृत–मनोविज्ञान र तौर–तरिकाले पारेको प्रभावको मुखर रूप हो ।
प्रतिक्रियावादी–दक्षिणपन्थी हावाहुन्डरी चलिरहेको नेपालमा यतिबेला नियमितता र आकस्मिकताका दर्जनौं परिघटनाहरू हुन सक्छन् । यसमा तपाईंलाई मन पर्नु र नपर्नुले केही अर्थ राख्दैन तर खास कुरा के हो भने नेपालमा लामो समयदेखि राष्ट्रिय स्वाधीनतालाई जनतन्त्र र जनजीविकाको सङ्घर्ष गर्दै हुँदै आएको छ । राष्ट्रिय स्वाधीनता त्यतिबेला मात्र सार्थक हुन सक्छ, जतिबेला जनताले जनतन्त्र र जनजीविका प्राप्त गर्दछन् । नेपालको समस्या राष्ट्रियता, जनतन्त्र, जनजीविकाको समस्या हो । राष्ट्रिय स्वाधीनताको अनुभूतिको लागि जनताले विदेशसँगको कुनै पनि असमान सन्धि–सम्झौताबाट मुक्त हुनुपर्छ, कुनै पनि राजनीतिक, सांस्कृतिक, आर्थिक एवम् फौजीलगायत कुनै पनि हस्तक्षेपबाट मुक्त हुनुपर्छ । जनतन्त्र भनेको जनताको सरकार–सत्त्ता निर्माण हुनु हो । नेपालमा नेपाली अनुहारको विदेशी दलाल सरकारमा हुनुले धेरै भ्रम र समस्या पैदा गरेको छ । जनतन्त्र भनेको जनताको सरकार हो । जनताको सरकार नभईकन कुनै पनि देश स्वाधीन र सार्वभौम राष्ट्र मान्न सकिन्न । जनजीविका भनेको सम्पूर्ण नागरिकलाई राज्यले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीलगायत नैसर्गिक अधिकारको प्रत्याभूति हुनु हो । यो कुरा त्यतिबेला मात्र सम्भव हुन्छ, जतिबेला जनताको वैज्ञानिक समाजवादी सत्ता अथवा जनताको सत्ता स्थापना गर्न सकिन्छ । त्यसकारण अबको हाम्रो ध्यान यही दिशातिर केन्द्रित हुन आवश्यक छ । हामीले मानिसहरूले किन पार्टी बदल्छन् भन्ने कुरामा पनि जानकारी राख्नुपर्दछ । सामान्यतया मानिसहरूले पार्टी फेर्ने पन्ध्र कारण निम्न छन् ः वैचारिक निष्ठामा कमी, सैद्धान्तिक तथा दार्शनिक रूपमा अस्पस्ट, आर्थिक–द्रव्य लालच, पद–प्रतिष्ठाप्रतिको तीब्र मोह, अस्थिर मनोविज्ञान, विश्वदृष्टिकोण–वर्गपक्षधरतामा कमी, शब्द र कर्मबीचको एकत्वमा कमी, प्रतिशोधको भावना, नेतृत्वप्रति चरम अविश्वास, अवैज्ञानिक सङ्गठनात्मक संरचना, बुर्जुवा–पुँजीवादी चमक धमक, पारिवारिक दबाब, चरम आर्थिक अभाव, निषेधात्मक प्रवृत्ति र व्यक्तिगत महत्वकाङ्क्षा आदि । एकता–सङ्घर्ष र रूपान्तरणको विधिद्वारा यस्ता समस्याहरू समाधान गर्न सकिन्छ र समाधान गर्न पनि सक्नुपर्दछ । यो राजनीतिक विचारधारासित सांस्कृतिक चिन्तन जोडिएको विषय हो ।
