२४ औं जनयुद्ध दिवश र वैज्ञानिक समाजवादको यात्रा – विष्णु पन्त
आज हामी २०७५ फाल्गुण १ अर्थात २४ औं जनयुद्ध दिवश अर्थात जनयुद्धको २४ औं वर्ष गाँठ मनाउँदै छौं । शायद हामी आजबाट पछाडि फर्कियौं भने वा जनयुद्धका भीषण आँधिवेहरी तर्फ नियाल्यौं भने एउटा अनौठो अनुभूति हुन्छ । हिजो जनयुद्धको ज्यूँदो र महान् इतिहासले हामी सबैलाई घचघचाई रहन्छ । देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने वा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने महान् उद्देश्यका साथ सुरु गरिएको जनयुद्धले सत्ताकब्जाको नजिकै पुगिसक्दा पनि नेतृत्वको आत्मसर्मपणवादी र गद्धारीपूर्ण अवतरणका कारण नेपाली क्रान्तिले ठूलो धक्का खानु प¥यो । प्रचण्ड, बाबुराम र बादलहरु सुँगुरको खोरमा पस्दै छौं भनेका थिए तर सुँगुरसँगै प्रहसन गर्दै उही लडीबुढी खेलिरहेका छन् । आजको दिनले त्यतिबेलाका नायकहरु प्रचण्ड, बाबुराम र बादलहरुलाई गिज्याई रहेको छ । आज हामीसँग प्रचण्डहरुलाई घृणा गर्नु बाहेक अरु कुनै विकल्प छैन किनकी उनी नै क्रान्तिका खलनायक र मुख्य दुश्मनका रुपमा वा मुख्य अवरोधक अनि षडयन्त्रकारीका रुपमा उभिएका छन् । आज हुनुपर्ने के थियो भने प्रचण्ड नै नेपाली क्रान्तिको मुख्य नेता हुनुपर्ने थियो तर ठीक उल्टो भयो । उनी दलाल संसदीय व्यवस्थाको मुख्य ठेकेदारका रुपमा परिणत भए । अहिले आएर केपी ओलीसँग पौंठेजोरी खेल्दै सत्ता हत्याउने षडयन्त्रमा उनी मरीहत्ते गरिरहेका छन् । उनले सत्तारोहरणका लागि ¥याल काडीरहेका छन् र एकखाले हात हालाहलको तहसम्म उत्रिएका छन् ।
आज हामी जनयुद्धको २४ औं वर्षगाँठ मनाईरहँदा हामीले हाम्रा हजारौं वीर शहिदहरु, वेपत्ता योद्धाहरु, घाईते, अपाङ्गहरुको त्याग, तपस्या र बलिदान प्रति उच्च सम्मान प्रकट गरेका छौं । जनतामा भएका सबैखाले उत्पीडनहरु, अन्याय र भेदभावहरुको अन्त्य गरी सबैलाई समान अधिकार दिने महान् उद्देश्यका लागी नै यति ठूलो बलिदान हुन संभव भएको थियो । जुन जनयुद्धले प्रचण्ड र बाबुरामलाई महान् बनाएको थियो आज त्यसको ठीक उल्टो भएको छ । एउटा उज्यालो र सुखद पक्ष के छ भने आज जनयुद्धको नयाँ शंश्लेषणका रुपमा एकीकृत जनक्रान्तिको विकास गरिएको छ । आज वैज्ञानिक समाजवादको लागि क्रान्तिको विकास गर्दै मूल नेतृत्वको रुपमा नेत्रविक्रम चन्द ‘विप्लव’ उदाएका छन् । आज समानान्तर सत्ताको संरचनाको तिव्र विकास गरिएको छ । आज राष्ट्रिय पूँजीपति वर्ग र मध्यम वर्ग क्रान्तिको आधारवर्गका रुपमा उभिएका छन् । आज क्रान्तिकारी, वाम, प्रगतिशील, राष्ट्रवादी र सच्चा लोकतन्त्रवादी शक्तिहरुका बीच नयाँ धुव्रीकरण र सहकार्यका साथ क्रान्ति सम्पन्न हुने दिशा तर्फ केन्द्रित हुँदै छ । दलाल संसदीय व्यवस्था र वैज्ञानिक समाजवादका बीच भीषण संघर्ष चलिरहेका छ । दलाल, भ्रष्ट, तस्कर, कालोबजारीया र माफीयाहरुको विरुद्ध भिषण हमलाहरु हुँदै छन् । नेतृत्वका हिसाबले पनि संसदीय सत्ता चरम संकटमा छ किनकि त्यहाँ केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल र शेरबहादुर देउवाभन्दा बाहिर कुनै विकल्प छैन र उनीहरु सबै जनतामा गन्हाएका छन् । सबै गंभीर भ्रष्टचार काण्डमा मुछिएका छन् र अरबौं भ्रष्टाचारका थुप्रै मुद्दाहरुमा डुबेका छन् । त्यतिमात्र हैन देशमा सबैभन्दा धनाढ्य व्यक्तिहरुमा उनीहरु सबै उक्लिएका छन् ।
आज दलालहरुको नवधनाढ्य वर्गले सत्ता चलाइरहेको छ । गणतन्त्र लुटतन्त्रमा बदलिएको छ । जनतामा कर र महंगीले आक्रमण गरिएको छ । एकातर्फ ठूला–ठूला निगमहरुलाई अरबौं अरब कर छुट दिने अर्कोतिर किसान र मजदुरलाई करको डण्डा चलाउने सरकारी नीतिले यो व्यवस्था चरम संकटमा फस्दै छ । शासकहरु जनताप्रति हैन विदेशी प्रभुहरु प्रति उत्तरदायी हुने अनि कुर्ची र कमिसनका पछाडी भएका नाङ्गा नाचहरुले संसदीय व्यवस्थालाई दुर्गन्धित बनाई दिएका छन् । जनतामा यति ठूलो आक्रोश र वितृष्णा पैदा भएको छ कि बरु जो सुकै शक्ति सत्तामा आओस् तर यो सत्तालाई निषेध गरियोस् भन्ने चाहन्छन् । अहिलेको संसदीय नेताहरुलाई जेलमा हाल्ने शक्ति आओस् र उनीहरुको सम्पत्ति राष्ट्रियकरण गर्ने शक्ति आओस् भन्ने आम जनचाहना छ ।
आज जनयुद्धको स्वामित्व कसले लिने भन्ने विषयमा बहश गर्नुपर्ने अवस्था छैन । प्रचण्डले जनयुद्धको नाममा धेरै खाए र धेरै डकारे । जनयुद्धको उद्देश्य माथी उनले व्यापार गरे । आज पार्टी, क्रान्ति, सेना, सत्ता सबै खाइसके । त्यसकारण आज जसले वैज्ञानिक समाजवादको स्थापनाका लागि निरन्तर संघर्ष गरिरहेको छ, त्यसैसँग मात्र जनयुद्धको स्वामित्व रहन्छ । आज पनि विप्लव, प्रकाण्ड, कंचन, सुदर्शन र सन्तोष बुढामगर जस्ता नेताहरुले आफ्नो जीवनलाई हत्केलामा राखेर क्रान्तिको विगुल फुकिरहेका छन् । त्यतिमात्र हैन अब यो दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्ने तयारी गरिरहेका छन् । त्यसकारण आज जनयुद्ध मरेका छैन बरु त्यो झनै विकास भएर अगाडि बढ्दैछ । आज जनयुद्धका योद्धाहरुको सपना मर्न दिइएको छैन बरु झन प्रबल र निकट बनिरहेको छ । आज शहिदहरुको बलिदानलाई खेर जान दिइने छैन किनकी क्रान्ति फेरि पनि आँधी बनेर उठ्दै छ । वेपत्ता, घाईते र अपाङ्गहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै एउटा नयाँ क्रान्तिकारी पहलकदमीलाई अगाडि बढाइएको छ । समग्रमा फेरि पनि प्रतिक्रियावादी शक्तिहरु वैचन छन् र छट्पटीएका छन् किनकी तिनीहरुले सोंचेभन्दा फरक ढंगले नेपालमा क्रान्तिकारीहरु सलबलाएका छन् र जुरमुराएका छन् । क्रान्तिको झण्डा फहराउँदै गएको छ त्यसलाई नजरअंदाज गर्नु असंभव छ ।
आज पनि दलाल सत्ताले हाम्रो नेतृत्वलाई सिध्याउने गरी आक्रमणको नीति ल्याएको छ । पार्टी महासचिव विप्लवका विरुद्ध थुप्रै षडयन्त्रहरु हुने खतरा छ । पार्टी प्रवक्ता प्रकाण्डलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले नाङ्गो आक्रमणहरु भएकै छन् । पार्टीका स्थायी समितिका नेताहरुलाई सिध्याउने सम्मका योजनाहरु बनाएका छन् । देशव्यापी रुपमा पार्टीका नेता र कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने र अवरोध सिर्जना गर्ने काम सत्ताबाट भएकै छ । अतः क्रान्तिकारी पार्टी र नेतृत्वको विरुद्ध षडयन्त्र गर्ने केन्द्रमा प्रचण्ड छन् र बादल छन् ।
त्यसकारण आज जनयुद्धको २४ औं वर्षगाँठमा आईपुग्दा राजनीतिक परिदृश्य अनौंठो ढंगले विकास भएको छ । आज एकातर्फ दलाल संसदीय व्यवस्थाको मुख्य नायक पुष्पकमल दाहाल बनेका छन् भने क्रान्तिको नेतृत्व नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेका छन् । आज क्रान्तिको नेतृत्व विप्लवले गरेका छन् भने प्रतिक्रान्तिको नेतृत्व प्रचण्डले । नेतृत्वका हिसाबले अनि सत्ताको हिसाबले प्रचण्ड र विप्लवका बीच नै मुख्य संघर्ष केन्द्रित छ । यो दुःखद परिदृश्यको हामीले कल्पना गरेका थिएनौं । अर्थात दलाल संसदीय व्यवस्थाको रक्षक बनेर प्रचण्ड आउलान भन्ने के कसैले कल्पना गरेका थियो होला र ?
आजको दिनमा २४ औं जनयुद्ध दिवश मनाईरहँदा हामीले मुख्य गरी दशवर्षे जनयुद्धका भीषण संघर्षहरु र त्यसले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पारेका प्रभावहरुलाई सम्झि रहेका छौं । शान्ति प्रक्रियाका शुरुका वर्षहरुमा परेको क्रान्तिको प्रभावलाई नियालिरहेका छौं । सबैक्षेत्र नेपाली क्रान्तिका लागी तयार भएर बसेका थिए । के नेपाली सेना, के प्रहरी, के कर्मचारी, के राष्ट्रिय पूँजीपति वर्ग सबै नै तयार भएका थिए । माओवादी शक्तिको प्रभाव यसरी परेको थिथो कि कसैले पनि त्यो शक्तिको विरुद्ध बोल्ने हिम्मत गर्न सक्दैनथ्यो । अब पनि क्रान्तिको प्रक्रियामा अवरोध गर्न सकिन्छ भन्ने हिम्मत दुश्मन शक्तिमा पनि थिएन । मनोवैज्ञानिक रुपमा प्रतिक्रियावादीहरु पराजित भइसकेका थिए । तर दुर्भाग्य वा अफसोचको कुरा यो अवसर सधैैंभरि रहन सक्दैन्थ्यो । मूल नेतृत्व आफ्नो प्रतिवद्धताबाट डगमगाई सकेको रहेछ । कुरा क्रान्तिको गरिरहने तर यात्रालाई अर्कोतिर मोडने काम भयो । विस्तारै मूल पार्टीलाई नै भ्रष्टिकरण गर्दै संसदीय यात्रालाई मूल निशाना बनाए । हुँदाहुँदा जनयुद्धका सबै संरचनाहरु सम्पत्तिहरु ध्वस्त बनाईए । जब जनमुक्ती सेनाको पनि विघटनको घोषणा भयो त्यसपछि आशा गर्ने कुनै ठाउँ बाँकी रहेन र किरण र विप्लवको नेतृत्वमा एउटा विद्रोह भयो ।
आजसम्म आउँदा सबै स्पष्ट भएका छन् । प्रचण्ड कहाँ विलिन भए, पार्टी कहाँ गयो र क्रान्तिको कुरा कता हरायो भन्ने कुरा प्रष्ट भएको छ । सुखद तर आश्चर्य जनक कुरा के भयो भने प्रचण्डले पार्टी र क्रान्तिलाई विसर्जन गरेपनि नेपाली राजनीतिमा क्रान्तिकारी पार्टीको अभाव हुन पाएन । नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा क्रान्तिको यात्रा अगाडी बढी रहेको छ । हिजो गुमेका क्रान्तिका सबै चीजहरु प्राप्त हुँदै छन् । आज क्रान्तिकारी दर्शन, कार्यदिशा, नेतृत्व पार्टी, सेना र सत्ता सबै स्थापित हुँदै गएका छन् । खुसीको क्षण यो छ कि दलाल संसदीय व्यवस्था आफ्नो मृत्युको अन्तिम क्षणमा पुगेको छ र त्यसको विकल्पमा क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी वैज्ञानिक समाजवादको कार्यक्रमका साथ अगाडी बढेको छ । एउटा भीषण संघर्ष सतहमै देखिएको छ र उत्कर्षमा पुगेको छ । अतः २४ औं जनयुद्ध दिवशमा पार्टीले क्रान्तिकारी शक्तिहरुलाई एउटा ऊर्जा प्रदान गर्नेछ । फेरि पनि प्रतिक्रियावादी शक्तिहरुलाई पराजित गर्ने सम्भावना प्रबल बनेको छ । फेरि पनि वैज्ञानिक समाजवादको यात्राले आम नेपाली श्रमजीवि सर्वहारा वर्गमा नयाँ उर्जा प्रदान गर्ने छ ।