चुनावको प्रयोग र सान्दर्भिकता

२०७८ चैत्र १४ गते, सोमबार
विष्णु पन्त


१. संसदीय चुनावको प्रयोग वा बहिस्कार ः नेपालको कम्युनिष्ट आन्दोलनको एउटा सदाबहार प्रश्न बन्यो – राज्य नियन्त्रित चुनावको प्रयोग वा बहिस्कार ? माओवादी आन्दोलन पनि पटक–पटक यो विवादको भूमरीलाई पार गर्दै आयो । आज हामीसँग प्रयोग र बहिस्कारका अनि अनुभवहरु छन् । अहिले यो प्रश्न खासगरी नेपाल कम्युनिष्ट पार्टीभित्र चलेको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीले चुनाव बहिस्कारको निर्णय गरिसकेको छ । नेकपाले चुनावमा भाग लिने निर्णय गरेर फर्किंदै छ । उपयोग किन र बहिस्कार किन भन्ने प्रश्नको जवाफ र पहलकद्मीबाट यो प्रश्नको उत्तरलाई सही वा गलत संश्लेषण गर्नु वैज्ञानिक हुन्छ । उपयोग पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई बन्नको लागि हो भने त्यो गलत हुन्छ र बहिस्कार किरण बन्नका लागि हो भने त्यो झनै गलत हुन्छ । न त बहिस्कारले मात्र क्रान्तिकारिता प्रदर्शन गर्छ न त उपयोगले मात्र । हामीले देख्यौं संविधानसभाको चुनावमा माओवादीको सहभागितामा अनिवार्य थियो र त्यो सही कदम नै थियो । संविधानसभालाई क्रान्तिमा वा विद्रोहमा बदल्न नसक्नु नेतृत्वको कमजोरी थियो । त्यसपछिका चुनाव बहिस्कारका अनुभवहरु पनि हामीसँग छन् । माओवादी केन्द्र चुनावमा फस्दा–फस्दै सिद्धिएको छ भने हामी पनि बहिस्कार भन्दाभन्दै राजनीतिबाट एक्लिएको अवस्थामा छौं । एकातर्फ जनताले ‘विप्लव आऊ देश बचाऊ’ भन्ने नारा लगाउँदैछ भने अर्कोतर्फ ती जनतालाई साथमा नलिई हिँड्ने हाम्रो परिस्थितिका बीचमा अन्तरविरोध देखा प¥यो । अहिले हामी ३ बुँदे सहमति गरी शान्ति प्रक्रियामा प्रवेश गरेको भिन्न खाले परिस्थितिमा छौं । अर्कोतर्फ आजको विश्व परिवेशले पनि हामीलाई संघर्षको प्रभावकारी अस्त्रको विकास गर्ने चुनौती थपिदिएको छ । हामीलाई थाहा छ, साम्राज्यवादको एउटै हतियार छ, त्यो हो, ‘फुटाउ र राज गर ।’ हामी फुट्यौं भने दुश्मन खुसी हुन्छ र हामी जुट्यौं भने दुश्मन कमजोर हुन्छ । प्रकाण्डले एक ठाउँमा भन्नु भएको थियो, “राजनीतिक शिखर चुम्ने कुरा अलि गाह्रो हुन्छ, एक्लै दुक्लै गएर कीर्तिमान कायम गरेर मात्र पुग्ने विषय होइन ।” उहाँको संश्लेषण छ, “आमजनतालाई साथ नलिई क्रान्ति हुँदैन ।”
जनतालाई नै क्रान्तिमा सहभागी गराउने बाटोको बारेमा हामीले अनुसन्धान गर्न जरुरी छ । क्रान्ति भन्नासाथ केवल जनयुद्ध वा जनविद्रोह मात्र सम्झने तर नयाँ विकल्पको बारेमा केही नसोच्ने प्रवृत्तिले प्रकारान्तरले हामीलाई यथास्थितिको गोलचक्करमा मात्रै फसाउँछ । हिजो काम नलाग्ने कार्यनीति आज काम लाग्न सक्छ र हिजोको सफल र आकर्षक कार्यनीति आज वा भोलि असान्दर्भिक हुनसक्छ । आज हामीले चुनावको उपयोग वा बहिस्कार भन्ने बहस गर्दै गर्दा दुश्मनको रणनीतिलाई पनि ख्याल गर्नुपर्छ । दुश्मनको सूत्र छ– हामीलाई जनताबाट टाढा राख्ने । दुश्मनको यो रणनीतिलाई जवाफ दिने हाम्रो नीति के हो ? प्रतिबन्धको बेलामा दुश्मनको चाहना थियो, “हामीले फायर खोलौं वा सशस्त्र युद्धको घोषणा गरौं ।” त्यो बुझेरै त हामी संयमित बन्यौं ।