सर्वहारा सांस्कृतिक क्रान्तिलाई प्रस्थानबिन्दु बनाएर अगाडि बढ्नुपर्छ । सर्वहारावर्गको पार्टी र आन्दोलनमाथि जनताको निगरानी र नियन्त्रणलाई सधैँभरि उच्च स्थानमा राख्नु महान् सर्वहारा सांस्कृतिक क्रान्तिको महत्वपूर्ण पक्ष हो । कुनै समयको सर्वहारा पार्टी अर्काे समयमा बुर्जुवा नोकरशाही पार्टीमा बदलिन सक्छ तर जनताको निगरानी र नियन्त्रणले मात्र त्यो सर्वहारा पार्टी सधैँभरि वर्गीय मूल्य र मान्यतामा रहिरहन सक्छ । क्रान्तिकारी कार्यदिशासहित हाम्रा विचारहरूलाई अझ उन्नत र सर्वहाराकरण गर्दै विकास गर्नुपर्दछ । क्रान्तिकारी पार्टी निर्माण गर्ने प्रश्नमा हामीले केही कुरामा ध्यान दिनैपर्छ । सर्वहारावर्ग अर्थात् कम्युनिस्ट भनेको के हो भन्ने कुरालाई कहिल्यै बिर्सनुहुँदैन । अधिनायकत्वको परिभाषा नबुझ्ने कम्युनिस्ट नै हुन सक्तैनन् । लेनिनले विश्वका सर्वहारावर्गलाई प्रशिक्षित गर्नुभएको छ, “केवल सर्वहारा उही हो जसले वर्गसङ्घर्षको मान्यतालाई सर्वहारा अधिनायकत्वसँग जोड्दछ ।” माओले भन्नुभएको छ, “वर्गसङ्घर्षलाई कहिल्यै नबिर्स ।” सामन्त तथा नोकरशाही दलाल पुँजीवादी वर्गको हितमा काम गर्ने अर्धसामन्ती अर्धऔपनिवेशिक उत्पादन सम्बन्ध भएको पुरानो बनिबनाउ राजनीतिक, एवम् नोकरशाही संरचनाले नेपाली जनताको हितमा काम गर्न सक्दैन । नयाँँ नेपाल निर्माण गर्नका लागि पुरानो संरचनाको ध्वंस र नयाँँ संरचनाको स्थापना अनिवार्य सर्त हो । सर्वहारावर्ग–कम्युनिस्टको उद्देश्य के हो ? त्यसबारे माक्र्सले भन्नुभएको छ, “सर्वहारावर्गको उद्देश्य भनेको पुरानो संस्थानका सम्पूर्ण उत्पादन सम्बन्धहरूको अन्त्य गर्नु, पुरानो उत्पादन सम्बन्धको जगमा उभिएको पुरानो सामाजिक सम्बन्धको अन्त्य गर्नु, पुरानो सामाजिक सम्बन्धबाट पैदा भएको सांस्कृतिक उपजको अन्त्य गर्नु र पुरानो संस्कृतिबाट पैदा हुने विचारहरूको अन्त्य गर्दै हाम्रा विचारहरूलाई क्रान्तिकारी गर्नु ।” यी कुराहरू हाम्रा लागि विशेष मननीय र स्मरणीय छन् ।
यतिखेर पुष्पकमल दाहाल लम्पसारवादी विलयन–राजमार्गको अन्तिम चौकीमा अवस्थित केपी वलीको घरमा पुगेका छन् । त्यहाँ पुगेर दाहालले माक्र्सवाद–लेनिनवाद–माओवाद, महान् जनयुद्धको महान् सपना र उद्देश्य, जनताको बलिदानको अपूर्व कीर्तिमान, नयाँ जनवाद, वैज्ञानिक समाजवाद, साम्यवादलाई अनाधीकृत रूपमा केपी वलीको भान्सामा पसेर ब्रोइलर कुखुरालाई भुत्ल्याउँदै काटकुट पारेर मासु फ्राई गरेझैँ फ्राई गरिरहेका छन् । फ्राई गर्दा आएको बासनाले निकै टाढा पुगिसकेका तीक्ष्ण घ्राणशक्तिका धनी दक्षिण–पश्चिमी अभियात्री बाउराम पनि सोही भान्सातिर फर्किसकेका छन् । कुशल राजनीतिक व्यापारी दाहालले मासु फ्राई गर्दा आएको बासनाबाट एमालेजनको जिब्रोमा अतिवृष्टिका कारण बाढी नै पसेझैँ भएको छस झन् दाहालका