संकट, षड्यन्त्र र सम्भावना
सामाजिक फासीवादी सरकारको प्रतिबन्ध फिर्ता पछि हामी प्रतिरोध संघर्षको मोर्चालार्ई थाती राखेर शान्तिपूर्ण रुपमा जनताको बीचमा गइरहेका छौं । र, यो सन्दर्भ शासक र जनताबीच कायम रहेको भीषण अन्तर्विरोध सिद्धान्ततः एकता र संघर्षको नियम हुँदै त्यसमा पनि मुख्य पक्ष संघर्ष बन्दै एउटा क्रमभङ्गतासहित मात्राको गुणतर्फ क्रमभङ्ग भएको सन्दर्भ हो । हाम्रो गुण भनेको वैज्ञानिक समाजवाद हो ।
पदार्थ वा परिघटनाको माक्र्सवादी द्वन्द्वात्मकता अनुसार यसको शृंखला यसरी नै विकास हुन्छ । र, एउटा यस्तो स्थिति पैदा हुन्छ, त्यतिबेला सामाजिक सत्ताको पुरानो तत्वलाई पूर्ण रुपमा निषेध गर्दै नयाँले स्थान लिने छ । र त्यहाँसम्मको सम्पूर्ण नेतृत्व गुणले प्रदान गर्ने छ । यतिबेला उक्त गुण नेपाली समाजमा घटित नयाँ सामाजिक परिघटनामा ब्यक्त क्रमभङ्गतालाई सम्बोधन गर्ने तहमा जनमतसंग्रहको कार्यनीतिक प्रस्ताव दिएर जनताको बीचमा उपस्थित छ । वर्गसंघर्षमा बर्गहरुको विश्लेषण, दुई बिपरित बर्गबीचको एकता र संघर्ष, त्यसको मात्रात्मक अवस्थाबाट गुणमा रुपान्तरण हुने स्थिति र पुरानोलार्ई निषेध गर्दै नयाँले स्थान लिने वैज्ञानिक तथ्यहरुको शृंखलालाई बोध गर्दा हामीले समाजको आगामी संकट र सम्भावनाहरु देख्न सक्छौं ।
जनमतसंग्रहको विषयलार्ई लिएर कयौं आशंकाहरु ब्यक्त गरिएका छन् । र, यस्तो बुझाइसहित आंशका ब्यक्त गर्नेहरु कम्युनिस्ट स्कुलकै विद्यार्थीहरु देखिन्छन् । बस्तुको गतिशीलता अन्तर्विरोध र विकासको शृंखलालार्ई आधार बनाएर पटाक्षेप ग¥यो भने के सही हो के गलत हो ? अगाडि प्रकट भइहाल्छ । तर, यहाँ त्यो कष्ट गर्नुको सट्टा अनुभवजन्य, भावनाजन्य र कैयौँ भ्रमपूर्ण तर्कहरु ब्यक्त भइरहेको पाइन्छ ।
प्रथमतः नेपाली समाजको मुख्य अन्तर्बिरोध दलाल पुँजीवाद र उत्पीडित जनताका बीच रहेको र यसको समाधान वैज्ञानिक समाजवादबाट मात्र सम्भव छ भन्ने बिषयप्रति कसैको बिमती रहेको छैन । विभिन्न ढंगले छरिएर रहेका समाजभित्रका तमाम अन्तर्बिरोधहरुलाई हामीले सचेततापूर्वक साँघुरो बनाउँदै दलाल पुँजीवाद र वैज्ञानिक समाजवादलार्ई आमने–सामने बनाउनु पथ्र्यो । वर्गसंघर्षलार्ई पेचिलो बनाउन आमजनता र उत्पीडक सत्ताबीच स्पस्ट विभाजन पैदा गर्नु अनिवार्य हुन्थ्यो । प्रतिरोध संघर्षको मोर्चालाई थाती राखेर हामी शान्तिपूर्ण रुपमा जनतामा पुग्दै जनमतसंग्रहको प्रस्ताव पेश गर्दा यसले जनता र उत्पीडक सत्ताबीच स्पष्ट विभाजन पैदा गरेको छ । र, यसलाई ब्यवस्थित छलफल, सभा र कार्यक्रमहरुमार्फत् आममा पु¥याउँदा देशमा दुईवटा दृष्टिकोण, दुई प्रबृत्ति, दुई सत्ता, दुई ध्रुब बन्ने छ । अर्थात् शान्तिपूर्ण रुपमै पनि वर्गसंघर्ष पेचिलो बन्ने छ ।
दोश्रोः पुँजीवादी संसदीय ब्यवस्थापूर्ण रुपमा असफल मात्र होइन यो वैधानिक रुपमै अन्तिम पतनको संघारमा छ । बिकल्प अनिवार्य बनिरहँदा पुँजीवादी आर्थिक प्रणालीको अन्त्य गरेर वैज्ञानिक समाजवादी सत्ता स्थापना हुने बलियो सम्भावनालाई मोड्दै आपूm अनुकुल हुने सत्ता स्थापना गर्न र नेपाली जनताको चाहनालाई विषयान्तर गर्ने तहमा समेत प्रतिकृयावादीहरु लागिपरेका छन । यो राजतन्त्रको पुनर्वहाली, सैनिक शासन जस्ता विषय अगाडि सार्दै ब्यक्त हुँदै आइरहेको छ । तर, समाजमा रहेको अनतर्बिरोधको समाधान यसरी सम्भव छैन । मध्यावधि निर्वाचन भन्दै यसको अस्थायी टालटुल मात्रै भए पनि गर्ने ध्याउन्नमा लागेको सत्ता अझ गहिरो संकटमा फँस्दै गैरहेको छ । वैज्ञानिक समाजवाद नै यी तमाम संकटहरुको सम्पूर्ण समाधान हो । परिस्थिति यसरी विकास हुँदै आउनुले प्रतिकृयावादको सेवा चाकडी गर्दै आएका संसद्वादी नेतृत्वहरुमा जीवन–मरणको स्थिति पैदा भएको छ । समाजिक नियमलाई पक्रँदै अगाडि बढ्ने कि पछाडि हट्ने ? अर्थात प्रतिकृयावादीहरुको योजनामा लम्पट हुने कि जनआकांक्षा अनुरुप आपूmलाई रुपान्तरण गरेर आफ्नो जीवन बचाउने ? संसद्वादीहरुका अगाडि यक्ष प्रश्न खडा भएको छ र यसले अझ गम्भीर रुप लिँदै संसद्वादीहरुको जीवनमा गम्भीर संकट पैदा गर्ने छ । सर्वपक्षीय सभा, अन्तरकृया र ठूला–ठूला छलफलहरुले पैदा गर्ने जनपक्षीय हुने वा जनबिरोधी बन्ने भन्ने परिस्थितिले सबै संसद्वादीहरुलार्ई कित्ता स्पष्ट गर्न बाध्य पार्ने छ । यसले दलाल पुँजीवादलार्ई गहिरो संकटमा फसाउँदै कुनै गम्भीर गल्ती गर्न बाध्य पार्ने छ र यो उनीहरुको पतन शृंखलाको अनिवार्य नियति हो । यो गल्ती पनि जनताको सत्ता स्थापना गर्ने संघर्षको निम्ति एउटा सम्भावना बोकेर नै आउने छ ।
तेस्रोः जनमतसंग्रहको प्रस्तावमा संसद्वादीहरु सहमत भए वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाको बीचमा निर्वाचन हुने छ । सारत यो निर्वाचन जनता र उत्पीडक सत्ताबीचको संघर्ष नै हो । विभिन्न नाम र कार्यक्रमहरुसहित जनतामा जाने र जनतालाई भ्रमित गरी शासन सत्तामा रहँदै आएका संसद्वादीहरुमा समेत यो जनमतसंग्रहले विभाजन पैदा गरिदिने छ । उनीहरुलाई जनताको विरोधी दृष्टिकोण र प्रवृत्तिको पक्ष लिएर जनतामा जान कठिन हुनेछ । यसले पैदा गर्ने ध्रुवीकरणले राष्ट्रको नयाँ जीवनबारे फैसला लिनलार्ई सबै पक्षलाई मजबुर गरिदिने छ । वैज्ञानिक समाजवाद कि संसदीय पुँजीवाद फैसला यसमा लिनु परेपछि स्थिति के बन्छ सहजै भन्न सकिन्छ । त्यसैले जनमतसंग्रहमा समेत वैज्ञानिक समाजवाद नै विजयी हुने निश्चित छ ।
