बृहत्् वाम एकता आजको मुख्य आवश्यकता

२०७९ असार २० गते, सोमबार

डा. केशव देवकोटा

नेपालमा बेलाबखत वाम एकताका कुराहरु हुनेगरेका छन्् । कतिपय अवस्थामा प्रयासहरु पनि हुन्छन्् । तर ती प्रयासहरुले सार्थकता पाउन सक्तैनन् । नेपालमा बृहत् वाम एकताले सार्थकता पाउन नसक्नुका अनेक कारणहरु रहेका छन्् । जसको समय सापेक्षा छलफल हुनसकेको छैन । हालै आएर मुख्यरुपले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘पूर्वमाओवादीहरुको एकता’को कुरा उठाउनु भएको छभने पूर्व एमालेका नेता वामदेव गौतमले ‘वाम एकता’को कुरा उठाउनु भएको छ । तर, दुबै नेताहरुले एकताका आधारहरुकाबारेमा खास बुँदाहरु अगाडि सार्नुभएको छैन । बिना आधार र बिना प्रयास कुनै पनि कुराहरु अगाडि बढ्न सक्तैनन् । त्यसैले यसलाई सार्बजनिक र बृहत्् छलफलको विषय बनाइनु आवश्यक छ । पूर्व माओवादीहरुको मात्र एकता भन्नेकुरा आफैमा विवादास्पद छ । किनकि यतिबेला पूर्व माओवादीका जति समूहहरु रहेका छन्् ती सबैमा अन्य कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुसमेत संगठित भएका छन्् । हाल माओवादी केन्द्र, नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा र क्रान्तिकारी माओवादीलगायतका सबै समूहमा तत्कालीन जनयुद्धमा भाग नलिएका अन्य कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको संख्या पनि उल्लेख्य छ । जसलाई दूधको दूध, पानीको पानी भने जसरी छुट्याउन सकिने अवस्था छैन । नेपालको हालको अवस्था र स्थितिमा पूर्वमाओवादीहरुका बीचमा मात्र एकता भनियो भने त्यो विभिन्न पार्टीमा कलह बढाउने कुरा मात्र हुन्छ । त्यसमाथि पनि पूर्वमाओवादीहरु समेत यतिबेला वैचारिक र सांगठानिकरुपमा बिभाजित छन्् । त्यतिबेलाको माओवादीको मुख्य नेतृत्व मानिएका अध्यक्ष पुष्पकमल दाहाल यतिबेला नेपाली कांग्रेससँगको सहकार्यमा रहनु भएको छ । उहाँले ०६३ को राजनीतिक परिवर्तनपछि संसदीय बहुदलीय ब्यवस्थालाई पूर्णरुपमा स्वीकार गरेको अवस्था छ । डा. बाबुराम भट्टराईले घोषितरुपमा नै कम्युनिष्ट राजनीतिलाई परित्याग गरिसक्नु भएको छ । उहाँ पनि प्रकारान्तरले नेपाली कांग्रेसलगायतका दक्षिणपन्थी पार्टीहरुको निकटमा पुग्नुभएको देखिन्छ । अर्कातिर नेकपा र क्रान्तिकारी माओवादी लगायतका केही घटकहरु वर्तमान ब्यवस्थाकै आमूल परिवर्तनको पक्षमा रहेका छन्् । उनीहरुले आफ्नो दस्तावेजमै माओवादी केन्द्रलाई दक्षिणपन्थी पार्टी भनेका छन्् । यस्तो अवस्थामा पूर्व माओवादीहरुको मात्र एकता असंभव छ । हालको अवस्थामा सो नारा दिनुभनेको भैरहेको एकतालाई पनि भाँड्ने कुरा मात्र हुन्छ । त्यसैगरी वामदेव गौतमले अगाडि सारेको वाम एकताको कुरा भावनात्मक मात्र देखिन्छ । किनकि पहिलो कुरा त उहाँ पूर्वएमालेका नेता हुनुहुन्छ । उहाँले यसअघि एमालेलाईमात्र दुई पटक विभाजन गराउने भूमिका खेलिसक्नु भएको छ । उहाँ समेतका कारण तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छिन्नभिन्न भएको अवस्था छ । अब त्यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जुनसुकै शक्तिले जतिनै जोड बल लगाए पनि पुरानै अवस्थामा पु¥याउन सक्तैन । दोश्रो कुरा वामदेवले हालै मात्र अलग्गै पार्टी गठन गरिसक्नु भएको छ । त्यसैले हालको आवश्यकता भनेको लचिलो खालको बृहत्् वाम मोर्चाको निर्माण नै हो । जसका लागि केही निश्चित आधारहरु तयार गरिनु जरुरी हुन्छ ।

