स्थानीय निर्वाचन ः एक समीक्षा
१. स्थानीय निर्वाचनको परिणामबारे एक समीक्षा – स्थानीय निर्वाचनको सहभागी सबै दलका आ–आफ्नै अपेक्षाहरु थिए नै । निर्वाचनको केन्द्र भागमा थियो एमाले र सत्ता गठबन्धन । एकातिर एमाले थियो र अर्कोतिर पाँच दलीय गठबन्धन । एमालेले सोचेको थियो पाँच दलीय गठबन्धन बढारिने छ । चुनाव छिटो गराउन उसको दबाब थियो र ऊ निकै हतारिएको थियो । अर्कोतिर सत्ता गठबन्धनले सोचेको थियो ः पाँच दल मिलेपछि एमाले शून्यमा झर्छ । चुनावको परिणामले एमालेको अहंकार चकनाचुर बनाइदियो । एमाले पार्टी विभाजनको कारणले त कमजोर बनेन तर विरोधीहरु गठबन्धनका कारण उ कमजोर बन्यो । केन्द्र, प्रदेश हुँदै धेरै स्थानीय सरकार उसले गुमायो । स्थानीय चुनावमा नेपाली कांग्रेस र माओवादी केन्द्रको उत्साहजनक सफलता र जीत–हात प¥यो । परिणामस्वरुप नेपाली कांग्रेस पहिलो वा ठूलो पार्टीमा परिणत भयो । राष्ट्रिय राजनीतिको आँखीझ्यालबाट हेर्दा, स्थानीय चुनावको परिणामले आगामी संसदीय चुनावलाई दिशानिर्देश गर्दछ । चुनावी परिणाम पछि नेकपा (एमाले) ठूलो दबाबमा छ । धेरैको आँकलन छ फेरि ओली, नेपाल र दाहालबीच एकताको प्रयास हुनेछ । आमकार्यकर्ता र शुभचिन्तकहरुको चाहना छ ः वाम एकता । फेरि पनि प्रधानमन्त्री, राष्ट्रपति र अन्य पदमा भागवण्डा गरेर एकता हुने पहिलो सम्भावना छ । यदि अहिलेकै ढंगबाट गयो भने एमालेले पनि घोषित रुपमै गठबन्धन बनाउने निर्णय गर्नेछ । कुनै पनि लडाईँ वा प्रतिस्पर्धामा विरोधीहरु कसरी आउँदैछन् भन्ने कुरालाई विशेष ध्यान दिन जरुरी हुन्छ । वस्तु, घटनाक्रम र समाजमा आएका परिवर्तनहरुलाई विशेष हेक्का राख्नुपर्ने हुन्छ । विस्तारै राजनीति गठबन्धन धुव्रीकरण वा एकताको माध्यमद्वारा अगाडि बढ्दै छ । हामीले कहिले वाम गठबन्धन त कहिले एमाले विरोधी गठबन्धनका अभ्यासहरु देख्दैछौं । संसदीय राजनीति पनि विस्तारै दुई दलीय प्रणालीतर्फ उन्मुख हुँदैछ । तेस्रो र वैकल्पिक शक्तिको निर्माण गर्ने धेरै अभ्यासहरु जारी छन् तर, सफल हुन सकेका छैनन् । विप्लव, किरणसहितको एउटा रणनीतिक मोर्चा छ तर त्यसले पनि आफ्नै शरीर धान्न सकेको छैन । विप्लव नेतृत्वको नेकपा अर्को सशक्त विकल्पको रुपमा उभिने प्रयास गर्दैछ तर त्यसभित्र पनि रुढीवाद, परम्परावाद र संकीर्णतावादले चुनौति वा अवरोध खडा गर्ने समस्या देखिएको छ । अर्को वैकल्पिक शक्तिका रुपमा राप्रपा उदाउने सम्भावना बढ्दो छ । संसदीय व्यवस्थाविरुद्धको जनआक्रोश बढ्दै जाँदा अनि क्रान्तिकारी शक्तिहरु मूलधारबाट टाढा–टाढा भाग्दै जाँदा त्यसको लाभ राप्रपालाई पुग्ने देखिन्छ । खासगरी संघीयता विरोधी जनमतले उसलाई फाइदा पुग्ने देखिन्छ । स्वतन्त्र वा बागी उम्मेदवारहरुको जीतले देशको राजनीतिमा नयाँ बहस र तरंगहरु सिर्जना गर्दैछ ।
