राजबिराज घेरा तोड्दा . . .

पहिलो चरणमा कोभिड महामारिको त्रास यति थियो कि कोहि अन्जान ब्यक्तीसंग सबै त्रस्त हुन्थे । सडक सुनसान ,बजार सुनसान ,गाउँ समेत आ- आफ्नै घर भित्र बन्द थिए । सप्तरी जिल्लाको चन्द्रपुर इलाका प्रहरी कार्यलयका इन्स्पेक्टर नेतृत्वको एउटा प्रहरी भ्यान राजबिराज स्थित जिल्ला अदालत तर्फ हुंइकियो त्यो पनि एकदमै अबेला अर्थात सांझ चार बजे । देश बन्दाबन्दीमा थियो । खाली चलेको थियो त संसदवादीहरुको लुट र नेपाल कम्युनिस्ट पार्टी माथिको सरकारी दमन । जनता सरकारी लुटपाट र यसको बिरोध गर्ने क्रान्तिकारीहरुको स्थितीप्रति जानकार थिए । हाम्रो पार्टी त्यस्तो स्थितिमा पनि घोषणा गरेरै जनसेवामा लागिरहेको थियो । हुइंकिएर गएको प्रहरी भ्यान झण्डै पांच बजे सप्तरी जिल्ला अदालत पुग्यो । भ्यानबाट हामीलाई (तात्कालिन मेची/कोशी ब्युरो इन्चार्ज कमरेड उमा भुजेल शिलु र म) उतारियो । जिल्ला अदालतका न्याधिसहरु अदालत प्रांगणमा हामीलाई नै कुरेर बसिरहेका थिए । न्यायधिसहरुले प्रहरीलाई प्रश्न गरे किन ढिला गर्नु भयो ? प्रहरी इन्सपेक्टरले हामीलाई जानकारी ढिला आयो भन्ने जवाफ दिए । यो सबै विषयप्रती हामी अनभिज्ञ नै थियौं त्यति बेलासम्म । हाम्रो बारे सर्वोच्च अदालतमा बन्दी प्रतक्षिकरण रिट दर्ता भएको त सुनेका थियौं । हामीलाई वरिष्ठ अधिवक्ता एकराज भण्डारिले फोनमार्फत जानकारी गराउनु भएको थियो । तर त्यो दिन हामीलाई हिरासत मुक्त गर्नु भनी सर्वोच्चले आदेश गरेको रहेछ । प्रहरीको उदेश्य हामीलाई ढिलो पुर्याउने र आलटाल गर्ने र राती पारेर पुन पक्राउ गर्ने रहेछ । न्यायधिसहरुले हामीलाई प्रश्न गर्नु भयो तपाइहरुलाइ बुझ्ने कोही आफन्त बोलाउनु भएको छ ? अंह छैन हामिले जवाफ दियौं । कसरी बोलाउने त्यस्तो बन्दाबन्दिमा सबैतिर गार्हो अवस्था थियो । उसो भए बोलाउनुस न्याधिसहरुले पुन भने । हामीले आमालाई बोलायौं आमा गाडी रिजर्भ गरेर आउनु भएछ दमकदेखि बिराटचौकसम्म । तर त्यंहाको सबै स्थिती हामीलाई पक्राउ गर्ने नै छ भन्ने छनक पाएपछि आमालाई फर्कनुस भन्यौं । आमा बिच बाटो बाटै फर्कनु भयो ।
समय बित्दै जाँदै थियो । न्यायधिसहरुले सल्लाह गरेर बार एशोसियसनका अध्यक्ष डोमन शाहलाई बोलाए र हामीलाई बुझ्न अनुरोध गरे । परिस्थितिको बारेमा न्यायधिसहरु समक्ष हामीले केही कुरा राख्यौं । सरकारले हामीलाई गैरकानुनी हिसाबले दिएको दुखप्रती न्यायधिसहरु खुसी देखिएका थिएनन । अधिवक्ता डोमन शाहलाई हेरेर न्यायधिसहरुले भने उंहाहरुलाई प्रहरीले फेरि पक्राउ गर्ने बुझियो, सक्नुहुन्छ भने पछाडी बन्दै गरेको हलबाट सानो ढोका खोलिएको छ त्यंहाबाट निकाल्नुस । वास्तवमा हामीलाई दिइएको दुख र हैरानी प्रती न्यायधिसहरु खुसी थिएनन नै । सरकार नामको आपराधिक गिरोहको अत्याचारले सिमा नाघ्दै थियो ।
मान्छे बुझाएको भरपाई लिनु भयो भाइ ? प्रहरीलाई एक न्यायधिसले प्रश्न गरे । अं लियौ श्रीमान प्रहरीले जवाफ दिए । बाहिर दुइवटा प्रहरी भ्यान तैनाथ देखिन्थे । जासुसहरुको चहल पहलपनि थियो । हामीलाई कानुन ब्यवशायिको जिम्मामा छोड्ने संम्बन्धी कागजी प्रकृया पूरा भएको थियो । न्यायधिसहरुले हामीलाई ल जानुस तपाईंहरु डोमन जिले तपाइहरुलाई बाहिर निकाल्नु हुन्छ भनेर बिदा दिए । हामी अदालतको पछाडिको ढोकाबाट झटपट बाहिर निस्कियौं । तर स्थिती त्यति सहज थिएन । अलि पर डोमन जिको कार्यलय थियो एकछिन त्यंहा रोकियौं । डोमन जिले पत्रकार बोलाउनु भएको रहेछ । उहाँ बुझ्न भनेर बाहिरिनु भयो । कान्तिपुरका पत्रकार साथिहरु आएर हाम्रो फोटो लिए साथै केही प्रश्न गरे । कहिलै अनुभव नभएको तराइ, कोरोनाको महामारिले आक्रान्त जनता, प्रहरिको तिब्र खोजी र हाम्रो भाग्दै गरेको अवस्था निक्कै कठिन थियो ।
एकै छिनमा डोमन जि हस्याङ्ग फस्याङ्ग गर्दै आउनु भयो । प्रहरीको टिम अदालतभित्र छिरेको छ , अदालतको कोठा कोठा छापा हान्दै छ, केही प्रहरी यता आंउदैछन भन्नू भयो । लु यहाँबाट बाहिरिनु पर्छ भनेर उहाँ अघि लाग्नु भयो हामी पछि पछि लाग्यौं । सबैतिर चकमन्न छ । मान्छे चिन्नै मुश्किल हुने रात भएपनि सडकका बत्तिहरुको उज्यालोले छलिन निक्कै गारो भएको छ । उंहाले घुमाउदै घुमाउदै एक घरमा पुर्याउनु भयो । घरका मान्छेहरु कोरोनाको कारण आतंकित त छंदै थिए, त्यही माथी हामीलाई प्रहरीले पिछा गर्दैछ भन्ने थाहा पाएर घरका मान्छे झन आत्तिए जस्तो अनुभूति भयो । तर एकछिनको कुराकानी पछि परिस्थिती शान्त हुन पुग्यो । डोमन जि नभएको भए , न फोन छ ! न त्यो ठांउको बारेमा केही थाहा छ ! न त हामीसंग पैसा छ ! नत परिस्थिती नै ठिक छ । कोही अन्जान देख्नासाथ कोरोनाकै कारण मानिसहरुले प्रहरीलाई खबर गर्ने स्थिती थियो ।
हामी चन्द्रपुर हिरासत बस्दा सप्तरीकै उमेश यादव र केही साथीहरु हामीलाई भेट्न आउनु भएको थियो । उमेश यादव (सप्तरीका स्थापित नेता तथा पुर्व सिचांइ मन्त्री) शिलु दिदी वाइसिएलको उपाध्यक्ष भएको बेला एउटै कमिटिमा काम गर्नु भएको रहेछ । धेरै श्रद्धापुर्वक उंहाले आत्मियता प्रकट गर्दै क्रान्ति सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । हामीसंग उमेशजिको नम्बर पनि हिरासतमै छुटेको थियो । प्रहरीले हामीलाई चप्पा चप्पा खोजिरहेको विषय डोमन जिलाई थाहा भयो । उंहालाई पनि प्रहरीले तारन्तार फोन गरेर हाम्रो बारेमा बुझिरहेका थिए । राजबिराजमा निक्कै ठुलै होहल्ला भएको बुझ्न कठिन थिएन । डोमन जिलाई