हाम्रा केही दुष्ट मित्रहरुबारे

२०७७ श्रावण २७ गते, मंगलवार

नारायण शर्मा

घरपरिवारमा, नेरफेरमा, गाउँ-छिमेकमा र एउटै पालिका, जिल्ला, देश वा महादेशमा रहनुको अनि मानव जातिमा पर्नुको नाताले जो सुकै परिचित वा अपरिचित मानिस पनि हामीजस्ता मानवजातिको लागि मित्र हुन वा भनिन सक्छ ! विशेषगरी विचार र वर्ग मिल्ने, विधि-विधान एउटै मान्ने, वन्धु-वान्धव पर्ने, बोलचाल गर्ने, मीठो बोली-बचन हुने अनि स्वच्छ, निस्वार्थ र पारदर्शी व्यवहार गर्नेहरु आदि त झन् सच्चा मित्र पो हुन् ! साथै, समान जाति, भाषा, धर्म, संस्कार, संस्कृति, लिङ्ग, उमेर र समुदायका मानिसहरु पनि आपसमा आत्मीय मित्र हुन् ! यस्तै, एउटै लक्ष-उद्देश्य, समान सोंच र भिजन-मिसन भएका कुनै संघ, संस्था र संगठमा आवद्ध वा अनावद्ध मानिसहरु पनि पक्का मित्र हुन्छन् ! यसैगरी यात्रामा वा जात्रामा अथवा सुखमा वा दुखमा साथ-सहयोग, आशिष-कामना, माया-ममता वा सान्त्वना-समवेदना दिने मानिस पनि जीवन-व्यवहारका असली मित्र हुन् ! तर जब साम्ने अघिल्तिर पर्दा हजूरको गजुर लगाइदिने, दुई हात जोडेपछि पनि नपुगेर हात मलेर टाउको कन्याउँदै चाप्लूसी गर्ने र परम मित्र भएको ढ्वाङ रच्ने र स्वाङ पार्ने तर तिनै मित्र वा मित्र भनिएकाहरुमध्ये वा मित्र हुनुपर्नेमध्येकै कोही अलिकती मौका पाउने बित्तिकै अकारण वा उसको कुबुद्धि, कुविचार, कुनीति र कुभावनाबाट उसमा उत्पन्न हुने मूर्खता, क्षुद्रता, निकृष्टता, स्वार्थ, लोभ र आग्रह-पूर्वाग्रह आदिका कारण कसैको दुश्मन हुन्छ र रिसराग राख्छ, विरोध-अवरोध गर्छ र बदला लिनलाई छुच्याइँ-दुष्ट्याइँ गर्छ, छुल्याइँ-फट्याइँ गर्छ; तब त्यो वास्तवमै दुष्ट मित्र हो !
नेपाल र नेपालीका सन्दर्भमा भारतीय विस्तारवाद र त्यहाँको शासक वर्ग विगत लामो समयदेखि दुष्ट मित्र रहँदै आएको छ भने अमेरिकी साम्राज्यवाद नेपालसङ्गको हालै सम्पन्न Millennium Challange Compact ( MCC ) सम्झौताका माध्यमबाट चरम दुष्ट मित्र हुन थालेको छ ! भारत छिमेकी, अझ घनिष्ठ छिमेकी देश हुनाले मित्र, परम मित्र देश नै हो र हुनुपर्ने हो तर सामान्यतया सुगौली सन्धियता र मुख्यतः सन् १९५० को शान्ति तथा मैत्री सन्धिदेखि यताका विभिन्न सन्धिल, सम्झौता, सहमती र सहकार्य अनि राजनीतिक, आर्थिक, सांस्कृतिक, सैनिक आदि विविध हस्तक्षेपहरु मार्फत नेपाल र नेपाली जनतामाथि भारतले गरेको शोषण-उत्पीडन, अन्याय-अत्याचार र हेला-होंचोका कारण ऊ हाम्रो दुष्ट मित्र भएको हो भने संयुक्त राज्य अमेरिका त नेपालसङ्ग