Ncell ले उन्मुक्ति पाउनुको भित्रि रहस्य – बलराम तिमल्सीना

२०७५ माघ २७ गते, आईतवार

Ncell ले हरेक ठूला पार्टीहरूलाई दुई अर्वभन्दा माथिको शेयर दिएको छ। पार्टीहरूले त्यो शेयर कुनै भरपर्दो व्यक्तिको नाममा लुकाएर राखेका छन । माओवादी केन्द्रलाई पनि भाग शान्ति तीन अरवको शेयर परेको रहेछ । त्यति वेला त्यो शेयर एक जना सुधा कम्युनिष्ट बुढाको नाममा राखिएछ । तीन अरवको शेयर राखेपछि बुढाको उच्च सम्मान गर्नै पर्थ्यो । त्यो बेला ती बुढाको खुव खातिरदारी गरिन्थ्यो । पछि खै के भएछ कुन्नि ? बुढासँग पार्टी बोसको भरोसा डगमगाएछ। त्यसपछि बड्डालाई उपचारको निहु पारेर टाढाको देशमा लगिएछ र यौटा होटलमा लगेर एक्लै परेर शेयर खोसिएछ। शेयर खोस्ने डन रहेछन अजय सुमार्गी । हिजो आज बड्डासँग शेयर छैन। शेयर नभएपछि कसले खातीर गर्छ ? होटलमा कुन स्तरको उपचार भयो कुन्नि ? बुढा कसको नाममा शेयर गयो भनेर ज्यान गए भन्दैनन। शायद ज्यानकै जोखिम होला ?
यो त एउटा कम्पनीसँग जोडिएको एउटा पार्टीको एउटा घटना भयो । यस्तै शेयर अरु कम्पनीसँग पनि प्राप्त हुन्छ। यसरी दलाल पूजीपतिको जूठो खाएर नेतृत्व भ्रष्ट बनेको थाहै हुदैन ।
माओवादी भन्ने जिनिसले त Ncellसँग तीन अरवको शेयर पट्यायो भने यो विषयमा महारथ हाँसिल गरेको अरु पार्टीका अरु नेताले भित्र भित्र कति जम्मा गरे होलान ? याद रहोस , यसरी प्राप्त गरेको शेयर खास नेताहरूको निजी या खास गुटको मात्र आम्दानीको श्रोत हुन्छ ।
यसरी दलाल पूँजीपतिसँग प्राप्त हुने दान दक्षिणाले माओवादीलाई सत्यानाश बनायो । नाफा हुने देखेपछि जे पनि गर्नु हुन्छ भन्ने सोच मनमा पलाएपछि नै यस्तो शेयर स्विकार गर्ने अवस्था आएको हो । अहिले एमालेमा विलय हुन जाने माओवादी भँगालोको टप टु बटम यस्तै विचारको शिकार भएको छ ।
स्मरण रहोस- मैले यति लेखेपछि एमालेको आँगनमा चारो टिपिरहेका पूर्व-माओवादी चल्लाहरू कसैले पनि ठाडा कान लाउँने छैनन। कसैले पनि खोज अनुसन्धान गर्ने छैनन। कसैले पनि छ्या त्यस्तो हो भने यो पार्टीमा बस्दिन भनेर राजिनामा दिने छैनन।बरु सिरकभित्र मुन्टो लुकाएर- “हिजो अस्ति चै हेरेर बस्ने , आज आएर ठूलो कुरा गर्ने”भनेर मलाई नै गाली गर्ने छन । हुन सक्छ- उनीहरूलाई यो र योभन्दा भयानक प्रकरण थाहा छ । हुन सक्छ त्यै थाहा पाएको कारणले नै उनीहरू त्यहाँ छन। हुन सक्छ उनीहरूलाई पनि घुष कमिशन आदिको स्वाद जिब्रोमा झुण्डिन थालेको छ ।
युध्दबाट सिधै काठमाण्डौ आएका माओवादीहरू हुन या हाती छाप चप्पल लगाएर ख्याउटे अनुहार लिएर काठमाण्डौ आइपुगेका नेताहरू कसरी अरवपती बन्छन ? कसरी बस वर्षअघि भन्दा हट्ठा कठ्ठा बन्छन भन्ने विषयमा धेरैले प्रश्न उठाउँछन तर भित्रसम्म कोही छिर्दैनन ।नेपालको खोज पत्रकारिता पनि ऋषि धमला र रवि लामिछानेभन्दा माथि उठ्न सकेको छैन । हरेक सरकारका पालामा पनि Ncellले उन्मुक्ति पाउनुको कारण त्यही शेयर हो ।आफ्नै शेयर भएको कम्पनी , आफ्नै सरकार ! उन्मुक्ति नै उन्मुक्ति।
यस्तो एक दिन जरुर आउँने छ, जनताको सचेत हिस्साले यस प्रकारका भित्री कथाहरू पढ्ने छन र सार्वजनिक गर्ने छन । यस्तो एक दिन आउँनै पर्ने छ , आज जनताको रगत पसिनामा ढाडिएका जुकाहरूलाई सप्रमाण गिरफ्तार गरिने छ र टुँडीखेलमा सार्वजनिक गरिने छ। त्यस्तो एक दिन त्यसै आउँने छैन ।ठूलो त्याग, समर्पण र बलिदानको मूल्य चुकाएर त्यो दिन आउँने छ , जुन दिन यो देशका जनताले इतिहासमै मनाउँन नपाएको चाड मनाउँने छन र उल्लासमा पागल हुने छन ।

प्रतिक्रियाहरु

[anycomment]