१.१ सान्दर्भिकताको विज्ञान – सुरुदेखि नै मेरो एउटा निजी संश्लेषण थियो, त्यो हो– संविधानसभाको दोस्रो निर्वाचनमा मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीले बहिस्कारको नीति लिएका कारण प्रचण्ड र माओवादी केन्द्रको अस्तित्व सुरक्षित बनेको थियो । यदि उपयोग गरेको भए भन्ने प्रश्नले बारम्बार झस्काउँछ । आजको दिनमा चुनावको उपयोग कि बहिस्कार भन्ने प्रश्नको सान्दर्भिकता खोज्नु पर्दछ । निश्चित छ, क्रान्तिको अस्त्र बनाउने हो भने दुईमध्ये कुनै पनि विकल्प सही हुन्छ तर केही नगरी बस्ने हो भने बहिस्कार आफैं जनताबाट बहिस्कृत हुन्छ । जनताले विप्लव नेतृत्वको नेकपालाई साथ दिन त खोजेका छन् तर सजिलो बाटो लेओस् भन्ने शर्त राखेका छन् । अर्को पनि सत्य छ त्यो हो– चुनावमा जनताले विकल्प नै पाएका छैनन् । थोरै वा धेरै जति भोट आए पनि विकल्प पेश गर्ने चुनौति पनि त हाम्रासामु छ । लडाईँमा कहिलेकाहीँ दुश्मनकै किल्लाभित्र हस्तक्षेप गर्नुपर्छ । त्यसकारण आजको चुनौति छ, दुश्मनलाई नै जनताबाट एक्ल्याउने न कि आफैं एक्लिने हो । आजको आवश्यकता छ, बृहत् राष्ट्रिय एकता अनि बृहत् कम्युनिष्ट एकता । आजको दिनमा हामीले बहिस्कार गर्दा दुश्मनहरुले हर्ष बढाईँ गर्दछ । त्यसकारण व्यापक जनसहभागिता र जनसमर्थनको बाटो लिनु नै सान्दर्भिक हुन सक्छ । आजको दुनियाँमा एक्लिँदै जाने नीति सान्दर्भिक हुन सक्दैन । अर्को पनि तीतोसत्य छ, स्वभाविक रुपमा बहिस्कार गर्दा पूरै चुनाव ध्वस्त गरुन् भन्ने चाहन्छन् भने भाग लिँदा जितुन् वा बहुमत ल्याउन भन्ने चाहन्छन् । चुनावमा पनि प्रत्येक मतदाताले जित्न चाहन्छन् ।
१.२. सापेक्षित अनुकुलता वा प्रतिकुलता – हामीले राज्यसँग एउटा सम्झौता गरेर यहाँसम्म आइपुगेको छौं । हाम्रा थुप्रै नेता कार्यकर्ता जेल र हिरासतमा छन् अनि थुप्रै झुटा मुद्दा बाँकी नै छन् । ३ बुँदे सहमति गरिसकेपछि त्यसको पालना गर्नु हाम्रो दायित्व र इमानदारिताको विषय पनि हो । हाम्रा कारणले ३ बुँदे सहमतिको उल्लंघन हुन दिनुहुँदैन । त्यसकारण पनि चुनावको उपयोग आजको सही र वस्तुवादी निर्णय बन्न सक्छ ।
२. जित्नको लागि कार्यनीतिको विकास : प्रकाण्डको एउटा संश्लेषण छ – जित्नको लागि नै कार्यनीतिको विकास गर्नुपर्छ । प्रत्येक कदमले क्रान्तिको जितलाई सुनिश्चित गर्नुपर्छ । विप्लवले एक ठाउँमा भन्नुभएको थियो, “जब हामी निजी स्वार्थलाई तिरस्कार गर्छौं, तब बिग्रिने भन्ने सम्भावनाको त्रास हुँदैन ।” एउटा महान् उद्देश्यका लागि सानातिना अवरोधहरु फिका हुन्छन् । हामीले धेरै टाढाको लक्ष्यलाई पछ्याएका छौं भने अति शंकाको हतियारले खासै काम गर्दैनन् । त्यसकारण हामीले जित्नुपर्छ र जीतलाई सुनिश्चित गर्ने पाइलाहरु अगाडि बढाउन निश्चित हुनुपर्छ ।
३. एमसीसी अनुमोदनपछिको परिदृश्य ः संसदीय राजनीतिमा एमाले र माओवादी केन्द्रको विभाजन सुनियोजित थियो । विभाजित दुवै पक्षलाई लडाउने र मलजल गर्ने विदेशीहरुकै खेल हो । उनीहरुले निकै विवादका बीच पनि एमसीसी सम्झौता संसदबाट अनुमोदन गराइछाडे । यो परियोजनाले सबैका चेहाराहरुलाई नङ्ग्याइदिएको छ । यसो हुँदाहुँदै पनि एउटा सत्य यो हो कि तत्कालीन सत्तारुढ नेकपा विभाजित नहुँदासम्म वैदेशिक हस्तपक्षेपमा कमी आयो । जब विभाजनको प्रक्रिया सुरु भयो तब हस्तक्षेप