समाजवादी केन्द्र बनाउने प्रचार पछाडिका रहस्यहरु
सत्तारुढ माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक आजको तीन दिनपछि अर्थात अगामी १५ गतेका लागि तोकिएको छ । तर, सो मितिमा पनि हुने/नहुने ठेगान छैन । किनकि त्यस्ता मिति विभिन्न बहानामा धेरै पटक सरिसकेका छन्् । गत पुसमा महाधिवेशन गरेको सो पार्टीले हालसम्म पदाधिकारीहरुको चयन गर्न सकेको छैन । सुनिंदैछ ती पदाधिकारीहरुको चयन अब आगामी संसदको निर्वाचनपछि मात्र हुनेछ । माओवादी केन्द्रमा क्रान्तिकारी र दक्षिणपन्थी खासगरी नेकांपरस्थ नेताहरुका बीचमा तीव्र मतभेद छ । नेकांसँगको सहकार्य तत्कालै अन्त्य गरेर क्रान्तिकारीहरुसँग मिल्नु पर्छ भन्नेहरुको बहुमत रहेको छ । त्यसैले पनि केन्द्रिय समितिको बैठक आलटाल गर्दै सार्ने षड्यन्त्र हुँदै आएको हो । सो पार्टीको नेतृत्वमा बढ्दै गएको दक्षिणपन्थी रुझानका कारण विवाद करिव करिव विभाजनकै बाटोमा अगाडि बढिरहेको छ । यस्तै अवस्थालाई टार्नका लागि हालैबाट समाजवादी केन्द्र स्थापना गर्ने नयाँ खालको बहसलाई अगाडि सारिएको छ । खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्ला केही सार्वजनिक कार्यक्रमहरुमार्फत् समाजवादी केन्द्र बनाउने अवधारणा अगाडि सार्नु भए पनि त्यसबारे सम्बद्ध अन्य पक्षबाट कुनै प्रतिक्रियाहरु सार्वजनिक भएका छैनन् । वास्तवमा समाजवादी केन्द्र बनाउने कुरा माओवादी केन्द्रको पार्टीको केन्द्रिय समितिबाट पारित र पार्टीमा बृहत् छलफल भएर आएको आधिकारिक धारणा पनि होइन । यो अध्यक्षको लहडमा आएको धारणा मात्र हो । पूर्वमाओवादी समूहहरुकाबीचमा एकतागर्दै समाजवादी केन्द्र बनाउने भनिएका कारण यो प्रशंगले ठूलै बहसको माग गर्दछ । तर, खासरुपमा यो अभियान कम्युनिष्ट राजनीति छाडिसकेका र माओवाद नमान्नेहरुका बीचमा एकता गर्नेमा केन्द्रित रहेको देखिएको छ । संसारभरनै समाजवादलाई विभिन्न राजनीतिक विचार समूहहरुले आ-आफ्नो ढंगले प्रयोग गर्ने प्रयास गर्दै आएका छन्् । त्यसैले नेपालमा पनि त्यस्तो प्रयास हुनु कुनै आश्चर्यको बिषय होइन । आजभन्दा १०० वर्ष अघिनै माक्र्सवादका चिन्तकहरुले वैज्ञानिक समाजवाद र काल्पनिक समाजवादकाबारेमा ब्याख्या र विश्लेषण गरिसक्नु भएको छ । नेपालका सन्दर्भमा भन्ने हो भने नेपाली कांग्रेसले ००७ सालदेखि नै प्रजातान्त्रिक समाजवादको शब्दावली प्रयोग गर्दै आएको थियो । ०४६ सालको परिवर्तनपछि उसले त्यसलाई उच्चरण गर्न छाडेको हो । ०४६ पछि एमालेले खासगरी माधव नेपाल नेतृत्व कालमा पार्टीको नामनै परिवर्तन गरेर कम्युनिष्ट शब्द हटाउने र समाजवादी पार्टीमात्र राख्ने प्रयास गरेको थियो । ०४६ सालको राजनीतिक परिवर्तनपछि भारतीय सत्तारुढ नेताहरु त एमालेको वरिपरी घुमेकै थिए, साथसाथै एमालेले अमेरिकीहरुसँग पनि हेमखेम बढाएको देखिएको थियो । एक पटक नेपालका लागि अमेरिकी राजदूत एमालेको