चौथोः अर्कोतर्फ जनमतसंग्रह हुँदा अन्य मुद्दाहरु पनि आउँछन्जस्तो राजसंस्था, हिन्दु धर्म इत्यादि भन्ने छ । मुख्य कुरा सत्तामा उत्पन्न संकटको प्रमुख कारण उसको आफ्नै आन्तरिक पक्ष भए पनि यति मात्र सत्य होइन कि नेपालमा वर्गसंघर्षको शृंखलालाई सचेततापूर्वक हाम्रो पार्टीले संचालन गर्नु र जनमनोविज्ञान हाम्रो दृष्टिकोणअनुसार नै रहनुले सत्ता संकटको पदार्पण भएको हो । यहाँ कुनै राजसंस्थाको कारण, हिन्दु धर्मको कारण सत्ता संकट प्रस्फुटित भएको होइन । त्यसो हुँदा जनमतसंग्रह स्वभावैले वैज्ञानिक समाजवादलार्ई चुन्न वा नचुन्नमा केन्द्रित हुने छ । तर, माथि उठेका मुद्दाहरु जनमतसंग्रहमा प्रस्तावित भएर आउँदैनन् भन्न सकिन्न आउन सक्छन् । तर, सामन्य नियम के हुन्छ भने ब्यक्तिले अगाडि हिँड्ने बाटोको मेसो पाएन भने मात्र पछाडिबाट घुम्ने हो । वैज्ञानिक समाजवाद र यसले दिने कार्यक्रमहरु नै नेपाली समाजको अगाडि हिँड्ने बाटो हो । वैज्ञानिक समाजवादी सत्तासँग आमजनतालाई परिचित गराउनु, र हाम्रो विषयलार्ई इमान्दारितापूर्वक जनतालाई भन्नुले जनताले मेसो पाउने छन् । र, यो हाम्रो सबैभन्दा महत्वपूर्ण दायित्व हो । यसमा आत्तिनु पर्ने, भ्रमित बन्नु पर्ने आवश्यकता नै छैन । तपाईंलाई तपाईंको वैज्ञानिक समाजवाद सम्पूर्ण समाधान हो भन्ने लाग्दैन ? योप्रति तपाईं पूर्णरुपमा विश्वस्त हुनुहुन्न ? हुनुहुन्छ भने ढुक्क हुनुस् सबै खाले प्रतिगामी मुद्दाहरु जनमतसंग्रहमा घुसे पनि विजय हाम्रो नै निश्चित छ । बरु जनतालाई बाटो देखाउने, मेसो दिने काममा राम्रोसँग लाग्नु छ । र, यसको निम्ति बस्तुगत परिवेश परिपक्व छ । आत्मागत परिस्थिति छैन भन्ने कुतर्क आउने गरेका छन् यो तर्क सही छैन । हाम्रो आत्मागत अवस्था पनि बलियो छ, नब्बे केजी बोक्नु पर्ने बेला छ अनि खाली एक सय केजी बोक्ने तागतको कुरा गर्दै त्यसैलाई आत्मागत भन्ने गलत तर्क गरेर भ्रमित बन्नु हुन्न । यतिबेला हामीसँग अहिले गर्नुपर्ने कामलार्ई थेग्ने हाम्रो सामथ्र्य पर्याप्त छ । उत्कर्षमय संघर्षमा पुग्दा हामीसँग एकसय केजी होइन एकहजार केजी बोक्ने सामथ्र्य हुने छ । हामी जनतालाई वैज्ञानिक समाजवादी सत्तासँग परिचित गराउन सक्छौं, अगाडिको बाटो देखाउन सक्छौं । हाम्रो कुरा स्पस्ट र इमान्दारितापूर्वक जनतालाई भन्न पायौं र भन्यौं भने यहाँ कुनै प्रतिगामी वा यथास्थितिले मौका पाउने नै छैन ।
पाँचौँः यी सबै विषयलार्ई केलाएरै बस्ने प्रतिक्रियावादीहरु जनमतसंग्रहलार्ई असफल पार्न विभिन्न षड्यन्त्र र तानाबाना बुनिरहेका छन् । नेपाली समाजले अंगीकार गर्ने वैज्ञानिक समाजवादी सत्ताबाट तर्सिएर यतिबेला कैंयौ षड्यन्त्र भइरहेका छन् । सत्ताको गहिरिँदो संकटले पैदा गर्ने सम्भावना क्रान्तिकारीहरुले नसमातुन् भनेर पुँजीवाद सचेत छ । त्यसैले उसले परिस्थितिलाई अस्थायी रुपमा टाल्न षड्यन्त्र गर्दैछ र संसद्वादमा यसको नाङ्गो नाच देखिरहेकै छौं । अर्कोतर्फ दलाल पुँजीवाद सचेततापूर्वक हाम्रो पार्टी र सरकारसँग भएको तीन बुँदे सहमतिलाई समेत असफल पार्ने चाल चलिरहेको छ । उसका