देशभक्ति र त्याग कम्युनिष्ट राजनीतिको मूल आधार

२०७९ भाद्र १५ गते, बुधबार

डा. केशव देवकोटा

विश्वको कम्युनिष्ट आन्दोलन यतिबेला रक्षात्मक अवस्थामा पुगेको छ । कम्युनिष्टहरुको विचारधारालाई निर्देशितगर्ने मूल सैद्धान्तिक आधार माक्र्सवाद र लेनिनवाद हो । जसले संसारलाई अलौकिक नभई बस्तु तथ्यका आधारमा ब्याख्या र बिश्लेषण गर्ने प्रयास गर्दछ । आज विश्वमा पाँचवटा देशमा मात्र कम्युनिष्ट पार्टीले शासन गरेको अवस्था छ । विश्वका प्रायः सबै देशमा कम्युनिष्ट पार्टीहरु रहेका छन्् । तर, उनीहरुको विकास सत्ता कब्जा गर्नेग री हुन सकिरहेको छैन । कतिपय देशको शासन सत्तामा कम्युनिष्ट पार्टीहरु पुगे पनि उनीहरु देश र जनताका लागि नभएर आफ्नै निहित स्वार्थका लागि शासन सत्ताको उपयोग गरिरहेको देखिएको छ । प्रायमा संसदीय राजनीति र अन्तर्र्राष्ट्रिय शक्तिकेन्द्रतर्फ आकर्षण बढेको देखिन्छ । अन्तर्र्राष्ट्रिय मान्यता नै हो कि कम्युनिष्टहरु देशभक्त हुनै पर्दछ । देशभक्तिबाट बिचलित कम्युनिष्ट नेताहरुले देश र जनतालाई मात्र होइन आफ्नै पार्टीलाई समेत दुर्घटनामा पारेको र कतिपय अवस्थामा पार्टीलाई बिघटनमा पु¥याएको देखिएको छ । इतिहासलाई हेर्ने हो भने बिशाल चीनलाई मुक्त गराउने माओत्सेतुङ युवावस्थादेखि नै अत्यन्त देशभक्त हुनुहुन्थ्यो । उहाँ सन् १९१९–२० तिर माक्र्सवाद–लेनिनवादप्रति आकर्षित हुनुभएको हो । उहाँलाई आफ्नो देशभक्तिपूर्ण भावनाले गर्दा नै राष्ट्रियरुपमा सामन्तवाद र अन्तर्राष्ट्रियरुपमा पश्चिमा र साम्राज्यवाद विरोधी बनाएको पाइन्छ । देशभक्तिपूर्ण भावनाकै कारण माओका राजनीतिक विचारहरु विस्तारै बलियो हुँदै गएको र उहाँले बिशाल चीनलाई मुक्त गर्न सकेको देखिएको छ । उहाँले शुरुदेखिनै पार्टीमा अवसरवादी चरित्र र गतिविधिहरुलाई निषेध गर्नुभएको देखिएको छ । माओले शुरुदेखि नै किसानहरुलाई क्रान्तिकारी बनाउन र सर्वहारा बर्गका प्रयासहरुलाई समर्थन गर्न अभ्यस्त गराउनु भएको देखिएको छ । नेपालमा पनि हाल औद्योगिक मजदूरहरको कमी रहेको र कृषि मजदूर तथा सकुम्बासीहरुको संख्या बढिरहेका कारण नेपालका कम्युनिष्ट पार्टीहरुले आपूmहरुलाई कृषि पेशा र किसानहरुमा आधारित गराउनु उपयुक्त हुने देखिएको छ ।

माओले आफ्नो क्रान्तिलाई बिस्तारै चीनका करोडौं किसानहरुको शक्तिमा आधारित बनाउनु भएको पाइन्छ । किनकि उनीहरुनै सबैभन्दा बढी समस्याग्रस्त र राज्य पक्षबाट प्रताडित रहेका थिए । त्यसैले माओले उनीहरुमा सम्भावित ऊर्जा देख्नुभएको थियो । जसले गर्दा माओले किसानहरुमा नै सर्वहारा चेतना जगाउने र क्रान्तिका लागि उनीहरुको शक्ति प्रयोग गर्ने भूमिका निर्वाह गर्नुभएको थियो । यस क्रममा माओले सन् १९४० मै किसानहरुलाई सर्वहाराकरण गरेको देखिएको छ । जसले चिनियाँ क्रान्तिमा ठूलो योगदान गरेको थियो । सन् १९४९ मा चिनियाँ कम्युनिष्ट राज्यको निर्माणपछि, माओले समाजवाद निर्माणको स्टालिनवादी मोडेल अपनाउने प्रयास गर्नुभएको थियो । जुन बल र धक्कामा आधारित थियो । तर, सन् १९५० को दशकको मध्यमा उहाँका सल्लाहकारहरुले सो नीति सही नभएको सल्लाह दिएका थिए । परिणामहरुले माओलाई पनि उपरोक्त कुराको बोध भएको थियो । कठोर कम्युनिष्ट पार्टीको विकास असंभव ठहर गरिएको थियो । औद्योगिक विकास भएका कारण सोभियत संघमा स्टालिन शैली स्वीकार गरिए पनि चीनमा त्यो स्वीकार्य हुन सकेन । सन् १९५५ मा माओले कृषि सामूहिकीकरणको प्रक्रियालाई तीव्रता दिनुभएको थियो । त्यसपछि चीनमा परम्परागत पञ्चवर्षीय योजनाहरुमा परिमार्जन र चीनभरि साना उद्योगहरुको विकास संभव भएको थियो । शहरी मजदूरहरु पनि कृषि श्रममार्फत् किसानसँग जोडिन पुगेका थिए । माओले चीनमा क्रान्तिकारी उत्साह जगाउन र जनसंघर्षलाई नै मुख्यरुपले अगाडि बढाउन सकेका कारण कम्युनिष्ट पार्टी स्थापनाको छोटो अवधीमै सफलता र त्यसपछि देशको समग्र विकास संभव भएको थियो । सन् १९८० पछि पनि माओका प्रतिस्थापनहरुलाई नै समयसापेक्ष सुधारगर्दै अगाडि बढाइएका कारण चीन हालको अवस्थामा पुगेको देखिएको छ । सन् १९२२ देखि १९९१ सम्म पूर्बी युरोप, एशिया र अफ्रिकामा धेरै कम्युनिष्ट पार्टीहरु अग्रसर भएको देखिए पनि जो जसले माक्र्सवाद, लेनिनवादलाई आफ्नो देशको हावापानी र माटो सुहाउँदो (ठोस परिस्थितिको ठोस बिश्लेषणका आधारमा) रुपमा अगाडि बढाउन सके, उनीहरु मात्र दीर्घकालीनरुपमा अगाडि बढ्न सकेको देखिएको छ ।

कम्युनिष्ट पार्टीहरुले मुख्य त देशको आर्थिक प्रणालीलाई नियन्त्रण गर्नै पर्दछ । जसले सामाजिक र राजनीतिक कुराहरुलाई समेत सन्तुलन गर्न मदत गर्दछ । सन् १९४९ पछि चीनको मक्युनिष्ट पार्टीले देशको हर क्षेत्रमा यस्तो पकड कायम ग¥यो कि त्यसपछि विश्वमै चीनलाई रेड चाइना समेत भन्न थालिएको थियो । यसरी अगाडि बढेको चीनले सन् २००४ पछि निजी सम्पत्तिलाई मान्यता दिनुका साथै राजनीतिमा समेत द्वैध नीतिको अवधारणा अगाडि ल्याएको हो । हाल चीनमा अन्य राजनीतिक पार्टीहरु रहे पनि राज्य सञ्चालनमा चिनियाँ कम्युनिष्ट पार्टीको पकड कायमै रहेको छ । जहाँ हालसम्म पनि स्वदेशी उन्नति, प्रगति र आत्मनिर्भरतालाई प्रोत्साहन र विदेशी हस्तक्षेप, अन्तर्राष्ट्रिय ऋण तथा सहयोग र परनिर्भरतालाई निरुत्साहित र निषेध गरिएको छ । त्यसैगरी क्युवामा सन् १९५३ मा भएको क्रान्तिले फिडेल क्यास्ट्रोलाई सफलतामा पु¥याएको थियो । सन् १९६५ सम्ममा क्युबा एक पूर्ण कम्युनिष्ट देश भई सोभियत संघसँग घनिष्ठ सम्बन्ध विकास गर्न अग्रसर भएको थियो । त्यतिबेला नै अमेरिकाले क्युवालाई विभिन्न किसिमका प्रतिबन्धहरु लगाएर हतोत्साहितगर्ने प्रयास गरेको थियो । तर, क्युवाले पनि आपूmलाई कम्युनिष्ट शासन ब्यवस्थामा टिकाउन सफलता प्राप्त ग¥यो । सन् २०१६ मा फिडेल क्याष्ट्रोको निधन हुँदासम्म क्युवाले आपूmलाई कम्युनिष्ट राष्ट्रकारुपमा स्थापित गरिसकेको थियो । त्यसैगरी, उत्तर कोरिया सन् १९४५ सम्म कम्युनिष्ट देश बन्न सकेको थिएन । जब दक्षिण कोरियाले उत्तरबाट आफ्नोे स्वतन्त्रता घोषणा ग¥यो, त्यसलगत्तै उत्तर कोरियाले पनि आपूm सार्वभौम भएको घोषणा गरेको थियो । किम इल–सुङ नयाँ राष्ट्रको नेताकारुपमा स्थापित हुनुभएको थियो । उहाँले माक्र्सवाद, लेनिनवादमा आधारित आफ्नो देश सुहाउँदो जुचे (आत्मनिर्भरता) को अवधारणामा आधारित ब्यवस्थाको स्थापना गर्नुभयो । जसलाई सन् १९७० को दशकमा आधिकारिक राज्य नीति बनाइएको थियो । त्यसैका आधारमा उत्तर कोरिया आजसम्म विश्व शक्तिका सामु शिर ठाडो पारेर टिकेको छ । त्यसैगरी सन् १९७५ मा कम्युनिष्ट देश भएको लाओसको पनि आफ्नै बिशेषता रहेको छ । सन् १९७६ मा कम्युनिष्ट देशकारुपमा स्थापित भियतनामले पनि माक्र्सवाद, लेनिनवादको आलोकमा आफ्नै बिशेषताको राज्य ब्यवस्था अंगालेको पाइन्छ । आज पनि विश्वका बिभिन्न मुलुकमा कम्युनिष्टरु सत्तामा पुगेका छन्् । तर, उनीहरुले कम्युनिष्टहरुको राज्यसत्ता स्थापना गर्न सकेका छैनन् । संसारमा बहुदलीय संसदीय ब्यवस्थाका बिभिन्न मोडलहरुको विकास भएपछि र कतिपयले समाजवादको नारा दिएपछि कम्युनिष्टहरु पनि अल्मलिएको देखिएको छ ।

कम्युनिष्टहरुको लक्ष्य भनेको जनएकता, देशभक्ति र विकास हो । उनीहरु यस कुरामा अडिन सकेको खण्डमा अन्य विचारधारा भएकाहरुलाई पनि परास्त गरेर कम्युनिष्ट शासन ब्यवस्थाको स्थापना गर्न सकिन्छ । तर, संसदीय राजनीतिमा लागेका धेरै कम्युनिष्ट पार्टीहरु उपरोक्त कुराको ठीक बिपरित देखिएका छन्् । अन्ततः उनीहरुको पतन पनि भएको छ । कतिपय देशहरुमा त उग्र कम्युनिष्ट विचार राख्नेहरु अन्ततः दक्षिणपन्थी भाषमा परेका छन्् । नेपालमा पनि ०४६ को राजनीतिक परिवर्तनपछि देखिएको कम्युनिष्ट पार्टीहरुको रक्षात्मक अवस्था पतनको बाटोमा अगाडि बढेको छ । जसका लागि अब पुनर्गठन र पुनरविचार जरुरी छ । यतिबेलाको अवस्थामा भन्ने हो भने नेपालका धेरै कम्युनिष्ट पार्टी नाम मात्रका भएका छन्् । उनीहरुले माक्र्सवाद लेनिनवादमा आधारित नेपालीपनको कम्युनिष्ट राजनीतिको संयोजननै गर्न सकिरहेका छैनन् । माओवादको शब्दावली प्रयोग गर्नेहरुले त्यस अनुरुपको आचरण गर्न नसकेपछि आज जनतामा बिभिन्न किसिमका भ्रमहरुको सिर्जना भएको देखिएको छ । आज पनि चीनमा माओवादले मान्यता पाएको छैन बरु यसअघि प्रचलनमा रहेको माओ विचारधारलाई समयसापेक्ष बनाएर प्रयोगमा ल्याइएको देखिन्छ । शुरुमा पनि माओले अन्तर्राष्ट्रिय हस्तक्षेपकै बिरुद्ध लडेर विशाल चीनमा कम्युनिष्ट शासनको स्थापना गर्नुभएको थियो । आजका शासकहरुले पनि अन्तर्राष्ट्रिय खासगरी अमेरिकी हस्तक्षेप र षड्यन्त्रको सामना गर्नु परिरहेको छ ।

नेपालमा कतिपय कम्युनिष्ट पार्टीहरु देशीयरुपमा नेपाली कांग्रेससँग सहकार्यमा रहेका छन्् भने अन्तर्राष्ट्रिय रुपमा साम्राज्यवादलाई आमन्त्रण गरेको देखिएको छ । निरुद्देश्य देशका नाममा जति पनि ऋण र सहयोगहरु लिने काम भएका छन्् । देश निरन्तर पराधिन बन्दै गएको छ । कम्युनिष्ट पार्टीहरुका बीचमा बेमेलको अवस्था सिर्जना गरिएको छ । कम्युनिष्ट पार्टीका विश्वब्यापी मूल्य, मान्यता र आदर्शहरुकाबारेमा छलफलसमेत हुन छाडेका छन्् । अबका दिनमा नेपालका सही कम्युनिष्टहरुले एकसाथ देशीय सामन्तवाद र तिन्का दलालहरु, छद्मभेषी कम्युनिष्टहरु र भारतीय तथा अमेरिकी साम्रज्यवादका बिरुद्ध आफ्नो संघर्षलाई केन्द्रित गर्नुपर्ने भएको छ । पछिल्लो समयमा समाजवाद स्थापनाका सम्पूर्ण आधारहरुलाई समाप्त पारेर समाजवादको भ्रम दिने प्रयास पनि भैरहेका छन्् । यी आजका प्रमुख सोचनीय र छलफलका विषयहरु हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु