जनमत संग्रह : जनताको नैसर्गिक अधिकार

२०७८ मंसिर २७ गते, सोमबार

विष्णु पन्त

१. पैसाको लागि राजनीति गर्ने संस्कृतिको विकास– राजनीतिको केन्द्रमा आज एउटा डरलाग्दो मनोवैज्ञानिक रोगको विकास भएको छ, त्यो हो राजनीतिक व्यापार । राजनीति आफैँमा सेवा हुनु पर्नेमा त्यो कमाइ खाने भाँडोको रुपमा परिणत भएको छ । राजनीति सेवा हो कि व्यापार ? आजको राजनीतिक अभ्यासहरुले यसको के जवाफ दिन्छन् ? हामीलाई थाहा छ जुनसुकै सत्ताको केन्द्रमा दुईवटा शक्तिको हालिमुहाली चल्छन् ती हुन्– राजनीतिज्ञ र कर्मचारीतन्त्र । आजको अभ्यासमा कर्मचारीतन्त्रलाई स्थायी सरकार र मन्त्रिपरिषद्लाई अस्थायी सरकार भनिन्छ । कर्मचारीतन्त्र स्थायी रुपमा राजनीतिक पक्षधरताभन्दा माथि हुन्छ भन्ने व्याख्या गरिन्छ तर सारमा उ नै राजनीतिको केन्द्रमा हुन्छ ।

मेरो प्रश्न आजका राजनीतिज्ञहरुको दिमागमा केवल पैसा वा सम्पत्तिको प्यास छ । मेरो अर्काे परिकल्पना छ यदि राजनीतिबाट भ्रष्टचारलाई पृथक वा बञ्चित बनाउने हो भने कति मान्छेहरु राजनीति गर्लान् ? भ्रष्टचार मुक्त कर्मचारीतन्त्रको परिकल्पना गर्ने हो भने कति मान्छेहरु कर्मचारी बन्न रुचाउलान् ? आज हरेक क्षेत्रमा मुनाफा केन्द्रित प्रतिस्पर्धा देख्न सकिन्छ । विप्लवको संश्लेषण आजको मुख्य समस्या दलाल पुँजीवादी व्यवस्था बनेको छ । आजको नेपाली समाजमा पैसा वा सम्पत्तिको सत्ता छ । आजको राष्ट्रिय ढुकुटी दलाल पुँजीपति वर्गको कब्जामा छ । दलाल संसदीय व्यवस्थाले विकास गर्ने एउटै चीज छ त्यो हो भ्रष्टाचार र दलालीकरण । आज मानवीय चेतनामा व्यापक भ्रष्टीकरण भएको छ । आजको समाजमा मूल्य, मान्यता र आदर्शहीन पैसा वा सम्पत्तिको पूजा गरिन्छ । मानवीय सभ्यताको अन्त्य भएको छ । प्रकाण्डले एक ठाउँमा भन्नुभएको छ ः ‘व्यवस्थाका विरुद्ध यति धेरै नफरत वा घृणा इतिहासमै कहिल्यै उत्पन्न भएको थिएन ।’ यसको मूल कारण हो आजको संसदीय व्यवस्था भ्रष्टचार र दलालीकरणको दलदलमा फस्नु हो ।

कुनै पनि राजनीतिक व्यवस्थालाई सही वा गलत छुट्टाउने मुख्य आधार हो, उसले विकास गरेको आर्थिक प्रणाली । आजको आर्थिक विकृति र अराजकतालाई सभ्य समाजले पचाउन सक्दैन । आज संसदीय नेतृत्व, दल र सरकारका तीनवटै अंगहरु विघटन र पतनको शिकार बनेका छन् । यो व्यवस्थाप्रति जनताको घृणा, तिरस्कार र प्रतिरोध छ । सबैलाई थाहा छ भ्रष्टचारले यो व्यवस्थालाई निल्दै छ तर निस्किने साहस कसैको छैन । भ्रष्टाचारको निष्पक्ष छानविन गर्ने र नियन्त्रण गर्ने सवालमा संसदीय दलहरु कोही पनि तयार छैनन् । छानविन भएमा सबै जेल जानु पर्ने जस्तो डरलाग्दो चित्र हाम्रा सामु उदाङ्गो छ । हामीलाई थाहा छ, अहिलेको सत्तामा तीन खाले सरकार छन्, ती हुन् संघ (केन्द्र), प्रदेश र स्थानीय । पछिल्लो महालेखा परीक्षणको रिपोर्टअनुसार पनि तीनवटै सरकारहरु बेजुरुको पहाडले थिचिएका छन् । यो बेजुरुको समाधान के हो भन्ने विषयमा राज्य मौन र उदासीन छ । भ्रष्टाचारको विषयमा राज्य मौन छ । त्यसकारण भ्रष्टाचारको यो अराजकतालाई छुट दिने राज्य प्रणालीले हामीलाई, देशलाई र भावी पुस्तालाई कहाँ पु¥याउला ? आज थुप्रै राजनीतिक दलका महाधिवेशनहरु भइरहेका छन् तर बहसहरु केमा छन् त ? देशलाई यो महासंकटबाट जोगाउने विषयमा कतै बहसहरु भएका छन् त ?

वास्तवमा यदि नेपाललाई जोगाउने हो भने भ्रष्टाचारविरुद्धको आमसंघर्षको आवश्यकता छ । आजको समाजलाई कालो धनको चंगुलबाट बचाउने विधिका बारेमा सोच्नु अनिवार्य भएको छ । आज तीनै प्रकारका सरकारका वरिपरी कसको घेराबन्दी छ ? तीनवटै सरकारहरु किन जनतामा बद्नामित छन् ? किन जनताले आफैँले ल्याएको संघीयताको खारेजीको माग गर्दैछन् ? प्रकाण्डको संश्लेषण सही छ ः राज्य, प्रणाली र नेतृत्व सकै एक साथ असफल भयो । त्यसकारण आजको दलाल पुँजीवादले आपूmलाई सच्याउने कुनै गुञ्जायस बाँकी छैन । जब व्यवस्था असफल हुन्छ तब त्यसको विकल्प खोज्नु नै तत्कालीन नेतृत्वको बुद्धिमता हुन्छ । अहिलेको संसदीय नेतृत्व यो व्यवस्था असफल भयो भन्ने निष्कर्षमा पुग्न सक्दैन । यसबाट के प्रष्ट हुन्छ भने वर्तमान संसदीय नेतृत्व असफल व्यवस्थाको सति जाने बाटो रोज्दैछ । त्यसकारण प्रणाली सँगसँगै नेतृत्व पनि पतनको बाटोमा पुगेको छ । सबैले देखेका छन् कि संसदीय व्यवस्था असफल भइसक्यो तर नेताहरु त्यो स्वीकार्ने हैसियतमा छैनन् । आजका गणतन्त्रवादी नेताहरु दुर्गन्धित संसदीय व्यवस्थाको भजन गाएर नांगो नाच नाचिरहेका छन् । हामीले देख्यौं संसदीय व्यवस्थाका मुख्य प्रवृत्तिहरुको रुपमा अभ्यासमा आएका राजनीतिक अस्थिरता, दलालीकरण र भ्रष्टीकरण वैचारिक दिशाविहीन अनि साम्प्रदायिक भड्कावबाट जनता वाक्कदिक्क भएका छन् ।

२. राजनीतिमा अपराधिकरण– हालै निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भनेको कुरा सही छ कि भ्रष्टाचार सबैभन्दा ठूलो अपराध हो । जब समाजमा दलालहरुको सत्ता हुन्छ, त्यहाँ अपराध बढ्छ । आज पैसाका लागि जे गर्न पनि जायज ठानिन्छ । यो खाले सामाजिक मनोविज्ञानले हामीलाई कहाँ पु¥याउला ? मान्छेले मान्छेलाई बेच्ने, हत्या गर्ने अनि ठगी गर्ने जस्ता सबै कार्यहरु जायज र स्वभाविक जस्तो बन्दैछन् । सांसद किनबेचको राजनीति कहिलेसम्म न्यायोचित हुने ? उम्मेदवार र नेता बन्न पैसा दिनुपर्ने परिपाटी कहिलेसम्म सर्वस्वीकार्य बन्ने ? मन्त्री बन्नका लागि अनि राजनीति नियुक्ति लिनका लागि पैसाका बिटा बुझाउने कार्य कहिलेसम्म वैध बन्ने ? सरुवा, बढुवामा आर्थिक चलखेल वा मोलतोल कहिलेसम्म कायम रहने ? त्यसकारण राजनीतिमा अपराधिकरण बढेको छ । नेता, मन्त्री र सांसदलाई कहिले पनि नियन्त्रण गर्न नसक्ने यो व्यवस्था कहिलेसम्म रहिरहने ?

माथिका समस्या र प्रश्नहरुले यो राज्य प्रणालीको दूरावस्थालाई इङ्गित गरेको छ । यसबाट निस्कने एउटै निष्कर्ष छ कि आजको राजनीतिक व्यवस्थाले देशलाई सही दिशामा लैजान सक्दैन । यही व्यवस्था अझै केही वर्ष कायम रहेमा एउटा गम्भीर दुष्परिणाम आउनेछ । त्यो हो देश टाट पल्टिने नेता धनी बन्ने । आज केही नेताहरु अरबपति र खरबपतिमा परिणत भएका छन् तर, देश झन्झन् गरिब बनेको छ । यो दूरावस्थाले राजनीतिमा अपराधीकरणलाई संस्थागत गर्दछ । सत्ता वा पैसाका आडमा जे गरे पनि छुट हुने आजको वास्तविक चित्र हो ।

३. मुनाफामा आधारित राजनीति – आजको राजनीतिको मुख्य प्रवृत्ति बनेको छ ः मुनाफामा आधारित राजनीति । नाफा र नोक्सानको हिसाब–किताबबाट आजको राजनीति निर्देशित छ । हिजो एमाले र माकेको एकता किन भयो अनि फेरि संसद्मा दुई तिहाई बहुमत ल्याएको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी किन तीन टुक्रामा विभाजित बन्यो ? के बहसको केन्द्रमा विचारधारा वा राजनीतिक मुद्दा छ त ? ओली नेतृत्वको सरकार ढलेर किन र कसरी देउवा नेतृत्वको सरकार बन्यो त ? वास्तवमा विनाकारण एकता र बिनाकारण विभाजनको चक्रब्यूहमा देशलाई नै फसाइयो । आम विश्लेषकहरुको एउटै साझा निष्कर्ष छ त्यो हो कुर्सीको लडाईँ । खास खास नेताहरुको कुर्सीको वा भागवण्डाको लडाईँको शिकार सरकारका तीनवटै अंगहरु बन्न बाध्य भए । त्यसकारण मान्छेहरु नाफा–नोक्सानको हिसाब गरेर पार्टीहरुमा लाग्ने अवस्था बन्यो । यसको स्पष्ट परिणाम हुन्छ – राष्ट्रिय राजनीति ट्र्याकभन्दा बाहिर गयो । ट्र्याक छाडेको राजनीतिलाई फेरि लिकमा ल्याउने काम चुनौतिपूर्ण छ । अबको चुनाव छ ः दुर्घटना वा परिवर्तन । यथास्थितिले दुर्घटनालाई अवश्यभावी बनाउँछ । सबैले सैद्धान्तिक रुपमा बुझेको एउटै निष्कर्ष छ, त्यो हो राजनीति केवल नाफा नोक्सानबाट मात्रै निर्देशित हुनुहुँदैन । राजनीतिको मुख्य केन्द्र कुर्सी वा सत्ताको लेनदेन बन्नु हुँदैन । अतः यसको मुख्य दोष राजनीतिक प्रणालीमा छ । व्यवस्था आफैं गलत भएपछि सबै चीज बिग्रिनु अनिवार्य हुन्छ । आजको दलाल संसदीय व्यवस्थालाई भ्रष्टाचारबाट बचाउँछु भन्नेसम्म कुनै नेता भएन । सस्तो लोकप्रियताका लागि केही नेताले भनेका छन् – सबैको सम्पत्ति छानविन गरौं । वास्तवमै छानविन गर्न कोही पनि तयार छैन । त्यसकारण आजको राष्ट्रिय राजनीति पूर्ण रुपले प्रदूषित र असफल भएको छ । राजनीति भनेको आर्थिक मुनाफामा चल्ने चीज होइन यो त निश्चित विचार, दृष्टिकोण अनि मूल्यमान्यतामा चल्ने चीज हो । राजनीति विचारधाराबाट निर्देशित हुनुपर्छ पैसा वा मुनाफाबाट होइन । त्यसैले सामान्य सुधारबाट दलाल संसदीय व्यवस्थाको बचाउ हुने अवस्था छैन । यसलाई फ्याँक्नु वा बदल्नु नै आजको सही समाधान हो । भ्रष्टाचारको अन्त्यको सबाल उठ्नासाथ संसदीय व्यवस्थाको स्वतः अन्त्य हुनुपर्ने अवस्था बनेको छ । दलाल पुँजीवादको अन्त्यको नारा लाग्ना साथ यो व्यवस्थाको अन्त्य हुनुपर्छ । त्यसकारण निष्कर्षमा भन्ने हो भने आजको राजनीतिको मुहान नै फोहर बनेको छ र यसलाई बदल्नु पर्ने भएको छ । पुरानै प्रवृत्तिका संसदीय चुनावबाट संकटको समाधान होइन झन् जटिलताको विकास हुन्छ । संसदीय चुनावले संकटलाई महासंकटमा बदल्नेबाहेक केही गर्न सक्दैन । त्यसकारण यसको विकल्प खोज्न जरुरी छ । विकल्पको सही विधि हो ः जनमत संग्रह ।

४. जनमत संग्रहबाट नया“ व्यवस्था – वर्तमान संसदीय व्यवस्था पूर्ण रुपले असफल भएकाले अब सही विकल्पको बारेमा राष्ट्रिय बहस हुनु जरुरी छ । सबैले मान्ने, सबैले जित्ने र सर्वस्वीकार्य हुने विधि ः जनमत संग्रहबाट व्यवस्था छान्ने । विप्लवको प्रस्ताव सही छ ः जनमत संग्रहबाट व्यवस्थाको छिनोफानो गर्ने । वास्तवमा जनमत संग्रह अब आमनेपाली जनताको चाहना र अधिकारको विषय बनेको छ । जनमत संग्रह जनताको अधिकार हो । कुन व्यवस्था छान्ने, चुन्ने वा रोज्ने भन्ने अधिकार जनतालाई दिनु नै उन्नत लोकतान्त्रिक विधि हुन्छ । राजनीतिक व्यवस्थाको फैसला गर्ने अधिकार जनतालाई दिनुपर्छ । जनमत संग्रहको विरोध गर्नेहरु जनतालाई अधिकार दिनु हुँदैन भन्ने फासीवादी दृष्टिकोण अनुयायी हुन । आफ्नो व्यवस्था आफैं छान्न पाउनु वा आफ्नो अभिमत प्रकट गर्न पाउनु जनताको नैसर्गिक अधिकार हो । अरुबाट षड्यन्त्रपूर्वक वा बलपूर्वक लादिएका अनि थोपरिएका राज्य व्यवस्थाको अस्वीकार गर्नु नै सही पहलकदमी हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

नेकपाको अगाडिका चुनौति र अवसर

२०८२ बैशाख ९ गते, मंगलवार