बद्लिदो समीकरण र त्यसले विश्व व्यवस्थामा पार्ने प्रभाव
यतिबेला कोरोना महामारी फैलिए पछि यताको समयमा. बिश्व ब्यवस्था र अबस्थामा तीब्र ध्रुबीकरण र समीकरण देखा पर्दैछन् । तर यसो भएको केवल कोरोना महामारीको कारणले मात्र भने होइन । निकै पहिलादेखिनै खाशगरी चीन र अमेरिकाको परस्पर प्रस्पिद्र्धा र आपसी टक्करले यसमा केन्द्रिय भूमिका खेल्दै आएको र खेलिरहेको छ । यसै परिप्रेक्षमा गएको महिनाको अन्तिम सातामा भएको अमेरिकी बिदेश मन्त्री एन्थोनी ब्लिंकेनको भारत यात्रालाई पनि हेरिनु बस्तुगत र उचित हुन्छ । त्यसैले अमेरिकी बिदेश मन्त्रीको यो बर्षको जुलाईको अन्तिम सातामा भएको भारत भ्रमण केवल भारत भित्र मात्रै होइन बाहिरका पनि अनेकौं देशहरुले गहिरो दृष्टि दिइरहेका होलान् या दिनेछन् । अमेरिकी बिदेश मन्त्रीले त्यतिबेला भारत भ्रमण गरेका छन् जतिबेला अफगानिस्तानलाई लिएर एउटा अनिश्चयको परिबेश बनिरहेको थियो र तालिबानको सत्तारोहण पछि पनि एउटा सन्देहको स्थिति बनिरहेको छ । सर्सरी हेर्दा के देखिन्छ भने अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भए पछि या हुँदै गएपछि त्यहाँ बिशेषगरी चीन र पाकिस्तान मिलेर महत्वपूर्ण भूमिका निर्बाह गर्ने अग्रसरता दृष्टिगोचर हुँदै जान थालेको छ । यसलाई भारतले आफुलाई अफगानिस्तानमा कुनै भूमिका खेल्नबाट बाहिर राख्ने या भारतलाई भूमिकाबिहीन तुल्याउने गतिबिधि र प्रयत्नकाकारुपमा लिदै गरेको पनि देखिन्छ । यसलाई भारतले चीनको भारत बिरोधी गतिबिधिको संज्ञा पनि दिन पनि पछि परेको छैन ।
हुन त अहिलेको अमेरिकी बिदेशमन्त्रीको भारत भ्रमणलाई निसन्देह कोभिड महामारीको सामना गर्न आपसी सहयोगको पनि एउटा महत्वपूर्ण बिषय बनाइएको थियो । तर त्यो भन्दा अहं महत्वको कुरा सामरिक चूनौतिहरुको एजेण्डा नै दुइ देश अमेरिका र भारतका बीचको सबैभन्दा अगाडि रहेको महत्वपूर्ण बिषय रहेको थियो र रहिरहेको देखिएको छ । यसलाई पश्चिमा र भारतीय बिश्लेषकहरुले भारतलाई अमेरिकाको जो बाइडेन प्रशासनले कति महत्वकासाथ हेर्दछ र लिन्छ भन्ने कुराको प्रमाणकोरुपमा पनि लिइरहेका छन् ।यसको थप अनुमान केबाट पनि लगाइदै आएको थियो भने यस बर्ष ब्लिंकेन भारत आउने तेश्रो उच्च स्तरीय अमेरिकी नेता थिए । उनीभन्दा पहिला अमेरिकी रक्षामन्त्री लायड अस्टिन अनि जलवायु परिबर्तन मामिला सम्बन्धि अमेरिकी राष्ट्रपतिका बिशेष दूत जान केरीले पनि भारतको भ्रमण गरिसकेका हुन् । यस परिप्रेक्षमा पछिल्लो ब्लिंकेन यात्रामा हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थिरताको अभिबृद्धि गर्नुका अतिरिक्त अफगानिस्तान समेतमा क्षेत्रीय सुरक्षाको मामिलामा अझ बढी सशक्तताकासाथ मिलेर काम गर्ने कुरामा अमेरिका र भारतका बीच जुन सहमति बनेको छ त्यसको ठूलो र गम्भीर अर्थ लाग्दछ । भारतका बिदेश मन्त्री एस जयशंकरसँगको संयुक्त पत्रकार सम्मेलनमा ब्लिंकेनले प्रष्ट भनेका पनि छन् कि अमेरिका र भारतको साझेदारी हिन्द–प्रशान्त क्षेत्रमा स्थिरता र समृद्धि प्रदान गर्न र बिश्वलाई यो कुरा दर्शाउनका निम्ति महत्वपूर्ण हुनेछ कि लोकतन्त्रले आफ्ना मानिसहरुका लागि कसरी काम गर्न सक्तछ । ब्लिंकेनले भारतको महत्वलाई रेखाङ्कित गर्दै के पनि भनेका छन् भने बिश्वमा यस्ता बहुतै कम सम्बन्धहरु छन् जुन अमेरिका र भारत बीचको सम्वन्धभन्दा बढी महत्वपूर्ण हुन् । यसको ब्याख्या समेत गर्दै ब्लिंकेनले थप के भनेका छन् भने अमेरिका र भारतका मानिसहरु मानबीय गरीमा, अवसरको समानता, कानुनको शासन, धर्म र बिश्वासको स्वतन्त्रता समेत अनेक मौलिक स्वतन्त्रतामा बिश्वास गर्दछन् । उनले यी कुराहरु भनेर भारत–अमेरिका सम्वन्धका ठोस बैचारिक र ब्यवहारिक आधारभूमिको थप भाष्य र आभास दिन खोजेका छन् ।
भ्रमणताका अमेरिकी बिदेशमन्त्री ब्लिंकनेले भारतका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजीत डोभालसँग पनि लामो सम्बाद गरे । त्यसमा उनले दुइ पक्षीय तथा क्षेत्रीय सामरिक मुद्धाहरु पनि प्रष्टरुपमा उठाएका थिए । यद्यपि के के बिषय उठाइयो र के निष्कर्श निकालियो त्यो औपचारिकरुपमा सार्बजनिक गरिएको छैन । तर जानकार ज्ञाताहरु के भनिरहेका छन् भने यो गम्भीर बार्तालाप अफगानिस्तान, पाकिस्तान, चीन र हिन्द–प्रशान्त क्षेत्रमा केन्द्रित कुराकानी नै दुइ देशका बीच भएको हुनुपर्दछ ।अफगानिस्तानलाई लिएर अमेरिकाले भारतलाई के आश्वासन दिएको होला यस बारेमा कुनै कुरा बताइएको छैन। कुरा अस्पष्ट नै छ । तर अमेरिकाले तालिबानका बिरुद्ध बेला बेलामा जुन हवाई हमला गरिरहेको तथा अफगानिस्तान सरकारलाई ठूलो आर्थिक तथा सैनिक सहयोग दिन गइरहेको छ यसबाट एकदमै स्पष्ट हुन्छ कि भलै जमिनी सतहबाट अमेरिका अफगानिस्तानबाट फिर्ता गएको होस् उसले अफगानी सरकारलाई उसैको कमजोर अबस्थामा छोड्न चाहिरहेको छैन भन्ने पनि दर्शाउन चाहेको देखिन्थ्यो । तर त्यहाँको सत्तापलटले स्थितिलाई अलिक भिन्न मोडमा खडा गरिदिएको छ ।
अर्को उल्लेखनीय अहं महत्वको कुरा यहाँ के छ भने अमेरिका–भारत सम्वन्धका बीच प्रशान्त क्षेत्रसँग जोडिएको चार राष्ट्रको गठबन्धन ‘क्वाड’ पनि बहुआयामिक सहयोग मञ्च रहेको छ । स्मरणीय छ, यस बर्षको आरम्भमा नै यो ‘क्वाड’ गठबन्धनको भच्र्यूअल शिखर सम्मेलन भएको थियो । त्यसमा अमेरिकी राष्ट्रपतिका अतिरिक्त जापानी प्रधानमन्त्री योशीहिन्दे सुगा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मारिसन सहभागी रहेका थिए । त्यस बैठकमा कोभिड–१९को खोपलाई लिएर एउटा कार्यदल पनि गठन गरिएको थियो । त्यस बैठकमा के पनि निर्णय गरिएको थियो भने जापानको आर्थिक सहयोग तथा अस्ट्रेलियाको लोजिस्टिक(बन्दोबस्ती)को मद्दत लिएर भारतले हिन्द–प्रशान्त क्षेत्रका देशहरुका लागि खोपको एक अर्ब मात्रा बनाउने छ । यसलाई अब अगाडि कसरी कार्यान्वयन गरिने हो त्यस बारेमा पनि ब्लिंकेन यात्राका बेला अबश्य नै छलफल भयो होला नै । ‘क्वाड’सँग अमेरिकी हित पनि गहिरोगरी जोडिएको बताउने गरिएको छ । दुइ माहासागर जोडिएको हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सामुद्रिक हितको दृष्टिले ठूलो महत्व रहेको पनि बरोबर दाबी गर्ने गरिदै आएको छ ।
संयुक्त राष्ट्र संघकोे एक प्रतिबेदन अनुसार यस बर्ष बिश्वको कूल निर्यात को ४२ प्रतिशत र आयातको ३८ प्रतिशत सामाग्रीहरु त्यही सामुद्रिक बाटो भएर गुज्रिन सक्छन् । यस सम्वन्धमा २०१९को तथ्यांकले के बताउँदछ भने यी दुइ महासागर भएर १९ खर्ब डलर मूल्य बराबरका अमेरिकी ब्यापार सामाग्रीहरु गएका थिए । चीन जस्तो किसिमले आफ्नो आर्थिक र सैनिक शक्ति बिकास गरेर बिश्वमा आफ्नो भूमिका बढाउन द्रूत गतिले अग्रसर छ त्यसलाई यो ‘क्वाड’ले मात्र रोक्न सक्तछ भन्ने कुराकै आधारमा यस्तो रणनीतिक मञ्च बिश्वका ठूला पूँजीवादी राष्ट्रहरुले मिलेर बनाएको कुरा बुझ्न सकिन्छ । ब्लिंकेनले नयाँ दिल्ली यात्राका बेला कथित निर्बासित तिब्बती सरकार तथा दलाई लामाका प्रतिनिधिहरुसँग पनि सार्बजनिक भेटघाट गरेर चीनलाई पुन: थप चिड्याउने काम गरेको र स्पष्ट सकेत दिएको पनि देखिएको छ । हुन त भारत भ्रमणमा आएका बेला प्राय: जासुकै अमेरिकी नेतहरुले तिब्बती शरणार्थीहरुलाई भेट्न छोड्दैनन् । उनीहरुको भ्रमण सूचिमा तिब्बतीहरुसँग भेटघाट पनि परोक्ष प्रत्यक्षरुपमा रहेकै हुन्छ । तर यस पटकको तिब्बतीहरुसँगको भेटघाटलाई निकै भिन्न अर्थ राख्दछ भनिदैछ । किन पनि भने यो बर्ष दलाई लामाको जन्म दिनमा भारतका प्रधानमन्त्री मोदीले ट्वीट गरेरै उनलाई बधाई दिएका थिए र कुनै भारतीय प्रधानमन्त्रीले यसरी बधाई दिने कार्य पहिलो पटक गरेका थिए । अनि के पनि अनुमान गरिदैछ र ठूलो सम्भावना रहेको मानिदैछ भने तिब्बतलाई लिएर यस पटक अमेरिका र भारतका बीच केही दीर्घकालीन नीति र सहमतिहरु बनेका हुन सक्दछन् ।
यी सबै गतिबिधिले चीनका बिरुद्ध घेराबन्दीको सम्भव चक्रब्यूह बनाउन र त्यसलाई आफ्नो हितमा उपयोग गर्नमा अमेरिका कति क्रियाशील छ भन्ने कुरा यसबाट अझ प्रष्ट र छर्लंग हुन्छ । भारतले पनि अमेरिका, यूरोप र एशियामा जापान जस्ता देशहरु मिलेर सक्रिय भएमा चीनको कथित आक्रामकतालाई रोक्ने ठूलो प्रत्युत्तर हुने सोचिरहेको देखिन्छ । चीनको सामना गर्नका लागि ‘क्वाड’ को अझ बिस्तार गर्नु पर्ने आवश्यकता पनि अमेरिका र भारतले महसुश गरिरहेको देखिदैछ । अमेरिका र भारत मिलेर त्यसमा यूरोपेली देशहरुलाई सामेल गर्न सफल भएमा यो ‘क्वाड’ एउटा सशक्त अन्तर्राष्ट्रिय मञ्च बन्न सक्ने उनीहरुको पूर्बानुमानकासाथ उनीहरु क्रियाशील रहेका छन् र यसलाई अझ गतिमान बनाउन चाहिरेका छन् ।
उल्लेखनीय के छ भने अमेरिका र भारतका बीच रक्षा सहयोग पनि निकै ठूलो मात्रामा अघि बढिसकेको छ । अहिलेको ब्लिंकेन भ्रमणका बेला पनि यस बिषयमा कुराकानी भएको सहजै अनुमान गर्न सकिन्छ । संयुक्त सैन्य अभ्यास, प्रशिक्षण, आतंकबादको बिरोध तथा गोप्य सूचनाहरुको आदान–प्रदान आदिका बारेमा यो बेला पनि थप बार्ता भएकै हुनु पर्दछ । आउदा दिनमा पनि यस दिशामा अझ थप कुराकानी हुदैजाने निश्चितै छ ।भारतले अमेरिकाबाट हतियार खरिद–बिक्री गर्ने कुराकानी पनि आफ्नो ठाउँमा छँदैछ । त्यसमा अझ थप भारतको मोदी सरकारले भारतसँगको साझेदारीमा अमेरिकी कम्पनीहरुले भारतमा रक्षा सामाग्री उत्पादन गर्ने परियोजना सञ्चालन गरुन् भन्ने माग पनि गरिरहेको छ। यस बारेमा अमेरिकाले अझै पनि प्रष्टसँग मुख खोलेको भने छैन ।
अनि दुइ पक्षीय ब्यापारमा अमेरिकाले जसरी शुल्क लगाएर आफ्नो देशलाई सुरक्षित गर्ने कोशिश गरेको छ त्यसबाट भारतीय ब्यापार खाशगरी निर्यात प्रभाबित भइरहेको छ । भारतले यस बारेमा पनि कुरा निश्चय नै उठाएकै होला । समग्रमा ब्लिंकेन को भारत यात्राले चीन बिरोधी सहयात्रीहरुको गठजोडलाई अझ सबल बनाउन भूमिका खेलेको हुनुपर्दछ र त्यसका थप संकेतहरु आगामी दिनमा अझ प्रष्टसँग देखिदैजाने कुरा पनि निश्चित छ । यो समग्र स्थितिमा अमेरिकाले अफगानिस्तानबाट सैन्य फिर्ता लैजाने र लगिरहेको कुरा देखिए पनि उसको भूमिका भिन्नरुपमा त्यहाँ रहिरहने देखिन्छ र त्यहाँ भारत निष्प्रभावी नरहोस् भन्ने पनि उ चाहन्छनै ।यसले अन्तर्राष्ट्रियरुपमा बिश्वको बद्लिदो समीकरण र परस्पर टक्करको कस्तो तस्बीर बन्दैछ भन्ने कुराको भने प्रष्ट संकेत दिन्छ । आउँदा दिनहरुमा यो कुरा अझ प्रष्ट हुँदै जानेछ । बिश्व बर्चश्वको तातो क्षेत्र दक्षिण एशिया बनेमा त्यसको प्रत्यक्ष परोक्ष प्रभावको चपेटामा नेपाल पनि पर्ने कुरा निकै भयावह र संत्रस्तकारी छ ।