को हुन् सहिद र को आफन्त -विनोद दाहाल

२०७५ फाल्गुन १४ गते, मंगलवार

सहिद सप्ताहका अवशरमा महान् सहिदहरु र वेपत्तायोद्धाप्रति सम्मान र श्रद्धाञ्जली छ । परम्परागत बैचारिक प्रवाहलाई क्रमभङ्ग गर्दै महान् माओका योगदानहरुलाई सार्वभौम मान्ने झापा बिद्रोहका क्रममा सुखानीमा भएको ५ जना योद्धाहरुको वलिदानको सम्मानमा २१ गते सहिद दिवस मान्ने र माओवादी आन्दोलनको अर्थात दीर्घकालिन जनयुद्धमा पहिलो वलिदान भएको १४ गतेको दिलवहादुर रम्तेलको वलिदानलाई जोडेर सबै महान् सहिदहरुको सम्मान गर्ने यो “सहिद सप्ताह” नयाँजनवादी संस्कृतिको अवशरमा सम्पुर्ण शोषितपिडित तथा न्यायप्रेमी जनसमुदायमा हार्दिक शुभकामना पनि व्यक्त गर्दछु ।
एक प्रसंगमा नेता रसवहादुर कार्कीले दावी सुनाउनु भयो— म पनि त सहिदको आफन्त नै हुँ । जीवनको लामो समय सहयोद्धा ऋषिराज देवकोटा आजादसँग अत्यन्तै नजिकको सम्बन्ध गाँसेर बिताएको छु । जसरि परिवारका सदस्यहरु मिलेर बसेका हुन्छन् त्यसरिनै हामी मिलेर बाँचेका थियौं । यो निक्कै घतलाग्दो बिषय हो ।
संघर्षपूर्ण जीवन नै सबैभन्दा सार्थक जीवन हो । अझ वर्गसंघर्षको लागि सचेत प्रयत्न थाल्नेहरुको जीवन सबैभन्दा सार्थक हुन्छ । यस्तो बेला भावनात्मक रुपमा मिलेर रहेका सबै नै सहिदका आफन्त हुन् । सहयोद्धा जत्तिको आफन्त अरु को हुनसक्छ ? यस अर्थमा प्रचण्ड, बाबुरामलगायत सबै जनयुद्धका नेता तथा कार्यकर्ताहरु सहिदका आफन्त हुन् भन्न सकिन्छ । यत्तिले मात्र पनि सहिदको आफन्त हुने योग्यता निर्धारण गर्दैन कि भन्ने कुरा पनि बहसमा आउन सक्छ । बाटो छोडेपछि कसरि सहयात्री र लक्ष्य तोडे कसरि सहयोद्धा वा आफन्त हुन सकिन्छ भनेर पनि बहस हुन सक्छ । परिवारका सदस्य र नाता गाँसिएकाले आफन्तको दावी गर्नेगरेका छन्, जुन स्वभाविक पनि हो । तर यसप्रकारको आफन्तलाई नातेदार भन्दा सबैभन्दा सहि हुन्छ किनकि ती सबै आफन्त वा सम्मान गर्ने कोटिमा रहेका भेटिंदैनन् ।
१४ फागुनदेखि संयुक्त रुपमा मानेर सहिद सप्ताह शुरु भएको छ । यो एउटा जनवादी संस्कृतिको रुपमा विकास भएको छ । यो श्रमजिवी, सर्वहारा र न्यायप्रेमी जनसमुदायले आफ्नो वर्गको लागि आफन्तले वलिदान गरेको संझना गराउने दिन हो । यो हजारौं वर्षदेखि दासता सहेर बस्न वाध्य मानिसलाई जागरण ल्याउने उर्जा प्राप्त भएको दिन हो । आज शोषितपिडित जनताले शोषण र उत्पिडन बिरुद्ध वलिदानमार्फत नयाँ परम्परा थालेको दिन पनि हो । वलिदानीपूर्ण संघर्षमा शोषितपिडित जनताले मुक्तिको लागि साहस, उत्साह, उमङ्गता अभिव्यक्त गरेको यही दिनको सम्मानले पनि हो । नेपालको महान् जनयुद्धमा जनताले देखाएको वीरता र पराक्रमले किर्तीमान नै तोडेको छ । यो सचेत जनताको सम्मान गर्ने सबैभन्दा महान् दिन पनि हो ।
