संसदीय फासीवादविरुद्ध क्रान्तिकारी विद्रोह

१. प्रतिबन्ध सरकारको एकतर्फी युद्धको घोषणा थियो
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको आज होइन २०७५ चैत्र २८ देखि थियो भनेर कथित द्वन्द्व विश्लेषकहरुलाई सम्झाउन चाहन्छु । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउन साथ सबैको एउटै निष्कर्ष बनेको थियो– सरकारले देशमा फेरि गृहयुद्ध, द्वन्द्व वा अशान्ति मच्चाउने निर्णय ग¥यो । यहाँसम्म कि सुरक्षा अधिकारीहरुले समेत यो निर्णय सुखद् नभएको टिप्पणी गरे । विप्लव नेतृत्वको नेकपाले भन्यो– सरकारले बलजफ्ती रुपमा शान्ति सम्झौता भंग ग¥यो । धेरैले सोचेजस्तो सरकारद्वारा प्रतिबन्धित नेकपा गृहयुद्धमा गएन बरु ऊ पहिलाभन्दा पनि संयमित, भद्र र शान्त बन्यो । वास्तवमा स्वतन्त्र विश्लेषण गर्ने हो भने– विप्लव नेतृत्वको नेकपाले युद्धको जवाफ शान्तिबाट दियो । आजका मितिसम्म हिसाब गर्ने हो भने आपूmमाथि प्रतिबन्ध लागेको करिब एक्काइस महिला बितिसके तर, उसले एउटा पनि फायर खोलेको छैन र कुनै युद्धको घोषणा गरेको छैन । आज पनि केही लोकतन्त्रवादी भन्ने शक्तिले भनेका छन्– विप्लव समूहलाई हिंसा अनि व्यक्ति हत्याको बाटो छोडेर शान्ति प्रक्रियामा आउन आग्रह गरिन्छ । यहाँ, एउटा पनि हतियार नपड्काएको शक्तिलाई हिंसा छाड्न सुझाव दिनेहरुको चेतना देख्दा दया लाग्छ । सरकारले दलमाथि प्रतिबन्ध लगाउँदा नबोल्ने कथित लोकतन्त्रवादी र मानवअधिकारवादीहरुप्रति घृणा छ ।
के विप्लव र प्रकाण्डलाई मन पराउने अनि समर्थन गर्ने लाखौं नागरिकको मानवअधिकारको सवाललाई उपेक्षा गर्न सकिन्छ ? विप्लव र प्रकाण्डले हाम्रो राष्ट्रियता र परिवर्तनका लागि उठाएका मुद्दाहरुलाई समर्थन गर्ने अधिकार जनतालाई छैन ? सर्वोच्च अदालतले समेत सफाई दिएका विप्लव नेतृत्वको नेकपाका नेता, कार्यकर्तालाई दर्जनौं पटक झुटा मुद्दामा फसाउने सरकारी षड्यन्त्रमा के लोकतान्त्रिक भावना र विधिको शासनप्रतिको प्रतिबद्धता छ ? आपूmलाई रोग लागे अस्पताल जान नपाउने, बिरामी भेट्न नपाउने, मलाम जान वा काजक्रियामा समेत सहभागी हुन नदिने कहाली लाग्दो परिदृश्य कसले निम्त्याएको छ ? त्यसकारण सच्चा लोकतन्त्रवादी र मानवअधिकारीवादीको दायित्व हुन्थ्यो– सरकारलाई दमन नगर्ने अनि प्रतिबन्ध फुकुवा गर्न र विप्लवलाई हिंसा नमच्चाउन दबाब दिने । लोकतन्त्रवादीहरुले भन्नु पर्दथ्यो, सरकार सबै नागरिकको अभिभावक भएकाले ऊ बढी संयमित र उदार बन्नु पर्छ । के नागरिकका आक्रोश र असन्तुष्टिलाई सम्बोधन गर्नु राज्यको दायित्व होइन ? क्रान्तिको नेतृत्व गर्ने विप्लव र प्रकाण्डलाई सुरुमै निमोठ्छ भन्ने सरकारी दृष्टिकोण के स्वीकार्य हुनसक्छ ?