नेकांसँगको कार्यगत एकताको अन्त्य ः वर्ग संघर्षको सिद्धान्तअनुसार नेपालका कम्युनिष्टहरुको मुख्य वर्गशत्रु भनेको हालको अवस्थामा नेपाली कांग्रेसनै हो । जसले राष्ट्रियरुपमा सामन्तवादी राजनीतिको प्रतिनिधित्व गरेको छ भने अन्तर्राष्ट्रियरुपमा भारतीय विस्तारवाद र अमेरिकालगायतको पश्चिमी साम्राज्यवादको समर्थन गरेको छ । नेकांले भारतको संस्थापन पक्ष भाजपासँग कार्यगत एकता गर्ने प्रयास गरेको छ भने नेपालमा अमेरिकाको नीति तथा कार्यक्रमहरु भित्र्याउन भरमग्दुर कोशिस गरिरहेको छ । हाल नेपाली कांग्रेसको नेतृत्वमा जुन सरकार रहेको छ, त्यसको निर्माण इन्डो पश्चिमा शक्तिको जोड बलमा भएको विभिन्न घटनाक्रमहरुले स्पष्ट गरिसकेका छन्् । त्यसैले वर्तमान सरकारले गर्ने भनेको इन्डो पश्चिमा शक्तिको नेपाल नीतिको कार्यान्वयन हो । जसमा जानेर वा नजानेर नेपालका केही कम्युनिष्ट समूहहरु पनि प्रयोग भैरहेका छन्् । त्यसैले नेपालको समग्र कम्युनिष्ट राजनीतिलाई सुधार गर्ने होभने हाल पाँच दलीय सत्ता गठबन्धनमा रहेका आपूmलाई कम्युनिष्ट पार्टी भन्न रुचाउनेहरुले यो वा त्यो बहाना नगरी गठबन्धन सरकारबाट बाहिरिनुका साथै नेकांसँगको सहकार्यलाई घोषितरुपमै अन्त्य गर्नु पर्दछ । त्यसपछि मात्रै सबै कम्युनिष्ट पार्टीहरुका बीचमा छलफलको संभावना देखापर्दछ ।

कम्युनिष्ट पार्टीका नेताहरुको सर्वपक्षीय छलफल ः संसदमा रहेका र नरहेका क्रियाशील कम्युनिष्ट पार्टीहरुका प्रमुखहरुको गोलमेच सम्मेलन आजका सन्दर्भमा अत्यन्त जरुरी विषय भएको छ । सबैले सबैको अस्थित्वलाई स्वीकार गर्नुपर्दछ र आआफ्ना दृष्टिकोणहरु खुल्लारुपमा बिना हिचकिचाहट राख्नु आवश्यक छ । किनकि आलोचना र स्वआलोचनालाई कम्युनिष्टहरुको मुख्य बैचारिक हतियार मान्ने गरिन्छ । माक्र्सवादी भएको नाताले कसैले कसैको आलोचना गर्न र सुझाव दिन डराउनुपर्ने आवश्यकता छैन । पार्टीहरुका बीचमा विभिन्न विचार र तर्कहरुको बहस भैरहेको हुन्छ । जसलाई ब्यवस्थित गर्ने भनेकै आपसी छलफल हो । यस्तो छलफललाई साँघुरो घेराबाट फराकतर्फ अगाडि बढाइनु पर्दछ । अर्थात शुरुमा ठूला भनिएका कम्युनिष्ट पार्टीका प्रमुखहरुका बीचमा थालिएको छलफललाई विस्तार गर्दै लगिनु पर्दछ । जसले तत्कालका लागि बृहत्् कम्युनिष्ट मोर्चाको निर्माणका आधारहरु तयार गर्ने छ । कम्युनिष्टहरु अन्तर्राष्ट्रियवादी हुनुका साथै कुनै अर्थमा पनि देशभक्त हुनै पर्दछ । यतिबेला नेपालका सन्दर्भमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको सवाल संसदवादी र गैरसंसदवादी कम्युनिष्ट पार्टीहरुकाबीचमा मोर्चागतरुपमा एक हुने आधार बन्न सक्तछ ।