कार्यालयमा आउने भएपछि पार्टी कार्यालयमा रहेका विश्व सर्बहारावर्गका महान् नेताहरुका तस्विरहरु समेत हटाइएका थिए । त्यसैगरी एमालेले पार्टीको केन्द्रिय समितिको बैठकबाटै औपचारिक निणर्य गरेर माओ विचारधारा नमान्ने घोषणा गरेको थियो । माओवादी केन्द्रबाट अलग भएर नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा पुगेपछि डा. बाबुराम भट्टराईले आपूmले कम्युनिष्ट राजनीति छाडेको घोषणा गर्नुभएको थियो । उहाँले पुष्पकमल दाहाललाई पनि कम्युनिष्ट पार्टी छाडेर आउने भए एकता गर्न सकिने बताउनु भएको थियो । माओवादी राजनीतिबाट पलायन हुँदै एमालेमा पुग्नुभएका दाहालले त्यतिबेला माओवादलाई छाडेर एमालेको जनताको बहुदलीय जनवादलाई पनि स्वीकार गर्न सकिने बताउन थाल्नुभएको थियो भने उहाँले कतिपय सार्वजनिक कार्यक्रमहरुमा आपूmलाई धेरैले दोश्रो मदन भण्डारी भनेको कहानी पनि सुनाउनु भएको थियो । त्यतिबेला माओवादी केन्द्रसहितका तत्कालीन सत्तारुढ नेकपाका नेताहरुले सि जिन पिङ विचारधाराको पनि केही हप्ता प्रशिक्षण अभ्यास गर्नुभएको थियो । त्यसैगरी एमालेबाट माधव नेपाल र वामदेव गौतमहरुलाई फुटाउन सफल भएपछि माओवादी केन्द्र एमालेसँगबाट अलग भएर फेरि नेपाली कांग्रेससँगको कार्यगत एकतामा पुगेको छ । ०७७ फागुनमा एमालेबाट अलग भएपछि माओवादी केन्द्रले आफ्नो पहिलो बैठकबाटै पार्टीको नाम परिवर्तन गर्ने प्रयास गरेको थियो । तर नाम चयन भैसकेको थिएन । त्यतिबेला माधव नेपालहरु एमालेबाट औपचारिकरुपमा फुटेर आएपछि संयुक्त बैठक गरेर पार्टीको नयाँ नाम राख्ने प्रचार पनि गरियो । तर माधव नेपाल समूहले निर्वाचन आयोगमा एकीकृत समाजवादीका नाममा पार्टी दर्ता स्वीकृति पाएपछि माओवादी केन्द्रसँग तत्काल पार्टी एकतागर्न इन्कार गरेको थियो । अझै पनि माओवादी केन्द्रका कतिपय नेताहरु माधव नेपालहरुले मानेको खण्डमा सो समूहसँग पार्टी एकता गर्न तयार रहेको बताइरहनु भएको छ । यसबीचमा माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीलाई मिलाएर कम्युनिष्ट शब्दबिहीन समाजवादी पार्टीनै बनाउने बहस पनि भए । जुन बहस हालसम्म पनि यथावत छ । माओवादी केन्द्रको गत पुसमा भएको महाधिवेशनमा अध्यक्ष दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नु भएको समाजवादी शब्दको ब्याख्याले पनि सो पार्टी पुँजीवादी समाजवादको बाटोमा जान लागेको स्पष्ट गरेको थियो । जुन महाधिवेशनमा बोल्ने सुरेन्द्र कार्की र लेखनाथ न्यौपानेहरुले अध्यक्ष दाहालको समाजवादसम्बन्धी ब्याख्याको आलोचना गरेबाट पनि उपरोक्त कुराको पुष्टि हुन्छ । यही असारको गत चारगते उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा समाजवादी केन्द्र निर्माणको कोसिसमा रहेका दाहाल र डा. भट्टराईका बीचमा सोही विषयमा केन्द्रित भएर छलफल भएको समाचार बाहिर आएको छ । सो छलफल आगामी संसदको निर्वाचनलाई ध्यानमा