सबैको इतिहासको समीक्षा होला, केपि शर्मा ओली राज्यद्वारा लगाइएको ज्यान मुद्दामा १४ वर्ष जेल बसेका व्यक्ति हुन भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पनि हेग लैजाने धम्कीका शिकार बनेका छन् । नेपालको सापेक्षतामा बम पड्काउन सिकाउने र त्यसलाई शान्तिपूर्ण आन्दोलनकै रुपमा परिभाषित गराउने रामबहादुर थापा ‘बादल’ गृहमन्त्री छन् । केपी ओली भन्छन्– गणतन्त्रमा केका लागि विद्रोह ? यसको जवाफ काँग्रेस नेता रामचन्द्र पौडेलले केही दिन अगाडि दिएका थिए– राणा शासनमा पनि यस्तो अत्याचार भएको थिएन ।
त्यसकारण प्रतिबन्धको निर्णय आफैँमा विनाशकाले विपरित बुद्धि थियो । यो कथित गणतन्त्रको तस्बिर अनि कलंक पनि थियो । सबैलाई थाहा छ, राजनीतिमा क्रियाको प्रतिक्रिया हुन्छ । संघर्षमा जीत र हार पनि हुन्छ । तर, असल नेताले त्यसलाई दीर्घकालीन रुपमा हिसाब–किताब गर्न सक्नुपर्छ । न कि ओलीले जस्तै क्षणिक र अल्पकालिन रुपमा ।
२. प्रतिबन्धको फुकुवा र वार्ताको आह्वानका लागि के गर्नुपर्ने ?
धेरै नागरिक र स्वतन्त्र विश्लेषकहरुको सरकारलाई प्रश्न छ– वार्ताका लागि नेपाल कम्युनिस्ट पार्टीले के मापदण्ड पुरा गरिदिनु पर्ने ? के वार्ताको आह्वानका लागि फेरि पनि गृहयुद्ध, दीर्घकालिन जनयुद्ध गरिदिनु पर्ने हो ? अथवा के प्रतिबन्धको फुकुवा र वार्ताको आह्वान गर्नका लागि फेरि पनि हजारौं मान्छेको बलिदानी हुनु पर्ने हो ? वरिष्ठ पत्रकार तथा विश्लेषक निमकान्त पाण्डेले भनेका छन्– गृहयुद्ध सुरु नहुँदै वार्ता गर्नु सरकारको दायित्व हो । सरकारले नै युद्ध भड्काउने काम गर्नु अशोभनीय र लाजमर्दो विषय हो । सबैलाई थाहा छ, सरकारसँग सेना छ, प्रहरी छ र त्योभन्दा पनि ठूलो कुरा राज्यको ढुकुटी छ । सरकारले युद्धमा होम्ने कसलाई हो ? के प्रधानमन्त्री र मन्त्रीहरु सुरक्षा घेराबिना हिँड्न सक्छन् ? सेना, प्रहरी र राज्यको ढुकुटीको दुरुपयोग गरेर उनीहरु युद्धको ध्वाँस दिन्छन् । अर्को शब्दमा युद्धलाई भड्काउँदै छन् । विप्लव नेतृत्वको नेकपा भनेको छ– हामी युद्धको पक्षमा छैनौं, क्रान्तिको पक्षमा छौं र अब पनि युद्धमा जानुपर्ने भयो भने त्यो हिजोको जस्तो चौकी आक्रमणबाट हुँदैन, त्यो सिंहदरबारबाट हुन्छ । त्यसकारण २१ महिना सानो समय होइन । २१ महिनासम्म सरकारी प्रतिबन्धको औचित्य पुष्टि भएन । त्यसकारण सरकारले आफ्नो गलत निर्णयप्रति सार्वजनिक माफी माग्दै एकतर्फी र निशर्त रुपमा प्रतिबन्ध हटाउनु बुद्धिमतापूर्ण हुन्छ ।
३. के लाखौं नागरिकको मौलिक हकको मुल्य हुदैन ?
स्पष्टै छ, विप्लव नेतृत्वको नेकपामा सम्बद्ध लाखौं सदस्य र शुभचिन्तक छन् । अहिले त जनताले सडकमै निस्केर ‘विप्लव आऊ, देश बचाऊ’ भन्न लागिसके । गाउँ–गाउँमा आएका जनलहरहरुको सूचना सरकारसँग छ वा छैन ? के यी नागरिकको मौलिक हकलाई हनन् गरेर राज्यले दमन गर्न सक्छ ? युद्धको बेलामा पनि केही अन्तर्राष्ट्रिय नियम हुन्छन् । के सरकारले सेना र प्रहरीको आडमा जे गरे पनि गर्न हुन्छ ? हामी भन्छौं, यदि यो लोकतन्त्र हो भने लाखौं जनताको मौलिक हक र मानवअधिकारको विषयमा नेताहरु संवेदनशील बनुन् । होइन यो छाडातन्त्र, लुटतन्त्र र निरंकुशतन्त्र हो भने त्यसको जवाफ जनताले दिनेछन् ।
४. इन्काउन्टर र हत्या शृङ्खला कसले चलाएको हो ?
सबैलाई थाहा छ, कुमार पौडेलको हत्या राज्यले गरेको हो । अझै चर्चामा नआएको तिर्थ घिमिरेको हत्या प्रकरण राज्यले गरेको हो । निरकुमार राईको हत्या पनि सरकारले गरेको हो । दुर्गाबहादुर रोक्का मगरलाई समातेर गोली हान्ने काम सरकारले गरेको हो ।
५. सुराकीका विरुद्ध कस्तो प्रतिक्रिया जनाउने ?
हालै मोरङका शिक्षा तथा सरकारका सुराकी राजेन्द्र श्रेष्ठको मृत्यु वा हत्याको पक्ष र विपक्षमा बहसहरु भएका छन् । राजेन्द्र श्रेष्ठ शिक्षक हुन कि सुराकी भन्ने विषयमा सञ्चारमाध्यमले अध्ययन गरेनन् । धेरै सञ्चारमाध्यमले भने– शिक्षक राजेन्द्र श्रेष्ठको हत्या बर्बरतापूर्ण । सुरक्षा निकायले पनि पुष्टि गरिसक्यो कि शिक्षक राजेन्द्र श्रेष्ठ सुराकी थिए । त्यसपछि गृहले जारी गरेको सर्कुलरमा स्पष्टै आएको छ– सुराकीहरुको सुरक्षामा विशेष ध्यान दिने । विप्लव नेकपाले भन्यो– व्यक्ति हत्या गर्ने पार्टी नीति छैन, राजेन्द्र श्रेष्ठको मृत्यु प्रतिकारबाट भएको हो ।
५.१ शिक्षक, कर्मचारी वा अन्य सर्वसाधारणलाई सुराकी नबनाऊ ः मोरङ घटनाको एउटा शिक्षा हो– शिक्षक, कर्मचारी वा अन्य सर्वसाधारणलाई सुराकी नबनाऊ । के यो दबाब नागरिक समूह र स्वतन्त्र पत्रकारहरुको तर्फबाट आउनु पर्ने होइन ? शिक्षक भएर सुराकी बन्न मिल्छ ? सबैलाई थाहा भएकै कुरा हो, सरकारले गाउँ–गाउँ र गल्ली–गल्लीहरुमा सुराकीहरु परिचालन गरेको छ । सुराकीकै कारण सबै शीर्षस्थ नेता र कार्यकर्ताहरुको गिरफ्तारी भएको छ । सुराकीकै कारण कुमार पौडेल, तीर्थ घिमिरे र निरकुमार राईको हत्या भएको छ । एउटा सुराकीले सयौं र हजारौं योद्धाहरुको हत्या गर्ने पृष्ठभूमि तयार पार्न सक्छ । अनि शिक्षक भएर अरुको सुराकी गर्दै हिँड्न मिल्छ ? शिक्षकलाई सुराकी नबनाऊ भन्ने कि सुराकी मार्न पाइँदैन भन्ने ? विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको छ– पैसाको लोभमा सुराकी बन्ने भुल नगर्नु, सुराकीहरुको जीवन सुरक्षा राज्यले गर्न सक्दैन र सुराकीहरु माथि आक्रमण गर्ने पार्टी नीति हुनेछ ।
६. दमन र फासीवाद निरंकुश सत्ताका निर्णायक हतियार
अन्तत्वगत्वा सरकारले फासीवादी बाटो लिने निश्चित गरेको छ । पछिल्लो पटक गृहमन्त्रालयको सर्कुलरमा स्प्ष्ट भनिएको छ– देशैभरि नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताको निगरानी गर्ने, सुराकीहरुको सुरक्षामा ध्यान दिने र शंकास्पद गतिविधि वा व्यक्तिहरु देखिएमा गोली हान्ने । उसले गाउँ–गाउँमा सेना, सशस्त्र, जनपद र अनुसन्धानको संयुक्त गस्ती बढाउने निर्णय गरेको छ । यो दमनको प्रारम्भिक चरण मात्र हो । उसलाई सत्तामा टिक्नका लागि पनि संकटकालको घोषणा गर्नुपर्ने परिस्थित छ । विस्तारै ऊ हत्या अप्रेशनतर्फ लाग्ने निश्चित छ । हामीलाई थाहा भएकै कुरा हो, जनताको विद्रोहलाई दबाउने शासकहरुको दृष्टिकोण सधैं एउटै हुने गर्छ त्यो हो– दमन, हत्या र राज्य आतंक । विगतमा जस्तै सरकार फेरि नरसंहारमा उत्रिने स्पष्टै दिशा निर्देश भइसकेको छ । उसको आक्रमणको निशानामा प्रभावशाली र सक्रिय नेता कार्यकर्ताहरु पर्ने निश्चित छ । आम नरसंहारको हिसाबले सायद उसले पश्चिमबाट सुरु गर्नेछ । कालिकोट, कपिलवस्तु, रोल्पा, रुकुमजस्ता जिल्लाबाट ।
सबैलाई थाहा छ, जनता अब संसदीय व्यवस्थाका विरुद्ध सडकमा उत्रिसकेका छन् । जनताले भनिसकेका छन्, यो गणतन्त्र होइन लुटतन्त्र हो । उनीहरुले भनेका छन्– यो लोकतन्त्र होइन, भ्रष्टतन्त्र हो । फेरि पनि उनीहरुले भनेका छन्– बरु राजतन्त्र नै सही यो लुटतन्त्र मान्दैनौं । आज सडकमा ‘राजा आऊ देश बचाऊ’का नारा लागेका छन् । ओलीतन्त्रमा क्रान्तिकारी शक्तिहरुमाथि प्रतिबन्ध लगाइएको छ । क्रान्तिकारीहरुलाई सडकमा निस्किनबाट बञ्चित गरिएको छ ।
प्रधानमन्त्री केपी ओलीले आफैंले बोलाएको कथित सर्वदलीय बैठकमा भनेका छन्– राजावादी र विप्लव समूहबाट व्यवस्थामाथि नै चुनौति सिर्जना गर्ने काम हुँदैछ । उनले भनेका छन्– गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादीहरु एक ठाउँमा उभिनु पर्दछ । त्यहाँ उनले वार्ता र संवादको सन्देश होइन, युद्ध र बल प्रयोगको धम्की दिए । उनले स्पष्ट संकेत गरे– व्यवस्थाको विरोध गर्नेहरु विरुद्ध सरकार खरो र आक्रामक रुपमा उभिन्छ, त्यसमा सबैको समर्थन होस् । हामीलाई थाहा छ, ओलीतन्त्र आफैंमा फासीवादी दृष्टिकोण बोकेको संयन्त्र हो । उसले आफ्नै दलभित्र त सर्वसत्तावाद लादेको छ भने बाहिरको कुरै नगरौं । उसले देशमा गृहयुद्धलाई भड्काउने छ किनकि ऊसँग सेना, प्रहरी र राज्यको ढुकुटी छ । उसले युद्धमा वा विनाशमा नै आफ्नो जीत देख्ने छ ।
७. युद्धको जवाफ क्रान्तिबाट दिने विप्लव नेतृत्वको नेकपाको निर्णय
