सर्वत्र अस्थिरता भड्काउँदै सरकार – विष्णु पन्त

२०७५ भाद्र १७ गते, आईतवार

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका असन्तुष्ट शक्तिहरुसँग वार्ता गर्ने निर्णय सार्वजनिक गरेको केही घण्टा पछि नै पोलिटव्यूरो सदस्य उमा भुजेल ‘शिलु’ लाई काठमाडौँबाट गिरफ्तार गर्यो । केन्द्रिय सदस्य असललाई पनि काठमाडौँ बाटै गिरफ्तार गरियो । त्यस लगत्तै इलामबाट केन्द्रिय सदस्य सुमन लिम्बु सहित १२ जनालाई एकै पटक गिरफ्तार गरियो । यसबाट प्रश्न उठेको छ, सरकारले वार्ताको नौटंकी कसका लागि गरेको हो ? एकातर्फ वार्ता समिति बनाउने, अर्कोतर्फ वार्ता गर्ने भनिएकै शक्तिलाई अपहरण गर्ने ? यसबाट प्रष्ट हुन्छ, सरकारको कुनै विश्वसनीयता छैन र वार्ता गर्ने हैसियत पनि छैन । हामीलाई थाहा छ, कुनै पनि संस्थाको विश्वसनीयता गुम्यो भने त्यसको आफ्नै अस्तित्व संकटमा पर्छ । वार्ता त आज मात्र होइन भविष्यमा पनि गर्नुपर्ला । कतिपय लेनदेन गर्नुपर्ला । कतिपय सम्झौताहरु गर्नुपर्ला । त्यसका लागि पनि सरकारले आफ्नो हैसियत गुमाएको छ । फेरि, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाहेक अरु शक्तिसँग पनि वार्ता गर्नु पर्ला, के यस्तै तरिकाले वार्ता हुन्छ ? के यो हरियो घाँस देखाएर गाईको शिकार गर्न खोजिएको हैन त ? महासचिव विप्लवले भनेजस्तै विष राखिएको मिठाई खुवाउन खोजिएको हो ? सरकारले गिरफ्तार गरेर आफ्नो बहादुरी प्रदर्शन गर्न खोज्दै छ । जुन आफैंमा मुर्खतापूर्ण कार्य छ । कि भन्नु प¥यो सरकार र गृहमन्त्रालय फरक अंग हुन् । अनि नेपाल प्रहरीले सरकारको आदेशलाई नै पालना गरेन ? एकतर्फ एकतर्फी वार्ताको नौटंकी गर्ने अनि अर्कोतर्फ वार्ता गर्ने भनिएकै शक्तिलाई नाङ्गो दमन गर्ने ?
हुन त यो सरकारले षड्यन्त्रबाहेक के गर्न जानेको छ र ? चुनावमा राष्ट्रियता, समाजवाद र वामको नाटक, नाकावन्दीको नाटक, चुनाव पछि के भयो, को अनविज्ञ छ र ? देश चलाउँछु, सत्ता चलाउँछु भन्ने शक्तिसँग एउटा न्युनतम आर्दश र मुल्यमान्यता त हुनै पर्ने हो नि ! सबै कुराबाट च्यूत भएपछि हुने के होला ? जहाँ गयो हुँदा न खाँदाका उखान टुक्का हाल्यो बस्यो, के यसरी देश चल्छ ? हरेक कुरामा जालझेल र छलछाम अनि षड्यन्त्र गरेर यो कहाँ पुग्ने होला ? कंचनपुरमा निर्मला पन्तको मुद्दामा फर्जी अपराधीसम्म उभ्याउन सक्यो । झण्डै फासीको व्यवस्था भएको भए ती निर्दोष व्यक्ति मारिन्थे । बलत्कारी र हत्यारा लुकाउन पाईदैन भनेर माग गर्ने जनतालाई गोली हानेर हत्या गरियो, नृशंस दमन गरियो । पछि आमजनता विद्रोहमा उत्रेपछि एकजना प्रहरी अधिकृतलाई निलम्बनको नाटक गरेर घटनालाई थामथुम पारिँदै छ । भिम रावल त संसदमै अपराधीको पक्षमा वकालत गरेर कांग्रेस र विप्लव माओवादीलाई दोष लगाए रे ! भक्तपुर इन्काउण्टर त्यस्तै रहस्यमय बन्यो । आफ्ना कालाकर्तुतहरु लुकाउन फर्जी अपराधीहरु सिर्जना गरेर इन्काउण्टरसम्म गरिनु के राज्यका लागि सुहाउने कुरा हो ?
