सरकारी प्रतिवन्ध र युवाहरुको प्रतिवद्धता – दिनेश विक

२०७५ चैत्र ९ गते, शनिबार

‘अरुले बाहिर ठग्ने लाटोले वाउ ठग्ने’ भन्ने उखान जस्तै छ । अहिलेको सामाजिक दलाल पुँजीवादी सरकार अर्थात केपि– प्रचण्डको कथित नामधारी लुटेरा सरकार पनि भन्न मिल्छ । जसले गाउँदेखि केन्द्रसम्म लुट्ने, थुत्ने र कमाउने भाँडो बनेको छ सरकार । लुट्ने र लुटाउने सरकार सावित भएको छ । आर्थिक क्षेत्रमा लुट, स्वास्थ्य क्षेत्रमा लुट, विकास निर्माणमा लुट, पानी पधेरोमा लुट, यातायातमा लुट, कानुनमा लुट, राजनीतिक अधिकार र रोजगारीको नाममा लुट वढेको छ । सवै क्षेत्र लुट्ने र लुटाउने आधिकारिक प्राइभेट कम्पनी खोलेको छ, यो नालायक सरकारले । देशको अस्मिता लुटिएको छ स्वाधीनता खतरामा परेको छ मानौ आफ्नै आमाको अस्मिता लुटाउन पैसाको मोलतोल गरे जस्तै घृणित काम गरेको छ केपि – प्रचण्डको सरकारले । अहिले जनतामा लोकतन्त्रको अर्थ फरक र भिन्न व्याख्या हुँदै आएको छ नहुनु पनि कसरी दलाल नेता र यिनका व्यावहारले त्यो पुष्टि गरेको छ । दलाल संसदिय व्यवस्था र यसका सन्चालक आजको लोकतन्त्रका हिमायती होइनन कि ! लुट्तन्त्रका डाका भन्न पनि नसुहाउने भएन । यो फासिवादी निरंकुश केपि र पिके दाहालको सरकारलार्ई बाहिर साम्राज्यावादी शक्तिहरुले थुतेको र सवै हिसावले चुसेको छ भने भित्र नेपाली सोझा साझा नागरिकहरुलार्ई ठगिरहेको छ । अन्तरहृदयमा नेपाली नागरिकको हितको काम गर्ने छैनकी विदेशी साम्राज्यावादिको खुट्टामा कणुवा तेलले मालिस गर्दै कुर्सी वचाउन वाहेक अरु काम गरेको देखिदैन मानौ केपि र पिके दाहालको लागि यो सरकार ‘लुटि खाने र भुटी चपाउने’ भएको छ । केपि – पिके दाहालको कथित नामधारी कम्युनिस्ट सरकार अहिले सवैभन्दा बदनामी र कलङ्क सरकार सावित भएको छ । दुई तिहाइको सरकार शान्ति, समृद्धि, स्थायित्व र समाजवादको नारा दिएको छ जो नारा जनताको आखामा छारो फाल्ने वाहेक अरु केही भएको छैन । भ्रष्टाचार निर्मुल पार्छु भन्ने केपीका उखान, टुक्के भाषण गर्दै हिँड्ने तर पोल्लो कोठामा अरवौ स्वाहा पारेको थाहै नपाउने ! शान्तिको नारा दिने तर दिन प्रतिदिन चेलीबेटी बलात्कारको सिकार र मारिनु पर्ने अवस्था छ, दलितमाथि अमानवीय कार्य बढ्दै गएको छ ।
न्याय जनताको पक्षमा होइन कि हुने खानेहरुको किन्ने ललिपप भएको छ, जनताले खान पाए कि पाएनन् भन्नेभन्दा पनि मन्त्रीदेखि राष्ट्रपतिसम्मकाले कति महङ्गो गाडी चढ्ने होड्बाजी चलेको छ, जनताले औषधि उपचार नपाएर अकालमै ज्यान फाल्नु परेको छ । तर, यहाँका मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति सम्मकाले करोडौं खर्च गरेर रुघा–खोकी लाग्दा पनि विदेश हुइकिने गरेका छन् । जनताका छोरा – छोरी गरिवीका कारण राम्रो विद्यालयमा पढ्न लेख्न र कलम कापी किन्ने पैसा नपाएकै कारण भविष्य अन्धकार भएको छ । तर, उच्च तहका सरकारी मान्छेहरुका छोरा–छोरी महँगा स्कुल र विदेशमा पढाउछन् । डिग्री पास गरेका छन् तर युवाहरु विदेशका गल्ली चाहार्नु पर्ने वाध्यता छ र सम्पत्ति कमाउने सपना बोकेर