जनयुद्धकालीन नेतृत्वमा देखिएको पतनः एक दृष्टि
जनयुद्धकालीन नेकपा माओवादीको मूल नेतृत्व भन्नासाथ स्वभाबैले पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईको नाम आउने गर्दछ । भलै त्यतिबेला अन्य नेताहरुको पनि भरपुर योगदान रहेको थियो । यतिबेला दाहाल र भट्टराई दक्षिणपन्थी राजनीतिक बाटोमा अगाडि बढिसकेको अवस्था भएकाले पनि बिभिन्न कोणबाट चर्चा हुनेगरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल गत केही बर्षदेखि निरन्तर नेपालको दक्षिणपन्थी राजनीतिको नेतृत्वदायी तथा कम्युनिष्ट बिरोधी पार्टी नेपाली कांग्रेससँगको सहकार्यमा रहनुभएको छभने डा. भट्टराईले घोषितरुपमै माओवादमात्र होइन कम्युनिष्ट राजनीतिनै परित्याग गरिसक्नु भएको छ । तर पनि दाहाल र डा. भट्टराईका बीचमा भित्री अन्तरसम्बन्धहरु कायमनै रहेका छन् । दाहाल र डा. भट्टराई दुबैले आफूहरुलाई ‘माओवाद’ मान्ने पार्टीका नेताहरुसँग टाडा बनाउँदै लगेको देखिएको छ । अन्य कम्युनिष्ट पार्टी र तिन्का नेताहरुको नामै किटेर सार्बजनिक मञ्चहरुबाटै बिरोध हुनथालेको छ । दाहाल ०७५ जेठ तीनगते आफ्नो पार्टीसहित एमालेमा समाहित हुनुभएको थियो । त्यसक्रममा माओवादको सिद्धान्तलाई औपचारिकरुपमै परित्याग गरियो । जनताको बहुदलीय जनवादको सिद्धान्तलाई अपनाउने अभ्यास हुँदैथियो भने सि जिन पिङ बिचारधाराको प्रशिक्षण लिने कामसमेत भएको थियो । त्यहाँ अध्यक्ष दाहाल एमालेजनहरुलाई माओवादी बनाउन नभएर माओवादीहरुलाई एमालेकरणगर्न जानुभएको स्पष्ट थियो ।

तत्कालीन नेकपा बिभाजनहुँदा रामबहादुर थापालगायतका कतिपय महत्वपूर्ण नेताहरु एमालेमै रहनु भयोभने तल्लो तहका धेरै नेता तथा कार्यकर्ताहरु एमालेमै रहँदा माओवादी केन्द्रलाई राजनीतिकरुपमा धेरै घाटा परेको अवस्था छ । एमालेका माधव नेपालहरुले फुटेर अर्कै पार्टी बनाए पनि कुनैपनि एमालेहरु माओवादी केन्द्रका संगठित भएनन् । कतिसम्म भने माधव नेपालहरुलेसमेत माओवादी केन्द्रसँग पार्टी एकतागर्न नमानेको अवस्था रह्यो । अध्यक्ष दाहालले एमालेसँग बिभाजित भएपछि सिद्धान्तनिष्ठ र जुझारु कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा नेकांसँग मिल्न पुग्नुभयो । उहाँको भित्री चाहना एमालेभन्दा पनि दक्षिणपन्थी बन्ने रहेका कारणले उहाँ नेकपालाई बिभाजन गरेर बाहिर निस्कनु भएको देखिएको छ । हिजो तत्कालीन नेकपाका अध्यक्षमध्येका एक केपी ओलीसँग पाइला पाइलामा बिमति राख्ने दाहाल आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हरक्षण रमाइरहनु भएको छ र अझै १५ बर्ष कार्यगत एकतागर्ने योजना बनाइरहनु भएको छ । उमेरका हिसावले झण्डै ७० निकट रहनु भएका दाहाल नेकांसँगको सहकार्यमा अबको १५ बर्षसम्म रहने होभने उहाँ ८५ निकट पुग्नुहुने छ । त्यसैले उहाँबाट अब नेपालको कम्युनिष्ट राजनीतिले आशागर्ने कुनै कुरा पनि बाँकी रहेन । राजनीतिकरुपमा पनि उहाँ देशीय समान्तवादको नाइके नेपाली कांग्रेस