आशंकाको घेरामा रवि–गगन साँठगाँठ
निर्वाचनको संघारमा रास्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गगन थापाको निर्वाचन क्षेत्र अर्थात् काठमाडौँ–४ बाट प्रतिनिधिसभामा निर्वाचन लड्ने तयारी गरेको भन्ने सुनिए तापनि अन्ततः उनले काठमाडौँ–४ छाडेर चितवन–२ पुगे । भनिन्छ, चितवन–२ का नेपाली कांग्रेसको उम्मेदवार उमेश श्रेष्ठले हेलिकप्टरको ब्यबस्था मिलाई केवल २० मिनेट मात्र चुनावी भाषणको निम्ति चितवन आइदिनुप¥यो भनेर गगन थापालाई १३ पटक फोन गरे तर गगनले वास्ता गरेनन् । काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये नौवटा निर्वाचन क्षेत्रमा रविको पार्टीले उम्मेदवारी दियो पाँच स्थानमा चुनाव जित्यो ४ स्थानमा सम्मानजनक उपस्थिति जनायो । तर, स्वयं रविले उम्मेदवारी दिने तयारी गरेको ४ नम्वर निर्वाचन क्षेत्रमा रविको पार्टीले उम्मेदवारी फिर्ता ग¥यो । कमजोर भनिएका र नपत्याइएका ठाउँमा रविको पार्टीले निर्वाचन जितेको छ भने समानुपातिकमा अस्वभाविक मत ल्याएको छ । यो स्थितिमा सहज आंकलन गर्न सकिन्छ पार्टी अध्यक्ष स्वयं रविले नै उम्मेदवारी दिने तयारी गरेको ४ नम्वर निर्वाचन क्षेत्रमा रविको पार्टीको उपस्थिति अवश्य कमजोर थिएन ।
हाल चितवन–२ वाट रवि र काठमाडौँ–४ वाट गगन सांसदको निम्ति विजयी बनिसकेका छन् । संसदमा दलहरुको उपस्थिति हेर्दा सरकार निर्माण गर्न र टिकाउन सहज छैन । ठिक यही परिस्थितिमा गगनले कांग्रेसको संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको निम्ति तयारी गरिरहेका छन् । रविले प्रधानमन्त्रीको निम्ति पुस्तान्तरणको माग गरिरहेका छन् अर्थात् ओली, देउवा र प्रचण्डलगायतका पुराना नेता होइन नयाँ युवा पुस्ताको मान्छे प्रधानमन्त्रीको निम्ति आएमा आफ्नो पार्टीको समर्थन रहने र सरकारमा समेत जाने कुरा गरिरहेका छन् ।
प्रतिक्रियावादी चुनावमा इमान्दारिता र नैतिकताको खडेरी हुनु अस्वभाविक होइन । चुनावमा घात÷प्रतिघात र अन्तर्घातका थुप्रै परिदृश्य देखिए । सत्ता गठबन्धनमा मात्र होइन, सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेस भित्रनै पनि नमिठो अन्तर्घात भएका देखिन्छन् । सुनिन्छ, चितवन–२, काठमाडौँ–६ र नवलपरासी पश्चिम–१ वाट गगनका विरुद्ध कांग्रेसमा अन्तर्घातको उजुरी परिसकेको छ । मान्छेहरु यो पनि भन्छन् काठमाडौँ–१ मा प्रकाशमान शिंहले गगनसँग सम्झौता गरेर निर्वाचन जिते, नत्र उनको पनि हालत काठमाडौँ–६ का भीमसेनदास प्रधानको जस्तै हुने थियो । शेखर कोइरालाको निर्वाचन क्षेत्रमा पनि रविको पार्टीको उम्मेदवारलाई गगनले नै साइजमा राखेको कारण शेखरले जित हात पारे, नत्र उनको पनि हालत खराव हुने कुरामा दुईमत थिएन । चितवन–२ मा पराजित कांग्रेस नेता उमेश श्रेष्ठले जनता जान्न चाहन्छन् टेलिभिजन संवादमा भनेको कुरालाई सत्य मान्ने हो भने कांग्रेसभित्रकै अन्तर्घातको कारण कांग्रेसका २१ जना नेताले निर्वाचन हारेका छन् । सत्ता गठबन्धनका सहयात्री दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि भनिरहेका छन् । उपत्यकालगायत कैयौ ठाउँमा कांग्रेसको गगन–शेखर समूहले घात ग¥यो । उनीहरु भन्छन् उपत्यकाको ललितपुर–३, काठमाडौँ–२, ६, ७, ८ र ९ मा गगन–शेखर समूहले रविको पार्टीलाई मतदान गर्न नेता, कार्यकता र मतदाताहरुलाई उत्प्रेरित ग¥यो । यी ६ वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन पराजित भयो । ६ निर्वाचन क्षेत्रमध्य ५ निर्वाचन क्षेत्रमा रविको पार्टीले र १ निर्वाचन क्षेत्रमा एमालेले जित हासिल ग¥यो । जहाँ एमालेले जित्यो त्यहाँको निकटम प्रतिद्वन्द्वी पनि रविको पार्टी नै बन्यो । यी तथ्यहरुले रवि–गगन साँठगाँठलाई राम्रैसँग पुस्टि गर्दछन् ।