अब सजिलो थिएन हामीलाई सुरक्षित गर्न । त्यो समय अरु कसैसंग सहयोग माग्नु र पाउनु असम्भव जस्तै थियो । डोमन जिलाई सोध्यौं उमेशजिको नम्बर छ ? उंहाले छ भन्नू भयो र कल गर्यौं । शिलु दिदी बोल्नु भयो । राजबिराजमा ठुलै हल्ली चल्लि भैसकेको रहेछ । उमेशजि धेरै चिन्ता पुर्वक हामीलाई भेट्न पाए र सहयोग गर्न पाए हुन्थ्यो भनेर आत्तिरहनु भएको रहेछ । उंहाले स्थिती अवगत गराउनु भयो र हामीलाई भेट्न आंउछु भन्नू भयो । उंहा हामीलाई भेट्न गएको हुनाले राजबिराजमा उमेशले नै लुकाएको हुन सक्छ भनेर प्रहरी ले उंहालाई पिछा गर्दै रहेछ । उहाँ हामीलाई भेट्न छद्म रुपमा आउनु भयो । र सप्तरिकै नेता उंहाहरुकै टिमका साथी बिनोदजिलाई सबै कुरा अर्हाएर हाम्रो सुरक्षाको प्रबन्ध मिलाएर उहाँ तुरुन्तै निस्कनु भयो । र फोनमा कुरा गर्ने त्यो पनि उंहको श्रीमतिको नम्बरमा भनेर सल्लाह भयो ।
हामीलाई कहाँ राख्ने भन्ने मिलाउन बिनोदजि र उहाँसंग आउने एकजना साथी हिंड्नु भयो । हामी त्यही घरमा राती एक बजेसम्म पर्खिएर बस्यौं । एकबजे हामीलाई त्यो टोलबाट अर्को टोलमा सारेर बिनोदजिको घरमा लगेर राख्नुभयो । सायद आत्मियता, क्रान्तिकारी प्रेम र त्यो सद्भाव बिनोदजिको घरमा जो पायौं त्यो कहिलै बिर्सनै नसकिने प्रकारको छ । बिनोदजिको श्रीमती उंहाले खेल्नु भएको भुमिका संधै उल्लेखनिय रहने छ । हामीलाई खोज्न प्रहरिहरु धेरै घुमिरहेका थिए, ब्यापक प्रहरी परिचालन गरिएको थियो राजबिराजमा । त्यंहाका जो कोही अगुवालाइ राम्रोसंग थाहा थियो कि नेकपाकि नेत्री राजबिराज अदालतबाट भागेको र उनी र अर्का युवक कार्यकर्तालाइ प्रहरीले धुइं धुइं खोजिरहेको छ । दिंउसो भरी हामी बिनोदजि कै घरमा बस्यौं । लगभग नौ महिना हिरासत र जेलको चक्कर काटेर भर्खरै बाहिर निस्किंदा हामीलाई भने हामी बाहिरै निस्केको प्रती बिश्वास नै भैरहेको थिएन । अर्थात हिरासत र कारागार आदत बनिसकेको रहेछ ।

राजबिराजबाट कसरी निस्कन सकिएला सबैभन्दा ठुलो कुरा यहि थियो । उमेशजि हरुलाई पनि यो निक्कै चुनौतिपुर्ण काम थियो । प्रहरीले यतिधेरै खोजेका थिए त्यो उंहाहरुलाई राम्रोसंग थाहा थियो । भोलीपल्ट बेलुका अर्को घरमा निस्कने योजना भयो । हामीले हुलिया बदल्नुपर्ने स्थिती बन्यो । दिदीले तराइकै महिलाले जस्तो हुलिया बनाउनु पर्ने अवस्था बन्यो । हामीले आंफुले लगाएका सबै कुरा फ्याक्यौं , दिदीले बिनोदजिको श्रीमतिले ल्याइदिएको मधेसी पहिचान जस्तो लाग्ने कपडा लगाउनु भयो । मलाई एउटा टिसर्ट ल्याइदिनु भयो, त्यो टिसर्ट , हापपैन्ट र गाम्छा र चप्पल लगाए मैले । दिदी गोरो मान्छे भएको हुनाले हुलिया मिलाउन गारो नै भयो । तथापि बिनोदजिको श्रीमती र शिलु दिदी पुरै हुलिया बदलेर अघि लाग्नुभयो । म र बिनोदजि पछि पछि हिंडयौं । अलि पर एकजना साथीको घरमा पुग्यौं र रात त्यंही बस्यौं । त्यंहाबाट बिहान चार बजे हिंड्ने र राजबिराज बजारबाट बाहिर निस्कने योजना बनायौं । किन कि बिहानको समय मर्निङवर्क गर्नेहरुको भिडभाड हुने र त्यही समयको उपयोग गर्ने योजना थियो हाम्रो । हामी निस्कियौं करिब डेढ घण्टा पैदल हिंडेर हामी राजबिराजदेखि निक्कै पर साथीहरुको आफन्तकोमा पुग्यौं । आफन्त सरकारी कर्मचारी रहेछन , उनी यति डराएकि त्यसको कुरै नगरौं । तथापी उनको श्रीमती र हामी पुगेको त्यो बिहान देखि रातको एक बजेसम्म संगै बस्यौं ।
हामीलाई बाहिर निकाल्न साथीहरु तयारी गरिरहनु भएको थियो । निक्कै जटिल छ , स्थिती भन्ने कुरा आइरहन्थ्यो । सप्तकोशीको पुल कसरी कट्ने ? त्यंहा चेकपोस्टमा राम्रोसंग हेर्यो भनेत फेला परिन्छ भन्ने थियो । उंहाहरुको एउटा टोली हाइवे र पुलको रेकि गर्न जानू भयो । प्रहरीहरु तैनाथ नै भएको बुझियो । अब राजबिराज आसपास नै धेरै समय बस्ने स्थिती थिएन । सुरक्षा चुनौती बढ्दै थियो । सुचनाहरु चुहावट हुने खतरा देखिंदै थियो । उमेशजिसंग फोनमा कुरा भैरहेको थियो । बिनोदजि प्रत्यक्ष हामीलाई सहयोग गर्दै हुनुहुन्थ्यो । हामी सबैको निष्कर्ष यहि निस्कियो अब जसरीपनि निस्किहाल्नु पर्छ । एम्बुलेन्सको ब्यवस्थापन गर्नु भयो साथीहरुले । दिदीलाई बिमारी बनाएर अक्सिजन समेत लगाइयो । म उंहाको रुंगालु जस्तो भएर एम्बुलेन्समा बसें । उमेशजिले पांच हजार खर्च र एउटा फोन गर्ने मोबाइल पठाइदिनु भएको थियो । एम्बुलेन्स अगाडि हुंइकियो । एम्बुलेन्सको रफ्तारले हामीलाई दुई बजेतिर बिराटनगर पुर्यायो । हामी अधिबक्ता कला त्रीताल दिदीकोमा गयौं । उहाँ हामीलाई लिन आउनुभएको थियो न्युरो अस्पताल नजिकै । यसरी हामी राजबिराजबाट बिराटनगर पुग्यौं ।
संभवत त्यो राजबिराजमा साथीहरुको त्यो सहयोग प्राप्त नभएको भए हामीलाई त्यंहाबाट फुत्किएर आउन सम्भव थिएन । क्रान्तीले नै यो सबै सम्भव गरायो । क्रान्तीप्रतिको अथाह प्रेम, नेतृत्व प्रतिको अगाध स्नेहले नै त्यो अपरिचित राजबिराजमा त्यो स्थिती बन्न सक्यो । प्रहरीले हामीलाई झन्डै एकहप्ता बेपत्ता राखेको थियो । मानसिक ट्रचर अत्याधिक दिएको नै त्यंही थियो । त्यंहा कोही चिनेको जानेको थिएनन । तर राजबिराजमा जे सम्भव भयो यो घटनापछि मलाई लाग्यो हाम्रो मधेसले क्रान्तिलाई धेरै माया गरेको छ । त्यंहाका पत्रकार, अधिवक्ता, हिजोका पुराना क्रान्तिकारी योद्धाहरु, उंहाहरुका परिवार , स्थानिय जनता त्यो समय उंहाहरुले प्रकट गर्नुभएको स्नेहप्रती कृतज्ञ छौं । राजबिराजका क्रान्तिकारीहरुलाई रातो सलाम टक्र्याउन चाहान्छु ।