प्रचण्ड बारे भ्रम र यथार्थता – बलराम तिमल्सिना

२०७६ बैशाख १४ गते, शनिबार

एउटा धार्मिक कार्यक्रममा गएको वेला प्रचण्डले भैंसी पूजा गरेछन। भैंसी पूजा गरेको खवर एक कान दुई कान हल्ला भैहाल्यो । भैंसी पूजाको लगत्तै पार्टीको केन्द्रीय समितिको वैठक थियो। वैठकमा पनि यो कुरा जोडतोडले उठ्यो। त्यसपछि प्रचण्डले निकै जोड दिएर आफूले भैंसी पूजा नगरेको कुरा भनेपछि प्रश्नहरू सामसुम भए । त्यो समय मलाई पनि के लाग्थ्यो भने- प्रचण्डले पक्कै भैंसी पूजा गरेका हैनन। धर्मभीरूहरूले झुक्याएर प्रचण्डलाई फसाए भन्ने मेरो बुझाई थियो । सायद पार्टीभित्र अरुलाई पनि त्यस्तो लाग्यो होला । दुई वर्ष जति अघि प्रचण्डले नइँ पुरस्कार लिने खवर अन लाइन मिडियाहरूमा छापियो। त्यो समय मेरो दिमागमा प्रचण्ड-भ्रम धेरै हटिसकेको थियो। कुनै कमजोर त्यानाद्रोले मलाई अल्झाइरहेको थियो। यो समाचार हेर्दा म तीन कुने कान्तिपुर पव्लिकेशन नजिकको सडकमा थिएँ। समाचार पढ्ने वित्तिकै मेरा कन्सिरी ताते। मैले तत्कालै प्रचण्डको निर्णयको भर्तसना गर्दै फेसवुकमा स्टाटस लेखें । रातभरिमा थुप्रै वाहान खिचडी पाक्यो र भोलि पल्ट उक्त निर्णय उल्टियो। यो पटक भने मलाई कसैले प्रचण्डलाई फसायो भन्ने लागेन। किन लागेन भने , मलाई लाग्न थालेको थियो कि- हामीले खवरदारी नगर्ने हो भने प्रचण्ड चिप्लिएर जहाँ पनि पुग्न सक्छन। त्यो वेला सम्म प्रचण्ड-प्रभाव ह्वात्तै घटिसकेको थियो। मैले चर्चा गर्न खोजेको कुरा के हो भने- त्यति वेला तलबाट कडा आवाज उठाएपछि उनी वेला वेला आफ्ना पूर्व निर्णयबाट पछि पनि हट्थे । तर आज उनी त्यो ठाउँमा छैनन। प्रचण्डले घर चलाउँन नसकेर एमालेलाई बुझाइ सकेपछिका दिनहरू हेर्दा अव उनीले घोषित रुपमा घुँडा टेकिसकेका छन। एमालेको घरमा माओवाद प्रतिवन्धित भएकोले उनले वर्षौं बोकेको माओवादलाई बाटैमा मिल्काएर गए । यो घटनाबाट पनि उनी विचारधारात्मक हिसावले कति वेइमान छन भन्ने पुष्टि हुन्छ।उनले त माओवादलाई मिल्काए मिल्काए , तर एउटा पनि माओवादीले त्यो विषयमा प्रश्न उठाएन। मानौं उनीहरूलाई माओवाद वर्षौं देखि घाँडो भैरहेको थियो। ती वेइमानहरू पेरिसडाँडाबाट माओवादको मलामी गए , आर्यघाटमा माओवादलाई जलाएर चिता पखाले अनि नुहाई धुवाई गरेर चावेल हुँदै धुम्वाराही छिरे।
धुम्वराही छिरेपछि जे जस्ता परिदृश्यहरू हाम्रा अघि आए ती हेर्दा अव उनीहरूले लाज मान्ने कुरा पेरिसडाँडामै छोडेर गएका छन। उनीहरू धुम्वाराही भित्रिएपछि देशमा निर्मला प्रकरण घट्यो । उनीहरू चुइँक्क बोलेनन्। क्विन्टलका क्विन्टल सुन चोरीका घटना घटे उनीहरू वोलेनन। वाइड वडी प्रकरणमा छानविन समितिले वहाल वाला मन्त्री सहितलाई तोकेर प्रतिवेदन बुझायो। उनीहरू उक्त समितिलाई खारेज गरी हनुमान समिति बनाउँने निर्णयको पक्षमा उभिए । ललिता निवास प्रकरणमा वहाल वाला महासचिवले आठाना जग्गा किनेको प्रमाणित भयो। उनीहरू महासचिवकै बचाऊको पक्षमा उभिए । यो बीचमा विचार, शिध्दान्त, आचार विचार , नीति नैतिकता सवैलाई फोहोरदानीमा मिल्काएर खुल्लमखुल्ला पूँजीपतिको सेवामा यिनीहरू तल्लिन भए । हिजो र आजमा फरक के छ भने हिजो यस्तो काम गर्दा उनीहरू कार्यकर्ताहरूले चाल पाउँछन कि भनेर लुकाएर गर्थे भने ऐले हाक्का हाक्की गर्न थालेका छन। हिजो गल्ति गर्दा पनि सुरुमा हैन हैन भनेर टार्न खोज्थे भने हिजो आज निर्धक्क बोल्न र गर्न थालेका छन ।
सायद अव उनीहरूको लुकेर गर्नु पर्ने चरण समाप्त भैसक्यो र नाङ्गै भुतुङ्गै सडकमा निस्कने चरण सुरु भयो।
माओवादलाई आर्यघाटमा लगेर दागबत्ती दिइसकेपछि अनि प्राणहीन मार्क्सवाद लेनिनवादको मुखौटो मात्र लगाएपछि अव यिनीहरूलाई समाजको रुपान्तरण नामको कुनै कुरा चाहिएको छैन। दुनियाँलाई ठग्न केही वर्ष मार्क्सवाद लेनिनवादको दुरुपयोग गर्ने र समाजमा त्यसलाई पत्रु बनाइसकेपछि नव उदारवादसँग त्यसलाई पत्रुमा साटेर कम्युनिष्टलाई गाली गर्ने साम्राज्यवादका भरोशायोग्य नोकर हुने दौडमा रहेका यिनीहरूले कमजोर वैचारिक चेतना भएका जनतालाई अजै केही वर्ष ठग्ने निश्चित छ।

प्रतिक्रियाहरु

[anycomment]