गगनको उग्रकम्युनिस्ट विरोधी चिन्तन कुनै लुकेको चिज होइन । त्यही चिन्तनकै कारण अमेरिकी शासकहरुसँगको उनको हिमचिम बढ्नु अनौठो कुरा होइन । आफ्ना पुराना दलालहरुले उमेर, क्षमता वा विविध कारणले चाहे जस्तो परिणाम दिन नसकेको अवस्थामा आगामी लामो समयसम्म प्रयोग गर्न सकिने गगन जस्तो उग्र कम्युनिस्ट विरोधी युवातिर अमेरिकाले आँखा लगाउनु स्वभाविक हो । त्यस्तै अन्तर्रास्ट्रियतावादी कम्युनिस्टहरुको विरुद्ध लड्नको निम्ति गगनलाई एउटा सशक्त अन्तर्रास्ट्रिय शक्तिको खाँचो महसुस हुनु अस्वभाविक होइन । वास्तवमा यही दोहोरो स्वार्थको कारण अमेरिकी शाषक वर्ग र गगन बीच बिशेष सम्बन्ध स्थापित भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । एमसीसी सम्झौताप्रति गगनको चर्को र उत्ताउलो समर्थनले यही कुराको पुस्टि गर्दछ । एमसीसीको विरुद्ध ध्यानाकर्षण पत्र बुझाउने क्रममा हामीले पटक पटक भेट्ने कोसिस ग¥यौँ तर उनले हामीलाई भेट्न र ध्यानाकर्षण पत्र बुझ्न चाहेनन् । मैले उनलाई पटक पटक फोन गरेर भेट्ने समय मागें तर उनले विभिन्न बहाना गर्दै टार्दै गए । यत्ति मात्र होइन एमसीसी सम्झौता अनुमोदनसम्बन्धी संसद्को छलफलमा उनी अत्यन्तै तल झरेर नाङ्गो ढंगले एमसीसीको पक्षमा प्रस्तुत भए !
त्यस्तै रविले कुनै दिन नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकको हैसियतले लामो समय अमेरिकामा पत्रकारिता गरेका थिए । यहीबीचमा उनको कतिपय अमेरिकीहरुसँग हिमचिम बढ्यो । तीमध्ये कतिपय क्रिश्चियन धर्मसँग सम्बन्धित थिए भने कतिपय कम्युनिस्ट विरोधी राजनीतिसँग सम्बन्धित । जनआस्था मंसिर १४ मा उपेन्द्र गौतम, कोटेश्वर लेख्छन्– रविको कनेक्सन कम्युनिस्ट विरोधी अमेरिकाको ओपन सोसाईटीवाला जर्ज सोरससँग छ । उनले एमालेको हवाला दिँदै अगाडि लेख्छन् रवि अमेरिकी सहायता परियोजना एमसीसीको परिचालक तत्व भित्र पर्छन् । अमेरिकाबाट नेपाल आउँदा उनी यस्तै योजनाका साथ आएको भन्ने गरिन्छ । एमाले पार्टी कार्यालयमा केही एमाले नेताहरु बीच भएको कुराकानी भन्दै उपेन्द्र गौतम थप लेख्छन् सिआइएको गहिरो अध्ययनपश्चात अमेरिकी फ्रिडम पार्टीको सबै कुरा (पार्टीको नाम, झण्डा, झण्डाको रंग र चुनाव चिन्ह) हुबहु राखेर स्वतन्त्र नाममा रविको पार्टी दर्ता गराउने र उम्मेदवारहरु उठाउने काम गरिएको छ । एमाले अध्यक्ष केपी ओलीको रातोपाटीमा आएको एउटा बक्तब्यले पनि यही कुरा बताउँछ । जनआस्थाको त्यही अंकमा पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक मनोजकुमार कर्ण लेख्छन् ईसाईहरुले देशभर घन्टीमा मतदान गर्न सर्कुलर नै जारी गरे । यी तथ्यहरुको आधारमा भन्न सकिन्छ रवि पनि गगन जस्तै कम्युनिस्ट विरोधी कित्तामा दह्रैसँग उभिएका छन् । प्रश्न उठ्छ रवि–गगनको यो साँठगाँठ स्वतस्फुर्त, आकस्मिक र तात्कालिक हो या योजनावद्ध र दीर्घकालिन ? यसको रहस्य के हो ? यो साँठगाँठको अन्तर्यमा के छ ?