वर्ग संघर्षमा आधारित राजनीति ः कम्युनिष्ट पार्टी र कम्युनिष्ट राजनीति भनेकै वर्गसंघर्षमा आधारित हुनैपर्दछ । वर्गसंघर्षका नियमबाट च्युतभएको कुनै पनि पार्टी कम्युनिष्ट हुन सक्तैन । वर्ग संघर्ष समाजको वर्ग बिश्लेषणका आधारमा हुने गर्दछ । तर नेपालमा पछिल्लो समयमा वर्गबिश्लेषणगर्ने प्रयाससम्म पनि भएको छैन । सबै पार्टीहरुले आआफ्नो किसिमले प्रधान र सहायक शत्रुको निर्धारण गर्नेगरेका छन्् । तुलनात्मकरुपमा नजिकको मित्र शक्तिसँग मिलेर शत्रु शक्तिमाथि जाइलाग्ने नीतिको कार्यान्वयन हुनसकेको छैन । पछिल्ला दिनको राजनीतिक बिश्लेषण अधिकांशत पूर्वाग्रहमा आधारित छ । त्यसैले कम्युनिष्ट पार्टीका प्रमुखहरुको भेलाले वर्गसंघर्षको राजनीतिलाई आ–आफ्नो पार्टीमा स्थापित गराउने प्रयास हुनु आजको प्रमुख आवश्यकता भएको छ । कम्युनिष्टहरुको विचारधारालाई निर्देशनगर्ने सैद्धान्तिक आधार माक्र्सवाद–लेनिनवाद भएका कारण हरेक कम्युनिष्ट पार्टीमा माक्र्सवादी सिद्धान्तका विश्वब्यापि मूल्य, मान्यता र आदर्शहरुको पनि ख्याल गरिनु आवश्यक छ ।

पुराना तिता–पिरा कुराहरुको अन्त्य ः २००६ सालमा गठन भएको कम्युनिष्ट पार्टीमा तेश्रो महाधिबेशनदेखि जुन टुटफुटको अवस्था आयो त्यसका पछाडि रणनीतिक नभएर कार्यनीतिक कुराहरु र विभिन्न नेताहरुका बीचको पूर्वाग्रह प्रमुख कारण रहेको छ । त्यसैले विभिन्न वाम पार्टीका नेताहरुका बीचमा आपसी तिताटर्रा कुराहरु पनि छन्् । जसले नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई नै नकारात्मक असर गरेको छ । जब हामी सबैभन्दा उत्कृष्ट समाज सेवा ‘राजनीति’ गर्न उद्यत छौ भने त्यस्ता तिताटर्रा कुराहरु मनमा संगालेर बसिरहनु हुँदैन । जसलाई आपसी छलफल र तर्क बितर्कका आधारमा निरन्तर हल गर्दै जानुपर्दछ । कम्युनिष्ट पार्टीका नेताहरुले आपूmले ठूल्ठूला सफलता हासिल गरेको तर अरुले केही नगरेको भनेर घमण्ड र अभिमान साँचेर बस्नुको कुनै अर्थ छैन । सबैले बिनम्रतापूर्वक अरुका कुरा सुन्ने र सही भएको खण्डमा धारणगर्ने साहस पनि राख्नुपर्दछ ।

तत्काल बृहत् वाम मोर्चाको निर्माण ः सबै कम्युनिष्टहरुको लक्ष समाजवाद हुँदै साम्यवादमा पुग्नु हो । साम्यवाद सर्वहारावादी विचार धाराको पूर्ण र नौलो सामाजिक व्यवस्था हो । जसको प्राप्ति सहज छैन । त्यसैले नेपालका सन्दर्भमा तत्कालका लागि लचिलो ढंगको बृहत्् वाम मोर्चाको गठन आवश्यक छ । जहाँ बेलाबखत उठ्ने कतिपय राजनीतिक सवालहरुका बारेमा खुल्ला दिलले छलफल हुन सकोस । कार्यनीतिक दृष्टिकोणमा बिबिधता रहे पनि राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डता तथा विदेशी हस्तक्षेपका विरुद्धमा सबै कम्युनिष्टहरु एक हुने आधारहरु तय होस् । यस्तो मोर्चा स्थापना हुन सकेको खण्डमा संसदवादीदेखि जनवादी कम्युनिष्टहरुले भौतारिनु पर्ने कुनै दरकार पर्दैन । पछिल्लो समयमा कतिपय कम्युनिष्ट पार्टीहरुमा सामन्ती र पुरातनवादी सोचहरु पनि बेलाबखत देखिने गरेका छन्् । कतिपय कम्युनिष्ट पार्टीहरु राष्ट्रियरुपमा नेपाली कांग्रेस र अन्तर्राष्ट्रियरुपमा इन्डो पश्चिमा शक्तिको प्रभावमा परेको देखिएको छ । जुन नेपालका सन्दर्भमा गलत प्रबृत्ति हो । पछिल्लो समयमा पूर्वमाओवादीको एकता, कम्युनिष्ट एकता र वाममोर्चाको निर्माणका कुरा गर्नेहरुले तत्कालै कम्युनिष्ट पार्टीहरुको गोलमेच सम्मेलनको आयोजना गरुन, त्यहींबाट सही मार्ग पत्ता लाग्ने छ र नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने छ ।

प्रतिक्रियाहरु

[anycomment]