सत्ता ग्याँस च्याम्वरको तयारी गर्छ, हामी डँढेलोको तयारी गरौं

देशमा गणतन्त्र आएको छ । धनीमनीहरूको योभन्दा ठूलो रामराज अब कहिलै आउँदैन। तपाई दैनिक अखवारका पाना पल्टाउनु होस ।अनलाइनका समाचार पछ्याउनु होस या टेलिभिजन हेर्नु होस ।जताजतै रामराजकै खल्लीबल्ली छ। केन्द्रीय सिंहदरवारदेखि स्थानीय सिंहदरवारसम्मका सिंहहरूले मृग हरिण र अरुको भाग खोसेर खाएकोदैखि शिकार गरेर खाएकोसम्मका समाचारहरूको हाटबजार चलेको छ। कोरोनाको कृतिम आतङ्कले लाखौं लाखको थातबास खोसेको । रोजगार खोसेको छ।हात र मुखको भेटघाट खोसेको छ। विदेश गएका युवाहरू रोजगार गुमाएर फर्कदै छन्।देशमा बेरोजगारीले अझ सताउने पक्का छ। वैदेशिक ऋणले कम्मर भाँच्न लागिसक्यो। जनताका सुबिधाहरूमा सुकेनास लागेको छ।तर शासकहरूका सुविधा र सुरक्षा अझ बढ्दै छन् । यो भयानक शङ्कटको बोझ गरीव जनता एक्लैले बोक्नु परेको छ। मध्य झरीमा सुकुम्बासीका झुप्रा जलाएर ‘ समाजवाद’को श्री गणेश गरिएको छ। प्रधान मन्त्री मन्दिर बनाउने उर्दी जारी गरेर बसेका छन् । योभन्दा बिचित्र विडम्बना अरु के हुन्छ ?
यही बीच सरकारले नेपाली सेनाको लागि अत्याधुनिक हतियार आयात गर्ने समाचारहरू बाहिरिएका छन्। यी हतियारहरू किन ल्याउनु परेको होला ? भारतसँग लड्न ? हुदै होइन।कुनै विदेशी शक्तिसँग लड्न होइन। जनतासँग लड्न हो।जनतालाई मनोवैज्ञानिक त्रास देखाएर मौन राख्न हो। न देशमा गृहयुध्द छ, न वाहिरी शक्तिसँग लड्ने सोच र सामर्थ्य छ ।यस्तोमा हजारौं थान अत्याधुनिक हतियार किन ? एउटै जवाफ छ- सत्ता जनतासँग डराइरहेको छ।आफ्नो अपराधले राज्य सत्ताका मालिकहरूलाई पोलिरहेको छ।एक दिन जनताको धैर्यताको वाँध भत्किएला र विद्रोहको आँधीबेहेरी उठ्ला भन्ने सत्ताधारीहरूलाई लागेको छ।आफूले दवाएर राखेका मान्छेहरूसँग कुनै दिन आम्ने साम्नेको भिडन्त पर्ला भन्ने सत्ताधारीहरूले हिसाव गरेका छन्।जनताको त्यही काल्पनिक विद्रोहबाट आत्तिएर दमनको पूर्व तयारीको लागि सरकार बन्दूक किन्दै छ।
संसारभरका सबै बन्दूकहरू मान्छे मार्न बनाइएका हुन। मान्छेले मान्छे मार्न …।शासकहरूले जनता मार्न ।धनीहरूले गरीव मार्न।अन्यायी अत्याचारीहरूले सोझा निर्दोष र निमुखाहरूलाई मार्न। हो त्यही मान्छे मार्न बनाइएको बन्दूक हामी तीन करोड नेपालीमध्ये हामी कसैलाई मार्न।एउटा पनि भ्रष्टचारीलाई होइन।एउटा पनि ठग ठेकेदारलाई होइन।एउटा पनि निरङ्कुश शासकलाई होइन।एउटा पनि प्रतिगामी शक्तिलाई होइन। एउटा पनि तस्करलाई होइन ।होइन कसैलाई पनि होइन।मात्रै यो सरकारको आलोचना गर्नेलाई ।मात्रै यो सत्तासँग जात नमिल्ने , भातभान्सा नचल्ने, बिहेबारी नचल्ने, कूलघराना नमिल्ने , रङ्ग नमिल्ने, नाक नमिल्ने , भाषा र भेषभुषा नमिल्ने नागरिकहरूलाई डर देखाउन, धम्क्याउन र मार्न ती बन्दूकहरू ल्याइदै छ।
विस्तारै विस्तारै सत्ताको चरित्र फासिवादी बन्दै छ। भन्नलाई सरकारले आफूलाई समाजवादी भनोस।लेख्नलाई संविधानमा समाजवाद उन्मुख लेखियोस ।केही फरक पर्दैन।हिटलर पनि राष्ट्रवाद र समाजवादका गफ गर्थ्यो। हाम्रा शासकहरू पनि ठ्याक्कै त्यही गफ गर्छन।हिट्लर र हाम्रा शासकहरूको गफ मिलेको छ।सोच मिलेको छ।बाटो मिलेको छ।
शासकहरू फासीवादतिर जाँदै छन्।हामी कता जाने ? हामी विद्रोहतिर जाऔं। फासीवाद मौलाइरहेको समयमा प्रेमका भावुक कविता लेखेर बस्नु भनेको फासिवादलाई सजिलो बनाइदिनु हो।आउनोस आगो बनौं ! आगो कविता लेखौं।आगो बालौं।सत्ता ग्याँस च्याम्वरको तयारी गर्छ।हामी डँढेलोको तयारी गरौं ।जसले छिटो राम्रो र बलियो तयारी गर्छ उसले जित्ने हो।