कम्युनिस्ट पार्टी, आर्थिक र आर्थिक नीति
कम्युनिस्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता हो । न्याय, स्वतन्त्रता र समानतामूलक सर्वहारा राज्यसत्ता स्थापनाको निम्ति संघर्ष गर्नु कम्युनिस्ट पार्टीको काम हो । निश्चय नै कम्युनिस्ट पार्टीको निम्ति आर्थिक र आर्थिक नीति दुवै महत्वपूर्ण कुरा हुन् । पार्टीका पूर्णकालीन नेता कार्यकर्ताहरुको रेखदेख, यातायात, बैठक, भेला सम्मेलन, संघर्ष र विधि कार्यक्रमहरु साथै कार्यालयको भाडा, कार्यालयको कर्मचारी खर्च तथा कार्यालयको सामान्य व्यवस्थापन आदिमा आर्थिकको महत्वपूर्ण भूमिका हुने गर्दछ । आर्थिकरुपमा पार्टीको स्थिति दरिलो भएमा सबै काम सहज ढंगले सम्पन्न हुने गर्दछन् तर आर्थिक अवस्था कमजोर भएको स्थितिमा विभिन्न समस्याहरु उत्पन्न हुनेगर्दछन् । वर्ग संघर्षको भिषण प्रक्रिया अर्थात युद्धरत अवस्थामा पार्टीको निम्ति आर्थिक झन् बढी महत्वपूर्ण चिज हुनेगर्दछ । युद्ध सामग्री उत्पादन गर्ने, खरिद गर्ने र योद्धाहरुको दैनिक उपभोग्य चिजको व्यवस्थापन तथा आकस्मिक उपचारको निम्ति पार्टीलाई बढीभन्दा बढी आर्थिकको आवस्यकता हुने गर्दछ । तर, एउटा क्रान्तिकारी पार्टीको निम्ति अर्थ कहिल्यै प्रधान चिज हुनसक्दैन ।
लेनिन भन्नुहुन्छ सिद्धान्तभन्दा ठूलो अरु केही पनि हुन् सक्दैन । लेनिन थप जोड दिँदै अगाडि भन्नुहुन्छ सिद्धान्तमा सम्झौता गरिएको र त्यसको तोडमोड गरिएको अवस्थामा सिद्धान्तको रक्षाको निम्ति पार्टी र पार्टीको अनुशासन पनि गौण चिज बन्दछन् । सिद्धान्त, विचार, दृष्टिकोण, राजनीति, संगठन र त्यसपछि बल्ल अर्थ क्रान्तिकारी पार्टीको मान्यता हो । क्रान्तिकारी पार्टीको सिद्धान्त, विचार, दृष्टिकोण, राजनीति र सङ्गठनात्मक नीतिले आर्थिक नीतिको कमाण्ड गर्दछ । तथापि आर्थिक नीति एउटा महत्वपूर्ण नीति हो, जसको प्रत्यक्ष प्रभाव सिद्धान्त, विचार, दृष्टिकोण, राजनीति, संगठनमा पर्दछ । “पैसा देखे महादेवको चार नेत्र” भनेझैं आर्थिक लालचले मान्छेलाई सिद्धान्त, विचार, दृष्टिकोणमा बिचलित बनाउछ । इमान्दारिता र नैतिकतामा अडिन मुस्किल हुन्छ । तसर्थ आर्थिक नीति ठिक भएमा पार्टीको क्रान्तिकारितामा कुनै शंका हुँदैन तर आर्थिक नीति बेठिक भएमा एउटा क्रान्तिकारी पार्टी अवसरवादी पार्टीमा परिणत हुन् लामो समय लाग्दैन ।
त्यसकारण कम्युनिस्ट पार्टीको निम्ति आर्थिक नीति एउटा सामान्य आर्थिक नीति मात्र हुन् सक्दैन । कम्युनिस्ट पार्टीको आर्थिक नीतिसँग सैदान्तिक, राजनैतिक, वैचारिक, सांस्कृतिक र सांगठनिक नीतिहरु स्वत जोडिएका हुन्छन् । पार्टीको आर्थिक संकलन, उत्पादन र वितरणको नीति क्रान्तिकारी या अवसरवादी के छ ? यो प्रश्नले निक्कै ठूलो महत्व राख्दछ । आर्थिक नीति ठिक छ भने सबै ठीकठाक हुन्छ तर आर्थिक नीति बेठिक छ भने सिद्धान्त, राजनीति, विचार, संस्कृति र संगठन सबैतिर बिचलन पैदा हुनेगर्दछ । चिनियाँ नयाँ जनवादी क्रान्तिपश्चात समाजवाद स्थापनाको क्रममा माओले समाजवादी उत्पादन प्रणालीमा जोड दिँदै गर्दा तेङ्ले पुँजीवादी उत्पादन प्रणालीमा जोड दिँदै बिरालोको काम मुसा मार्ने हो, यदि त्यसले मुसा मार्छ भने त्यसको रङ सेतो वा कालो हुनुले कुनै अर्थ राख्दैन भने अर्थात् माओले समाजवादी उत्पादन र वितरण प्रणालीले मात्र नयाँ जनवादी चीनलाई समाजवादमा पु¥याउने कुरा गरिरहदा तेङ्ले पुँजीवादी उत्पादन र वितरण प्रणाली अपनाएर चीनलाई पुनः दलाल पुँजीवादतिर नै फर्काउन चाहन्थे । यही बहसको क्रममा माओले भनेका थिए चीनमा समाजवाद वा पुँजीवाद कसले जित्छ त्यो सुनिश्चित भैसकेको छैन । अन्ततः महान् माओको निधनपश्चात पुँजीवादी उत्पादन र वितरण प्रणाली (पुँजीवादी आर्थिक नीति) अपनाउँदै तेङ्ले चीनमा पुँजीवादको पुनः स्थापना गरेर्रै छाडे ।
गलत आर्थिक नीतिको कारण पथभ्रस्ट हुँदै सैद्धान्तिक, वैचारिक र राजनैतिक तथा सांस्कृतिक र सांगठनिक रुपमा विचलन र विघटनका शिकार बनेका कम्युनिस्ट पार्टीहरु संसारमा अरु पनि थुप्रै छन् । त्यसका उदाहरण हेर्न धेरै टाढा गैरहनुपर्दैन यस्ता कैयौँ उदाहरण नेपालमा नै प्रशस्त छन् । “हर हालतमा आर्थिक संकलन र जुनसुकै मूल्यमा आर्थिक संकलन” को नीति निर्माण गरियो भने कुनै पनि कम्युनिस्ट पार्टी सिद्धिनुको निम्ति आईतवार पर्खनुपर्दैन । सैद्धान्तिक, वैचारिक र राजनैतिक स्पष्टता र ईमान्दारिता तथा सांगठनिक क्षमता, योगदान र विधि, पद्धति, प्रक्रियालाई उपेक्षा गर्दै केवल आर्थिक पहललाई नै नेतृत्व चयनको आधार मान्ने पार्टी कम्युनिस्ट पार्टी हुनै सक्दैन । कुनै व्यक्तिमा त्यस प्रकारका सोच, चिन्तन र व्यवहारहरु देखापर्दछन् भने त्यो गम्भीर प्रकारको आर्थिक बिचलन हो । र, सारमा त्यो अर्थवाद हो । अर्थवाद मालेमावाद सम्मत छैन यो मालेमावादको बिपरित कित्तामा उभिएको छ । अर्थवादीहरु अर्थबाहेक अरु केही देख्दैनन् । अर्थ कै निम्ति तिनीहरुले देश, समाज, वर्ग, पार्टी र क्रान्तिलाई घात गर्दछन् । तसर्थ त्यसप्रकारको अर्थ परस्त शोच, चिन्तन र व्यवहारहरुको लेनिनले उहिल्यै खारेज गर्नुभएको थियो । त्यस्तै कम्युनिस्ट पार्टीले आफ्ना सदस्यलाई नेतृत्वमा विकास गर्दा, जिम्मेवारी दिँदा सम्बन्धित पात्रको पृष्ठभूमि कार्य क्षमता, राजनैतिक स्पष्टता, सैद्धान्तिक दृढता, ब्यबहारिक ईमान्दारितालाई मध्यनजर गरेर गर्नुपर्दछ । तर, आर्थिक हैसियत राम्रो भएका शुभचिन्तक, समर्थक र पार्टी सदस्यहरुसँग पार्टीका कार्यकारी नेतृत्व अस्वभाविक ढंगले नजिक हुने र आर्थिक सहयोग लिने त्यसको बदलामा पार्टीको महत्वपूर्ण जिम्मेवारीको लिनदिन गर्ने गलत प्रवृतिको विकास हुनु कम्युनिस्ट पार्टीको निम्ति बिडम्वना हो । एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी सिद्धान्त, विचार, राजनीतिमा पतन र विघटन भएर पुँजीवादी प्रतिक्रान्तिकारी पार्टीमा परिणत हुनुको मुख्य कारण यो पनि हो ।
कम्युनिस्ट पार्टीले आन्तरिक लेवी, कोटा र उत्पादनलाई नै आफ्नो भरपर्दो आर्थिक श्रोत बनाउनुपर्दछ । त्योबाहेक कहिलेकाहीँ चन्दा सहयोगलाई पनि लिनुपर्दछ तर त्यो निश्चित समय र निश्चित प्रयोजनको निम्ति हुनुपर्दछ । कम्युनिस्टहरुले चन्दालाई नै बाँच्ने र चल्ने आधार बनाउनु हुँदैन । उद्योगी, ब्यापारी र आमजनतालाई वाक्कदिक्क हुनेगरी बाह्रैमास चन्दा संकलन गरेर हिँड्न कम्युनिस्टहरुको नैतिकताले दिँदैन । जनताले गरेको आन्दोलनलाई बिसर्जन गर्ने गरी होइन त्यसलाई झन् उचाइमा पु¥याउने योजनामा केन्द्रित रहेर आन्दोलनको आवश्यकतामा कहिलेकाँही पार्टीले दलाल, तस्कर र काला व्यापारीहरुबाट कर लिन सक्दछ । रास्ट्रिय पुँजीपतिहरु र साना, ठूला व्यापारीहरुबाट आर्थिक सहयोग लिन सक्दछ । तर, टोले गुण्डाहरुले हप्ता असुले झैँ कम्युनिस्टहरुले धम्काएर, तर्सार, फकाएर कहीँ, कतैबाट पनि नियमित÷अनियमित चन्दा उठाउनु हुँदैन । यस्ता गतिविधिलाई नियन्त्रण गर्नको निम्ति पार्टीले सुस्पस्त नीति निर्माण गर्नुपर्दछ ।
कम्युनिस्टहरुले रास्ट्रिय पुँजीपति, उद्योगी, ब्यापारी र आमजनतासँग पानी र माछिको सम्बन्ध राख्नुपर्दछ । उनीहरुलाई धम्काएर तर्साएर होइन सम्झाएर, बुझाएर नयाँ जनवादी क्रान्तिमा सँगै लिएर अघि बढ्नुपर्दछ । स्कुल, कलेजहरुमा दैनिक चन्दा माग्ने र हैरान पार्ने मात्र होइन, कम्युनिस्ट पार्टीका नेताहरुले स्कुल प्रशासनलाई पार्टीकै नाममा धम्क्याएर आफ्ना बालबच्चाहरुलाई महंगा निजी स्कुलहरुमा निशुल्क पढाउने संस्कारको विकास भैरहेको देखिन्छ । त्यस्तै कम्युनिस्ट पार्टी कै नेताहरुले विभिन्न सरकारी तथा गैरसरकारी संस्था, उद्योग, कलकारखानामा र कार्यालयहरुमा पार्टी कै नाममा धम्क्याएर आफ्ना आफन्त र आसपासका मान्छेलाई जागिर खुवाएको घटनाहरु पनि यदाकदा देखिन्छन् । यसप्रकारको गतिविधिले कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी वर्गको पार्टी जस्तो होइन लुटेरा र डाँकाहरुको जत्था जस्तो देखाउँछ । र, जनतामा कम्युनिस्ट पार्टीको बद्नाम गराउँछ । त्यसकारण कम्युनिस्ट पार्टीमा यसप्रकारका गतिविधिहरुको निरीक्षण र नियन्त्रणको नीति बन्नुपर्दछ ।
कम्युनिस्टहरु पारदर्शी हुनुपर्दछ यो कुरा आर्थिक प्रश्नमा पनि सत्य हो । कम्युनिस्टले आर्थिक अराजकताबाट आपूmलाई सधैँ बचाई राख्नुपर्दछ । आमजनता, उद्योगी, ब्यापारी वा जुनसुकै ठाउँबाट पार्टीको नाममा आएको रकम पार्टीको अनुमति बिना एक पैसा पनि व्यक्तिले खर्च गर्नुहुँदैन । कम्युनिस्ट पार्टीले आफ्ना सदस्यहरु उत्पादनसँग अनिवार्य जोडिने नीति निर्माण गर्नुपर्दछ । कम्युनिस्ट नेता, कार्यकर्ताहरुले पार्टी र क्रान्तिको कामलाई पेशा होइन स्वयंसेवाको रुपमा लिनुपर्दछ । छाक टार्नको निम्ति पार्टीको नाममा चन्दा उठाउने, यातायातको निम्ति पार्टीको नाममा चन्दा उठाउने, खल्ती खर्चको निम्ति पार्टीको नाममा चन्दा उठाउने काम गर्नुहुँदैन । त्यसप्रकारका समस्याबाट गुज्रिरहेका नेता, कार्यकर्ताहरु उत्पादन या रोजगारीमा जोडिनु पर्दछ । कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरुको आर्थिक जीवनशैली अत्यन्तै पारदर्शी हुनुपर्दछ । पार्टीमा कमसेकम केन्द्रिय सदस्यहरुको सम्पति विवरण केन्द्रित गर्ने नीति बन्नुपर्दछ । केन्द्रिय सदस्यहरुले आपूmलाई सैद्धान्तिक, वैचारिक, राजनैतिक र सांगठनिकरुपले मात्र होइन आर्थिकरुपले पनि पार्टीकरण गर्नुपर्दछ । उनीहरुले घर घडेरी जोड्ने, बैंक ब्यालेन्स गर्ने आदि, इत्यादि आर्थिक गतिविधि गर्दा श्रोत खुलायर अनिवार्य रुपमा पार्टीमा जानाकारी गर्ने नीति निर्माण गरिनुपर्दछ ।
उत्पादनसँग जोडिने र रोजगारी गर्ने क्रममा कम्युनिस्ट पार्टीका सदस्यहरुले समाजमा सम्मानित पेशा, ब्याबसाय र रोजगारीका कामहरु गर्नुपर्दछ । जनता, देश, समाज र पार्टी तथा क्रान्तिलाई नकारात्मक असर पर्ने पेशा, ब्यबसाय र रोजगारी कम्युनिस्ट पार्टीका सदस्यले गर्नुहुँदैन । अर्थोपार्जनकै निम्ति बिचौलिया बनेर दलाली गर्ने, तस्करी गर्ने, भ्रस्टाचारी गर्ने, काला बजारी गर्ने काम कम्युनिस्टहरुले कदापि गर्नुहुँदैन । कम्युनिस्टहरुले श्रम गरेर, मेहनत गरेर, पसिना बगाएर आर्थिक उपार्जन गर्नुपर्दछ । जुवा, तास खेल्ने, छाडा यौन लम्पट बन्ने, मद्यपान गर्ने र कुलतमा रम्ने कामदेखि कम्युनिस्ट पार्टीका सदस्यहरु निक्कै टाढा रहनुपर्दछ । र, आफ्ना सदस्यहरुलाई त्यसप्रकारका गलत चिजहरुबाट सतर्क राख्नको निम्ति कम्युनिस्ट पार्टी सधैँ सचेत हुनुपर्दछ ।
पैसो देखेसी ¥याल चुहाउने व्यक्ति कम्युनिस्ट पार्टीको नेता हुनै सक्दैन । त्यस्ता व्यक्तिले कुनै पनि दिन पार्टी र क्रान्तिलाई पैसोको पोकोसँग साट्ने सम्भावना सधैँ रहिरहन्छ । पार्टीमा पैसो आयपश्चात त्यो ल्याउने नेता, कार्यकर्ताको पिठ्युमा नेतृत्वले आँखा चिम्लेर धाप मार्नु राम्रो होइन । प्रायः त्यसो गरिन्छ र नै पैसो बोकेर नेतृत्वको घर चाहार्ने नेता, कार्यकर्ताहरु अझ उत्साहित हुने गर्दछन् । अनि तिनीहरुले थप बद्मासी गर्दछन् । पार्टी र क्रान्तिको थप बद्नाम गर्दछन् र संगठन ध्वस्त पार्दछन् । त्यो पैसो कहाँबाट कसरी आयो ? त्यो पैसोसँग कतै पार्टीको प्रतिष्ठा र क्रान्तिका सपना सातिएका त छैनन् ? यी प्रश्नहरुप्रति नेतृत्व गम्भीर सधैँ हुनुपर्दछ ।
अतः पुँजीवादी, पलायनवादी, बिचलनवादी र अवसरवादी प्रकारको आर्थिक नीतिले कम्युनिस्ट पार्टीलाई अन्ततः बुर्जुवा पार्टीमा परिणत गर्दछ । त्यसकारण कम्युनिस्ट पार्टीमा आर्थिक उपार्जन, संकलन र बितरणसम्बन्धी क्रान्तिकारी आर्थिक नीति निश्चित हुनुपर्दछ । र, त्यही क्रान्तिकारी आर्थिक नीतिको आधारमा कम्युनिस्ट पार्टीको आर्थिक गतिविधि संचालन गरिनुपर्दछ ।