लास र त्यसको पतनको कथा – बलराम तिमिल्सिना
पुराणमा हामीले आगोमा जलेर मरेकी आफ्नी प्रेमिकाको लास बोकेर पागल बनेर हिडेका महादेवको कथा सुनेका छौं । यसरी बोकेर हिडेको लास फतफती गलेर शरीरका अङ्गहरू झर्दै गएको प्रसंग आउँछ र त्यसमध्ये सतीदेवीको यौनाङ्ग पतन भएको स्थल भनिएको स्थललाई गुह्यश्वरी भनेर हिन्दूहरूले पूजा गर्छन। महादेवकी प्रेमीकाको गुप्ताङ्ग खसेको ठाम पनि पूज्ने हामी गुप्ताङ्गै पाए कति ढोग्थ्यौं भन्नेतिर मेरो बहसको विषय होइन । मांसपेसी सवै खसेपछि महादेवले अस्थिपञ्जर कति दिन बोके होलान र त्यो कहाँ लगेर विसाए होलान भन्ने पनि मेरो अहिले सरोकारको विषय होइन। मैले चर्चा गर्न लागेको विषय भनेको हामीले बोकेर हिडेको लास र त्यसको पतनको कथा कोट्याउँनु हो ।
हो, हामीले पनि आफ्ना आराध्यदेवको लास बोकेर हिड्यौं ।सुरुमा जिउँदै लागेर बोकेका थियौं । हाम्रा प्रचण्ड प्रतापी आराध्यदेव हामी थाहै नपाई हाम्रो काँधमा मरे । हामीले एक दशक सिनो पनि बोकेर हिड्यौं । प्रेममा पागल भएका महादेवले वर्षौं प्रेमीकाको लास बोकेजस्तै भक्तिभावले ओतप्रोत भएका हामी भक्तहरूले पनि अति भक्तिपूर्वक आफ्ना अगुवाको लास बोक्यौं ।जसरी महादेवलाई प्रेमिकाको लास पनि प्रेमिका नै लाग्यो त्यसै गरी हामी भक्तहरूलाई पनि आफ्ना नेता कुहे पनि गन्हाए पनि भक्तिभावको प्रभावले नेता नै लाग्यो र हामीले सभक्ति बोकिरह्यौं । कमरेड किरणले नेतृत्व दक्षिणपन्थी भयो भनेको बेला हामी भक्तहरूलाई झनक्क रिस उठ्यो । वहाँले अलग पार्टी बनाएको वेला हामी मान्छे जान नदिन दुवाली थुनेर बस्यौं । नेतृत्वको विरोध गर्नेलाई लम्कीझम्की गर्यौं ।हाम्रो घ्राण चेतनाले लासबाट आइरहेको गन्धलाई पचाएर अपनत्व ग्रहण गरिसकेको थियो। हुँदा हुँदा हामी लासको गन्ध सुँघ्न पाइएन भने निद्रै नलाग्ने रोगको शिकार भयौं ।
चुनवाङबाट चलाखीपूर्वक दक्षिण मोडिदा हामी कसैलाई पत्तै भएन । हर्षोल्लास सहित हामी आफ्नै मलामी हिड्यौ ।
हाम्रो आन्दोलनको यौटा महत्वपूर्ण अङ्ग थियो- जनसत्ता ।त्यो अङ्ग पहिले फ्यात्त खस्यो । हामी मौन बस्यौं ।त्यो समय किरण र विप्लवले पनि चाल गरेनन। हामी अधपतनको ओरालो झर्दै गर्दा बाटामा भेटियो एकता केन्द्र नामको समुह । अधपतनको समान चरित्र मिलेको कारण मिलापत्र पनि भयो।त्यो मिलापत्र क्रान्ति गर्न हैन क्रान्तिलाई भ्रान्तिमा लगेर डुबाउँन थियो भनेर अहिले प्रमाणित हुदै छ ।
आफ्नै सरकारले आफ्नै सेनालाई घेरा हाल्न सरकारी सेनालाई राती पठायो र आत्मसमर्पण गरायो ।वर्ग संघर्षको विश्व इतिहासमा त्यो घटना वर्गीय अपराधको निकृष्ट नमुना थियो । त्यो घटनामा न जनमुक्ति सेनाले एक गोली खर्च गर्यो न बाहिर हामीले एक पटक विरोधमा नरा लगायौं। दक्षिणपन्थले लठ्ठिएका हामी लागू औषधि खाएको विरामी जस्तै झोक्राएर बस्यौं । कुहेर गनाएर फतफती गलेको एक थान पार्टी पोहोरसम्म थियो ।हाम्रा “महान नेता”को एकल इजलासले त्यो पनि एमालेलाई बुझाउँने काम भयो ।हामी एकाध बाहेक कसैले विरोध गरेनौं । लास बोक्दा बोक्दा सायद हामी पनि लास भैसकेका थियौं ।थुप्रै कमजोरी सहित कमरेड विप्लवको नेतृत्वमा एउटा समुह वाम धारामा कृयाशील छ ।नकमरेड किरणको समुह एउटा खुट्टो दक्षिण र एउटा वाममा टेकेर उभिएको छ ।कमरेड आहुती र कमरेड गोपाल किरातीले बनाउँन खोजेको पार्टीले आकार लिइसकेको छैन।
अहिले पनि लास बोकेर नाच्दै मलामी हिड्नेहरू छँदै छन। अव खस्न वाँकी केही पनि छैन । मात्रै कङ्काल छ।त्यही कङ्काल बोकेर जनयुध्दबाट आएकाहरू एमालेको आँगनमा टपरी थापेर थुक निलेर बसेका छन।
सत्य कुरा तितो हुन्छ । मेरा पूर्व सहयात्रीहरू मैले यस्तो नबोलिदिए हुन्थ्यो भन्छन। दक्षिणपन्थी अमन चयन नबिग्रियोस भनेर उनीहरू रुन्छन। तर वास्तविकता भयानक छ ।
म आफैं पनि कुरा ढिलो बुझ्ने बोधो दिमागको मान्छे । तर मनमा लागेपछि ज्यान गए छोड्दिन। दक्षिणपन्थीहरूको लगौंटी खोलेर सडकमा निकाल्नु र नानीहरूलाई बोलाएर कुरीकुरी भन्न लगाउँनु पनि ससानो काम हो भन्ने सोच्छु । भविष्यमा कसरी जाने भनेर सोच्दै छु । यो साल भने व्यक्तिगत रुपमा भने पनि संसदवादमा पतन भएका भोका स्यालहरूको भण्डाफोर भने पनि गर्ने छु ।