नेपालमा बढ्दो राजनीतिक संकट र देउवाको दिल्ली यात्रा
नेपालमा राजनीतिक संकट दिनप्रतिदिन गहिरिंदै गएको देखिएको छ । यो संकट गहिरिनुमा यहाँका संसद्मा रहेका राजनीतिक दलहरुका साथै विदेशी खासगरी साम्राज्यवादी शक्तिहरुको पनि त्यतिकै हात रहेको स्पष्ट छ । नेपाली कांग्रेसको नेतृत्वमा केही वाम पार्टीहरु संगठित हुनु र नेपालको संसदबाट नाटकीय ढंगले अमेरिकी योजना एमसीसी पारित भएको घोषणा हुनुले नेपालमा मात्र नभएर नेपालका छिमेकी मुलुकहरु चीन र भारत दुबैलाई नेपाल मामिलामा आकर्षित गरेको देखिएको छ । त्यति मात्र नभएर रुस युक्रेन मामिलामा नेपालले लिएको अमेरिकी पक्षधरता र नेपालले छिमेकी नीतिमा गरेको त्रुटी पनि पछिल्लो समयमा चर्चाको विषय बनेको छ । नेपाली कांग्रेसलगायतका वर्तमान सरकारलाई समर्थन गर्ने दलहरु इन्डो अमेरिकन लबीमा रहेको स्पष्ट भएपछि अन्य शक्तिहरु स्वभावत सशंकित भएका छन् । नेपालबाट एमसीसी पारित भएको भनिएको एक महिनाभित्रै चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गर्नु र त्यसको एक साता पनि नबित्दै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको तीन दिने भ्रमण गर्नुले पनि धेरै कुराहरुको रहस्योद्घाटन गरेको छ । पाकिस्तान, अफगानिस्तान र दिल्ली हुँदै नेपाल आउनु भएका चिनियाँ विदेशमन्त्री वाङले नेपाली समकक्षी डा. नारायण खड्कासँगको भेट र छलफलमा नेपाललाई भूराजनीतिक खेलमा संलग्न बनाउने कुनै पनि प्रयासको चीनले विरोध गर्ने बताउनु भएको थियो । नेपालका परराष्ट्रमन्त्री डा. खड्कासँगको चैत १२ गते शनिबारको भेटमा विदेशमन्त्री वाङले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रतालाई कमजोर बनाउने, आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र भूराजनीतिक खेलमा संलग्न गराउने प्रयासको विरोध गर्ने जुन कुरा बताउनु भएको थियो, उहाँ स्वदेश फर्केपछि चिनियाँ पक्षबाट त्यसैअनुसारको बक्तब्य पनि सार्बजनिक हुनुले नेपाल मामिलामा चीन अत्यन्त सम्बेदनशील भएको पुष्टि गरेको छ । जसमा नेपालका सम्बन्धमा नेपाली जनताले नै निर्णय गर्ने कुरामा चीनले विश्वास गर्ने प्रसंगहरु उल्लेख छन् । वाङको नेपाल भ्रमणलगत्तै चिनियाँ सरकार निकट मानिएको ग्लोबल टाइम्सले नेपालले आफ्नो देशका लागि निर्धारण गर्ने विकासको बाटोमा चीनले सहयोग गर्ने कुरा उल्लेख गरेको छ । वाङले नेपालले स्वतन्त्र आन्तरिक तथा विदेश नीति खोज्ने कार्यलाई चीनले सहयोग गर्ने पनि बताउनु भएको थियो । जसलाई चिनियाँ सञ्चार माध्यमहरुले प्रमुखताका साथ उल्लेख गरेका छन् । के भनिंदैछ भने वाङको भारतपछि नेपालको भ्रमण र वाङको नेपाल भ्रमणलगत्तै देउवाको भारत भ्रमणले नेपालमा राजनीतिक परिवर्तनको संकेत गरेको छ । यसअघि पनि देउवाले आपूm प्रधानमन्त्री भएको समयमा नेपालको प्रजातन्त्रलाई मध्यराति दरबारमा लगेर बुझाएको भन्ने गरिएको थियो । यस पटक पनि देउवाले माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका पार्टीहरुलाई किनाराको साक्षी राखेर पश्चगामी राजनीतिक बाटो तय गर्नु भयो भने त्यसमा आश्चर्य मान्ने ठाउँ रहँदैन । चिनियाँ विदेशमन्त्री वाङको दिल्ली भ्रमणका क्रममा पनि त्यहाँका सुरक्षा सल्लाहकारसँग परामर्श भएको समाचार बाहिर आएको थियो भने नेपालका प्रधानमन्त्रीको दिल्ली भ्रमणका क्रममा पनि त्यहाँका सुरक्षा सल्लाहकार र रक्षामन्त्रीलगायतसँग छलफल भएको थियो । त्यसलगत्तै भारतीय सुरक्षा सल्लाहकारको चीन भ्रमणसमेत तय भइसकेको छ । सम्भवतः आगामी हप्तासम्ममा भारतीय प्रतिनिधि मण्डल बेइजिङ पुग्ने छ । के भनिएको छभने पछिल्लो समयमा चीन र भारतकाबीचमा टु इन वान नीतिको विकास गरिएको छ । सोही नीतिका आधारमा चीन र भारतले खेलेको संयुक्त भूमिकाका कारण अफगानिस्तानबाट अमेरिका फिर्ता हुन बाध्य भएको थियो । नेपालमा पनि एमसीसी परियोजना यस्तो अस्त्र बनेको छकि त्यसका आधारमा नेपालबाट पनि कालान्तरमा अमेरिका पछाडि हट्न बाध्य हुनुपर्ने छ । चीन र भारतले खेलेको पछिल्लो खेल सफल भएको खण्डमा नेपालमा एमसीसी नाममात्रको परियोजनामा