विदेश हिड्ने युवा मृत अवस्थामा बाकसमा स्वदेश आउनु पर्ने दर्दनाक पीडादायिक अवस्था छ । जनताको जीवनमा अभावै अभावले घेराबन्दी गर्दै छ । यहाँसम्म कि निस्सासिएर नगरिक झुण्डिएर मर्ने अवस्था आएको छ । पुँजीवादी व्यवस्थाका कारण मान्छेका मन, माया र भावना पनि पैसा छ, त्यो छ पैसा छैन त्यो छैन यस्तो छ । दलाल पुँजीवाद रहेसम्म जनता जनतावीच अविश्वास मात्र होइन कि ! पतिपत्नीवीच अबिस्वास, वुवा र छोरा वीच अविश्वास, प्रेमी र प्रेमिका वीच अविश्वास, अफिसर र सिपाही वीच अविश्वास, हाकिम र पियुन वीच अविश्वास, नेता र कार्यकर्ता वीच अविश्वास, मन्त्री र प्रधानमन्त्री वीच अविश्वास पुँजीवावाद रहेसम्म मालिक र मजदुरको वीचको सम्बन्ध पनि सुमधुर हुनेवाला छैन । किनकि स्वार्थसिद्घ नीच यो दलाल व्यवस्थाले यो निम्त्याएको हो तर यहाँ समाजवादको नारा दिइएको कथित कम्युनिस्टको सरकारले अथाहा भ्रम फैलाएको छ ।
लोकतन्त्रको दुहाई दिएर करोडौं सम्पत्ति विदेशी वैङ्कमा कसले कति लुकाउने भन्ने प्रतिस्पर्धा चलेको छ । यहाँ लोकतन्त्र होइन कि लुट्तन्त्र हो भन्ने सावित भएको नागरिकले वुझी सकेका छन् । देशलार्ई लुट्ने र लुटाउने दलाल अहिलेका केपि – पिके दाहालको प्रमुख भूमिका हो र त्यसका मतिहार यिनै हुन् भन्ने जनतामा स्थापित भएका छन । नागरिक भ्रममा पर्नु हुँदैन ।
प्रतिवन्ध किन ?
हाम्रो देशको अवस्था हेर्दा कहालीलाग्दो छ । भ्रष्टाचार झन् उत्कर्षमा पुग्दैछ । हरराज्यका हरनिकाय अछुतो छैन । हजारदेखि अरवौको रकममा भ्रष्टाचार गर्दै जनताको पसिनावाट कर उठेको देशको रकम सिद्घाउन लागि परेका छन् । शेरबहादुर देउवा, पिके दाहाल, केपि ओलीदेखि सवै स्तरका नेताहरु अरवौ रकम लुकाएका छन् । विभिन्न क्षेत्रमा लगानी गरेको पनि नागरिक सामु प्रस्टै छ । भ्रष्टाचारले आफ्नो सीमा क्षेत्र दिनप्रतिदिन फराकिलो पार्दै गएको छ । कमिसन हरक्षेत्रमा नाङ्गिदै गएको छ र संस्कारमा विकाश भइरहेको छ ।
१)एनसेलले ७२ अर्व राज्यलार्ई कर तिरेन नेताहरुलार्ई बाढ्यो, ५५ जना नेपालीले विदेशमा ५२ अर्व ७ करोड २७ लाख ३२ हजार रुपैयाँ शंका स्पद लगानी गरेका छन् भन्ने बाहिर आयो तर सम्पत्ति शुद्घिकरण र राजस्व अनुसन्धान बिभाग प्रधानमन्त्री केपि आफैँले हेर्ने गरेका छन् । कसरी र कहाँबाट बाहिरियो ? यत्रो रकम यसको जवाफ दिन सक्छन् देशको खोला नाला, अवैधधन्दा र दलाली गरेर कमाएको पैसावाहेक अरु केही होइन, १७ अर्व १ करोड ८० लाख वरावरको ३८ क्विन्टल सुन तस्कर गरियो । यो पनि सरकारकै उच्च तहका मान्छेको हात छ भन्ने हो यी सबैको हामी अन्त्य चाहन्थ्यौँ । यी सबैको विरोध गर्दा हामीलार्ई प्रतिवन्ध गरियो ! २) नेपालको राष्ट्रियता कमजोर भएको छ । १८१६ को सुगौली सन्धि, १९५० को असमान सन्धिका कारण नेपालको राष्ट्रियता कमजोर भएको छ । नवउपनिवेशिकको सिकार भएको छ ।
राजनैतिक, आर्थिक, सास्कृतिक र सामाजिक क्षेत्रमा साम्राज्यवादी शक्तिहरुले हाम्रो देशको राष्ट्रियता माथि लात हान्दै आएका छन् । हाम्रो राष्ट्रियता मजवुत पारौँ, स्वाधिन र आत्मनिर्भर देश वनाऔँ, सीमाको रक्षा गरौँ, असमान सन्धि खारेज गरौँ, स्वाभिमान नेपाल निर्माण गरौँ, हस्तक्षेपकरी विदेशीको नीति खारेज गरौँभन्दा हामीलार्ई प्रतिवन्ध लगाइयो । ३) असमान, अवैज्ञानिक र महङ्गो शिक्षा होइन, सर्वसुलभ, वैज्ञानिक र प्रत्येक नागरिकका छोराछोरीलार्ई शिक्षा निःशुल्क दिनु पर्छ र राज्यको दायित्व हो । प्रत्येक नागरिकलार्ई सर्वसुलभ स्वास्थ्य उपचार पाउनु, स्वस्थ रहनु र वाच्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो र त्यो व्यवस्था राज्यले गर्नु पर्छ भन्दा उल्टै हामीलार्ई प्रतिवन्ध लगाइयो । ४) प्रत्येक नेपाली नागरिकले पेट्भरी खाना खान पाउनु पर्छ, सवैले वस्ने बाँस पाउनु पर्छ र ग्यारेन्टी हुनुपर्छ र आङ ढाक्ने लुगाफाटो नपाई अभावमा वाच्न नपरोस् र राज्यले ग्यारेन्टी गरोस्भन्दा हामीलार्ई प्रतिवन्ध लगाइयो । ५) प्रत्येक नागरिकलार्ई रोजगारिको ग्यारेन्टी गरियोस् र नौजवान युवाहरु रोजगारीका लागि विदेश जान नपरोस्, नेपालमै रोजगारीको सृजना गरियोस्भन्दा प्रतिवन्ध लगाइयो । आदि आदि ।
जनताका जायज मुद्दाहरु उजागर गर्दा, सभ्य समाज निर्माण गर्न पुँजीवादको विकल्पमा जनताको आफ्नै वैज्ञानिक समाजवाद चाहिन्छ भन्दा यो दलाल संसदिय व्यवस्थाका मतियार केपि – पिके दाहालको फासिवादी सरकारले हामी माथि प्रतिवन्ध लगायो । यसको पछाडि हाम्रो नेकपाले जनताको हक अधिकार र राष्ट्रको पक्षमा उठाएका मुद्दामा जनताको जनलहर देखेर आत्तिएर आफ्नो कर्तुत र वेइमानी छुपाउन झुठो र वेइमानी, अराजनैतिक कार्य गर्दै हामीलार्ई प्रतिवन्ध लगायो । यो केवल फिक्का र हावामा सावित हुनेछ ।
क्रान्तिकारीका लागि सामन्य नियम हुनेछ । हाम्रो प्रतिबद्धता क्रान्तिकारीहरु जहिले पनि अप्ठेरोको डटेर सामना गर्ने गर्छन् । हामीलार्ई थाहा छ, सत्यको जहिले पनि जीत हुन्छ । तर, त्यसलार्ई जहिले पनि दवाउने, अघि वढ्न नदिने र अन्तिममा निर्मम दमन पनि गर्ने गर्छन् । तर, जहिले पनि अन्ततः सत्य र सही विचार, राजनीतिको विजय भएको इतिहास छ । राणाहरुको दमन, पन्चेहरुको दमन र राजा रजौटाहरुको दमन नेपाली जनता र सत्यको विजय भएको छ । केपि – प्रचण्डको फासीवादी हर्कतको पहिलो सुरुवात नेकपा माथिको प्रतिवन्ध लगाइयो यो हाम्रो लागि केही पनि होइन हामीलार्ई थाहा थियो ।
हामीले जहिले पनि यो विर्सेका छैनौँ कि देशको मुक्ति र जनताको अधिकारका लागि जहिले पनि लड्न तयार छौँ भन्ने, महान् शहिदहरुको रगत जनतालार्ई दिएका वाचा र कसम विर्सेका छैनौँ । हामी जस्तोसुकै दमनको सामना गर्न तयार हुनुपर्छ, जहाँ दमन त्यहाँ प्रतिरोध हुन्छ भन्ने पनि सायद थाहा होला केपि र पिकेलार्ई हामी युवाको काँधमा क्रान्तिको बाँकी कार्यभार पूरा गर्नु छ । साथै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न र शहिदको सपना पूरा गर्ने अठोट लिदै क्रान्तिकारी आन्दोलन र जनताको मुक्तिको वाटोमा निरन्तर हिँड्ने प्रतिवद्घता युवाहरुले लिनुपर्छ र जित जनताको हुनेछ । प्रतिवन्ध त के तिमी जेसुकै कदम चाल हामी प्रतोरोध गर्ने छौ ।

प्रतिक्रियाहरु

[anycomment]