हालै भएको भनिएको MCC नामक कथित अनुदान सम्झौताका नाममा यस मार्फत नेपालको भौतिक र बौद्धिक सम्पदा लुट्ने र यहाँ परियोजना सुरक्षाका बहानामा अमेरिकी सेना भित्र्याई हाम्रो घनिष्ट छिमेकी सच्चा मित्र राष्ट्र चीन आदिका विरुद्धमा सैन्य गतिविधी समेत गरेर एकातिर नेपाललाई मित्रघाती बनाउने र अर्कातिर नेपाललाई रणभूमी बनाउने अर्थात् हरियो घाँस देखाएर नेपाललाई बलिबेदीमा चढाउने कुनीति र कुनियत साथ आइरहेकोले अमेरिका पनि हाम्रो देसको चरम दुष्ट मित्रमा गनिएको हो !
यस्ता दुष्ट मित्रहरु हामी व्यक्तिविशेषका पनि हुन्छन्, छन्, भएका छन् ! अहिले विशेषगरी सामाजिक सन्जाल फेसबुक, ट्विटर आदिमा भएका friends निकटतम मित्र नै हुन् तर तीमध्ये केही यस्ता भ्रष्ट, निकृष्ट र पापिष्ट ( हुन् ) छन् कि तिनले आफ्नो अहंकार, अल्पबुद्धी, अशिष्टता, असभ्यता, अभद्रता, अश्लीलता, अमानवीयता र अतिवादजस्ता आठ “अ”जन्य चिन्तन र चरित्रका कारण अनावस्यक, अवान्छित, असहिष्णु, अतार्किक, असान्दर्भिक र अपरिपक्व तर्क, वितर्क र कुतर्क गर्छन्-गरेकाछन् र दुश्मन बन्छन्-बनेका छन् ! यिनीहरु नै अहिले हाम्रा दैनिक जीवनका ठिक दुष्ट मित्र हुन् ! यिनलाइ मित्र नभनौं त फेसबुकमा friends को लिष्ट खोल्दाबित्तिकै यी देखापरिहाल्छन् ! त्यसैले यिन्लाई मित्र भन्न र मान्न नै पर्यो तर जब यिनका मति, गति, नीति-नियत र कृति-कर्तुत छर्लङ्ग हुँदै जान्छन्, तब यी सीधै दुष्ट मित्रमा दरिन पुग्छन्-पुगेका छन् ! अन्ततः र सारत: यी दुष्ट मित्रहरु हामी कुनै व्यक्तिविशेषका लागि मात्र दुष्ट मित्र नभएर यी त सारा समाज, संस्कृती, सभ्यता, संगठन र संसारकै लागि समेत मूर्ख मित्र हुन् ! त्यसैले त यस्ता मूर्ख मित्रहरुका बारेमा भनिएको छ : “मूर्खमित्र हुनुभन्दा विद्वान शत्रु हुनु बेस हुन्छ “! भनाइको मतलव यस्ता निकृष्ट र मूर्ख दुष्ट मित्रहरुभन्दा शिष्ट शिक्षित शत्रु नै तुलनात्मक रुपले श्रेयष्कर हुन्छन् ! सायद यसै भएर भनिएको होला – “रच्छ्यान चलाई मुखभरी छिटा !” हुनपनि हो मित्रको रुप, आवरण र भेषमा बसेर वा पसेर हामी आफूलाई नै घात गर्ने हाम्रा दुष्ट मित्र सङ्ग साथसङ्गत नगरी पनी नहुने र साथसङ्गत गर्दा पनि कति घातक हुन्छन् भन्ने कुरा स्वयंमा स्पस्ट नै छ ! यसै कुरालाई अझ स्पस्ट पार्दै थप भनिएको छ : ” मुखमा राम-राम, खल्तीमा छुरा”, ” …..बिष कुम्भम् पयो मुखम्,” “…..मधु तिष्ठती जिह्वाग्रे हृदयेतु हलाहलम् “! इति दुष्ट मित्र महात्म्यम्-वर्णनम् !!

प्रतिक्रियाहरु

[anycomment]