यी सम्पूर्ण चाल र षड्यन्त्रहरुले उसको पतनलार्ई अझ नजिक बनाउँदै लाने छ । हाम्रो पार्टीका नेता कार्यकर्ताहरु छोड्ने र मुद्दा खारेज गर्ने विषयमा उसले जुन चाल चल्न खोजेको प्रतीत हुन्छ, यो उसकै निम्ति प्रत्युत्पादक छ । किनकि यो विषयलार्ई समहतिअनुरुप हल नगर्ने हो भने यसले आन्दोलनको स्वरुप ग्रहण गर्ने छ र यो आन्दोलन घनिभूत रुपमा उठ्ने निश्चित छ । जनतामा पुग्ने छन् हाम्रा विषयहरु, जति–जति सत्ता षड्यन्त्र गर्दै जान्छ उति–उति यो मुद्दा सशक्त र दर्बिलो बन्दै जाने छ अर्थात् सत्ताको यो षड्यन्त्रमा पनि हामी अनुकूल नै सम्भावना देखिन्छ । अर्कोतर्फ जनमतसंग्रहलार्ई हुन दिएनन् भने ? यो प्रश्न महत्वपूर्ण छ । हुन नदिने, असफल तुल्याउने र षड्यन्त्र गर्ने सम्भावना प्रबल छ । जनमतसंग्रहले जनताको बीचमा आफ्ना सम्पूर्ण कर्तुत खोलिदिने भएपछि, जनताबाट नंग्याउने भएपछि हरसम्भव यो हुन नदिने खेल हुन्छ नै । तर, यो षड्यन्त्र पनि हाम्रो निम्ति सम्भावना लिएर आउँछ । किनकि, हामीले उसको षड्यन्त्र सफल हुने स्थितिसम्म जनतालाई बाटो देखाइसकेकै हुन्छौं । जनताको बीचमा पक्षधरता स्पस्ट भैसकेको हुन्छ । जनताले वैज्ञानिक समाजवाद चाहने र त्यो प्राप्त गर्ने यात्रामा पाइला हालिसकेका हुन्छन् । त्यतिबेला पैदा हुने षड्यन्त्रले जनमत उल्टिएर जनबिद्रोह हुने परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । जनमतसंग्रह जस्तो शान्तिपूर्ण निकास खोज्ने माध्यमलार्ई दुत्कारेर षड्यन्त्र र अपराधकै साहरा यदि पुँजीवादी संसद्वादीहरु लिन्छन् भने जनताको बिद्रोहको अगाडि धुलोपिठो हुनुको बिकल्प उनीहरुसँग रहने छैन ।
छैठौँः यतिबेला सिद्धान्तको आँखाले हे¥यो भने वर्गसंघर्ष एकता र संघर्षबाट मात्रालार्ई गुणमा रुपान्तरण गर्ने स्थितिमा आइपुगेको छ । यो भनेको दलाल पुँजीवादी सत्ताको बिकल्प वैज्ञानिक समाजवादलाई संसदीय ब्यवस्थाको सम्पूर्ण असफलताको सम्पूर्ण समाधान वैज्ञानिक समाजवाद हो भन्ने ठाउँमा ल्याइपु¥याएको छ । अर्थात् वर्गसंघर्षमा उत्पीडकको सत्ताविरुद्ध उत्पीडितले खडा गर्ने सत्ता आमने–सामने भएका छन् । गुण अगाडि आएको छ । जब गुण अगाडि आउँछ तब पुरानोको अस्तित्व बिलोप हुने हुन्छ तथापि पुरानोले पनि आफ्नो अस्तित्व बचाउन हरकोसिस गर्ने छ । उसका सवै कोसिसहरु सत्यको अगाडि अर्थात् माझिएर आएको, उसकै संकटको समाधान बन्न सक्ने गुणको अगाडि फिक्का साबित हुने छ । त्यसो हुँदा हामीले यतिबेला जनतालाई आफ्नो सत्तासँग परिचित गराउने र बाटो देखाउने काम गर्नु छ । गुणलार्ई पुरानोको अस्तित्वबिरुद्ध विजयी गराउन एउटा बलिदानमय संघर्षको उत्कर्ष चुम्नु नै छ । हामीले त्यो उचाइ प्राप्त गर्ने महान् सपना साकार पार्न निरन्तर मिहेनत गरौं । गुण अर्थात् वैज्ञानिक समाजवादको विजय आरम्भ भैसकेको छ ।