हार्दिक श्रद्धाञ्जली सच्चा कम्युनिस्ट बर्मन बुढा

२०७७ श्रावण १८ गते, आईतवार


नेपाली कम्युनिस्ट आन्दोलनको सम्झना गर्दा थवाङ र बर्मन पर्याय बनेर प्रथम प्रहर, पंक्ती र पटकमै सम्झिइने संघर्षशील श्रद्धेय सत्पात्र हुन् ! यिनलाई नसम्झेर र श्रद्धा नगरेर वा यिनको योगदान भुलेर कम्तिमा नेपाली क्रान्तिकारी माओवादी जनयुद्धलाई सम्झना र श्रद्धा गर्न मिल्दैन, सकिन्न ! थवाङ क्रान्तिको किल्ला र बर्मन त्यस किल्लाका जुझारु जनयोद्धाहरुका एक अयल र अथक परिचायक र नायक हुन् ! आज थवाङी जनताको क्रान्तिकारी सचेतता, साहस र समर्पण अनि त्याग, तपस्या र बलिदान तथा सपना, जपना र विपनाको विस्मृति भैरहेको र मूल्य-मान्यता, नीति-नैतिकता र आस्था-आदर्शको अवसान भैरहेको यो अवस्थामा निष्ठाको राजनीतिका धरोहर बर्मन बुढाको पनि अवसान हुनु दुखमाथी दुख थपिएर अत्यन्त पीडा अनुभूत भएको छ !
२०४२ श्रावणमा पार्टी कामको सिलसिलामा प्रथम पटक दाङबाट थवाङ जाँदा रुकुमकोटका रेशम शाह र उहाँकी थवाङकै जीवन सङ्गिनी मूलज्योती बुढा (दुवैजना त्यतिबेला थवाङमा शिक्षक ) हरुसङ्ग साथ लागियो ! रोल्पाको सदरमुकाम लिवाङमा रहेको थवाङीहरुको डेराघरमा झोला राखेर म गृहजिल्ला दाङका गाउँघरतिरका साथीहरु शङ्कर गौतमलगायतलाई भेटघाट गरी पुनः उक्त डेराघरमा पुग्नुभन्दा अघिनै रेशमलाई पुलिसले पक्राउ गरेर लगिसकेको रहेछ र “उहाँसङ्ग आएको मान्छे को हो, कहाँ गयो ” भनेर सोधेको र रेसमले खाम भाषाबाट “नारायण सरलाई सोधखोज गरेकोले पक्राउ गर्न सक्ने हुँदा सुरक्षित हुन भन्नू” भनी मूलज्योतिलाई भन्नू भएको खबर पाएपछी साँझ बास बस्ने बेलामा त्यहाँबाट तत्काल थवाङ्तिरको यात्रा अघि बढाएको थिएँ । त्यसरात खोला उत्तरतिरको गाउँको एउटा घरमा बाँस बसेर बिहान मिर्मिरेमै बाटो सोध्दैपुछ्दै, रगत खाएका जुकालाई टिप्दै र फाल्दै र कतै पुलिसहरु पो यतै आइरहेका छन् कि भनी पटक-पटक पछिल्तिर पनि हेर्दै थवाङ पुगेर जलजला पहाडको काखमा रहेको ऐतिहासिक क्रान्तिकारी किल्ला थवाङ गाउँ र त्यहाँका इमान्दार, सोझासादा ती वीर जुझारु थवाङी कम्युनिस्ट क्रान्तिकारी जनता र जननेता बर्मनजीसङ्ग भेटघाट र चिनाजानी भएको थियो !
त्यसक्रममा उहाँसङ्ग भएका कुराकानी र त्यहाँको जनजीवनको सामान्य अवलोकनपछी एउटा आतङ्क र सतर्कताबिचको त्यो छोटो अवधिमा पनि मैले आफूले देखेजानेका केही राजनीतिक, सांगठनिक र सामाजिक विषयहरुमा राती अबेरसम्म बसेर दुई पानाको सुझाव लेखेर दिएको थिएँ !