२. चुनावको प्रयोग गर्ने कार्यनीतिको प्रभावकारिताबारे – नेपाल कम्युनिष्ट पार्टीले एउटा गम्भीर निर्णय ग¥यो, त्यो थियो – चुनावको क्रान्तिकारी प्रयोग । संसदीय चुनावमा भाग लिनु भनेको संसदवादमा पतन हुनु हो भन्ने एउटा रुढीवादी चिन्तका कारण यो कार्यनीतिको कार्यान्वयनमा ठूलो संकट उत्पन्न भयो । परिणामस्वरुप पार्टीका केही नेता र कार्यकर्ताहरु पार्टीबाट बाहिरिए र पार्टी अनि मूल नेतृत्वविरुद्ध हमलाहरु गरिए । पार्टीभित्र चुनावलाई प्रयोग गर्ने नीतिमा उत्साह ल्याउन सकिएन । कार्यान्वयमा जाँदा यो आंशिक प्रयोगको नीतिका रुपमा प्रकट भयो । चुनावको प्रयोगबाट कम्तीमा ८ देखि १० गाउँपालिका जितेर नमुना समाजवादी गाउँ बनाउने नेतृत्वको सपना थियो । चुनावको परिणामले सिंगो गाउँपालिका वा नगरपालिका जीतेको एउटा पनि उदाहरण बन्न सकेन । यसको मूल कारण थियो, निर्णयमा ढिलाई । उम्मेदवारी मनोनयका दिनसम्म पनि धेरै ठाउँमा अस्पष्टता थियो । बिनातयारी अन्तिम अवस्थामा चुनावमा जानु आफैंमा आत्मघाती निर्णय थियो । चुनावमा जाने निर्णय सही र दुरदर्शी थियो तर निर्णय क्षमतामा कमी देखियो । एउटा राम्रो अवसर थियो कि संसदवादी पार्टीहरुभित्रको अन्तरविरोधका बीच खेलेर फाइदा लिने तर त्यो सफल भएन । चुनावमा ७÷८ सय उम्मेदवार बने र प्रचारात्मक हिसाबले राम्रो भयो । हाम्रो पार्टीका समर्थकहरुको मतलाई संरक्षण गर्ने काम आंशिक रुपमा प्रभावकारी बन्यो । पार्टीभित्र एउटा गम्भीर समस्या देखियो, त्यो हो मूल नेतृत्वको भावनालाई पुरै केन्द्रीय समिति र जिल्ला नेतृत्वले एकरुपतामा पक्रन सकेन । यदि प्रयोग पूर्णरुपले सफल भएको भए देशभर हजारौं उम्मेदवार खडा गर्न सकिन्थ्यो र थुप्रै ठाउँमा जीत हासिल गर्न पनि सकिन्थ्यो । जेहोस् यो चुनावबाट विरोधीहरु कसरी जनतामा गएका छन् भन्ने प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर मिल्यो । कुनै पनि हालतमा चुनाव जित्ने पार्टीको उद्देश्य थिएन । जीत वा हार स्वभाविक प्रक्रियाहरु हुन् । चुनावमा भाग लिँदा ठूलठूला लडाईँ वा वर्ग संघर्षहरु भए जुन उत्साहजनक छन् । हाम्रा उम्मेदवारहरु विरुद्ध कसरी प्रतिक्रियावादी शक्तिहरु एक भएर आए भन्ने चित्र सबैका सामु छर्लङ्ग भए । पार्टीभित्र र बाहिरभित्र विरोधीको पहिचान गर्न सजिलो भयो । त्यसकारण हाम्रो नेतृत्वको एउटा कमजोरी पनि बाहिरै प्रकट भयो, त्यो हो ः समयमै निर्णय गर्न नसक्ने वा ढिला निर्णय