बढ्दै गयो । कम्युनिष्टका विरुद्ध कम्युनिष्ट लडाउने र जीत नेपाली कांग्रेसको हुने यो गोलचक्करको शिकार स्वयम् संसद्वादी कम्युनिष्ट नेताहरु बने । नेकपालाई प्रतिबन्ध लगाउन र दमन गर्न उक्साउने को थिए ? इन्काउन्टरको नाटक वा षड्यन्त्र रच्ने को थिए ? निश्चित रुपमा ती पनि कम्युनिष्टहरु नै थिए । आपसमा लड्ने, प्रतिशोध साँध्ने र सिद्धान्त सिद्धिने बुद्धिले न त देशको चिन्ता गर्छ न त व्यवस्था वा प्रणालीको । तथाकथित कम्युनिष्टहरुमा आएको यो आत्मघाती चेतलाई सच्याउने दायित्व विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई छ । बृहत् राष्ट्रिय एकता र बृहत् कम्युनिष्ट एकताको राष्ट्रिय नीतिको विकास गर्नु पर्ने टड्कारो आवश्यकता बढेको छ । हामीलाई थाहा छ आजको विश्व विस्तारै तेस्रो विश्वयुद्धतर्फ धकेलिँदै छ । यो संवेदनशील अवस्था हामीले हाम्रो देशलाई स्वाधीन र आत्मनिर्भर बनाएर अगाडि बढाउने गरी सोच्नुपर्छ । हामीले हाम्रो देशलाई नै विभाजित गराउने विदेशी षड्यन्त्रलाई पनि चिर्नुपर्ने आवश्यकता छ ।
४. चुनाव बहिस्कार आफैं बहिस्कृत हुने अवस्था : हो जनताले व्यवस्थाअन्तर्गत हुने संसदीय चुनाव अन्त्य गर्न चाहन्छन् । यसको अर्थ जनताले केवल सशक्त बहिस्कार वा चुनावै हुन नदिई ध्वस्त बनाउन सक्ने बहिस्कार चाहन्छन् । घरमा बसेर गर्ने भद्र बहिस्कारले जनतालाई झनै निराश बनाउँछ । हाम्रा वर्ग शत्रुहरुको चाहना छ विप्लवहरु चुनाव बहिस्कार गरुन् । हाम्रा समर्थकहरु दुई धारमा विभाजित छन् । पार्टीभित्र देखापरेको बहस समाजको प्रतिबिम्ब पनि हो । हाम्रो परम्परागत चेत चिन्तनले भन्छ, “हामीले चुनावको बहिस्कार गर्नुपर्छ ।” अर्काेतर्फ हामीले लडार्इँका नयाँ–नयाँ हतियारको विकास गर्नुपर्ने सम्भावना खोजिरहेका छौँ । यो नयाँ दृष्टिकोणले भन्छ, ‘चुनावको उपयोग गर ।’ जनता भन्छन्, ‘चुनावमा पनि नयाँ विकल्प पेश गर ।’
वैधानिक आन्दोलन र वैधानिक मोर्चाको विकल्पलाई पनि तिरस्कार गर्नु हुँदैन । सबै सम्भावनाहरुको केन्द्रिकरण त एकीकृत जनक्रान्ति नै हो । त्यसकारण हाम्रो नीतिले बढीभन्दा बढी जनतालाई आकर्षित गर्न सक्नुपर्छ । जब चुनाव नजिकिँदै जान्छ, जनताहरु चुनावमा प्रभावित हुन्छन् । खराबै विकल्प भए पनि उनीहरु चुनावमा सहभागी हुन्छन् । हो केही मात्रामा फेरबदलको प्रयास पनि गर्ने गरेका छन् । संविधानसभाको पहिलो निर्वाचनमा माओवादीलाई जिताए भने अघिल्लो संसदीय निर्वाचनमा वामएकतालाई विश्वास प्रकट गरे । हामीले जनताको यो चरित्रलाई पनि आत्मसात गर्न जरुरी छ ।
५. स्थानीय चुनावबाट केही नमुना गाउ वा समाजवादी गाउको अवधारणा बनाऔं : स्थानीय निकायमा ठूलो बजेट छ र त्यो भ्रष्टचारको केन्द्र बनेको छ । यो बजेटलाई नमुना गाउँ वा समाजवादी गाउँ बनाउने गरी सोच्नुपर्छ । हामीले भ्रष्टचारमुक्त गाउँको निर्माणमा ध्यान दिनुपर्छ । यदि यसो गर्न सकिएमा चुनावको उपयोग पनि क्रान्तिको हतियार बन्न सक्छ । चुनाव पछि हामी भ्रष्टीकरणमा डुबौंला वा भ्रष्टचारको अन्त्य गरौंला, यही चुनावले हाम्रो सान्दर्भिकता र सहभागिताको औचित्यको निर्धारण हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

नेकपाको अगाडिका चुनौति र अवसर

२०८२ बैशाख ९ गते, मंगलवार