तत्पश्चात २०४७ मा आएको खुला राजनीतिक वातावरणका बिचमा जेठासी पूर्णिमामा जलजलाको मेलाको बेलाको भेला-प्रशिक्षण र आमसभालाई सम्बोधन गर्न क. किरणसङ्गै राप्तीका नेकपा मशालका तत्कालीन राप्ती क्षेत्रीय ब्यूरो, जसमा राप्तीका पाँच जिल्ला र जाजरकोट समेत पर्दथे, का केही नेताहरुको हाम्रो टोलि दाङबाट प्युठान हुँदै पुगेको बेलामा थवाङ, थवाङी जनता र त्यहाँका खम्बा क. बर्मनसङ्ग पुनर्भेटघाट भएको थियो ! त्यतिबेला उहाँहरुले हामी अतिथि नेताप्रती देखाउनु भएको आतिथ्यता, आत्मीयता र सौहार्दता साँच्चिकै वर्गीय मायाममता र सेवासद्भावको अनुपम नमुना थियो !
थवाङीहरुका सबैजसो काममा महिलाहरुको सहभागिता, सकृयता र समर्पण पनि अनौठो नै प्रतीत हुन्थ्यो ! चाहे महिलाहरुलाई अघि सार्ने प्रकृयामा होस् वा युवाहरुलाई विश्वास गरेर जिम्मेवारी दिने कुरामा होस् अथवा पंचायती चुनाव उपयोग वा बहिष्कारजस्ता राजनैतिक घटनाक्रममा नमुना प्रस्तुत गर्नेदेखि शिक्षा र समाज विकासका क्षेत्रमा नेतृत्व गर्ने प्रश्नमा होस् , यी सबैमा बर्मनजीको स्पष्ट अभिभावकीय भूमिका रहेको पाइन्थ्यो ! यहाँसम्मकी पार्टीका जनजागरण कार्यक्रममा होस् वा जनसंघर्षदेखि जनयुद्धसम्मका कार्यक्रममा होस्, थवाङ र अधिकांश रोल्पाका ग्रामीण जनसमुदायहरु लच्चाबच्चा, खानापिना र ओढ्ना-बिच्छौना बोकेर, लाठी टेकेर, खुकुरी भिरेर, लस्कर लागेर हुलकाहुल लङ्ग मार्चमा जसरी मोर्चाबद्ध हुनुमा मूलतः बर्मन बुढाकै विश्वास र नेतृत्वले काम गरेको थियो ।
२०४८ को संसदीय निर्वाचनमा हाम्रो पार्टी नेकपा (एकताकेन्द्र)को वैधानिक मोर्चा संयुक्त जनमोर्चा, नेपालको तर्फबाट सांसदको उम्मेदवारी दिने अवसर उहाँले पाउनु भयो र एक अत्यन्त सरल जनपृय क्रान्तिकारी प्रतिनिधिको रुपमा विजयी बनेपछी उहाँका बोलीबचन, भेषभूषा, खानपिन, कामकार्वाही र भाषणमन्तव्य आदि सबै कुरा अनौठा र अनुकरणीय शिक्षा र प्रेरणाको स्रोत भएको कुरा सार्वजनिक नै छ !