र अन्तराष्ट्रियरुपमा भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको निकट देखिनु भएको छ । नेपालका पूर्ब प्रधानमन्त्रिसमेत रहनु भएका दाहालले जसरी भारतमा पुगेर त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई उहाँको घरैमा पुगेर दुई घण्टासम्म एक्लै वार्तागर्नु भयो र हिन्दूवादी भारतीय जनता पार्टीसँग पार्टीगतरुपमा सहकार्यगर्ने भनेर लिखितरुपमै सहमति जनाउनु भयो, त्यसले पनि उहाँको खास संलग्नतालाई स्पष्ट गरेको छ । त्यसैगरी उहाँकोसमेत बिशेष पहलमा अमेरिकी योजना एमसीसी नेपालको संसदबाट नाटकीयरुपमा पारित भएको घोषणा गरियो । जसलेगर्दा नेपाल कानूनीरुपमै अमेरिकाको चंगुलमा परिसकेको छ । दाहालका पछिल्ला भ्रमणहरु पनि अमेरिकी छाता अन्तर्गत रहेका जापानलगायतका मुलुकमा हुनथालेका छन् । त्यसैगरी डा. भट्टराई उहँकै भनाईअनुसार नेपालमा यतिबेला केही अमूक राजनीतिक पद्धतिको प्रयोगकाक्रममा रहनु भएको छ । उहाँको आकर्षण पनि नेपाली कांग्रेसतर्फनै केन्द्रित छ । सत्तारुढ गठबन्धनमा फेरी छैठौं पार्टीकारुपमा सहभागी हुन गरेका उहाँका पछिल्ला जोरजुलुमले उपरोक्त कुराको पुष्टि गर्दछ । डा. भट्टराईको नेतृत्वमा खुलेको नयाँ दल नेपाल समाजवादी पार्टीले आगामी आम निर्वाचनमा बिचार र मुद्धा मिल्ने राजनीतिक शक्तिसँग तालमेल र एकतागर्ने निर्णय गरेको छ । त्यो भनेको नेकांलगायतका गैह्रकम्युनिष्ट पार्टीहरुसँगको एकताको कुरा हो । उहाँले नेपालको राजनीतिमा दुई तीनवटा प्रयोग गरिसकेको र अझ केही प्रयोगहरु गर्न बाँकी रहेको पनि सार्बजनिक कार्यक्रममार्फत बताउनु भएको छ । जीवनको उत्तराद्र्धमा उहाँले नेपाली राजनीतिमा थालेको प्रयोगले देश र जनतालाई कहाँ पु¥याउला ? त्यो हेर्न बाँकी छ । पछिल्ला कतिपय कार्यक्रमहरुमा डा. भट्टराईले माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि गैह्रकम्युनिष्ट पार्टी बनाएर आफूसँगै रहन तयार रहेको तर तत्काल आँटगर्न नसकेको बताउनु भएको छ ।
डा. भट्टराई र बामदेवलगायतका नेताहरुसँग समाजवादी केन्द्र बनाउने सन्दर्भमा भएको वार्तामा गैह्रकम्युनिष्ट पार्टी बनाउने प्रस्ताव आउँदा माओवादी केन्द्रका कतिपय नेताहरुले बिमति जनाएको समाचार त्यतिबेलानै बाहिर आएको थियो । यतिबेला माओवादी केन्द्रमा अध्यक्ष दाहाल नेतृत्वको दक्षिणपन्थी बिचार समूह र सही बामपन्थी बिचार समूहकाबीचमा नागरिकता, एमसीसीलगायतका हरकुराहरुमा मतान्तर देखिने गरेको छ । माओवादी केन्द्रमा बढेको तीब्र बैचारिक अन्तर्बिरोधले खास कम्युनिष्ट र दक्षिणपन्थी कम्युनिष्टहरुलाई ढिलो चाँडो बिभाजनमा पु¥याउने निश्चित छ । साथै जनयुद्धकालीन माओवादी पार्टीसँग सम्बद्ध हाल बिभिन्न समूहमा रहेका नेताहरुकाबीचमा त्यतिबेलाको नेतृत्वको दक्षिणपन्थी रुझानकाबारेमा बहस चल्नथालेको छ । त्यतिबेला भएका बिभिन्न फौजी कारवाही, ०६३ को राजनीतिक परिवर्तनले ल्याएका भनिएका बिभिन्न उपलब्धी, नेतृत्वको ०५२ साल देखिनै नेकांलगायतका दक्षिणपन्थी पार्टी÷शक्तिका कतिपय नेताहरुसँग रहेको भित्री सम्बन्ध र ०६३ को राजनीतिक परिवर्तन यता त्यतिबेलाको नेतृत्वले नेपालको कम्युनिष्ट आन्दोलन र राजनीतिलाई उचाल्दै पछार्दै गरेका गतिबिधिलगायतका बारेमा बहस हुनथालेका छन् । नेपालको अशली मालिक भारत भएको र नेपालका कम्युनिष्टहरु बिघटनमा पुग्छन् भन्ने भबिश्यबाणि गर्नेहरुका बारेमा पनि नयाँ ढंगले चर्चा परिचर्चाहरु हुनथालेका छन् । कतिपय नेताहरुले त माओवादी जनयुद्धको १० बर्षे अवधीको बिहङ्गम समीक्षाकै आवश्यकता रहेको बताउन थाल्नुभएको छ । जनयुद्धलाई उचाइमा पु¥याएर खसाल्ने काम किन भयो ? भन्ने प्रश्नहरु पनि उठेका छन् । नेकपा माओवादीले जनयुद्ध शुरुगर्दा तत्कालीन देउवा सरकार समक्ष संयुक्त जनमोर्चामार्फत पेश गरेका मागहरु दाहाल र भट्टराईले आफै सरकारको नेतृत्वमा पुग्दा किन पूरागर्नु भएन र आज किन देउवासँगै घाँटीजोड्दै हुनुहुन्छभन्ने पनि कतिपयको प्रश्न देखिएको छ । जसमा माओवादी केन्द्रको नेतृत्वसमेत सहभागी भएको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध (कम्युनिष्ट पार्टीले कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध) र हाल माओवादी केन्द्रसमेत रहेको पाँच दलीय गठबन्धनको सरकारले सोही नेकपाका नेताहरुमाथि जारीगरेको पक्राउ पूर्जीसमेतलाई जोडेर ब्याख्या र बिश्लेषण हुनथालेका छन् । हाल पाँच दलीय सत्ता गठबन्धनमा रहेका कतिपय कम्युनिष्ट नामधारी पार्टीका केही नेताहरुले दक्षिणपन्थी राजनीतिलाई अगाडि बढाउन जति प्रयास गरेका छन्, त्यतिनै कम्युनिष्ट शक्तिलाई सखाव बनाउन पनि प्रयास गरेको देखिएको मूल्यांकन हुनथालेको छ ।
तत्कालीन माओवादी जनयुद्धको नेतृत्वमा रहनुभएका डा. भट्टराईले कम्युनिष्ट राजनीति परित्यागगर्नुका साथै आफ्नै राजनीतिक जीवनलाईसमेत बिसर्जनको अवस्थामा पु¥याउनु भएको छ । उहाँले कम्युनिष्ट राजनीति छाड्दैमा अरुलाई केही फरक परेको छैन र पर्ने कुरा पनि होइन । त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि उत्तर र दक्षिणतर्फ फर्किएका दुईवटा बिपरित डुँगामा खुट्टा टेकेर नेपालको कम्युनिष्ट राजनीतिकासाथै आफ्नै राजनीतिक जीवनलाईसमेत दुर्घटनाउन्मुख बनाउनु भएको देखिएको छ । उहाँले पनि कम्युनिष्ट राजनीति छाडेको खण्डमा खासै फरकपर्ने केही छैन । तत्कालीन माओवादीको मूल नेतृत्व क्रमशः पतन हुँदैजानुको भित्री कारण र त्यसले नेपालको कम्युनिष्ट राजनीतिमा पारेको नकारात्मक असरका बारेमा समीक्षा आजको प्रमुख आवश्यक्तानै भएका छ । खासगरी तत्कालीन जनुद्धमा स्वयं सहभागी भएका नेता तथा कार्यकर्ताहरुले त्यतिबेलाको नेतृत्वको मूल्यांकन गरेर यथार्थ रहस्य नखोलेसम्म नेपालको कम्युनिष्ट आन्दोलन अपेक्षित ढंगले अगाडि बढ्न नसक्ने देखिएको छ । त्यस्तो समीक्षा गरेर कम्युनिष्ट पार्टीहरुले आफ्नो रणनीति र कार्य नीतिकाबारेमा नयाँ ढंगले सोच्नैपर्ने अवस्था सिर्जना भएको छ ।