माओवादी केन्द्रमा बढ्दो अन्तर कलह र फुटको अवस्था
सत्तारुढ माओवादी केन्द्रमा पछिल्लो समयमा नेताहरुका बीचमा अन्तर्बिरोध बढेर गएको देखिएको छ । सो पार्टीको नेतृत्वमा पूर्वमाओवादी नेता पुष्पकमल दाहाल रहे पनि अधिकांश नेता तथा कार्यकर्ताहरु पूर्वएकता केन्द्र मसालबाट आएकाहरु रहेका छन् । जो माओवादी जनयुद्धमा सामेल भएका थिएनन् । ०६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन माओवादी पार्टीको राप–ताप देखेर उनीहरु माओवादी पार्टीमा सहभागी भए पनि सिद्धान्त, रणनीति र कार्यनीति सबैमा फरक छ । पछिल्लो समयमा सो पार्टीका अध्यक्ष दाहालको ढुलमूल व्यवहारका कारण पूर्वमाओवादी नेता तथा कार्यकर्ताहरु पनि आजित बन्दै गएको देखिएको छ । जसको ताजा उदाहरण मातृका यादवले अध्यक्ष दाहालको जनकपुरको कार्यक्रम बहिष्कार गर्नुका साथै कतिपय असहमतिका बुँदाहरु पार्टीको हेडक्वार्टरमा दर्ज गरेबाट पनि स्पष्ट हुन्छ । त्यसैगरी अमेरिकी योजना एमसीसीका कारणले पनि अध्यक्ष दाहालप्रति धेरैको बिमति बढ्दै गएको छ । अध्यक्ष दाहालले यसअघि पूर्वमाओवादीहरुको पुनः एकता हुने हल्ला चलाएर आफ्नो पार्टीभित्रका अन्य पार्टीबाट आएकाहरुलाई तर्साउने गरेकोमा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले माओवादी केन्द्रलाई प्रतिक्रियावादी खेमाको संशोधनवादी दक्षिणपन्थी पार्टी भएको मूल्यांकन गर्दै सो पार्टीसँग कार्यगत एकता समेत हुन नसक्ने स्पष्ट गरेको छ । त्यसैगरी नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले पनि माओवादी केन्द्र गैरकम्युनिष्ट बाटोमा लागेकाले एकता नहुने स्पष्ट गरिसकेको अवस्था छ । पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईले समेत माओवादी केन्द्रले कम्युनिष्ट नाम परित्याग नगरेसम्म एकता हुन नसक्ने स्पष्ट गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले ०६३ को राजनीतिक परिवर्तन लगत्तैबाट प्रचण्डपथ त्याग गर्नुभएको थियो भने ०६५ जेठ ३ गते एमालेसँग पार्टी एकता गर्दा माओवाद परित्याग गर्नुभएको थियो । त्यसबीचमा चीनका राष्ट्रपतिको सि जिन पिङ विचारधारा र एमालेको जनताको बहुदलीय जनवाद अपनाउने प्रयास पनि भएको थियो । अब उहाँसँग जनयुद्धले स्थापना गरेको ‘प्रचण्ड’ नाम मात्र बाँकी रहेको छ । वास्तवमा सो नाम जनयुद्धले स्थापित गरेका कारण पुष्पकमल दाहालले आफ्नो नामबाट ‘प्रचण्ड’ शब्द हटाउनु उपयुक्त हुने धेरैको भनाई रहेको छ । किनकि उहाँहरु गत फागुन १५ मा नाटकीय ढंगले एमसीसी परियोजना पारित गरेपछि इन्डोअमेरिकन लबीमा रहेको स्पष्ट भएको छ । जुन लबी भनेको विश्वमै कम्युनिष्ट बिरोधी लबी हो । जसले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पक्षपोषण गर्दछ । देशीयरुपमा पनि माओवादी केन्द्र यतिबेला सामन्तवाद र पुँजीवादको प्रतिनिधिमूलक संस्था मानिएको नेपाली कांग्रेससँग कार्यगत एकतामा रहेको छ । उसले आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचनका सन्दर्भमा बाम एकताको कुरा गरिरहेको छैन भने नेपाली कांग्रेससँग चुनावी तालमेल गरेर दीर्घकालीनरुपमा कार्यगत एकता गर्ने पक्षमा जोड बलले लागेको देखिएको छ । यतिबेला पूर्वमाओवादी पार्टीका नेता तथा कार्यकर्ताहरु अधिकांश त क्रान्तिकारी माओवादी र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका समाहित रहेका छन् । माओवादीको मूल नेतृत्वले ०६३ पछि समयक्रममा धोखा दिएका कारण खास पूर्वमाओवादी समूहहरुलाई अगाडि बढ्न कठिनाइको अवस्था आएको छ । त्यसैले क्रान्तिकारी माओवादी र नेकपाले वर्तमान राजनीतिक व्यवस्थाकै अन्त्य गरेर जनगणतन्त्र स्थापना गर्ने लक्ष्य लिएको देखिएको छ । अबका दिनमा सबै पूर्वमाओवादी नेताहरु एक ठाउँमा जम्मा हुने र पार्टीलाई पुरानै अवस्थामा पु¥याउने कुनै संभावना छैन । एमसीसीमार्फत् नेपालमा साम्राज्यवादी शक्तिलाई आमन्त्रण गरिएका कारण अबका दिनमा नेपालमा कम्युनिष्ट पार्टीहरुले आफ्नो अस्थित्व बचाउकै लागि पनि कठिन संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ । संशोधनवादी विचारधारा भएको भए पनि छिमेकी चीनको कम्युनिष्ट पार्टीले यहाँका एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसँग सम्पर्क गरेर सहकार्य गर्ने प्रयास गरेको देखिन्थ्यो । तर, एमसीसीमार्फत् उनीहरुले चीनलाई नै अप्ठ्यारोमा पु¥याउने प्रयास गरेपछि अब नेपालका संसद्वादी कम्युनिष्ट पार्टी र चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका बीचमा समेत सल्लाह र सहमति हुने संभावना कम रहेको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले अल्पमतमै परे पनि र संसदीय निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नु परे पनि माओवाद वा माओ विचारधारा मान्ने कम्युनिष्ट पार्टीहरुकै बीचमा आपूmलाई घुलमिल गराउने प्रयास गर्नुपर्दथ्यो । त्यसो भएको भए उहाँको पुरानो शाख जोगिने र नेपालको कम्युनिष्ट आन्दोलनलाई केही न केही बल पुग्ने अवस्था हुन्थ्यो । तर ०६३ को राजनीतिक परिवर्तनपछि उहाँको सम्पर्क र सहकार्य निरन्तररुपमा नेपाली कांग्रेससँग मात्र रहँदै आएको छ । माओवादी केन्द्र सत्तामा रहेकै बेला नेत्रबिक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीमाथि प्रतिबन्द लगाउने काम भएको थियो । हालसम्म पनि माओवादी केन्द्र सत्तामै छ तर कम्युनिष्ट पार्टीका कैयन नेता तथा कार्यकर्ताहरु जेलको चिसो छिँडीमा रहनु परेको छ । माओवादी जनयुद्धका कतिपय नेता तथा कार्यकर्ताहरु खाडी मुलुकमा दीन–हीन अवस्था गुजार्न बाध्य छन् भने नेपालमा प्रकाश सपुतको ‘पीर’जस्ता गीतहरु प्रसारित हुन थालेका छन् । अबको अवस्थामा जनयुद्ध यताको नेपालको कम्युनिष्ट आन्दोलन र राजनीतिको समग्र मूल्यांकन गरेर नयाँ बाटो त्याग गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । जनयुद्धको नेतृत्वकर्तामध्ये डा. भट्टराईले सम्पूर्णरुपमा कम्युनिष्ट राजनीतिनै परित्याग गर्नुभएको छ भने पुष्पकमल दाहाल पनि घुमिफिरी नेपाली कांग्रेसको निकटमा पुग्नु भएको छ । जसले गर्दा पनि जनयुद्ध अधुरो रहनुका कारणबारे पनि ब्यापक छलफल हुन सक्नुपर्ने भएको छ । माओवादी केन्द्रले पार्टी भित्र पछिल्लो समयमा देखिएको विवादको छिनोफानो गर्नका लागि आगामी ०७९ जेठ २० गतेको मिति तोकेको छ । सो बैठकमा एमसीसी पारित गर्नुको औचित्य साबित गर्न नसकेको खण्डमा अध्यक्ष दाहालले नेतृत्वबाट राजीनामा गर्ने कुराहरु पनि आएका छन् । एमसीसीकै कारण सो पार्टीका बिभिन्न जिल्लाका धेरै स्थानीय, जिल्ला र प्रदेश तहका नेताहरुले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्, सो क्रम जारी नै छ । नेपालको संसदबाट एमसीसी परियोजना नाटकीय ढंगले पारित भएको घोषणा गराउँदा अध्यक्ष दाहाललगायतका केही नेताहरुलाई लाभ हासिल भयो होला तर त्यसले माओवादी केन्द्रका अधिकांश नेता तथा कार्यकर्तालाई असन्तुष्ट बनाएको छ । जसले गर्दा माओवादी केन्द्रभित्र नेताहरुका बीचमा शुरु भएको विवाद सहजै हल हुने कुनै संभावना छैन । यो प्रमुख विचारणीय कुरा हो ।