एमाले दल कि नेता विभाजन ?

२०७८ भाद्र १२ गते, शनिबार

डा.शिवराज पण्डित

नेपालकोे कम्युनिष्ट आन्दोलन टुटफुट र विभाजनको लामो श्रंखला पार गर्दै आएको छ । नेकपा एमाले विभाजन भई नयां पार्टी नेकपा (एकीकृत समाजवादी )गठन भएको छ ,त्यो पनि त्यसकै पछिल्लो श्रंखला हो । महाकाली सन्धिको विवादलाई लिएर २०५४ सालमा विभाजित भएको नेकपा एमाले २०५८ सालमा पुनः एकीकृत भएको थियो । प्राविधिक दृष्टिले नेकपा(एकीकृत समाजवादी) ले निर्वाचन आयोगबाट कानुनी वैद्यता प्राप्त गरेपनि राजनीतिक सिद्धान्तका दृष्टिले नेकपा एमाले र नेकपा(एकीकृत समाजवादी) पार्टी दुबै एउटै पार्टी हुन । दुबै पार्टीले बहुदलीय जनवादलाई पार्टीको पथ प्रदर्शक सिद्धान्त मान्दछन् । राजनीतिशास्त्रका दृष्टिले एमाले विभाजन भएको होइन,नेता मात्र विभाजन भएका हुन ।
नेपालको कम्युनष्टि आन्दोलनमा टुटफुटको इतिहांस तेस्रो महाधिवेशनबाट सुरुवात भएको देखिन्छ । २०१७ पौष १ गते राजा महेन्द्रले वहुदलीय व्यवस्थालाई ‘कु’ गरेपछि त्यसलाई हेर्ने दृष्टिकोणका सम्बन्धमा पार्टी भित्र गंभीर मतभेद भयो । केशरजंग रायमाझी नेतृत्वको एउटा डफ्फाले राजा महेन्द्रको कदमलाई ‘प्रगतिशील’ भन्यो भने नेकपा भित्रको अर्को पुष्पलाल समेतको समुहले महेन्द्रको कदमलाई प्रतिगामी भन्यो । यसले पार्टी भित्र गंभीर मतभेद सिर्जना गरयो, जसको कारण नेकपा विभाजित भएको थियो । तेस्रो महाधिवेशन विभाजनको निर्णायक कारण राष्ट्रिय राजनीति थियो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा आएको फुटको कारण थिएन । त्यसपछि भने विस्तारै पार्टी विभाजनलाई अन्तराष्ट्रिय कम्युनष्टि आन्दोलनमा आएको विभाजनको सन्दर्भसंग जोडेर हेर्न थालियो । तर ९० को दशकपछि नेपालको कम्युनिष्ट आन्दोलनमा जति विभाजनहरु भएका छन् ति विचारवा दृष्टिकोणको मतभेद्का कारण भएका छैनन् ,नेताको महत्वकांक्षा,चरम सत्तालिप्सा,अहंमता,कुण्ठा र घमण्डका कारण भएको देखिन्छ ।
राजनीतिक दलहरुको उत्पत्ति र विकास प्रतिनिधिमूलक शासन व्यवस्थाको विकाससंग भएको देखिन्छ । आधुनिक राजनीतिक पार्टीको उत्पत्ति १८ औं शताव्दीमा संयुक्त राज्य अमेरिकाबाट भएको थियो । त्यसपछि वेलायत र युरोपमा दलहरुको विकास भएको देखिन्छ । दल उत्पत्तिका मूलतः तीन वटा कारणहरु संस्थात्मक सिद्धान्त, ऐतिहासिक संकटको सिद्धान्त र विकासवादी सिद्धान्त मुख्य कारण मानिन्छन् । नेपाल जस्तो तेस्रो विश्वका देशहरुमा दलहरुको उत्पत्तिको मुख्य कारण ऐतिहांसिक संकटलाई लिइएको छ । ऐतिहासिक संकट समाधान हेतु दलहरु उदय भएको देखिन्छ । ऐतिहांसिक संकट भित्र मूलतः वैद्यताको संकट,सहभागिताको संकट तथा प्रादेशिक संकटहरु पर्दछन् । जव सरकारी सत्ता क्षीण हुन्छ,त्यसपछि लोकप्रिय सत्ता वा शासनको आवश्यकताको अनिवार्य हुन्छ । त्यहि नै वैद्यताको