इतिहासका अनुभव र २१औ शताब्दीमा जनवादको विकास

२०७९ आश्विन १९ गते, बुधबार
सन्तोष बिष्ट


क्रान्ति र प्रतिक्रान्तिका प्रचुर अनुभवहरुद्वारा समृद्ध विश्वसर्वहारा आन्दोलनको वैज्ञानिक संश्लेषण गर्दै निरन्तर क्रान्तिको दिशामा अगाडि बढनु माक्र्सवाद – लेनिनवाद – मावोवादका शिक्षाको मुलभुत सारतत्व हो । हाम्रो पार्टीले नेपालमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनताको क्रान्तिलाई नेतृत्व प्रदान गर्ने सन्दर्भमा प्रारम्भदेखी नै मा. ले. मा. का शिक्षालाई जडसुत्रका रुपमा होइन, कामको सजिव मार्गदर्शक, का रुपमा सिर्जनात्मक प्रयोग र विकास गर्ने कुराजोड दिदै आएको छ । नेपाली क्रान्तिको ठोस परिस्थितिअनुसार मा.ले.मा.का शिक्षाहरुको प्रयोग र विकास गर्ने यो महान प्रक्रियामा हामिले दक्षिणपन्थी संशोधनवादका साथै जडसुत्रीय संशोधनवादका विरुद्धसमेत निरन्तर संघर्ष गर्दै आएका छौ । वर्गसंघर्षको आवश्यकतासंगै अभिन्नरुपले गरिएको विचारधारात्मक संघर्षको प्रक्रियाले एकीकृत जनक्रान्तिको विकासलाई एक पछी अर्को छलाङ्ग हान्दै पाँच सात बर्षको अवधिमा विकासको आजको चरणसम्म ल्यैपुत्याएको छ । वर्गसंघर्ष र विचारधारात्मक संघर्षको यहि विकास – प्रक्रियाले नै नेपाली क्रान्तिको विशिष्ट विचार – शृङ्खलाकारुपमा एकीकृत जनक्रान्ती को आविष्कार भएको संश्लेषण पार्टीले गरिसकेको छ ।

यहाँ कुन कुरा विशेषरुपले महत्त्वपूर्ण छ भने पार्टीले आफ्नो सैद्धान्तिक र व्यावहारिक संघर्षको प्रस्थान बिन्दु एकीकृत जनक्रान्तिको विज्ञानको सर्वोच्च संश्लेषणका रूपमा माक्र्सवाद – लेनिनवाद – माओवादको विकास गर्ने महान क्रान्ती एकीकृत जनक्रान्तिलाई बनाउदै आएको छ । यसको अर्थ प्रतिक्रान्तिलाइ रोक्ने सैद्धान्तिक आधारका रूपमा सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिलाई आत्मासात गर्नु तथा पार्टीको निरन्तर सर्वहाराकरणका निमित `तीन गर र तीन नगर´ को सैद्धान्तिक मान्यताका आधारमा वैचारिक संघर्षलाई अगाडि बढाउनु हो । यी मुलभुत सैधान्तिक मान्यताबाट कुनै पनि विचलन सर्वहारा आन्दोलनबाट विचलन हुने कुरामा हाम्रो पार्टी दृढ़ रहदै आएको छ । तर यसको अर्थ २१औ शताब्दीको क्रान्तिको आवश्यकताका सन्दर्भमा बनिबनाउ र पुर्ण उत्तरको जड अर्थमा यसलाई ग्रहण गरियो भने त्यो आफैमा मा.ले.मा. र एकीकृत जनक्रान्तिका शिक्षा बिपरित हुने कुरा संवत्: स्पष्ट छ ।

एकीकृत जनक्रान्तिसम्मको संश्लेषणले विश्वसर्वहारावर्गलाई मा.ले.मा.को सैद्धान्तिक हतियारले लैस अवश्य गराएको छ । तर क. माओको मृत्युपछि चिनमा पुजिवादको पुनस्थापना भयो र दुनियाँमा एउटा पनि समाजवादी सत्ता बाकी रहेन । यसबाट विश्वसर्वहारा आन्दोलनले बेहोरेको एउटा ठूलो धक्का र विश्वपरिस्थितिमा आएको एउटा ठूलो नाकारात्मक परिवर्तनलाई अस्वीकार गर्नु मनोगत विचलन मात्र हुने छ । वस्तुगतरुपले साम्राज्यवाद र सर्वहाराक्रान्तिको युग तथा क्रान्ति नै विश्वको मुल प्रवृति रहेको यथार्थमा कुनै परिवर्तन आएको छैन । यसको अर्थ सत्ताको संघर्षमा चिनमा प्रतिक्रान्तिसम्म आउँदा सर्वहारावर्गले ठूलो आत्मागत पराजय भोग्नु परेको यथार्थलाई अवमूल्यन गर्नु तथा ती पराजयहरुबाट शिक्षा लिएर भावी दिनमा हाम्रो पार्टी नेकपाले प्रतिक्रान्ती रोक्ने तयारीलाई आत्मासात गर्दै यहासम्म आइपुगेको छ । आजको विश्वक्रान्ती एवं कुनै निश्चित देशको क्रान्तिका सन्दर्भमा सर्वहारावर्गको राजनैतिक अग्रदस्ताका अगाडि एउटा ठूलो प्रश्नक रूपमा यसको जवाफ दिने आवश्यकता टङ्कारो रहेको छ ।
त्यसैगरी , आजको यो बदलिँदो प्रवेशसंगै विश्वमा विज्ञान र प्रविधि मुख्यतः इलेक्ट्रोनिक सूचना – प्रविधिमा अभुतपुर्व तिव्रताका साथ विकास भएको छ । यो अदभूत विकासले जसरी विश्वलाई विविधरुपमा प्रभावित पारेको छ, त्यसले अनिवार्यरूपमा सर्वहारा – क्रान्तिको राजनैतिक र फौजी रणनीतिमा परिमार्जन गरेर एकीकृत जनक्रान्तिको माग गरिरहेको छ ।

लेखक :नेकपा पाँचथरका सेक्रेटरी हुन् ।

प्रतिक्रियाहरु

[anycomment]