यससन्दर्भमा संसदमा छिर्दा उहाँले लगाएको कछाड, गादो, पटुका, र टोपीसहितको स्थानीय जनभेषभुषा आदि सबैलाई अनौठो त लाग्यो नै, साथै यसबारे पत्रकारले “सदनमा जाँदा पनि राष्ट्रिय पोशाक नलगाउनु भएको त माननीयज्यू ?” भनी उहाँलाई प्रश्न गर्दा उहाँले दिनुभएको
” यो के अन्तरराष्ट्रीय पोशाक हो र ?” भनी दिनु भएको जवाफ र सदनमा बोल्दा आफ्नो संघर्षशील चरित्र र क्रान्तिकारी राजनीतिलाई पहिचान र गति दिएको कुरा पनि त्यतिबेला निकैनै चर्चित भएको थियो ! उहाँले संसदमा भन्नु भएको थियो – ” यो संसदले हामीलाई नौलो जनवाद ला भनेर दिनेवाला छैन ! त्यसैले संसदको भण्डाफोर गर्दै संघर्षमा अघि बढ्नुको विकल्प छैन”। देख्दा अत्यन्त लाटासोझा र बूढापाका अनि अनपढ र गवाँरजस्ता देखिने बुढा विचार र बुझाइमा अनि आचार र व्यवहारमा कति सुशिक्षित-सुदीक्षित र प्रतिबद्ध-कटिबद्ध अनि परिपक्व हुनुहुन्थ्यो भन्ने कुरा यत्तिमात्र प्रसङ्गले पनि पुष्टि गर्दछन् !
तत्पश्चात दस बर्से महान जनयुद्धमा पनि थवाङ र बर्मनको भूमिका ऐतिहासिक महत्वको रहेको कुरा जगजाहेर नै छ ।

एक बर्षअघि मात्र एकदिन हाम्रो भेट ललितपुरको थसिखेलमा भयो ! सलाम भनेर हात मिलाएपछि मलाई चिन्न उहाँलाई अप्ठेरो जस्तो भएपछी मैले “बुढाका बूढापाका आँखाले पार्टीमा पाखा पारिएका मान्छेलाई चिन्न गाहारो हुनु स्वाभाविकै हो” भन्दै आफ्नो परिचय दिएँ र ए… भन्दै फिस्स हाँस्नु भयो । अलिबेर पार्टी र क्रान्तिका बारेमा कुरा भयो ! अनुहार केही मलीन देखियो ! अनि मैले उहाँका एक आदर्श नेता क. किरणसङ्ग भेट भए-नभएको सोधेर पुलकित गर्न कोसिस गरें !क्रमशः ..
उहाँले भेट त के फोनसम्म पनि नभएको भन्दै गुनासो पोख्नु भयो ! मैले फोन नम्बर दिएँ र ” बर्मनजीले भेट्न खोज्नु भएको छ भनेर किरणजीलाई म भनिदिउँला ” भनी विदा भएर आएँ । किरणजीलाई भनिदिएँ र नम्बर पठाइदिएँ ! पछि किरणजीले भेट गर्नु भएको थाहा पाएपछि सन्तोष लाग्यो ।
तर दुखको कुरा उहाँ क्यान्सरको बिरामी भएको र पाटन हस्पिटलमा कति दिनदेखि भर्ना भै उपचार गरेको अनि दिवङ्गत नै भएको जानकारी समयमा पाउन नसक्नाले पार्थिव शरीरमा एकथुङ्गा फूल, एक चिम्टी अवीर र एक मुड्की अन्तिम सलामसम्म अर्पण गर्न पाइएन ! यसरी मेरो अन्तिम भौतिक भेट थसीखेलको बाटामा भएको त्यही भेट हुन गयो !
बर्मनजीसङ्ग मेरो धेरै लामो, गहिरो र निरन्तरको सहकार्य नभएपनि २०१३ सालमा गाउँले-गाउँलेबीचको एउटा झगडा हुँदा उहाँ एक महिनाजती प्युठान जेलपर्नु भएको, त्यहीं मोहनबिक्रम(एमबी)सँग भेट भएको र गाउँले-गाउँलेबीचको सो झगडामा बर्मन/थवाङीहरु तुलनात्मक रुपले अन्यायमा परेको बुझेर एमबीले जेलबाट छुटेर थवाङ गै झगडा मिलाइदिएकोले उहाँबाट प्रभावित भएर थवाङमा किसान संघ गठन गरेको र कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थाहापाएको थिएँ ! त्यसैले उहाँ एमबीप्रति व्यक्तिगत रुपमा सँधै कृतज्ञ हुनुभएपनि एमबीको विचार र आचारमा विचलन आएपछि पाँचौं महाधिवेशनका क्रममा एमबीप्रति उहाँ नाराज हुनु भयो र केहिपछि नै पार्टी फुटाएकोमा उहाँप्रति वितृष्णा भयो भने आफूजस्तै सोझा, इमान्दार र क्रान्तिकारी नेता किरणजीको नेतृत्वको मशाल हुँदै माओवादी जनयुद्धमा समेत होमिनु भयो !
