जनयुद्धको अनुभूति- किशोर न्यौपाने
२०५२ साल फागुन १ गते देखि नेकपा (माओवादी) पार्टीद्वारा घोषित जनयुद्ध विद्यमान सामन्ती राजतन्त्रका खरावी र प्रवृत्तिहरु सँगसँगै भित्राइएको संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थामा झन् बढी भष्ट्राचार, वेथिति, अन्याय, अत्याचार शोषण, दमन, उत्पीडन साथै राष्ट्रघात र जनघात मौलाए पछि त्यो खरावीको अन्त्य गर्नको लागि संवैधानिक राजतन्त्रात्मक बहुदलिय व्यवस्थाबाट सम्भव छैन भनी देशका विभिन्न सरकारी कार्यालय र प्रहरी चौकीहरुमा आकर्षण गरी दुश्मन सत्तालाई पार्टीले जनयुद्ध शुरु गरेको जानकारी दियो । गाउँ गाउँमा जाडरक्सी, जुवातास, टोले गुन्डालाई कार्वाही गर्दै प्रताडित जनतालाई न्याय दिँदै पार्टी संगठन आवद्ध हुदै गए । गाउँका जनता जुनसुकै पार्टीमा भए पनि माओवादीको उत्पीडीत जनतालाई राहत दिने काममा उनीहरुबाट साथ सहभागिता मिल्दै गयो । युवाहरु कोही पनि यस पार्टीमा आवद्ध नरही बस्न सकेनन् । उता शहर र राजधानीका जनताहरु पनि माओवादीको न्यायपूर्ण कार्यबाट प्रभावित हुँदै सकारात्मक ढंगले बहस, छलफल गर्दै जानथाले । पार्टीलाई एकपछि अर्को सफलता मिल्दै गयो । दुश्मनका किल्लामा पार्टीले धावा बोल्दै अटेर गरे आक्रमण गरी खाली गर्दै अगाडी बढ्दै गयो । ग्रामिण वर्ग संघर्ष उत्कर्षमा पुग्दै गयो । वर्गीय, जातिय, क्षेत्रीय, भौगोलिक, लैङ्गिक विभेदमा परेका जनताहरुले साथ र सहयोग गर्दै गए । जनताको राजनीतिक र आफ्नो अधिकार सबै खाने विभेदको अन्त्य गर्नुपर्छ भन्ने चेतनामा वृद्धि हुन थाल्यो । हाम्रो पार्टीको प्रभाव रहेको क्षेत्रबाट जनतालाई सताउने सुढखोर र फाइनान्सहरुका कागतपत्र नष्ट गर्दै तिनीहरु त्यहाँबाट लखेटिए ।
ग्रामिण वर्गसंघर्ष उत्कर्षमा पुग्यो । गाँउबाट पुराना सामन्ती व्यवस्थाको प्रतिनिधीहरु संसदवादी राजनीतिक पार्टीका संगठन र कार्यकर्ताहरुले संगठित गर्ने कार्यकर्ता हुन छोडे । गाँउ एकछत्र माओवादी पार्टीको कब्जामा हुन गयो । गाँउमा दुश्मन सत्ताको उपस्थिति शुन्य हुन पुग्यो । गाउँ गाँउबाट शुरु भएको वर्ग संघर्ष सदरमुकाममा रहेका दुश्मनका कार्यालयमा हमला गर्दै सदरमुकाम पनि कब्जा गर्ने स्थितिमा पुग्यो । संसदवादी दलहरुको राजनीति गाँउ र सदरमुकामबाट राजधानी केन्द्रित हुन पुग्यो । पार्टीको प्रभाव एकपछि झन्–झन् बढ्दै गयो । हाम्रो पार्टीले पुरानो सत्ताका ठाँउमा जनवादी सत्ताको अभ्यास ग्रामिण भेगहरुमा संचालन गर्दै अघि बढ्यो । जनताहरु न्याय र समानतापूर्ण जनवादी सत्ताको अभ्यासबाट खुशी हुँदै गए । हाम्रो पार्टी यो देशमा नै नयाँ जनवादी सत्ता ल्याउने भयो भनेर सारा मुक्तिकामी जनताहरु पार्टीमा संगठित सहभागी हुदै अघि बढिरहेका थिए । यता संसदवादीहरु सरकारमा गएर राज्य कोष हिनामिना, भष्ट्राचार गरी अकुत सम्पत्ति जोड्न मस्त थिए । जनयुद्धको समयमा शेरबहादुर, लोकेन्द्रबहादुर, सूर्यबहादुरहरु जो–जो ले सरकार चलाए पनि यो व्यवस्थाले झन¬¬–झन जनतालाई निराश मात्र बनाएको थियो । राज्य सत्ता संचालकहरु राष्ट्रघात र जनघात गरेर विदेशी दलाल बनेर कमिशन खान मस्त थिए । यसबाट मुक्ति चाहेका जनताको साथ र सहयोगले जनयुद्धले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत यसको प्रभाव रहन पुग्यो । यस्तैमा ज्ञानेन्द्र, शेरबहादुरको नेतृत्वको सरकारलाई अपदस्त गरी सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिन पुगे । संसदवादी दलका नेताहरुलाई जेलमा कोचियो । सात राजनीतिक पार्टीको ज्ञानेन्द्रको शासनको विरुद्ध संयुक्त विरोध कायक्रम हुन थाल्यो तर त्यो विरोध कायक्रममा जनताको उपस्थिति भएन । उता हाम्रो पार्टीले शाही सेनाका व्यारेकहरुमा हमला गर्दै सेनालाई पनि त्यहाँबाट लखेट्दै अघि बढ्यो । त्यसैबीच सात राजनीतिक पार्टीले मात्रै ज्ञानेन्द्र सत्ता फाल्न नसक्ने देखि संसदवादी दलहरुले हाम्रो पार्टीसँग मिलेर मात्र ज्ञानेन्द्रको शासनलाई अन्त्य गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेर हाम्रो पार्टीका नेताहरुको सम्पर्कमा आए ।
हाम्रा जनमुक्ति सेनाले राजधानीका थानकोट साँखुका प्रहरी कार्यालयहरुमा हमला गरी आफ्नो प्रभावलाई राजधानीसम्म पु¥यायो । यसैबीच हाम्रो पार्टी र सात राजनीतिक दलका बीच भएको १२ बूँदे सहमतिले जनयुद्ध र जनआन्दोलनको संयुक्त (फ्युजन) आन्दोलनबाट लाखौलाख जनताहरुलाई हाम्रो पार्टीले राजधानी केन्द्रित आन्दोलनमा सहभागी गराई ज्ञानेन्द्र निरकुंश राजतन्त्रको अन्त्य हुन पुग्यो ।