सरकारी नेकपा फासिवादतिर उद्दत – बलराम तिमिल्सिना

२०७५ फाल्गुन ३० गते, बिहीबार

विश्व-साम्राज्यवादको गुरुयोजनामा कम्युनिष्ट झण्डाकै प्रयोग गरेर कम्युनिष्ट आन्दोलन समाप्त पार्ने गंभीर षडयन्त्र अनुरुप नै माओवादी केन्द्र र एमालेबीच एकता गराएर अत्यधिक बहुमतको सरकारको निर्माण गरिएको हो । अहिलेको सरकारी नेकपा साम्राज्यवादको चूत्था दलालहरूको पार्टी हो । उक्त पार्टीले कम्युनिष्ट नाम र झण्डाको प्रयोग साम्राज्यवादको योजना लागू गर्न जनतालाई धोका दिनको लागि मात्र गरेको हो । नयाँ पार्टी र सरकार बनेपछिका एक डेढ वर्षका गतिविधिको अध्ययन गर्यौं भने त्यो कुरा प्रष्ट हुन्छ।
लोकको दिमाग भुट्ने गरी कार्यकर्ताहरूको जिब्रामा झुण्ड्याइदिएको ” समृध्दि र विकास” को नारा सिधै साम्राज्यवादसँग सापटी लिइएको नारा हो।कुनै पनि अर्थमा सरकारी नेकपा मजदूर किसानको पार्टी होइन बरु साम्राज्यवादको नेपाली एजेण्ट हो। सिके राउतलाई सके पार्टीमा नसके सरकारमा स्वागत गर्ने र विप्लवलाई प्रतिवन्ध लगाउँने घटना जसरी श्रृङ्खलामा भएको छ त्यसले के संकेत गर्छ भने नेकपा क्रमश फासिवादतिर उद्दत हुदैछ। विश्वभरि नै चरम दक्षिणपन्थीहरूको उल्टो हावा जसरी चलिरहेको छ र त्यो जसरी फासिवादको प्रयोग गर्दै छ नेपालका प्रतिकृयावादीहरू पनि त्यसैका अभिन्न अङ्ग हुन ।
सरकारी नेकपाभित्र अझै पनि कम्युनिष्ट सपना देखिरहेका र देख्न चाहने साथीहरू अकर्मण्यताको निद्राबाट व्युँझिन जरुरी छ। अझै पनि केपी ओली या मिस्टर प्रचण्डको नेतृत्वमा कम्युनिष्ट आन्दोलनलाई एकतावध्द बनाउँन सकिन्छ भनेर ती साथहरूले गरेको बहस मशानघाटलाई हनिमुन स्पट बनाउँने सल्लाह गरेजस्तै हाँस्यास्पद र मूर्खतापूर्ण छ।
देशले एकपटक फेरि भयानक भ्रमको सामना गर्नु परेको छ। कम्युनिष्ट झण्डा बोकेर कम्युनिष्टहरूकै नरसंहार गर्ने साम्राज्यवादी षडयन्त्र अघि बढ्दै छ। इतिहासमा विरलै घटने यस्तो घटनाबाट देशभित्रका कमजोर चेतना भएको कम्युनिष्ट जनमतमा गहिरो भ्रम र निराशा उत्पन्न हुने निश्चित छ। कम्युनिष्ट झण्डा बोकेको दुई तिहाईको दवदवाले लेखक साहित्यकार तथा वुध्दिजीवीहरूको ठूलो पंक्तिलाई मनोवैज्ञानिक आश र त्रासमुनी वाँच्न वाध्य बनाएको छ।
यस खाले आतङ्कको समयमा सडकमा निस्कनु र फरक विचारको नेतृत्व गर्नु चानचुने मुटूले संभव छैन। आउनोस दरो मुटु हुनेहरू हो – वर्गघाती दलालहरूका अपराधहरूको भण्डाफोर गर्दै तिनीहरूलाई हाम्रो वर्गका अगाडि नाङ्गेझार बनाऊँ र हाम्रो आफ्नै यात्रा सुरु गरौं !

प्रतिक्रियाहरु

[anycomment]