अदालतमा त्यस्तै नाङ्गो नाच छ । आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवत्ता प्रकाण्डसहित जीवन्त, गम्भीर, पदम राई, ओमप्रकाश पुन, किरण राई, दिपेश राई, देवनारायण शाह र आजादलगायतका थुप्रै नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरी झुटा मुद्दा लगाउने, यातना दिने अनि अदालतले सफाई दिएपछि फेरि अदालत परिसरबाटै गिरफ्तार गर्ने अभियान नै बनेको छ सरकारको । प्रकाण्डको दुई पटकका गिरफ्तारी सर्वोच्च अदालत भित्रबाटै भए र मानवअधिकार आयोगको गाडीबाटै भए । आफैंले बनाएको उत्कृष्ट संविधान भन्थे तर भन्ने गरेको स्वतन्त्र न्यायपालिकाको प्रावधानलाई त माने झैं गरेको भए हुन्थ्यो नि ? रजिष्टारको गेटमै प्रहरी भ्यानहरु लगेर गेटबाटै गिरफ्तार गर्ने यो नाङ्गो नाच ? भनिन्छ, शाहीकालमा पनि यति नाङ्गो हस्तक्षेप भएको थिएन ।
हामीले सरकारलाई आग्रह गर्ने कुरा एउटै छ कि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रतिको सरकारी धारण के हो, स्पष्ट पार्नु पर्छ । को के गर्दै छ, त्यो सबै स्पष्ट छ । कसको भूमिका के छ त्यो छताछुल्ल देखिएकै छ । सत्तामा बसेर कसले सुराकी गरेको छ, कसले के षड्यन्त्र गरेको छ त्यो पनि स्पष्टै छ । अहिलेको दुनियाँमा केही गोप्य छैन । विप्लवको तयारीको सूचना पनि सरकारसँग छ । यो परिस्थितिमा राज्य कसरी प्रस्तुत हुने, त्यो उनीहरुको कुरा हो । विप्लव, प्रकाण्डलाई निमोठ्छु भन्ने हो भने केपि, प्रचण्ड र बादल पनि त्यति धेरै टाढा छैनन् । लडाई राजनीतिक हो र यसलाई षड्यन्त्र, प्रतिशोध र व्यक्तिहत्या जस्ता अपराधिक शैलीबाट हल खोज्न खोजियो भने त्यो राज्यको दुस्साहस हुनेछ र दीवास्पप्न हुनेछ । त्यसकारण राज्यले स्पष्ट गर्नु पर्यो, के ऊ अपराधीक ढंगले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सिध्याउन खोजेको हो ? के राज्यले अपहरणको बाटो रोज्न मिल्छ ? के राज्यले फेरि पनि विपक्षीलाई वेपत्ता बनाउने बाटो समाउन खोजेको हो ? के राज्यले सैन्य समाधानको बाटो रोजेको हो ? के उसले विद्रोही नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्धित गर्न खोजेको हो ?
