दलालहरु दोहोरिने चुनाव औचित्यहीन

२०७९ कार्तिक २८ गते, सोमबार

लोमनकुमार सुनार ‘प्रतिबद्ध’

दलाल पुँजीवादी संसदीय व्यवस्थाको चुनाव अविर जात्रा देशभर चलिरहेछ । रङ्गीविरङ्गी झण्डाहरु लहरिरहेछन् ! थरीथरीका व्यानरहरु सज्जिरहेछन् । चाकर, गुलामहरुको लावालस्कर, अन्धभक्तहरुको उदण्ड जुलुस के गाउँ के सहर चारैतिर महामारी झैँ फैलिरहेछ । यसपालि नेताहरु सवार साइरन जडित गाडीहरूको कोलाहल, निक्कै टाढा सम्म सुनिन थालेको छ । चुनावी सभा र नाराहरुमा देशलार्ई सिङ्गापुर बनाउने सपनाको जालमा जनता पारिरहेछन् । नेताहरुको भट्किलो भाषण र कुटिल आश्वासनहरुमा निर्दोष जनताहरु अलमस्त भए पनि दलालहरु मगनमस्त छन् । पुरातन पार्टी र नेताहरुको भाषणमा सोझा जनतालाई वर्षौं लठयाउने धोकाका गुलिया नशाहरु छन् । भोट मागेर चुनिने नयाँ प्रपन्चहरु छन् । अनिकालले कंगाल भएका जनताहरु माझ करार गर्ने पापिष्टहरुका अनौठा जुक्तिहरु छन्, जालझेल र षड्यन्त्रहरु छन् ।

भूपरिवेष्ठित देशका जनता पाँच वर्ष अघि पानी जहाजमा सवार हुन आतुर थिए । तर, त्यो पानीजहाज खचाखच यात्रु भर्नै नपाई कतै सुख्खा वन्दरगाहमा अड्कीयो । अपसोस हाम्रो देशका क्याप्टेनहरुले गन्तव्यबिहीन सपनाको पानी जहाज चलाईरहे । केरुङ्गमा रेलको लिक विच्छाइएन र रक्सौलबाट पनि रेल भित्रिएन, न त काठमाडौँमा मनोरेल र वुलेट ट्रेनहरु चले, न त घरघरमा ग्यासको पाइपलाइन जोडियो । बरु ग्यासको अभावले बजार आक्रान्त भयो । जनताको आधारभूत दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडा र पेट्रोलियम पदार्थको मूल्य आकाशियो । देशमा रोजगारीको लहर चलेन दुखको कुरा खाडी जानेहरुको लाइनमा अर्को ताती थपियो ।

२०७४ संसदीय निर्वाचनमा संसदवादी पार्टीहरुले जनतालाई उर्दी गरे हामीलार्ई दुई तिहाइ बहुमत देउ हामी पाँच वर्ष सरकार चलाउँछौ । हामीलार्ई साथ देउ तिमीहरुलाई स्थिरता, शान्ति र समृद्धि दिन्छौं र सिंहदरवारको अधिकार गाउँगाउँ पु¥याउँछौँ । घरघरमा रोजगारी बढाउछौ । संसदीय निर्वाचन पछि बनेको कथित दुई तिहाइको दलाल पुँजीवादी सरकारले न अहिलेसम्म न शान्ति दिन सक्यो न स्थिरता, न विकास न त सुखी नेपाली र समृद्धि नेपालको सपनालाई नै साकार पा¥यो । बरु अशान्ति, अस्थिरता, अराजकता, भ्रष्टाचार, कमिसन, मूल्यवृद्धि, र काण्डै काण्डको लहर र जहर फैलियो अर्थात महङ्गीले वेगन्ती त्रासन्न र वेलगाम जनताको ढाड सेक्यो, यो क्रम आजसम्म चलिरहेको छ ।