आमनागरिकलाई थाहा छ, विप्लव नेतृत्वको नेकपालाई जनताले आशा र विश्वास गर्ने केही आधारहरु छन् । जनताले विश्वास गर्ने पहिलो आधार हो– एउटा इमानदार, प्रतिबद्ध र निष्ठावान् नेतृत्वको समूह र तिनीहरुको एकता । विप्लव र प्रकाण्डबीचको एकता सबैका लागि लोभलाग्दो छ । त्यसैगरी विप्लव, प्रकाण्ड, कञ्चन, सुदर्शन र विषमको सामुहिक एकताले पार्टीलाई पुनर्जीवन प्रदान गरेको छ । नेतृत्वको क्रान्ति र राष्ट्रप्रतिको निष्ठा अनि त्याग सबैका लागि अनुकरणीय छ । विप्लव नेतृत्वको नेकपालाई जनताले विश्वास गर्नुका पछाडि निम्न आधारहरु मुख्य छन्– १. राष्ट्रवाद, २. परिवर्तन प्रेमी, ३. जनतालाई स्वतन्त्र र मुक्त बनाउने अभियान, ४. भ्रष्ट, दलाल, कालोबजारी र तस्करको विरोध, ५. निषेधबाट होइन सहकार्य र सहभागिताबाट राज्य चलाउने दृष्टिकोण र ६. विभेदबाट होइन समानताको मानवीय अधिकारको दृष्टिकोण ।
उता जनता दलाल संसदीय व्यवस्थाका विरुद्ध सडकमा उत्रिएका छन् । संसदीय नेतृत्व र संसदीय व्यवस्थाका विरुद्ध जनआक्रोश विस्फोटक बन्दैछ । सरकारले जनतालाई सडकमा आउने ढोका बन्द गरिदिने षड्यन्त्र गर्दैछ । किनकि जनआक्रोश बढ्दो र ज्वालामुखीको रुपमा विस्फोटक बन्ने लक्षण देखिँदैछ । सरकार यो बाटो बन्द गर्नका लागि संकटकाल, कफ्र्यू र निषेधाज्ञा जारी गर्ने बहाना खोज्दैछ । सरकारी षड्यन्त्रको निशाना राजावादी र नेपाल कम्युनिस्ट पार्टीप्रति छ । त्यसमा पनि मुख्य निशाना उनीहरुकै शब्दमा नेपाल कम्युनिस्ट पार्टीप्रति छ । त्यसका लागि सरकार नेपाल कम्युनिस्ट पार्टीप्रति एकाएक आक्रामक रबैया अपनाउने रणनीतिमा छ । हुनसक्छ केही दिन भित्रमै केही अनपेक्षित घटनाहरु घटाउनेतर्फ सरकार केन्द्रित छ । त्यो सरकारले युद्ध र फासीवाद लाद्ने योजना बनाइरहेको छ ।
७.१. राणा र पञ्चायतभन्दा पनि निरंकुश ओलीतन्त्र ः काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेजस्तै राणा र पञ्चायतभन्दा पनि निरंकुशतन्त्रका रुपमा ओलीतन्त्र आउँदैछ । त्यसका लागि पार्टीभित्रका दाहाल–नेपाल समूहलाई तह लगाइसकेको छ । संसदभित्रका काँग्रेसलाई उसले मनाइसकेको छ । देउवा र ओलीको लगनगाँठो सबैका सामु छर्लङ्गै छ ।
७.२ युद्धको जवाफ क्रान्तिबाट दिने विप्लवको निर्णय ः विप्लव नेतृत्वको नेकपाले दमनको प्रतिरोध गर्ने घोषणा गरिसकेको छ । साम्राज्यवादीहरुले क्रान्तिलाई दमन गर्न युद्धको सहारा लिन्छन् । ओलीतन्त्रले गर्ने त्यही नै हो कि उसले सशस्त्र दमनको बाटो रोज्ने छ । योभन्दा अन्य दृष्टिकोण संसदीय नेतृत्वसँग हुने सबाल पनि भएन । उनीहरुले पुरानै तरिकाहरु अपनाउने छन् । अब हेर्न बाँकी छ, घटनाक्रमहरु कसरी विकास हुनेछन् । त्यसकारण सरकारले फेरि इन्काउन्टर र हत्याको बाटो अनुशरण गर्नेछ । त्यसको बदलामा प्रतिरोध गर्ने नेकपाको घोषणा छ । देशका लागि सोच्ने हो भने बेलैमा सरकारले प्रतिबन्धको निर्णयलाई फिर्ता लिनु सबैका लागि सुखद हुनेछ ।