गर्ने । चुनावमा जानु नै थियो त अघिल्लो केन्द्रीय समितिबाटै यो निर्णय हुन जरुरी थियो । गन्तव्यमा पुग्न एउटा बाटो अवरुद्ध भयो भने बाटो बदल्नु बुद्धिमानी निर्णय थियो । हिँडिरहेको बाटोमा गडबढी देखिए बाटो बदल्नु नै सफलताको सूत्र पनि हो । चुनावको प्रयोग आफैँमा एक स्टेप पछाडि हट्नु पनि थियो तर पछाडि हट्न पनि नमान्ने अनि अगाडि जान पनि नसक्ने एउटा रुढीवादी चिन्तन वा चेतनाको कारण पार्टीमा ठूलो समस्या उत्पन्न भयो ।
३. चुनाव बहिष्कारको प्रभावकारीताबारे – किरण नेतृत्वको क्रान्तिकारी माओवादीले चुनाव बहिष्कारको नीति लिएको थियो । कतिपय ठाउँमा उपयोग र मूलतः बहिष्कारको नीति आफैंमा विवादास्पद थियो । एउटै पार्टीका घोषित र अघोषित दुईवटा कार्यनीतिको अभ्यास गरिए । चुनाव बहिष्कार आन्दोलन आफैंमा शान्तिपूर्ण, भद्र र प्रचारात्मक मात्र थियो । अर्को शब्दमा भन्दा हामी चुनाव बिथोल्दैनौँ, शान्तिपूर्ण कार्यक्रम मात्र गर्छौं भनी सरकारसँग भद्र सहमति गरी गरिएको बहिष्कार थियो । काठमाडौंमा बाहेक अन्यत्र प्रचारात्मक कार्यक्रम पनि भएको पाइएन । राष्ट्रिय राजनीतिको आँखीझ्यालबाट नियाल्दा यो चुनावको बहिष्कार पनि हुँदैछ भन्ने आभाष वा सूचना जनताले पाएनन् । चुनाव बहिष्कारकै सन्दर्भमा विप्लव नेतृत्वको नेकपाबाट अलग्गिएका नेता कञ्चनलाई प्रहरीले नियन्त्रणमा लिई छाडिदियो । कञ्चनको गिरफ्तारी पछि निस्किएको सुदर्शनको वक्तव्यमा भनिएको थियो, “हामीले चुनाव बिथोल्ने कुनै कार्यक्रम गर्दैनौं ।” जेसुकै भए तापनि आफ्नो संगठनात्मक क्षमताअनुसारको बहिष्कार भने सफल नै भयो । राष्ट्रिय रुपमा बहिष्कारको कुनै प्रभाव नदेखिए पनि यो व्यवस्थाप्रतिको आक्रोशलाई सम्मान गर्नु सही हुन्छ । कतिपय विश्लेषणको नकारात्मक टिप्पणी पनि छ, त्यो हो – सत्ता वा सरकारसँग साँठगाँठ गरी गरिने बहिष्कारको कुनै राजनीतिक अर्थ रहँदैन ।
४. आजको समस्या ः वाम रुढीवाद, संकीर्णतावाद र जडसूत्रवाद – नेकपाभित्र एउटा गम्भीर विवाद उत्पन्न भएको तथ्य सर्वविदितै छ । सकारात्मक ढंगले बुझ्ने हो भने विप्लवको प्रस्ताव थियो– स्थानीय चुनावलाई पनि संघर्षकै मोर्चाका रुपमा प्रयोग गरौं । पार्टी पुनर्गठन पछिको इतिहासमा यो एउटा नयाँ संश्लेषण थियो । हामी आफैंले सुरुदेखि मान्दै आएको चेतना थियो, संसदीय चुनावमा भाग लिनु भनेको संसदमा पतन हुनु हो । नयाँ र पुरानो चेतना वा तर्कबीच एउटा घर्षण उत्पन्न भयो । यो विवाद विभाजनसम्म पुग्नु पर्ने थिएन तर यसमा दुश्मनहरुको उक्साहट, षड्यन्त्र र प्रभाव प¥यो । आजको अवस्था हो ः दुश्मनहरु संसद र सरकारमा सुरक्षित