यद्यपि दलाल पुँजीवादी संसदीय व्यवस्था र चुनावको रसस्वादनमा नामी पुराना पार्टीहरु मात्र होइन कथित लोकरिझिएताको लहरमा लहरिएका पत्रकार, सञ्चारकर्मी, कलाकार, इन्जिनियर, बुद्धिजीवि, निवृत्त सुरक्षाकर्मी, व्यापारी र राजावादीहरु सलबलाइरहेछन् । अर्थात तिनीहरुको उन्माद चुनावी जुलुस देशैभरी चलिरहेको छ । समाज विज्ञान र समाज व्यवस्थाबारे स्पष्ट ज्ञान राख्ने जोकोहीलार्ई पनि हेक्का हुनुपर्छ । मानव समाजको इतिहासमा आदिम साम्यवादी युगबाहेक कुन युग या व्यवस्था छ । जसले मानव जातिलार्ई शोषणबिहीन, धर्मबिहीन, जातबिहीन, स्वतन्त्र र समान जीवन ज्युन दियो । के पाँच सय वर्षदेखिको लुटेरा पुँजीवाद या आजको बदलिँदो भू–मण्डलीकृत पुँजीवादद्वारा मानव मुक्ति सम्भव छ ? अर्थात त्यसको संरक्षणमा बाचिरहेको दलाल पुँजीवादी व्यवस्थाद्वारा मानव जाति र नेपाली जनताको मुक्ति सम्भब छ ? यिनी प्रश्नहरुको भुमरीमा हरेक दिन सचेत र असचेतहरु अल्झिरहेका छन् ।

हेक्का रहोस् आँखा भएर पनि अन्धा, कान भएर पनि वैरा र गिदि भएर विवेकहीनहरुको विशाल जमात भूमण्डलीकृत पुँजीवादद्वारा निर्देशित दलाल पुँजीवादी संसदीय व्यवस्थाको चाटुकार मसिया नबन्नुहोस् किनकि दलाल पुँजीवादी व्यवस्था मिठाइमा मिसाइएको मन्द विष हो यो विस्तारै लाग्छ र यसले मानिसलाई लठ न बनाउँछ । दास, गुलाम र परनिर्भरताको खाडलबाट उम्कन दिँदैन । इतिहासले याद दिलाउँछ राणाहरुको शासन ढल्ने कुनै बेला कल्पना पनि गरिँदैनथ्यो सात सालको क्रान्तिले श्री ३ सरकार टाउकोमा घन बजारो सदाको लागि राणा शासनको अन्त्य भयो । छतीसको जनउभारले पन्चायती व्यवस्था तासको महल झैं ढल्यो । राजतन्त्रात्मक बहुदलीय व्यवस्थाले मधेसलार्ई चिनेन, कर्णालीलार्ई छोएन, सुदूरपश्चिमलार्ई अपहेलित ग¥यो, विभिन्न उत्पीडित वर्ग, लिङ्ग, क्षेत्रका दमितहरुको सुस्केरा सुनेन अनि त बन्दुकका मोहोरीहरुबाट सुषुप्त आवाजहरु मुखरित भए । राजतन्त्र इतिहासको विषय मात्र बन्यो । के दलाल पुँजीवादी व्यवस्था र त्यसले प्रत्येक पाँच वर्षमा गर्ने निर्वाचनले नेपाल राष्ट्र र नेपाली जनतालार्ई मुक्ति दिन सक्छ ? के दलाल पुँजीवादी संसदीय व्यवस्था र चुनावले अभाव, भोकमरी र गरीबीलार्ई टार्न सक्छ ? हेप्पिएका, दब्बिएका, थिच्चिएका हरेक वर्ग, जाति, लिङ्ग र क्षेत्रका नागरिकहरुको आधारभूत आवश्यकता र अधिकारको प्रत्याभूति गर्न सक्छ ? हजारौं वर्षदेखि शोषण र दमनको पिँधमा परेका महिला र दलित समुदायलार्ई आजाद गर्न सक्छ ? मानव विकास सूचाङ्कमा कर्णाली सबभन्दा पछिल्लो सुचीमा छ । तथ्यांकअनुसार कर्णालीको औसत आयु छोटो छ । आज नेपालको कर्णालीलगायत विकट प्रदेश र क्षेत्रका नागरिकहरु गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र जीवनका विविध आधारभूत आयामबाट बन्चित छन् । साथै राज्यको साधन र स्रोतहरुको न्यायोचित वितरणबाट पछि पारिएका छन् । के यसको समाधान दलाल पुँजीवादी व्यवस्था सँग छ ।