निर्दलीय निरंकुश पंचायत व्यवस्थामा पनि थवाङ गाउँ पन्चायतकै प्रधानपन्च हुँदादेखि सांसद हुँदै जीवनको अन्तसम्म पनि समाज, शिक्षा र जनताको सेवामा संघर्षरत र समर्पित हुँदा उहाँले थवाङी जनतासङै भोग्नु भएको सरकारी दमन विशेष उल्लेखनीय छ ! २०३६ को आन्दोलनमा पन्च भएर पनि पन्चायतकै विरोधमा उतृएको र २०३७ को जनमत संग्रहमा थवाङ गाउँ पंचायतभरिको मत बहुदलमा पारेर ऐतिहासिक कीर्तिमान कायम गरेको भएपनि उक्त कथित चुनावमा सुधारिएको पंचायती व्यवस्थाको जित भएसङ्गै उहाँ गिरफ्तार हुनु भयो तर लगत्तै गरिएको पहिलो आम चुनावलाई पार्टी निर्णय अनुसार र बर्मनजीलाई छोड्नुपर्ने माग राख्दै आम जनताद्वारा अद्वितीय रुपमा बहिष्कार गरिएपछि मतपेटिकामा स्थानीय जनताको मत शून्य भएको थियो ! त्यसपछि आक्रोशित जिल्ला र केन्द्रका पन्चे शासकहरुले बर्मनजीलाई शान्तिसुरक्षाका लागि भन्दै ६-६ महिनामा म्याद थप्दै २७ महिनासम्म जेलमा सडाएका थिए भने महिला र केटाकेटीहरु बाहेक युवा, बयस्क, प्रौढ र बृद्ध जति सबैका सबैलाई झुट्ठा मुद्दा लगाई सम्पूर्ण थवाङी पुरुषहरु हिरासतमा वा निर्वासित भै पुरै थवाङ पुरुष विहीन भएको थियो । यस सन्दर्भमा एउटा स्मरणीय अनुपम कुरा पनि सिर्जनशील थवाङी जनताले गरेका छन् ! त्यो हो त्यसपछिको स्थानीय निर्वाचनमा भाग लिई सबैजसो पदमा महिलालाई उठाएर जिताए ! यो सम्झदा एकातिर जनताको माया र श्रद्धाले शिर निहुरिन्छ भने अर्कातिर दमन सम्झँदा अझै पनि मन विह्वल र आक्रोशित भएर आउँछ !