छन् । खासखास बेलामा सडकमा पनि उनीहरु नै देखा पर्छन् । विप्लवको सोच हो ः हरेक मोर्चामा विरोधीलाई निगरानी गर्ने अनि असुरक्षित गराउने । संसदभित्र पनि उनीहरुलाई चुनौति खडा गरे मात्र विरोधीलाई कमजोर बनाउन सकिन्छ भन्ने पछिल्लो संश्लेषण हो । यो निर्णय खासगरी स्थानीय चुनावका सन्दर्भमा मात्र गरिएको थियो । अब आउने संसदीय वा संघीय चुनावका बारेमा पछि नै निर्णय होला । नेतृत्व सही र इमान्दार हुने हो भने चुनावी मोर्चालाई पनि संघर्षको मोर्चाका रुपमा विकसित गर्नु सही र आवश्यक हुन्छ । चुनावलाई प्रयोग गर्दैमा संसद्वादमा पतन भइँदैन भन्ने नयाँ तर्क स्थापितले हुन खोज्दै छ । आजको विश्वमा क्रान्तिको मुख्य समस्या बनेको छ ः श्रमजीवि वर्ग र क्रान्तिकारी शक्तिहरुबीचको दूरसम्बन्ध । जनताबाट पार्टी र नेतृत्वलाई अलगअलग पारेर कम्युनिष्ट पार्टीहरु असफल भइरहेको तथ्यलाई बुझ्न जरुरी छ । वास्तवमै क्रान्ति गर्ने हो भने यो समस्याको हल कार्यनीतिबाट खोज्नुपर्छ । होइन केही नगरी व्याख्या मात्र गरेर बस्ने हो भने बहिष्कार नै सही छ । क्रान्तिलाई केवल लेख, रचना, दर्शन र शास्त्रीयतावादको विषय बनाउने हो भने यो फरक विषय हुन्छ । केही गर्ने हो भने लडाईंका हरमोर्चाहरु खोल्न जरुरी छ । त्यसकारण नयाँ चीज तत्काल स्वीकार्य नहुन सक्छ तर यो अनिवार्य छ ।
५.आजको आवश्यकता ः बृहत् कम्युनिष्ट एकता – कम्युनिष्ट पार्टीका विरुद्ध अर्को कम्युनिष्ट पार्टी उभिनु यो वर्ग दुश्मनलाई विजयी बनाउने विधि हो । आरोप–प्रत्यारोप र गालीगलौज हाम्रो संस्कृतिलाई त्यागेर स्वच्छ र स्वस्थ प्रतिस्पर्धा अनि बहस गर्ने विधिको विकास गर्नुपर्ने छ । अर्कोतिर राष्ट्रवादी शक्तिहरुबीचको बुझाईलाई एक ठाउँमा ल्याउनुपर्ने छ । सारमा भन्दा आज विप्लव विरुद्धको हमला सम्पूर्ण क्रान्तिविरुद्धको हमला हो । आपसमा लड्ने र सिद्धिने बुद्धिले क्रान्तिलाई फाइदा गर्दैन । नेतृत्वलाई संकटमा सहयोग गर्ने हो । संकट प¥यो कि आफ्नैलाई हान्ने प्रवृत्ति कहिल्यै सफल हुँदैन । त्यसकारण रुढीवादले कहीँ पनि क्रान्ति गर्दैन खाली भ्रम मात्र दिन्छ । रुढीवादले केही पनि गर्दैन, खाली गफ मात्र गर्छ । परम्परागत र शास्त्रीय व्याख्या जीवन्त वर्ग संघर्षमा काम नलाग्न सक्छ । संघर्षको मोर्चाबाट नयाँ–नयाँ विचारहरुको विकास हुन्छ । सबै प्रगतिशील, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्तिहरुलाई एकताबद्ध गर्ने साझा विधिको विकास गर्नु नै आजको सही निष्कर्ष हो । त्यसकारण एउटा राष्ट्रिय वा बृहत् धु्रवीकरणद्वारा सबै समस्याको हल गर्न सकिन्छ र त्यो क्रान्तिको भविष्य छ ।