समाजवाद एउटा सुन्दर बिकल्प – बलराम तिमल्सिना

२०७६ चैत्र २३ गते, आईतवार

कोही मध्यावधीको भैलो खेलेर गाडधनमा हात हाल्ने सपना देखेर खितखिताएका छन। कोही अव चै राजा आउनु पर्छ भन्दै पुराना राजाकालीन लकेट खोज्न थालेका छन। नक्कली कम्युनिष्टलाई भ्रष्टाचारमा कसरी पौडी खेल्ने भनेर सिकाउँने चारतारे गुरुहरूको मनमा वर्तमान सरकारले थोक थोकमा भ्रष्टाचार गरेर एक्लै खाएको देखेपछि आफ्नो भ्रष्ट विगतको याद आउनु र छटपटी हुनु स्वभाविक हो । अनि जनताको तागतको सामु केही नलागेर विदा हुनु परेको राजतन्त्र र त्यसले पालन पोषण गरेका मण्डलेहरूलाई सुदूर अतितको मोज मज्जाको झल्कोले पिरोल्नु कुनै नयाँ कुरा होइन। ती अतितमुखी ब्वाँसाहरू कसै गरी वर्तमान सरकारको निर्लज्जताको धमिलो पानीमा जाल हानौंला र माछा खाउँला भनेर मुख बाएर बसेका छन् । २०४६ सालपछि पटक पटक सत्ताको तर मारेको , अनेक राष्ट्रघाती संधीहरूले बेस्सरी गन्हाएको तथा आफ्ना विदेशी प्रभुहरूको मान राख्न नव उदारवादी नीति अनुसार नेपाल सरकारको नाममा रहेका उद्योगहरूलाई कौडीको मोलमा व्यक्तिलाई बेचेर कमिशन कुम्ल्याएको नेपाली काङ्ग्रेस समेत आफू नमुछिएका भ्रष्टाचारका नयाँ नयाँ काण्ड सार्वजनिक भएपछि कार्वाही गर भनेर कुर्लिन थालेको छ। यस अघि कति ठूला ठूला भ्रष्टाचारका घटनाहरू घटे ।तर आफू समेत मुछिने पक्का भएपछि काङ्ग्रेस भाँडाकुटी खेलेर बस्यो।
कैयन मान्छेलाई के लागेको छ भने- राजाका पालामा चै भ्रषाटाचार हुदैनथ्यो र भैहाले पनि थोरै हुन्थ्यो। त्यो कुरा निकै लाटो कुरा हो। पहिलो त त्यो बेला आजको जस्तो खूल्ला समाज थिएन। पत्र पत्रिका, रेडियो, टेलिभिजन , अनलाइन तथा सामाजिक संजालको बिकास भएको थिएन। पञ्चहरू एक ढिक्का थिए। आफूभित्रका कुरा बाहिर चुहिदैनथ्यो ।जसको कारणले जति ठूला काण्ड भए पनि ती पर्दा भित्रै हुन्थे। दोश्रो त्यो समय जुन अङ्कमा भ्रष्टाचार हुन्थ्यो , त्यो आजको मूल्यसँग तुलना गर्ने हो भने बढी नै हुन्थ्यो। तेश्रो त्यो समय हाम्रो बजेट नै निकै सानो हुन्थ्यो। चौथो प्राय पञ्चहरू कुलीन बर्गका हुने भएकाले सानो रकममा पनि हात हाल्नु पर्ने जरुरी पर्दैनथ्यो।
सुरु सुरुमा सरकारमा आएपछि काङ्ग्रेसले स्यालले कुखुरा भुत्लैसँग खाएजस्तै दशकौंको भोक तिर्खाको कारणले धेर थोर इज्जत बेइज्जत केही नसंझी घुँडा धसेर खायो। उसको सुकेनाश लागेको आन्द्रो भरिएर दशैंमा पालेको सुँगुरजस्तो भएपछि ऊ भलाद्मी बनेर सुत्यो र बेला बेलामा मात्रै खाने भयो। अर्थात- लाउडा, धमिजा जस्ता ठूला ठूलामा मात्रै आँखा लाउन थाल्यो।