जनतामाथिको पंचे शासकहरुको यस्तो बर्बर सरकारी दमनका साथै २०४७ पछिका काङ्ग्रेसी र एमाले शासनकालका सरकारी दमन, धरपकड र जेलनेल अनि स्थानीय काङ्ग्रेसी सामन्त नेता र प्रशासनका आक्रमण, झुट्ठा मुद्दा र अन्याय-अत्याचार विशेष उल्लेख्य छन् ! तर पनि दुखमा न आत्तिने र सुखमा नमात्तिने धैर्यतासँगै उहाँमा भएको क्रान्तिकारी चिन्तन र चरित्र अनि सादा जीवन र शैलीबाट म धेरै हदसम्म प्रेरित, प्रभावित र दीक्षित भएकोले उहाँप्रति मेरो सम्मान ज्यादै ठूलो रहिआएको छ ! आज निष्ठाको राजनीतिमा नेतृत्वबाटै बिष्टा भैरहेको र बर्मन बुढा र बुढाजस्ता आस्था-आदर्श र मूल्य-मान्यताका राजनीतिक कर्मी र सिङ्गो राजनीतिले नै निमोठिनु र उखेलिनु परेको अनि कम्युनिस्ट क्रान्तिले धोका र धक्का खानुपरेको यो विडम्बनापूर्ण स्थितिमा बर्मन कामरेडको जीवन एक झिल्को थियो, त्यो पनि आज निभेकोले क्रान्तिकारीहरुको मन-मस्तिष्कमा के कस्तो चोट पर्यो होला ? सहजै अनुमान गर्न सकिन्छ । तथापि मालेमावादी क्रान्तिकारीहरु सबै खान सक्छन् तर कहिल्यै हार-हरेस खान सक्तैनन् भन्ने शिक्षा शिरोपर गर्दै मनभित्र जिजीविषा पालेर जेजस्तो परेपनि बेहोर्नु, बाँच्नु र बढ्नु पर्दछ भन्दै स्वयं सान्त्वना लिनु परेको छ । बर्मनजी र थवाङ निवासी जनसमुदायहरुको “सादा जीवन र उच्च विचार अनि कडा परिश्रम र कठोर संघर्ष” को संस्कार र संस्कृतिको अवलम्बन गर्न-गराउन सकेमा र उहाँ, थवाङी जनता र सहिद, बेपत्ता र घाइते-अपाड्ग योद्धाहरुका सपना र जपनालाई विपनामा बदल्न सकेमा उहाँप्रतिको सच्चा सम्झना, सम्मान र सलामी हुनेछ ।
बर्मन बुढाजस्ता इमान्दार क्रान्तिकारी व्यक्तित्वको सम्मान र सम्झनाको लागि राज्य, पार्टी र जनताको तर्फबाट परिवारजन र स्थानीय जनमनलाई सान्त्वना समेत हुने गरी केही सहयोग-सद्भाव लगायतका दीर्घकालीन र बहुआयामिक महत्वका केही उल्लेखनीय कामहरु गरिनुपर्छ र मात्र उहाँका विचार र आचार सम्मानित र अनुकरणीय हुनेछन् भन्ने लाग्दछ !
उहाँको अन्तिम विदाइमा सहभागी हुन नसकेपनि त्यहाँ उपस्थित राजनीतिक पार्टीका नेताहरुबाट भनिएझैं उहाँको श्रद्धामा विशाल कार्यक्रम थवाङमा होस् र त्यहाँबाटै बर्मन स्मृति ग्रन्थ प्रकासन गर्ने कार्यकम बनोस् भन्ने मेरो पनि चाहना छ । पछि थवाङमा हुने कार्यक्रममा सहभागी भै बर्मनजीको सार्वजनिक स्मरण गर्न र वीर तर दुखी थवाङ र थवाङी जनसमुदायसङ्ग पुनर्मिलन गर्न सकियोस् भन्ने दिलैदेखि अपेक्षा गरेको छु । अन्तिम सलाम बर्मन कमरेड ! रक्तिम सलाम लालकिल्लाका अटल योद्धा कमरेड ! हार्दिक भावपूर्ण श्रद्धाञ्जली क. बर्मन बुढा ! अलविदा नेपाली कम्युनिस्ट आन्दोलनका एक अनुपम व्यक्तित्व ! अनि आफ्ना जिम्मेवार अभिभावक गुमाएर शोकाकूल हुनुभएका धैर्य, लगनशील,आस्थावान र संघर्षशील परिवारजनहरु ! साथै सम्पूर्ण लाल थवाङी जनसमुदायहरु र आम आस्था-निष्ठाका राजनीतिक कर्मीहरुप्रति गहिरो शोक-समवेदना !!
(क. बर्मन बुढाको निधनको बाह्रौं दिनको शोकसमापन यत्जा श्रद्धाञ्जलीसभाका सन्दर्भमा श्रीधर अधिकारीको सहयोगमा )

प्रतिक्रियाहरु

[anycomment]