डा.केसीलाई चिठ्ठी , तिमी पनि एउटा पार्टी खोल – बलराम तिमल्सीना

२०७५ पुष २६ गते, बिहीबार

केवल स्वास्थ्यको कुराबाट माथि उठ र सम्पूर्ण सामाजिक समस्याका विरुध्द लड्न कम्मर कस । अनसनको यो तरिका पनि दिक्दार लाग्दो भयो , संघर्षको रुप फेर बड्डा !
तिमीले जसलाई गाली गर्दै छौं , ती गाली गर्न पनि लायक छैनन् । सक्ने हो भने टाउको तल र खुट्टा माथि पारेर सिधै नालीमा हाल्न लायक छन। त्यसैले तिमीले छुचा गाली गर्यौ भन्ने मेरो कुरै होइन।गाली गर्न मिल्ने शव्दकोषका सवै शव्द निखारेपनि र अझ लाजभाँड समेत थपे पनि यिनीहरूलाई छुदैन। किन कि यी बातका हैन लातका भूत हुन ।
तिमीले गाली गर्ने तथाकथित कम्युनिष्ट र तिमीलाई उचाल्ने काङ्ग्रेस दुवै भ्रष्ट नालायक र पतित हुन । तिमीले भनेजस्तो मात्र गरेर यो देशको रोग निको हुदैन। तिमी त डाक्टर मान्छे ।जसरी क्यान्सरको अन्तिम तहमा पुगेको विरामीलाई डाक्टरले घर गएर मिठो मसिनो खानु भनेर भन्छन, त्यस्तै यो राज्य व्यवस्था मृत्युको अन्तिम अवस्थामा छ। क्यान्सरले अन्तिम पारेको विरामीलाई किमोथेरापीले काम नगरेजस्तै तिमीले प्रेस्क्राइव गरेको पध्दतिले यो देशको रोग बीसको उन्नाइस पनि हुदैन।
डा केसी ! तिमी त सरकारी डाक्टर पनि । तिमीले सरकारी जागिर खाएर आफ्नो दरवन्दीको काम छोडेर अनसन बसेको धेरैलाई पाच्य पनि भएको छैन ।पाच्य नहुनु स्वभाविक पनि हो । डा केसी , तिमीलाई एति धेरै राजनीति गर्न मन छ भने यौटा पार्टी खोल बड्डा ! पार्टी खोल्न पाइन्छ, राजनीति गर्न पाइन्छ। तिमी हरेक सरकारको पालामा अनशन बसेर हेर्यौ । अन्तिम अन्तिममा सवैले सहमती गरे तर कार्यन्वयन गरेनन। अव त बुझ्नु पर्ने हो नि बड्डा ! यसरी यौटा डाक्टरले भोक हडताल गरेर यो देशका भ्रष्ट तथा पतित शासकहरूलाई ठाँगाले छुदैन ।
यो दशमा अड्डा अड्डामा भ्रष्टाचार छ। अझ भनौं देश जनताबाट निर्वाचित मानिसहरूले होइन भ्रष्टाचारीहरूले चलाएका छन। अनि यो देशको हालत क्यान्सर ग्रस्त विरामीकोजस्तो भएको स्वास्थ्य क्षेत्रको कारणले मात्र होइन वरु सिङ्गै राज्य संयन्त्र भ्रष्ट, घुषखोर जनतामाराहरूले चलाएर हो ।यो व्यवस्था आफै भ्रष्ट छ भने त्यसमा सुधार नै हुदैन। सुधार गरे पनि त्यो सुधारिएको भ्रष्ट व्यवस्था बन्छ।
डा केसी ! राजनीतिले खनेको खाडल पुर्न पनि राज नीति नै चाहिन्छ। फलामले फलाम काट्छ भनेजस्तै खराव राजनीतिलाई तह लाउने पनि राजनीतिले नै हो । “पोलिटिक्स इज डर्टी गेम ” भन्नेहरू प्राय चालु व्यवस्थाका मतियार हुनुले पनि यही पुष्टि गर्छ ।
डा केसी , भो भोक हडताल छोड ! इमान र आँट छ भने एउटा राजनीतिक पार्टी खोल र सडकमा आऊ । सिङ्गै व्यवस्थालाई जरो कीलो लगाएर नालीमा मिल्काउँने प्रण गर ।
हैन समग्र व्यवस्था बदल्ने कुरा नगरेर यही ल्याङल्याङ दहोर्याउँने मात्र हो भने मैले भन्नै पर्ने हुन्छ- तिमी पनि यही नालीका कीरा हौं !

प्रतिक्रियाहरु

[anycomment]