पुँजीवादको नयाँ संकट
निश्चय नै हामी हाम्रो विद्यमान परिस्थितिलाई फेर्न चाहन्छौँ । यसो भन्नुको सामान्य अर्थ के हो भने हामी बाँचेको आजको संसार शोषण, दमन, अन्याय, अत्याचार, विभेद र असमानतामा आधारित छ । यो तथाकथित सभ्यता आममानव प्राणीका लागि होइन कि एउटा निश्चित वर्गको नियन्त्रण र प्रभावअन्तर्गत हुने गरी रचना गरिएको छ । यसलाई राजनीतिक भास्यमा हामी पुँजीवाद भन्छौँ । यो पुँजीवाद पनि जसरी दुनियाँका सारा चीज, वस्तु र विचारहरु निरन्तर गति, परिवर्तन र अन्तर्विरोधमा छन्, त्योभन्दा पृथक छैन र हुने कुरा पनि भएन । यसो भन्नुको अर्थ आजको पुँजीवाद माक्र्स–लेनिन र माओको समयभन्दा नयाँ छ, फरक छ । माक्र्सको समयमा खासगरी युरोपमा औद्योगिक क्रान्ति भए देखि १९ औ शताब्दीको उत्तरार्धसम्म पुँजीवाद आपसी प्रतिस्पर्धामा आधारित थियो । नाफा र विस्तारित पुनरुत्पादनको सिलसिलामा यसले आफ्नो तत्कालिन प्रगतिशील चरित्र गुमायो र यो एकाधिकार पुँजीवादमा बद्लिन पुग्यो । यो समय १९औँ शताब्दीको उत्तरार्धको समय थियो । सन् १९१६ मा लेनिन ‘सामान्यवाद पुँजीवादको उच्च चरण’ नामक एक कालजयी रचना लेख्नु भयो । साम्राज्यवादको तत्कालिन चरित्रको व्याख्या गर्दै यसलाई पुँजीवादको बूढो र मरोणसन्न चरित्रको संज्ञा दिनुभयो । वैंकिङ पुँजी र औद्योगिक पुँजी एकआपसमा विलय भएर पैदा भएको पुँजीको नयाँ स्वरुपलाई वित्तीय पुँजीको रुपमा परिभाषित गर्नुभयो । बजार विस्तारको क्रममा जसरी औद्योगिक पुँजीवादी चरणमा मालहरुको निवेश (निर्यात) गरिन्थ्यो, त्यसको सट्टा अब पुँजी निवेश गरेर नाफा आर्जन गरिएको कुरा उल्लेख गर्नुभयो । साम्राज्यवादी देशहरुले आपसी प्रतिस्पर्धालाई रोक्दै नाफा प्राप्त गर्न विश्वको विभाजन र पुनर्विभाजन गरेको कुरा उल्लेख गर्नु भयो । लेनिनले पुँजीवाद अब साम्राज्यवादमा बद्लिसकेको कुरा तथ्यहरुद्वारा सिद्ध गर्नुभयो र यसका आधारमा रुसी क्रान्तिको बाटो तय गर्नुभयो र सन् १९१७ मा अक्टोबर क्रान्ति यो धर्तीमा अगाडि आयो ।
चिनियाँ नयाँ जनवादी क्रान्ति सन् १९४९ मा सम्पन्न हुनु अघि त्यहाँ कैयौ पटक प्रयोगमा ल्याइएका राजनैतिक र फौजी कार्यदिशाहरु असफल भएका छन् । माओले जब चिनियाँ समाजको वर्ग विश्लेषण गर्नुभयो र त्यसका आधारमा क्रान्तिको कार्यभार तय गर्नुभयो अनि क्रान्ति विजय भै छाड्यो । चीनमा विशेषतः सामन्ती उत्पीडन थियो तर साम्राज्यवादी अथवा दलाल पुँजीवादसँगको राष्ट्रिय उत्पीडनको समस्या पनि चर्को थियो । पश्चिमा साम्राज्यवादीहरु र विशेषतः जापानी साम्राज्यवादको राष्ट्रिय उत्पीडन थियो । स्वदेशी उद्योग कलकारखाना, प्राकृतिक सम्पदाहरुको दोहन गरेर चिनियाँ अर्थतन्त्रमाथि जापानी साम्राज्यावदको हालीमुहाली कायम थियो । माओले चिनियाँ समाजलाई मुक्त गर्न आन्तरिक रुपमा सामन्तवाद र नोकरशाही पुँजीवादी उत्पीडनलाई खत्तम गर्न मजदुर–किसान एकतामा आधारित वर्ग संघर्षको बाटो तय गर्नुभयो भने बाह्य रुपमा रहेको साम्राज्यवादबाट चिनियाँ समाजलाई मुक्त गर्न अथवा राष्ट्रिय स्वतन्त्र प्राप्त गर्न राष्ट्रिय औद्योगिक पुँजीपतिसहितको क्रान्तिको कुरा गर्नुभयो । अन्ततः साम्राज्यवादविरुद्धको संघर्षमा स्वदेशी देशभक्त र राष्ट्रिय पुँजीपति सम्मिलित नयाँ जनवादी क्रान्ति पूरा भयो । यो चिनियाँ समाजको मौलिकता र विशिष्ठतामा आधारित माक्र्सवादको ठोस प्रयोग थियो ।
हामीले जहिल्यै कुनै पनि परिवर्तन क्रान्तिका लागि आत्मगत र वस्तुगत परिस्थितिको सम्मिलनको कुरा गर्दै आएका छौँ । क्रान्ति सम्पन्न गर्न राष्ट्रिय परिस्थिति मात्र परिपक्व भएर हुँदैन अन्तर्राष्ट्रिय परिस्थिति पनि सापेक्षित रुपमा अनुकूल हुनुपर्ने हुन्छ । नेपालमा जसरी नब्बेको दशकबाट जनयुद्धको प्रारम्भ भयो, यो महान् र ऐतिहासिक थियो नै । तर, अन्तर्राष्ट्रिय परिस्थिति र साम्राज्यवादको फेरिएको चरित्रको विश्लेषण गर्ने सन्दर्भमा निकै कमजोरी र अपुगताहरु रहेको कुरा आजको आँखाबाट प्रष्ट देख्न सकिन्छ ।
तत्कालिन माओवादी जनयुद्ध मूलतः चिनियाँ समाजबारे माओले जसरी विश्लेषण गर्नु भएको थियो । चीन अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रको छ यस्तो देशमा सामन्तवादविरुद्धको जनवादी क्रान्ति र साम्राज्यवाद तथा अर्धउपनिवेशविरुद्धको राष्ट्रिय स्वाधीनताको क्रान्ति एकै पटक सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न गर्न सकिन्छ र त्यसको फौजी कार्यदिशा गाउँबाट शहर घेर्ने दीर्घकालिन जनयुद्धमा आधारित छापामार संघर्ष हुनुपर्छ भनेर जसरी माओले भन्नुभयो, त्यसको हुबहु प्रयोगभन्दा अलिकति माथि उठ्न सकेको भए नेपाली क्रान्तिको चित्र बेग्लै हुन्थ्यो तर त्यस्तो हुन सकेन र त्यो विश्वमा प्रयोग भइसकेको मोडललाई साम्राज्यवादले सजिलै दबाउन सक्थ्यो र भयो पनि त्यस्तै । चीन अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रको थियो तर नेपाल पनि अर्धसामन्ती र अर्धऔपनिवेशकि थियो तर नेपालका केही आफ्ना अतिरिक्त विशेषताहरु थिए । जस्तो कि चीनको भूगोल विशाल छ भने नेपालको सानो, नेपाल भू–परिवेष्ठित देश थियो तर चीन यस्तो थिएन । चीनमा साम्राज्यावदी उत्पीडन हुँदा त्यसको चरित्र प्रत्यक्ष उपनिवेश कायम गर्ने प्रकृतिको थियो । तर, दोस्रो विश्वयुद्ध पछि र खासगरी ८० को दशक पछि कुनै पनि शक्ति राष्ट्रहरु तेस्रो विश्वका देशमाथि प्रत्यक्षभन्दा पनि अप्रत्यक्ष उपनिवेश कायम गरेर शोषण गर्ने नयाँ नीतिका साथ अगाडि आएका थिए । नेपालको माओवादी जनयुद्ध यी बद्लिएका शोषणका नयाँ रुपहरुसँग कसरी विजयी हुने भन्ने कार्यक्रमको अभाव अथवा नयाँ वैचारिक संश्लेषणको अभावमा पराजय हुन पुगेको छ । यसलाई हामी दर्शनशास्त्रको भास्यमा विकसित वस्तु र पिछडिएको चेतनाबीचको अन्तर्विरोधको अर्थमा पनि ग्रहण गर्न सक्तछौ ।
आजको साम्राज्यवाद भनेको नवउदारवादमा आधारित पुँजीवाद हो । यो पश्चिमा देशहरुको अगुवाइमा सन् ८० को दशकयता शुरुवात भएको मानिन्छ र यो एक पटक फेरि संकटको भुमरी नजिकै पुग्दै छ । यसका खास केही अर्थराजनीतिक विशेषताहरु छन्, जस्तो कि आर्थिक अनुशासन कायम गर्ने, अनुदान कट्टी गर्ने, कर सुधार गर्ने र कराधार बढाउने, व्याजदर निर्धारणलाई बजारमा छोडिदिने, प्रतिस्पर्धात्मक विनिमयदर तोक्ने, व्यापार उदारीकरण गर्ने, विदेशी लगानीलाई खुल्ला गर्ने, सरकारी संस्थानहरुको निजीकरण गर्ने, नियमन घटाउने, आदि । यसको मुख्य मान्यता नै सबै कुराको निर्धारण बजारले गरिदिन्छ भन्ने हो । नेपालमा पञ्च्यातकालको उत्तरार्धमा २०४२ बाट शुरु गरिएको पाँचौँ पञ्चवर्षीय योजनामा यस प्रकारको अर्थनीतिमा प्रवेश गर्ने नीतिगत व्यवस्था गरियो, जतिवेला देशको अर्थमन्त्री प्रकाशचन्द लोहनी थिए ।
पुँजीवादमा एउटा निश्चित चरण पार गरिसकेपछि संकटहरु आइरहन्छ । त्यसलाई उनीहरु टे«ड–साइकल–व्यापार चक्त भन्छन् । यसलाई माक्र्सले पुँजीवादको आवधिक संकटको रुपमा सैद्धान्तिककरण गरेका छन्, जुन आजपर्यन्त अकाट्य सावित भएको छ । यसअनुसार नै सत्तरीको दशकमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि र मुद्रास्फीतिले जसरी पुँजीवादी विश्वमा ठूलो हलचल र संकट ल्यायो, त्यसलाई समाधान गर्न अर्थशास्त्री फ्रायडमेन, बेलायती प्रधानमन्त्री थ्याचर र अमेरिकी राष्ट्रपति रेगनको अगुवाइमा संरचनागत समायोजना कार्यक्रम ९क्तचगअतगचब िब्मवगकतmभलत एचयनचबm( क्ब्ए० ल्याइयो । नेपालले यसलाई पाँचौँ पञ्चवर्षीय योजनाबाट लागू गर्ने नीति लियो । यो नै हाम्रो आजको संकटको अर्थ राजनीतिक सन्दर्भ हो । संरचनागत समयोजना कार्यक्रमका बारेमा हाम्रा बुद्धिजीवि, लेखक, साहित्यकारदेखि वामपन्थी र क्रान्तिकारी धारामा समेत पर्याप्त अध्ययन, छलफल र विमर्शले स्थान नलिनु निकै दुखद् छ ।
समृद्धि, मन्दी, संकट र पुनरुत्पादनको निरन्तर चक्रअनुसार सन् २००८ मा पुँजीवादी विश्वमा आर्थिक संकट आयो । त्यसलाई उनीहरुले तत्कालिन अवस्थामा समाधान गरे । यो संकटको आधारभूत कारण र त्यसको परिणामहरु उही भए पनि यसका रुपहरु बद्लिन सक्छन् । अमेरिकी नेतृत्वमा विश्वव्यापीकरण गरिएको नवउदारवाद संकटको चरणमा प्रवेश गर्दै गैरहेको प्रष्ट देख्न सकिन्छ । र, यो संकटको अभिव्यक्ति इराक, सिरिया, अफगानिस्तान, हुँदै युक्रेन युद्धसम्म आइपुगेको छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व व्यापार संगठन जस्ता संस्थाहरुमाथि नियन्त्रण कायम गर्दै लागू गरिएको संरचनागत समायोजन कार्यक्रमको विकल्प र प्रतिस्पर्धामा चिनियाँ संस्थाहरु सतहमा आउन थालेपछि आजको साम्राज्यवाद युद्धको सहारा लिन पुगेको छ । संकटलाई टार्न उनीहरु हरेक प्रयत्न गर्छन् र त्यसैको पछिल्लो परिणाम हो– हिन्द–प्रशान्त रणनीति र योसँग सम्बन्धित अन्य सम्झौताहरु ।
यसरी साम्राज्यवादमा पुनः संकटको अवधी आउँदै छ, त्यसको भू–राजनीतिक दाउपेचमा नेपाललगायत साना देशहरु पर्न सक्ने खतरा पनि उत्तिकै छ । तर, हाम्रो आकाशमा खतराको बादल जतिसुकै मडारिएको भए पनि स्वाभिमानी जनताका आगाडि त्यो फिक्का भएर जाने निश्चित छ । पुँजीवाद रहेसम्म यसको गर्भमा अन्तर्निहित संरचनागत भु्रणले उब्जाइरहने आवधिक संकट जुन रुप र रंगमा आए पनि त्यो अस्थायी मात्र हुने छ ।