नन्दीभृरिङ्गीले सो बासना सुँग्न गरेको तँछाड–मछाडले गाउँ–सहरमा मनग्ये निःशुल्क मनोरञ्जन प्रदान गरेकै छ । ओहो ! दाहालको अपानवायुलाई सहरका स्वघोषित घघडान कवि–गजलकारहरूले ‘समाजवादी बासनादार’ दुर्लभ सुस्वादु पाक्यवस्तुका रूपमा फेसबुक रङ्ग्याइरहेकै छन् । दुनियाँमा आफ्नो घर जलेर खरानी हुँदा, आफ्ना बाबु–आमा मर्दा, आफ्नो प्रिय वस्तु गुमाउनुपर्दा सायद कसैले पनि उत्सव बनाउँदैनन् तर नेपालमा आफू सिद्धिन पाएकोमा, आफूलाई सिध्याइएकोमा खुब हर्षबढाइँ गरिएका छ । यतिखेर आफू र आफ्नो महान् आदर्शलाई धुलिसात बनाउन सफल नेतालाई ‘महान्’ भन्दै तिनको महिमागान गाइएको छ । आजकल गाउँ–सहरमा धमाधम भजनमण्डली गठन हुन थालेका छन् । चौबीसैघन्टा भजन–किर्तन अपूर्व ढङ्गले चल्न थालेका छन् । देश र जनताप्रति पूर्णतः बेपर्वाह एवम् केवल सत्ता र शक्तिमा अर्जुनदृष्टि रहेको सम्भवतः यो उनीहरूको अन्तिम भोज हो ! अन्तिम हर्षबढाइँ हो !! अन्तिम भजन–किर्तन हो !!!
यो कुरा पनि सही हो कि सबै वाम कम्युनिस्ट हुँदैनन् तर सबै कम्युनिस्ट वाम हुन सक्छन् । वाम हुनु र कम्युनिस्ट हुनु नितान्त फरक कुरा हुन् । वाम र कम्युनिस्टका दार्शनिक आधार नै फरक फरक रहेका छन् । पुष्पकमल दाहालको वाम–गठबन्धन गरेर कम्युनिस्ट केन्द्र बनाउने कुरा दर्सनढुङ्गाबाट चल्ला कोरल्ने कुराजस्तै हो । कम्युनिस्ट केन्द्रको आवश्यकतामाथि कुनै दुईमत हुन सक्तैन तर दाहालले जस्तो निर्लज्ज लम्पसारवादी भएर, माक्र्सवादलाई क्रूरतापूर्वक हलाल गरेर नेपालमा कम्युनिस्ट केन्द्र बन्दैन । यो शक्तिशाली प्रतिक्रान्तिकारी–दक्षिणपन्थी हावाहुन्डरी त हो तर यो अस्थायी हो । वली–दाहाल गठबन्धन नामक ‘खेतीपाती’ नेपालमा दलाल संसदीय व्यवस्थाको रक्षा गर्नुसिवाय अरू केही होइन । अब क्रान्तिकारीहरूले कथित वाम–गठबन्धनमाथि धावा बोल्न, दलाल संसदीय व्यवस्थाको गजुरमा आगो झोस्न तथा एकीकृत जनक्रान्तिको झन्डामुनि विशाल र शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउनतिर अलिकति र एकछिन् पनि ढिलाई गर्नुहुन्न ।
वास्तवमा नेपाल र नेपाली जनता पछाडि पर्नुको मुख्य कारण कारण दलाल पुँजीवादी संसदीय सत्ता नै हो । यसको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था मात्र हो । सन्निकट उभिएको नेपाली क्रान्तिलाई अब कसैले छेक्न र रोक्न सक्नेछैनन् । अन्तमा, माओवादी केन्द्रनिकट युवा नेता जागृत रायमाझीको धारणा प्रस्तुत गर्न उपयुक्त ठान्दछु ः
“अहिलेसम्मको मेरो सामाजिक र राजनीतिक परिचय अहिलेको माओवादी केन्द्रका कारण नै बनेको छ । म हालसम्म यही पार्टीमा छु । अपितु, विगत ३ वर्षदेखि म पार्टीको कुन समितिमा, कुन हैसियतमा छु मलाई थाहा छैन । यसर्थ, पार्टीको बैठक, कार्यक्रम या अभियानमा प्रायः म गयल नै छु । सञ्चारमाध्यम र फेसबुकले मलाई पार्टीसँग जीवन्तचाहिँ जरुर बनाइरहेको छ । जुन जिम्मेवारी यो अवधिमा पाएँ, आफ्नो हुत्तीअनुसार पूरा गर्न प्रयास गरेँ । सकेँ सकिनँ, समीक्षा गर्दै जाऔँला । पार्टीमा सक्रिय हजारौं साथीहरूले गरेको अथाह मिहिनेत देख्दा आफूले पार्टीको खास जिम्मेवारी नपाउँदा पनि यो अवधिमा म औधी सन्तुष्ट छु । सायद ! थुप्रै सिनियर, समकालीन र नयाँ युवा साथीहरूको खटाइले पार्टीलाई मसहित अरू थुप्रैको भूमिकाको खास आवश्यकता परेन । यही दरबियानमा पार्टीले एमालेसँग एकताको सरप्राइज निर्णय गरेको छ । प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि जाने सन्दर्भमा प्याकेजमा चुनाबी तालमेलसम्म गर्ने कुरा नाजायज थिएन तर एकले अर्कालाई प्रतिक्रियावादी, उग्रवामपन्थी, राष्ट्रघाती, मण्डले राष्ट्रवादी, लम्पसारवादी, आतङ्ककारीजस्ता सङ्गीन आरोप लगाइरहेका पार्टीहरूबीच बिना कुनै आत्मसमीक्षा, बिना कुनै वैचारिक बहस एकाएक पार्टी एकताकै निर्णय गर्नु मलाई न प्राकृतिक लागेको छ, न जायज नै । अझ दुई–तीनजना नेताको लहडमा षड्यन्त्रकारी कार्यशैलीमा पहिला निर्णय गरेर मुन्टो हल्लाउन लगाउने शैली कत्ति पनि सही लागेको छैन ।”
“पहिलो कुरा, एकीकृत पार्टी कम्युनिस्ट पार्टी बन्न सक्दैन । यो एउटा सामाजिक लोकतान्त्रिक पार्टी बन्नेछ । किनकि, यो कुनै सिद्धान्तनिष्ठ पार्टी एकता होइन । दोस्रो, यो पार्टीले वैज्ञानिक समाजवादलाई आफ्नो लक्ष्य बनाउन सक्दैन । यसले समाजवादलाई नारा र आबरणमा बिक्री मात्रै गर्छ । तेस्रो, स्थिर सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी र सुधारका केही प्रयत्नहरू यो एकतापछि सम्भव हुन सक्ला तर ती सबै संसदीय लोकतन्त्रकै गुण चरित्र हुन्, न कि क्रान्तिकारी । चौथो, बल प्रयोग, सर्वहारा अधिनाकत्व र वर्गसङ्घर्षजस्ता माक्र्सवादका आधारभूत सिद्धान्तबाट यो पार्टीले सम्बन्ध–विच्छेद नै गर्छ । सारमा यो पार्टी माक्र्सवादी पार्टी रहन्न । पाँचौँ, स्थानीय निर्वाचनको परिणामपछि खासगरी सत्तामा जान नमिली नहुने स्थितिको दबाबमा यो एकता भएको देखिन्छ, न कि दीर्घकालीन रणनीतिका लागि । छैठौँ, कतिपय शीर्ष नेताहरू नै निर्वाचनमा पराजित हुने सम्भावनाका कारण यो निर्णयमा गएको देखिन्छ । सातौँ, सत्तालिप्सा, सुविधा आचरण र शक्तिमुखी चिन्तनका कारण नेतृत्व यो निर्णयमा पुग्यो । आठौँ, यो एकता संसद्वादकै उनन्नयन, विकास या नवीकरण हो ।”