राखेर गरिएको स्पष्ट छ । निर्वाचनमा नेकांसँगको सहकार्य र पाँच दलीय गठबन्धनलाई कायमराख्दै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाकाबीचमा समाजवादी केन्द्र बनाउने प्रयास भएको देखिएको छ । तर जसपाभित्रको संरचनाले गर्दा सो प्रयास सफलनै हुन्छ भन्ने छैन । समाजवादी केन्द्र बनाउनुको खास कारण नेपालमा समाजवाद स्थापना गराउनुभन्दा पनि आगामी निर्वाचनमा नेपाली कांग्रेससँगको बार्गेनिङलाई दरिलो बनाउनु हो भन्ने स्पष्ट छ । साथै यो कम्युनिष्टहरुबाट अलग हुँदै जाने अभियान पनि हो । माओवादी केन्द्रको अगुवाईमा बनाइने समाजवादी केन्द्र कम्युनिष्ट र खासगरी माओवादी राजनीतिबाट अलग भएको केन्द्र हुनेछ । होइन भने डा. भट्टराईहरु त्यसमा सहभागी हुने कुनै संभावना रहँदैन । पुष्पकमल दाहालले आफ्नो पार्टी माओवादी केन्द्रभित्र शुरु भएको तीव्र बिभाजन र फुटको संभावनालाई रोक्ने अन्तिम प्रयासस्वरुप पनि समाजवादी केन्द्रको अवधारणा ल्याउनु भएको देखिएको छ । अहिलेनै तीन पार्टी मिलाएर कुनै समाजवादी पार्टी बनाए पनि अथवा हाल समाजवादी केन्द्रका नाममा मोर्चाबन्दी गरेर अगाडि बढे पनि आखिरमा तीनवटै पार्टीका प्रमुख नेताहरुको प्रयास प्रजातान्त्रिक/लोकतान्त्रिक पुँजीवादी समाजवादी राजनीतिलाई अगाडि बढाउनु हो । जसले अलग्गै पार्टीको स्वरुप धारण गर्छ कि गर्दैन एकिनका साथ भन्न सकिने अवस्था छैन । यो समाजवादी केन्द्र इन्डो पश्चिमा राजनीतिको केन्द्र हुनेछ । जसको मुख्य उद्देश्य भनेकै इन्डो पश्चिमाहरुको नेपाल नीतिको कार्यान्वयन गर्नु/गराउनु हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत वामपन्थी देख्ने नेताहरुको दृष्टिदोषका कारण नेपालको कम्युनिष्ट आन्दोलन यति हदसम्म भाँडिन पुगेको हो । आश्चर्यको विषय के छभने आपूmलाई कम्युनिष्ट पार्टी बताएपनि नेपाली कांग्रेससँगको सहकार्यमा रहेको राजमो उर्फ मसाललाई अब बन्ने भनिएको समाजवादी केन्द्रका समाबेश गर्नेबारे कुनैपनि कुराहरु बाहिर आएका छैनन् । गत एमसीसी बिरोधी आन्दोलनमा सहभागी भएर पाँच दलीय गठबन्धन त्यागेको औपचारिक घोषणा गरेको राजमो भोलिपल्टै सोही गठबन्धनमा हाजिरगर्न पुगेको थियो । माओवादी केन्द्रको संयोजनमा बन्ने भनिएको समाजवादी केन्द्रमा राजमो पनि सहभागी हुने प्रबल संभावना छ । भएन भने पनि राजमो नेपाली कांग्रेससँगको सहकार्यमा भने रहिरहने छ । नेकपालगायतका नौ पार्टीभने समाजवादी केन्द्रमा सहभागी हुने कुनै संभावना छैन । त्यसैले उनीहरुले पनि तत्कालै वाम होइन कम्युनिष्ट केन्द्र नेपाल बनाउनेतिर आफ्नो प्रयास अगाडि बढाउनु जरुरी देखिएको छ । त्यसो भएको खण्डमा सही कम्युनिष्ट, सुधारवादी/अवसरवादी र दक्षिणपन्थी राजनीतिक शक्तिकाबीचमा नेपालको राष्ट्रिय राजनीतिमा त्रिपक्षनीय भिडन्त हुने छ । जसले नेपालको जनपक्षीय राजनीतिलाई सही बाटोमा अगाडि बढाउन सक्ने देखिन्छ ।