त्यसपछि एमाले नामको नक्कली कम्युनिष्ट सरकारमा पुग्यो। सुरु सुरुमा उसले पनि काङ्ग्रेसले जस्तै बोक्रैसँग, भुत्लैसँग लादीभुँडीसँग खान थाल्यो। सुत्केरी भत्ता काण्ड, पानी ट्याङ्की काण्ड , सुन काण्ड आदि घट्न थाले । बिस्तारै एमालेको पनि आन्द्रो पूरियो र ऊ पनि भद्र बन्न थाल्यो। अब ऊ पनि करोडभन्दा तल नहेर्ने कुलीन बन्यो।
सुकेको आन्द्रो भर्ने यो सिलसिलाको पछिल्लो कडीमा नक्कली माओवादी आइपुग्यो। उसले पनि सरकारमा पुगेपछि त्यसै गर्यो। बाह्र वर्षको भोक तिर्खा मेट्न उसले पनि गर्नु पर्ने सवै गरिभ्याएर अहिले हल्का भलाद्मी बनेको छ।
नेपालका राजनीतिक दलहरूको लोकतान्त्रिकरण यसरी भयो । टन्न ढाडिएर मीठा चिप्ला कुरा गर्ने, हान्ने ठोक्ने कुरा नगर्ने , शान्ति र स्थिरताका कुरा गर्ने कुराको पछाडि भयानक ब्रम्हलुट र त्यसले भरिएको आन्द्रोको कथा छ भन्ने धेरैलाई थाहै भएन ।
अहिलेको नक्कली कम्युनिष्टको सरकार भ्रष्टाचारमा बिगतका कोहीभन्दा कम छैन।त्यो कुरा सत्ता समर्थक अरिङ्गालहरू बाहेक सवैले स्विकार गर्छन। नक्कली कम्युनिष्ट भनेको काङ्ग्रेस या सो सरह नै हो। अझ नक्कली कम्युनिष्टहरूले कम्युनिष्ट आदर्शको झण्डा ओढेर जे जे अपराध गर्छन त्यसले इमान्दार कम्युनिष्टहरूलाई समेत बदनाम गरेर हुर्मत लिने काम गर्छन। हाल कोरोनाको। महामारीमा पनि आफ्नै छोराहरूको नामको नक्कली समुह खडा गरेर नक्कली औषधि त्यो पनि सक्कलीभन्दा महंगोमा किनाएर भ्रष्टाचारको जुन नाङ्गो नाच देखाइयो त्यसले नक्कली कम्युनिष्ट कति निर्लज्ज हुन्छन भनेर फेरि एक पटक प्रमाणित भएको छ।
यो समय काङ्ग्रेसका एक थरि मध्यावधीको सपना देखेर खितखिताएका छन। काङ्ग्रेसको त्यो सपना सुसासनको सोचले भन्दा पनि आफ्नो पुरानो गाडधन निख्रिएको तथा नक्कली कम्युनिष्टले मोज गरेको देखेपछि उत्तेजित बनेको ग्रन्थीले दुख दिएको छटपटी मात्र हो ।
यही समयमा अर्का थरिले राजतन्त्रको फिर्तीको सपना देख्न थालेका छन।काङ्ग्रेस र नक्कली कम्युनिष्ट ( भाइ काङ्ग्रेस) भन्दा राजालाई स्वच्छ र लोकतान्त्रिक देख्नेहरू सामन्तवादका रहलपहल अवशेषहरू हुन अनि राजतन्त्रको कहर नभोगेका तिनका भौतिक तथा मानसिक सन्तान हुन।
अतिततिर फर्कनु कुनै पनि मानेमा सही हुदैन। अतिततिर फर्कदै जाने हो भने राजतन्त्रकालपछि राणा शासनमा र त्योभन्दा पर जाँदा बाइसे चौबीसे भुरेटाकुरे कालमा र अझै सत्ययुगतिरै पुगौं भन्दा कन्दमुख खोस्रेर खाने जङ्गली युगमा पुगिन्छ।त्यसैले पछि फर्कने चेतना अन्तत जङ्गली चेतना हो।
हामीले खोज्ने बिकल्प भनेको अघि बढ्ने बिकल्प हो। समाजवाद एउटा सुन्दर बिकल्प हो। अरुसँग पनि केही बिकल्प छन भने छलफल गरौं तर पछि फर्कने तर्कसँग कदापि सहमत हुन सकिन्न ।

प्रतिक्रियाहरु

[anycomment]