संकट हो । उपनिवेशवादी व्यवस्था विरोधमा यस्ता थुप्रै संकटहरु पैदा भएका थिए ,जसको समाधानार्थ राजनीतिक दलहरुको भूमिका निर्णायक र महत्वपूर्ण थियो । तसर्थ राजनीतिक दलहरु विभाजन हुंदा वा नयां दल गठन गर्दा दलको नेतृत्व गर्नेहरुले दल गठनको औचित्यता सावित वा पुष्टि गर्न सक्नु पर्दछ । औचित्यता सावित गर्न नसक्ने दलहरु समयक्रममा विघटन या विलय भएर जान्छन् । विश्वमा यस्ता थुप्रै उदाहरणहरु भेटाउन सकिन्छ ।
माक्र्सवादी वा गैर माक्र्सवादी दुवै प्रकृतिका राजनीतिक दलहरुको आधारभुत संरचनाहरु फरक फरक हुन्छन् । यति हुंदाहुंदै पनि अधिकांश राजनीतिशास्त्रीहरुको के कुरामा सहमत भएको देखिन्छन् भने दुवै बैचारिक आस्था राख्ने पार्टीहरुमा धेरै कुरामा समानता रहने कुरा वताएको देखिन्छ । उनीहरुका अनुसार, आधुनिक राजनीतिक पार्टीमा केन्द्र, शाखा ,स्थानीय , सेल र मिलिसिया (चीनमा माओले गरेको अभ्यास) समेत गरी चारवटा आधारभुत तत्वहरु हुन्छन् । यी राजनीतिशास्त्रीहरुको मतमा पार्टी संरचनालाई जीवन्त राख्न पार्टी संरचानहरु बीच भर्टिकल र होरिजेन्टल सम्वन्ध स्थापित भएको बैचारिक समुह मात्र राजनीतिक पार्टीकोे संज्ञा दिन सकिने वताएका छन् । कार्ल माक्र्सले राजनीतिक पार्टीलाई प्रगतिशील,लडाकु,वर्गचेतनायुक्त, कामदार वर्गको सहयोद्धा,जनवादी केन्द्रीयतायुक्त पेशागत क्रान्तिकारी वर्गको संगठनको रुपमा अर्थाएका छन् । लेनिनले सर्वहारा वर्गको संगठनलाई क्रान्तिको लागि लड्ने पेशेवरहरुको संगठनका रुपमा लिएका छन् । त्यस्तै उनले अनुशासित बलियो तथा सिद्धान्तनिष्ट कम्युनिष्ट पार्टीको नेतृत्वमा नै क्रान्ति सफल गर्न सकिने भनाई लेनिनको छ । त्यस्तै माओले पार्टीलाई बर्गीय आधारमा व्याख्या गर्दै अनुशासित जनाधार भएको सिद्धान्तनिष्ट पार्टीबाटै क्रान्ति संभव हुने वताएका छन् ।
यसरी माक्र्सवादी साहित्य र यसको सफल प्रयोग गरेका लेनिन र माओसेतुङ समेतको विचारलाई आधार मानेर हेर्ने हो भने कम्युनष्टि पार्टीको मुख्य हतियार भनेको विचार हो । विचार वा आदर्शविनाको पार्टी स्वार्थ समुह मात्र हुन सक्दछ । बैचारिक आस्था तथा सैद्धान्तिक आधार स्पष्ट भएको राजनीतिक पार्टी आकार तथा साइजमा सानो भएपनि त्यस्तो पार्टीले दुरगामी महत्व राख्दछ । क्षणीक आवेग र स्वार्थका खातिर विभाजन भएको कम्युनष्टि पार्टीले कम्युनष्टि आन्दोलनमा आधारभुत परिवर्तन ल्याउने ल्याकत राख्दैन । यस प्रकारको विभाजनले सत्ता राजनीतिमा क्षणीक परिवर्तन भने ल्याउन सक्दछ । नेताहरुको आवेग र कुण्ठा विसर्जनका लागि हुने यस प्रकारका गैर राजनीतिक (बैचारिक) विभाजनले नेताहरुको क्षणीक आत्मीक सन्तुष्ठि दिन सक्दछ तर समाज र समुदायले खोजेको परिवर्तन दिन सक्दैन ।