यदि सत्तामा बस्ने शासक देश र जनताप्रति जिम्मेवार छन् भने त उनीहरुले अहिलेका राजनीतिक अन्तरविरोधहरुको हल राजनीतिक ढंगले खोज्नु पर्दथ्यो । ल मानौं, विप्लवसँग हतियार छन् रे, त्यो त खोज्न सक्नु पर्यो नि । विप्लवसँग सेना छन् रे, हतियारसहित भेटाउन सक्नु पर्यो नि राज्यले । यति सानो काम पनि गर्न नसक्ने अनि सुरक्षा निकायका प्रमुखहरुलाई भन्न लगाउने विप्लव समुह मुख्य थ्रेट बन्यो भनेर । सुनिंदै छ, नेतृ शिलुलाई काठमाडौँबाट गिरफ्तार गरेर चुनावताकाको विस्फोटको मुद्दा लगाईंदै छ रे ! गृहमन्त्री बादल, प्रचण्ड र प्रधानमन्त्री ओलीज्यू ! सक्छौ भने हिजो जनयुद्धका पनि मुद्दा लगाऊ । नैतिकता गुमेपछि गर्ने नै यस्तै त हो ।
हामीले राम्रोसँग बुझेकै छौं, प्रधानमन्त्री ओलीलाई श्री ३ बन्ने रहर छ । जो कार्यकारी राष्ट्रपतिलाई संविधानमा राखेको भए यति निर्लज्ज ढंगले हिंड्न पर्ने नै थिएन । जनतालाई भ्रममा पार्न सकिहाल्दारहेछन् । चुनावबाट श्री ३ पक्का पाउने थिए । कथित बिमस्टेक सम्मेलनमा पनि प्रधानमन्त्रीका होर्डिङ्गबोर्डहरु राखिएकै छन् । उनी यस्ता शक्तिशाली बन्न चाहन्छन् कि देशभित्र फुर्तिला बादशाह जस्ता अनि बाहिर बाघको अघि परेको खरायो जस्तो । मोदीले अह्राएको काम गर्ने र दिएको मानो खाएर छाक टार्ने उनको हविगत कसले नबुझेको छ र ? मोदीलाई राजा मानेर आपूm प्रान्तीय राजा जस्तो बन्न तयार भएपछि के गर्ने ? भारतमा वाम बुद्धिजीवि साहित्यकारहरुको गिरफ्तारीको बाढी यता नेपालमा क्रान्तिकारी नेताहरुको । कथित बिमस्टेक सम्मेलनको गाईजात्राबाट सरकारको परराष्ट्रनीति र कुटनीति कतातिर जाला ? सार्कलाई सिध्याएर बिमस्टेकको हौवा किन ? चीन र पाकिस्तानलाई अलग्याएर भारतको पाउ परेर पाइने के हो ? भारत आफैं त महादेव, उत्तानो पर कसले देला बर भने जस्तै ला ला भनेर लुट्ने देश हो । अतः यो सरकार हल्ला गर्दै हिंड्ने कुरामा सफल छ । सर्वत्र गाईजात्रा देखाउन सफल छ । बिमस्टेक संयुक्त सैन्य अभ्यासका नाममा भारतीय सेना नेपाल भित्र आएर चिन र पाकिस्तानलाई थ्रेट गर्दे नेपालमा हस्तक्षेप गर्न पाउने भएपछि भारतलाई के चाहियो र ? विस्तारवाद नयाँ नयाँ भेषमा हस्तक्षेप गर्दैछ भन्ने कुरा लेण्डुप दोर्जेहरुलाई किन बुझ्नु पर्यो र ? कथित बिमस्टेक जात्राबाट जनताले शास्ती बाहेक के पाउँथे र ? देशले सैन्य अभ्यासका नाममा भारतीय हस्तक्षेप अनि स्वतन्त्र परराष्ट्रनीति र पञ्चशीलका सिद्धान्तमा आघात पुग्नेबाहेक केही भएन । समग्रमा कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान चरितार्थ गर्यो ।
जनताले केपि ओलीलाई ‘करप्रसाद ओली’ नामाकरण गरीदिएका छन् । सत्तासिन नेकपालाई ‘नेपाल कर पार्टी’ भनेर नाम राखिदिएका छन् । महङ्गीले जनताको ढाड सेकेर मर्नु न बाँच्नु बनाएको छ । कमिशनखोर, भ्रष्ट, कालोबजारीया र तस्करहरुले सरकार चलाएका छन् । राष्ट्रिय अस्तित्व नै संकटमा फस्दै छ । युवाहरु सबै विदेश पलायन भइसके । यस्तो वेथितिलाई अन्त्य गर्ने शक्तिको उदय हुनु अपरिहार्य बनेको छ । जता गयो विकृति, विसंगति मात्र छ । जनताले यो धेरै सहन सक्दैनन् । बलत्कार र हत्याका घटना बढिरहेका छन् । सरकारको उपस्थिति कहीँ, कतै छैन । हुँदाहुँदा सरकार आफैं बलत्कारीको नाङ्गो संरक्षणमा उत्रेर कंचनपूर घटना घटायो । सरकारसँग नैतिकता भए उहिल्यै गृहमन्त्रीलाई हटाउनु पर्दथ्यो । त्यो घटनामा सिङ्गो नेकपा र सरकार नाङ्गो ढंगले बलत्कारीहरुलाई ढाकछोप गर्न लागेको छ र निर्दोष मान्छेहरुलाई फसाउन खोज्दै छ ।
सरकारमा बस्नेहरुले आफ्नो हैसियत नबुझेर हो कि के हो गुण्डाराज जस्तो शैलीमा सरकार चलाउन खोज्दै छन् । सत्ता चलाउने एउटा विधिको विकास गर्नुपर्ने ठाउँमा असनको साँढेभन्दा पनि छाडा ढंगले चल्दै छन् । मन्त्रीहरु आफैं हप्ता असुल्दै हिंड्छन् । सबैले अर्को चुनावको तयारी गर्दैछन् । सरकार आफैं लुटेरा बन्दै छ । मन्त्रीहरु कमिशनका पछाडि खुलेआम दौडिएका छन् । भ्रष्टचारको योभन्दा ठूलो अखडा अरु कहाँ होला ? सरकार, प्रधानमन्त्री वा मन्त्रीहरुलाई पैसा बुझाएपछि सबै छुट । केपि ओलीको सुखी नेपाली हैन भन्न खोजेको सुखी एमाले रहेछ । एमाले भित्र पनि सुखी ओली गुट रहेछ । दलाल, भ्रष्टचारी, कालोबजारीया, तस्कर र कमिशनखोर जति ओली गुटमा । सांसद, मन्त्री, राज्यका मुख्य पदहरु सबै ओली गुट । प्रचण्डका सबै ओली गुटमा । त्यसकारण दुई तिहाई भए पनि सरकार अब धेरै स्थिर रहन सक्ने अवस्थामा छैन । पार्टी भित्र अनि बाहिरको असन्तुष्टिसँगै सरकार विघटनतिर जाँदै छ ।
आज प्रकाण्डजस्ता सहयोद्धा नेताहरुलाई हतकडी लगाएर हिरासतमा राख्ने कार्यले सबैलाई आश्चर्य चकित पारेको छ । सर्वोच्च अदालत, राष्ट्रिय मानव अधिकार आयोगलाई पनि हस्तक्षेप गर्ने काम भएको छ । विभिन्न राजनीतिक पार्टी, नेपाल बार एशोसियसन लगायतका धेरै संस्थाहरुले सर्वोच्चको फैसलालाई स्वीकार गर्नका लागि गरीएको आग्रहलाई सरकारले स्वीकार गरेन् । आफ्ना नेता कार्यकर्ताहरु छुटाउनका लागि सशक्त संघर्ष गरियोस भन्ने प्रतिक्षा सरकारले गरेको छ । वातावरणलाई भड्काउने, तरङ्गित गर्ने र आतंकित गराउने दिशामा सरकार लागिरहेको छ । सरकारको यो बुद्धिमता होला कि मुर्खता त्यो त भविष्यले देखाउने नै छ । वातावरण भड्कियो भने त्यसलाई सन्तुलनमा ल्याउन गाह्रो हुन सक्छ । सत्तामा बस्नेहरुले आफ्नो धरातल सत्ताबाट फ्याकिएपछि मात्र थाहा पाउँछन् । सामाजिक फासीवादहरु निरंकुशतावादबाट केही प्राप्त हुनेवाला छैन । आज सुनिदैं छ, विप्लव नेतत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध नेता, कार्यकर्ताहरुको ७ पुस्ते डाटा लिने काम राज्यबाट भईरहेको छ । भोली युद्ध भड्कियो भने के होला ? के नेपाल प्रहरी, सशस्त्र प्रहरी वा नेपाली सेनाले यसको अड्कल गरेको होला ? हिजोको इतिहासबाट पनि उनीहरुले सिकेनन् भने त्यो दुःखद हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु