पूँजीवादमा भ्रष्टाचार किन भयो भनेर प्रश्न गर्नुभन्दा खित्का छोडेर हाँस्नु वुध्दिमानी – बलराम तिमल्सिना

२०७५ फाल्गुन ८ गते, बुधबार

पूँजीवादी व्यवस्थाले फेर्ने स्वास नै भ्रष्टचार हो । पूँजीवादमा भ्रष्टाचार किन भयो भनेर प्रश्न गर्नु भन्दा खित्का छोडेर हाँस्नु बढी वुध्दिमानी हुन्छ । तपाई भ्रष्टचारलाई इतिहासको विस्मृतिमा पुरिएको विषय बनाउँन चाहनु हुन्छ भने तपाईसँग एउटा र केवल एउटा मात्रै उपाय छ -समाजवादमा जानु र लगत्तै साम्यवादको तयारी गर्नु । तपाईलाई मार्क्सवादीहरूले भन्ने गरेको समाजवाद मन नपर्न सक्छ , त्यो वेग्लै कुरा हो । मन पर्नु र नपर्नुको पनि बर्गीय कारण हुन्छ । तपाईलाई पूँजीवाद मन पर्छ हो ? हो भने कृपया भ्रष्टाचारलाई पनि मन पराउँनुहोस ।पूँजीवाद मन पर्ने तर भ्रष्टाचार मन नपर्ने कुरा संभव नै छैन।
पूँजीवाद भनेकै पूँजीको आडमा मजदूरहरूको कमाईको ठूलो हिस्सा कव्जा गर्ने शोषणमूलक अर्थात भ्रष्ट व्यवस्था हो । तपाईले भनेको भ्रष्टाचार चै पूँजीवादी कानूनले लुट्न दिएको सीमाभित्र पनि नअटाएर कानून मिचेर गरिएको लुट हो।
तपाईलाई कानून मानेर खाने कमिशन मन पर्छ नि है ? तपाईलाई मन पर्छ भने र तपाईसँग यदि सत्ता छ भने तपाई अहिले भ्रष्टाचार भनिएका कुरालाई पनि कानून बदलेर गर्न मिल्ने बनाइदिनोस , खेलै खत्तम ।
तपाई के बुझ्नोस भने, हरेक देशमा कानून उलङ्घन गरेर अतिरिक्त सम्पती जम्मा गर्ने मात्रा जति हुन्छ त्योभन्दा कैयन गुणा बढी लुट कानून पालना गरी गरी हुन्छ ।
एक जना पूर्व मन्त्री शेरबहादुर तमाङले एउटा अन्तरवार्तामा भनेका थिए- एक वर्षमा नेपाल सरकारले खरिद गर्ने सेवा तथा बस्तुबाट कम्तिमा साठीदेखि सत्तरी अरव रुपैयाँ कमिशन आउँछ । नेपालमा प्राप्त कमिशन सरकारी खातामा जम्मा गर्ने कानून नभएकाले त्यो रकम प्रत्येक वर्ष देशका उच्च पदस्त कर्मचारी र सरकारका टाउकेहरूको हातमा पुग्छ । त्यसै भेटिन्छ पानी ट्याङ्कीमा भरिभराऊ नोट ? हामी यस्ता समाचार एक कानले सुन्छौं र अर्को कानले उडाइदिन्छौं ।यस्तो लाग्छ हामी पनि भ्रष्टाचारीका सन्तान हौं र हाम्रो दिमागमा पनि त्यो अनुवांशिक हिसावले उत्तरदानको रुपमा प्राप्त भएको छ ।
एक वर्षमा सत्तरी अरव सीमित मान्छेको गोजीमा खुरु खुरु पर्ने कुरा कम डरलाग्दो छ ? तपाईलाई डर लागेन ? तपाईलाई यस्तो व्यवस्था अझै मन परिरहेको छ ? अझै पनि मन परिरहेको छ भने तपाईले निर्धक्क भन्नुस-” आइ लभ भ्रष्टाचार !” होइन भने भ्रष्टाचारको होइन पूँजीवादको टाउकोमा निशाना लगाउँन तयार हुनोस ।तपाई त्यसो गर्न तयार हो ? तपाई तयार हो भने तपाईलाई धन्यवाद छ।होइन भने तपाईका कुराको केही अर्थ छैन।कित तपाई गलत विचारका कारणले आफै ठगिनु भएको छ कित तपाई भ्रष्टाचार विरोधी गफ गरेर कसैलाई ठग्ने पेशामा हुनुहुन्छ।

प्रतिक्रियाहरु

[anycomment]