तसर्थ, नेपालको हरक्षेत्रमा दयनीय अवस्था भोग्न बाध्य दूरदराज बासीहरु विपन्नतम मुलुक र नागरिकको सुचीमा पर्छन् । के दलाल पुँजीवादी व्यवस्था र मंसिर ४ मा हुने संसदीय चुनावसँग यी सबै समस्याहरुको उठाउन र समाधानको कुनै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन वैज्ञानिक रणनीति छ ? धेरैलार्ई यसको जवाफ सोझै थाहा छ स्पष्ट रणनीति नै छैन । ल भन्नुहोस् नेपाली जनताले भाग्य र भविस्यको फैसला नहुने चुनावमा किन भाग लिने र दलालहरुलाई भोट हाल्ने ? के साचो अर्थमा संसदीय चुनाव नै व्यवस्था र अवस्था परिवर्तनको विकल्प हुनसक्छ ? बिल्कुलै हुन सक्दैन । तसर्थ दलालहरु दोहोरीने संसदीय चुनावसँग क्रान्तिकारी कम्युनिस्ट र श्रमिकहरुको कुनै सम्बन्ध र साइनो हुन सक्दैन । किनकि दलाल पुँजीवादसँग मानव मुक्तिको कुनै दृष्टिकोण र रोडम्याप नै छैन । यो श्रमजीविहरुको पसिना चुस्ने र विदेशी मालिकहरुको पाउमा पर्ने केही दलाल लेटेराहरुको व्यवस्था हो ।

आपूmलाई कथित बुद्धिजीवि ठान्नेहरु नै नयाँ–नयाँ दलालहरु भित्र्याउन दलाल पुँजीवादी संसदीय व्यवस्थामा लाहा छाप लगाउन तम्सिदै छन् । आजको युवा पुस्ताले यो कुरा ख्याल पर्छ । इतिहासले केही दिँदैन त्यसबाट पाठ नसिक्नेहरुलाई खाली सजाय मात्र दिन्छ । आन्टोनियो ग्राम्स्कीको भनाइ छ, सबै मानिस बुद्धिजीवि हुन् तर सबै मानिसले समाजमा बुद्धिजीविको काम गर्दैनन् । हाम्रो क्रान्तिकारी युवा पुस्ताले सचेतन र बुद्धिजीविको काम गर्दै समाजलार्ई क्रान्तिकारीकरण गर्नुपर्ने अपरिहार्यता छ । आजको बौद्धिक जागरण या क्रान्तिको केन्द्रीय काम भनेकै विशेषत क्रान्तिकारी कम्युनिस्ट र युवा पुस्ताले वैज्ञानिक समाजवादको यात्रा तयार गर्नु हो । त्यो दलाल पुँजीवादी व्यवस्थाको चिहानमाथि उभिएर मात्र सम्भव छ । त्यो यात्रा त्यति सहज छैन । परन्तु त्यो यात्रा ठूलो चुनौती र बलिदानको बीचबाट आरम्भ हुन सक्छ । त्यो सम्भब छ, जब वैज्ञानिक समाजवादको यात्रामा सिङ्गो जनता गोलबद्ध हुनेछन् । दलाल पुँजीवादी संसदीय व्यवस्था र चुनाव विगतका व्यवस्था झै इतिहासको विषय मात्र बन्ने छ । क्रान्तिकारीहरुको बल जोडमा सदाको लागि इतिहासको चिहानमा पुरिने छ ।

प्रतिक्रियाहरु

[anycomment]