आज संसारभर अमेरिकी दवदवा कायम छ । अमेरिकी शासकहरु चाहन्छन् संसारमा एउटा पात पनि अमेरिकाको इच्छाबिना नहल्लियोस् । यद्यपि अमेरिकाको नाकै मुनिका कैयौ ल्याटिन अमेरिकी देशहरुमा कम्युनिस्टहरुले क्रान्ति सम्पन्न गरेका छन् । परन्तु अमेरिकी शासकहरुको निम्ति सधैँ टाउको दुखाईका विषय हुन् क्रान्तिकारी कम्युनिस्ट र वामपन्थी ! कुनै दिनका अमेरिकी शासक रोनाल्ड रेगनले आफ्नो कार्यकालमा संसारको एक ईञ्च जमिनमा पनि कम्युनिस्टहरु सत्तासिन हुन नदिने प्रतिज्ञा नै गरेका थिएअरे । त्यस अघि र पछिका सवै अमेरिकी शासकहरुले संसारभरका सबै कम्युनिस्ट सत्तालाई उल्ट्याउने र कम्युनिस्ट तथा वामपन्थी आन्दोलनलाई दमन गर्ने कैयौ कुचेस्टा गरे र गर्दैछन् । यो क्रममा अमेरिकाले विभिन्न रणनीति, कार्यनीति र कुटनीति अवलम्बन ग¥यो । कतिपय ठाउँमा नाङ्गो फौजी आक्रमण गरेर त कतिपय ठाउँमा आफ्ना दलाल उत्पादन गरेर अमेरिकाले आफ्नो अभिस्ट पुरा गर्ने प्रयत्न ग¥यो । भियतनाम, कोरियालगायत कैयौँ मुलुकमा त्यहाँका कम्युनिस्ट क्रान्तिकारीहरुका विरुद्ध अमेरिकाले आफ्नो सेना नै उता¥यो । चिली, पेरु, फिलिपिन, इन्डोनेशिया, बोलिभिया, निकारागुवालगायत कैयौ देशमा आफ्ना दलाल जन्माएर त्यहाँको कम्युनिस्ट आन्दोलन सखाप पार्न अमेरिकाले ठूलो प्रयत्न ग¥यो ! पेरुको साइनिङ्ग पाथ (क्रान्तिकारी) आन्दोलनलाई समाप्त पार्न अमेरिकाले आफ्नो दलाल फुजिमोरीलाई प्रयोग ग¥यो । त्यहाँ ‘डिनकोटे’ नामक संस्था नै खोलेर लिमामा अड्डा जमाएर सादा पोशाकका अमेरिकी सैनिक अधिकृतहरुले फुजिमोरी र उसका भिजिलान्तेहरुलाई प्रशिक्षित गरे । निकारागुवाको सान्डानिस्ता (वामपन्थी) आन्दोलनलाई खत्तम गर्न अमेरिकाले त्यहाँ ‘कोन्ट्रा’ नामक आपराधिक समूह जन्मायो र त्यसलाई उसले पालनपोषण मात्र होइन हतियारले नै सुसज्जित ग¥यो ।
नेपालको क्रान्तिकारी कम्युनिस्ट जनमतप्रति अमेरिका परिचित छ । साथै कुनै पनि दिन यहाँ कम्युनिस्ट सत्ता स्थापना हुन सक्ने कुरामा उ सधैँ चिन्तित पनि छ । त्यसकारण अमेरिकाले नेपालमा आफ्ना दलालहरु जन्माएर, नेपालका कम्युनिस्ट पार्टीहरुमा घुसपैठ गरेर, विभिन्न सहयोगको बहाना गरेर तथा सैन्य धमास दिएर यहाँको कम्युनिस्ट जनमतलाई ध्वस्त पार्न चाहन्छ । विगत लामो समयसम्म अनेकौँ प्रयासको वाबजुद अमेरिकाले आफ्नो निम्ति नापे–तौले जस्तो भरपर्दो दलाल भेट्न नसकेको सत्य हो । पछिल्ला केही समयदेखि आफ्ना दलालहरुको गतिविधिप्रति अमेरिका केही मात्रामा सन्तुस्ट नै देखिन्छ ।
कतै रवि–गगन साँठगाँठको रहस्य यही अमेरिकी स्वार्थसँग जोडिएको त छैन ? रवि–गगन साँठगाँठको अन्तर्यमा अमेरिका त छैन ? कतै रवि–गगन लेन्डुपदोर्जे, फुजिमोरी र जेलेन्स्की बनिरहेका त छैनन् ? रवि–गगनका संगठनहरु कतै ‘डिनकोटे’ र ‘कोन्ट्रा’ बनिरहेका त छैनन ? कतै नेपाल सिक्किम, पेरु, निकारागुवा र युक्रेन बनिरहेको त छैन ? यी र यस्ता थुप्रै प्रश्नैप्रश्नहरु र कैयौ आशंकाको घेरामा छ रवि–गगन साँठगाँठ ।