आफ्नै अगाडि, कैयौं सहयोद्धाहरु गुमाएर सहिद दिवस मनाउन वाध्य हुनु परेको अवस्था छ । सहिदका सपना साकार पार्न अर्थात सँगै प्रतिबद्धता गरेका अधुरा कामको जिम्मेवारि पुरा गर्नुपर्ने दायित्व हाम्रासामु खडा छ । यतिखेर वर्गसंघर्षलाई कसरि उठान गर्ने र न्युनतम् लक्ष्यको लागि अर्थात पुनः वलिदानीपूर्ण संघर्षको पहलकदमीका अग्रसरता लिने भन्ने जिम्मेवारि हाम्रासामु छ । आजको दिनमा फलानो गुटको जस्तो बिसर्जनको बाटो कदापी लिनुहुन्न, तिलानाले जसरि बाटो छेक्ने अवशरवादी र वेइमानी गर्नतिर लाग्नु हुन्न भनेको हुनुपर्छ महान् सहिदले । आजको दिनले नै एकक्षण मौनधारण गराइरहेको छ ।
आफ्नै अगाडि र अन्यत्र स्थानहरुमा गुमाएका सहयोद्धाहरुको सम्मानमा सैन्यपञ्जामा रहेको बेला राज्यले आफ्ना श्रोत र साधनको दुरुयोग गर्दै गुप्त रुपमा हत्या गरेका र वेपत्ता पारेका योद्धाहरुको सार्बजनिकीकरणको माग राखेर १५ दिनसम्म आमरण अनशन बसेको थिएँ । त्यतिबेला कैयौं बन्दी योद्धाहरुको साथ र सहयोगमा सैन्यसत्तालाई झुकाएर सार्वजनिक गर्ने प्रतिबद्धता गराएको स्मरण ताजै छ । मातृका यादव, सुरेश आलेमगर, कृष्ण केसी, हिमाल शर्मा, विनामगरको सैन्य कष्टडिमा स्थिति कस्तो छ भनेर सार्वजनिक गरेका थियौं र विश्चल नकर्मी, भिम गिरी, भीम महर्जन लगायतका कैयौंलाई सैन्य हिरासतमै हामीले भेटेको कुरा अनशनका क्रममा युएन, आइसिआरसि, राष्ट्रिय मानवअधिकार आयोग, मिडियाहरु र सम्बन्धित योद्धाहरुका परिवारजनसमक्ष कुरा पु¥याएका थियौं । मैले दिएको बिबरण अनुसार बन्दी खोज्न खोज्दा शाहीसेनाले अपमान र असहयोग गरेको भन्दै आइसिआरसिले काम रोकेर विश्वको ध्यानाकर्षण गर्दै नरसंहारमा उत्रिएको रराजा ज्ञानेन्द्रको प्रतिगामी र निरंकुश सामनती शासनले विश्वका सबै नरसंहारलाई उछिनेको प्रचारप्रसारले स्थान पाएको थियो । उक्त संस्थामार्फत सैन्य पञ्जामा रहेका बेला सुन्न पाउँदा र त्यहाँका अन्य बन्दीहरुलाई सुनाउन पाउँदा पीडाभित्र लुकेको खुसीयाली अभिव्यक्त गर्न पाएको थिएँ ।
असम्भव झैं लाग्ने अनशनरत रहेका बेला हाम्रा ३१ बुँदे मागहरु रेडियो जनगणतन्त्रबाट प्रशारण भएको गुप्त रुपमा हामीले राखेका रेडियोबाट सुन्न पायौं । सैन्य पञ्जादेखि नै पार्टीको उक्त निकायसम्मको सम्बन्धलाई कति कुशलतापुर्बक हामीले जोडेका थियौं । हाम्रा यसप्रकारका कार्यहरुले वर्ग दुस्मन र तिनका रक्षक बदनाम शाही सेनाको मनोबल पुरै गिराएको थियो । त्यतिबेला उनीहरु पुरै हतोत्साही देखिएको नजिकैबाट हामीले महशुस गर्न पाएका थियौं । हाम्रो वीरतापूर्ण संघर्षदेखि ामी कति खुसी थियौं भन्ने अहिले स्मृतिमा महशुस गर्न मात्र सकिन्छ । सैन्य पञ्जामा रहेका बेला होस् वा बाहिर पनि हाम्रा हरेक प्रयत्नले सहिद र वेपत्तायोद्धाका परिवारजनलाई साथै सचेत नागरिक अधिकारकर्मीहरुलाई आन्दोलनका लागि आधार खडागरिदिएका थियौं । त्यसैले म सँधै वलिदानको सम्मानमा निरन्तर लाग्ने राजनीतिक लाक्ष्यमा अडिग रहिरहेको छु भन्दा आफैंलाई गौरव लागेको अनुभुति पनि गरिरहेको छु ।
म सिन्धुलीमा जनयुद्धको समयमा रहेको पछिल्लो अवधिमा तुलनात्मक रुपमा थोरै संख्यामा वीरवीरङ्गनाहरुको सहादत भयो । पूर्वको रोल्पा भनेर वलिदान र संघर्षमार्फत पहिचान बनाएको जिल्लामा म २०६२ सालको भदौमा जनयुद्धमा सहभागी थिएँ । त्यसपछिको मेरो कार्यमा वलिदानको सम्मानमा स्वरुप वलिदानका गाथा सुनाउने र सुन्ने पनि रहन पुगेको छ । यही शिलशिलामा म सिन्धुलीको वलिदान गाथा एकपटक पढन र आदर्शलाई आत्मसात गर्न अनुरोध पनि गर्दछु । पुस्तकमा मध्य जनयुद्धको बेलामा पुर्णकालिन सदस्य भएर कार्यरत भएको बेलामा सहादत हुनुभएका तत्कालिन हतपते रुचानेका दलवहादुर राना समाबेश गरेर बुझिदिन पनि हार्दिक अनुरोध गर्दछु ।
अहिले पनि हामी वर्गसंघर्षको आँधिमय क्षणमा छौं । हाम्रा अगाडि सहिद र वीरयोद्धाहरुको लामो ताँती छ । सहिद झैं वीरयोद्धाहरु पनि सम्मानका लागि लायक हुन्छन् भन्ने हामीले कदापी भुल्नु हुँदैन । आफ्नो वर्गप्रति इमानदारिपुर्वक जीवनभर संघर्षमा रहने वीरयोद्धाहरुलाई पनि कतिपय अवस्थामा सहिद भन्ने गरिएको छ । सम्बोधनमा स्पष्टताको खाँचोसमेत रहेको देखिएको छ । संघर्षरत हुँदै सहादत हुने र इमानदारिपर्वक जीवन समर्पण गर्ने कार्य उत्तिकै सम्मानित हुने बिषय हुन् । सत्तासिनहरुले आन्दोलनको राप निश्तेज पार्न जस्लाईपायो त्यसलाई र जनताले सफाय गरेका अपराधीहरुलाई पनि सहिद भनेर सम्बोधन गर्ने गरेकाले पनि सहिद शब्दको अपमान गर्ने दुस्प्रयास भएको तर्फ पनि ध्यान पु¥याउनु जरुरि देखिन्छ ।
मैले के महशुस गरेको छु भने सहिद र वेपत्तायोद्धाका आफन्त म पनि हुँ । म पद, प्रतिष्ठा र पैसामा बिक्नु हुन्न भन्ने ठानेको छु । मैंले मेरो सकेसम्मको उर्जा उहाँहरुको सम्मान र लक्ष्यप्राप्तिमा लगाउनु पर्छ । हाम्रो भविष्यको लागि वलिदान गर्ने उहाँहरु भन्दा सम्मानित मानिस अरु सायदै हुन्छन् भन्ने मेरो पनि मान्यता छ । ममाथि लाग्ने बिसर्जनवाद, अवशरवाद र अराजकतावादको बिल्लामा महान् सहिदको पनि अपमान हुन्छ भन्ने मैले बुझेकै हुनुपर्छ । यही भएर नै मैंले आफूलाई आफन्त ठानेको छु । निरन्तर क्रान्तिको लागि आफूलाई समर्पित गर्नु नै साँच्चो अर्थमा सहिदप्रतिको सम्मान हो भन्ने मैंले बुझेको छु । मैंले आफूलाई यस्तो गर्न सके मात्र म साँचो अर्थमा सहिद तथा वेपत्ता योद्धाहरुको आफन्त हुनेछु । यो मेरो प्रतिबद्धता पनि हो ।
वर्गसंघर्षको इतिहहासले बताइरहेको छ कि शोषणकारि वर्गीय समाजको अन्त्य अवसंभावी छ । यो सत्ता सर्वहारा वर्गको अजेय शक्तिको अगाडि यो टिक्नेछैन । माक्र्सवादले विकास गरेको सर्वहारा वर्गको बिचारको विकासले विवेकहीन शोषणकारि राज्यव्यवस्था बिश्वका कुनै पनि स्थानमा रहन दिने छैन ।

प्रतिक्रियाहरु

[anycomment]