परिणत हुनसक्ने छ । नेपाल सन्दर्भका राजनीतिक घटनाक्रमहरुको विकास यति हदसम्म भएको छकि आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचनसमेत रोकिन सक्नेछ । यही राजनीतिक अन्योल र अनिश्चितताकाबीच नेपालमा फेरि पनि निरंकुशतन्त्रको पुनस्र्थापना गर्ने÷गराउने प्रयास भैरहेको छ । यस्तो अवस्थामा नेपालको वाम शक्तिले नयाँ ढंगले एकताको विकास गर्नुपर्ने र सजग एवं सतर्क हुनुपर्ने अवस्था सिर्जना भएको छ । नेपालका प्रधानमन्त्री देउवाले दिल्लीमा भारतीय जनता पार्टीको केन्द्रिय कार्यालयमै पुगेर त्यहाँको संस्थापन पक्षसँग नेपाली कांग्रेसको सम्बन्ध सुधार गर्ने प्रयास पनि गर्नुभएको देखिएको थियो । उहाँको भारत भ्रमण हतारमा गरिएको औपचारिक मात्र बनेको छ । नेपालका प्रधानमन्त्रीले नेपालको जनकपुर–जयनगर रेलको दिल्लीमा पुगेर त्यहाँका प्रधानमन्त्रीसँग संयुक्तरुपमा उद्घाटन गर्नु पनि अस्वाभावीक कुरा भएको छ । जसमा माओवादी केन्द्रलगायतका सत्तारुढ दलका चारजना मन्त्रीहरु समेतलाई उपस्थित गराइएको थियो । जबकी चीनको सहयोगमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ विदेशमन्त्रीले नेपालमै आएर थालनी गर्नुभएको थियो । यस परिघटनाले पनि नेपालको वर्तमान सरकार भारतको संस्थापन पक्ष र खासगरी त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रिझाउन तल्लिन रहेको देखाएको छ । प्रम देउवाको यो भ्रमण नेपालको सरकार र नेपाली जनताका लागि भन्दापनि नेपाली कांग्रेसका लागि लाभदायी बनाउन खोजिएको सहजै बुझनसकिने भएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणपछि नेपाल, चीन र भारतकाबीचमा कतिपय राजनीतिक घटनाक्रमहरु छिटोछिटो विकास हुने अपेक्षा पनि गर्न थालिएको छ । यसअघि एकातिर एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार निर्वाचन नगराउने षड्यन्त्रमा लागेको बताउनु भएको थियो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीतिलाई दुर्ई ध्रुवमा केन्द्रित गराउन खोजिंदै छ भन्नु भएको थियो । उहाँहरु दुबैले देशमा भित्रभित्रै विकसित भैरहेका राजनीतिक घटनाक्रमहरुका बारेमा भने कुनै खुलासा गर्नुभएन । तर, नेपालमा राजनीतिक परिवर्तन हुन लागेको छन् भने प्रायः सबै पार्टीका उच्चस्तरीय नेताहरुलाई प्राप्त भैसकेको देखिएको छ । यस्तो अवस्थामा मुख्यरुपले क्रान्तिकारी माओवादी र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालगायतका वाम पार्टीहरुले पछिल्लो समयमा विकसित भएका घटनाक्रमहरुलाई जनगणतन्त्रको पक्षमा अगाडि बढाउन सक्नुपर्ने देखिएको छ । त्यो भनेको ०७४ को निर्वाचन पछि देशमा भएका बिभिन्न जनबिरोधी गतिबिधिहरुको भण्डाफोर गर्न र जनतालाई परिवर्तनको बाटोमा अगाडि बढाउन सक्नु हो । एमाले कसरी राजावादी शक्तिहरुसँग निकट बन्दै गएको छ र माओवादी केन्द्र लगायतका केही वाम पार्टीहरु नेपाली कांग्रेससँग मिल्दै गैरहेका छन् यो पनि आजका सन्दर्भमा विचारणीय पक्ष हुनसक्दछ । त्यसैले सम्पूर्ण वामपन्थी एबं प्रगतिशील शक्तिको सर्वदलीय र सर्वपक्षीय भेला गरेर देशको भावी राजनीतिक ब्यवस्था कस्तो बनाउने भन्नेबारेमा यथा समयमा नै निष्कर्ष निकालिनु जरुरी भएको छ । नेपालको वर्तमान राजनीतिक परिस्थितिले गर्दा आगामी बैशाख ३० गते हुने भनिएको निर्वाचन खासै महत्वको विषय भेरहेको छैन । हालको महत्वको विषय भनेको बिद्यमान राजनीतिक ब्यवस्थालाई समयमा नै समाप्त गरेर वैज्ञानिक समाजवादोन्मुख राजनीतिक ब्यवस्थाको स्थापनाका लागि भूमिका निर्वाह गर्नु हो । वाम पार्टीहरुले हालको नेपालको राजनीतिक अवस्था, नेपालका बारेमा चीनले ब्यक्त गरेका धारणाहरु, भारतले लिएको नेपाल नीति र अमेरिकाले नेपालमा खेल्न खोजेको खेललगायतका बारेमा सूक्ष्म ब्याख्या र बिश्लेषण गर्ने होभने नेपालको भावी राजनीति कस्तो बनाउनेभन्ने कुराहरुको निर्धारण हुनसक्दछ । नेपाललाई अबका दिनमा आत्मनिर्भरतातर्फ लाग्नुको अर्को बिकल्प छैन । खासगरी विदेशमुखी अर्थतन्त्र र राजनीतिलाई सम्पूर्णरुपमा समाप्त गरिनु आजको प्रमुख आवश्यकता भएको छ ।