महाकाली सन्धिको विवादलाई लिएर २०५४ सालमा विभाजित भएको नेकपा एमाले २०५८ सालमा पुनः एकीकृत भएको थियो । त्यस्तै २०५९ सालमा शेर वहादुर देउवा नेतृत्वको सानो समुह नेपाली कांग्रेस पार्टीबाट अलग भयो । यो समुह लामो समय सम्म अलग बस्न सकेन पुनः कांग्रेसमा समाहित भयो । २०६८ सालमा नेकपा माओवादी फुट्यो । माओवादी पार्टीको फुट वा विभाजनको श्रृंखला लामो समय सम्म चल्दै आएको छ । वैद्य,बाबुराम,विप्लव,किरांतीहरु समुह वा अलग पार्टी निर्माण गरेर अलग भए भने नेकपा गठन हुंदा ओली समुह नजिक भएका राम बहादुर,लेखराज,मणि थापा र प्रभु शाहहरु सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग पार्टीको मान्यता दिएपछि पनि उनीहरु माओवादीमा फर्केनन् एमालेमै रहे ।
संसदीय राजनीतिमा टुटफुट र विभाजनबाट बनेका नयां पार्टीहरुको परीक्षण निर्वाचनमा मतदाता बाट हुन्छ । विगत्मा एमालेबाट फुटेको मालेको परीक्षण २०५४ सालको स्थानीय र केन्द्रको निर्वाचनको मत परिणामले देखायो । महाकाली सन्धि जस्तो राष्ट्रघाती सन्धिको मुद्धालाई जनता सामु प्रमुख राष्ट्रवादी नारा लिएर जांदा पनि मालेले व्यापक समर्थन पाउने अपेक्षा गरिएको थियो,तर मत परिणाम सोचें जस्तो पाउन सकेन । अन्ततः विभाजनको नेतृत्व गर्ने वामदेव गौतम संस्थापन सामु तोमशरणम गर्न पुगे । सीपी मैनालीको विचारमा ,ओली र नेपालको राजनीतिक लाइनमा भिन्नता छैन । केपी ओली पनि मदन भण्डारीको वहुदलीय जनवाद(जवज) लाई मान्दछन् भने नेपालले पनि जवजलाई मान्छन् । विगत्मा मालेको नेतृत्व गर्ने वामदेव गौतमले पनि जवज मान्दथ्ये भने संस्थापनको नेतृत्व गर्ने केपी ओली र नेपालहरु पनि जवजलाई नै पार्टीको मार्गदर्शक सिद्धान्त मान्दथ्ये । विगत् एमाले–मालेको विभाजनको पृष्ठभूमि र इतिहांस हेर्ने हो भने पनि समान विचार तथा आदर्श बोकेका दुई पार्टीहरु एउटै विचार र कार्यशैली बोकेर लामो समयसम्म अघि बढ्न सक्दैनन् भन्ने कुरा प्रमाणित भैसकेको छ ।
माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी )ले पार्टी विभाजनको औचित्यता सावित गर्न कि एक्काइसौं शताव्दी अनुकुलको उन्नत माक्र्सवादी विचार निर्माणको नेतृत्व गर्न सक्नु परयो । जो अहिलेको आवश्यकता हो । कि विप्लव नेतृत्वको नेकपाले अघि सारेको वैज्ञानिक समाजवादलाई समर्थन गर्दै अघि बढ्ने साहस र आंट गर्न सक्नु परयो कि सत्ता केन्द्रीत संसदवादी कम्युनष्टि पार्टीहरुसंग सहकार्य र एकताको गठवन्धन सत्ता संस्कृति निर्माण गर्दै अघि बढ्ने बाटो रोज्नु परयो । यी तीनवटा विकल्पहरु एकीकृत समाजवादी सामु देखिएका छन् । तेस्रो विकल्प कम्युनिष्टहरुका लागि क्षणीक विकल्प हो , यसले नेपाली समाजका वर्गीय अन्तरविरोधहरु हल गर्न सक्दैन । दार्शनिक आधारविनाकोे कम्युनिष्ट पार्टीको आयु छोटो हुन्छ ,जुन कुरा विश्व कम्युनष्टि आन्दोलनमा पुष्टि भै सकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु