असफल राजनीतिक व्यवस्था र सरकार गठनकोे अभ्यास

२०७९ मंसिर २६ गते, सोमबार

डा. केशव देवकोटा

कम्युनिष्टहरुले संसदीय व्यवस्थालाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल’ भनेको भन्दै कतिपय दक्षिणपन्थी राजनीति गर्नेहरु खासगरी नेपालका कांग्रेसहरुले भन्ने गरेको सुनिन्थ्यो । जुन कहावत नेपालका कम्युनिष्टहरुले मात्र भन्ने गरेको नभई अन्तर्राष्ट्रिय प्रचलनमा रहेको भनाई हो । नभन्दै मंसिर चारको निर्वाचनपछि यहाँका संसदवादी दलहरु नेकां, एमाले र माओवादी केन्द्रले उपरोक्त भनाईलाई आफैँ पुष्टि गर्दै लगेका छन् । मंसिर चारको निर्वाचन भएर अधिकांश मत परिणामहरु सार्वजनिक भैसकेका छन् । यस पटकको निर्वाचनमा नेपाली जनताले कुनै पार्टीलाई पनि एकल सरकार बनाउन सक्नेगरी मत नदिएर ०६३ को परिवर्तनबाट स्थापित राजनीतिक व्यवस्था र त्यसका समर्थक दलहरु असफल÷अस्वीकृत भएको प्रमाणित गरेका छन् । नेका र माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरुले निर्वाचन अघि पनि सबैलाई समेटेर अगाडि बढ्ने प्रयास गरेनन् । गत निर्वाचनमा नेपाली जनतालाई विभिन्न किसिमका आश्वासनहरु बाँडेर मताकर्षित गरेका दलहरु मतपरिणाम सार्बजनिक भएलगत्तैबाट जनादेश बिपरित परिचालित हुन थालेको देखिएको छ । गत निर्वाचनका क्रममा नेपाली कांग्रेसको नेतृत्वमा रहेको चार दलीय गठबन्धनले निर्वाचनबाट आपूmहरुले नै बहुमत हाँसिल गर्ने र फेरि पनि सरकार गठन गर्ने दाबी गरेको देखिएको थियो । नेपाली जनताले मतदान गर्न नपाउँदै आपूmले आफैँलाई बिजयी हुने घोषणा गर्नु सरासर जनताको अपमान थियो । त्यही बारम्बार जनताको अपमान गरेकै कारणले होला सत्ता गठबन्धनका कुनै पनि घटकहरुले एकल बहुमत हासिल गर्न सकेनन् । त्यति मात्र होइन सत्ता गठबन्धनका सबै घटकको मत जोड्दा पनि स्पष्ट बहुमत आउन सकेको छैन । तर, पनि उनीहरु जनादेशको राम्ररी ब्याख्या र विश्लेषणसमेत नगरी धमाधम आ–आफ्नै चाहनाअनुसार सरकार गठन गर्ने अभ्यासमा लागेको देखिएको छ । नयाँ बन्ने सरकारमा कूल ८९ सिट रहेको नेपाली कांग्रेसदेखि ३२ सिट रहेको माओवादी केन्द्रले समेत प्रधानमन्त्रीको दाबी गरेका छन् । छ सिट मात्र प्राप्त गरेको जनमत पार्टी सरकार गठनमा आपूm निर्णायक भएको दाबी गर्दैछ भने एक सिट जितेको राष्ट्रिय जनमोर्चालाई पनि सत्तारुढ दल बन्ने चाहना बढेर गएको देखिएको छ । ७८ सिट जितेको एमालेले पनि आफ्नो नेतृत्वमा सरकार गठनका लागि प्रयास जारी राखेको देखिन्छ । नेकां र एमाले मिलेको खण्डमा १६७ सिटसहित दुई दलीय सरकार गठन हुनसक्ने देखिन्छ । अन्यथा तीनभन्दा बढी दल नमिलेसम्म सरकार गठन हुने कुनै संभावना छैन ।

नेकां र एमालेलाई मिल्न नदिन माओवादी केन्द्र बाधक भएको छ । घटनाक्रमहरुले आगामी सरकार गठन हुँदासम्म कतिपय पार्टीमा बिभाजन आउन सक्ने संकेत पनि गरेको छ । संसदवादी दलहरुमा देखिएको मुसा प्रबृत्तिले नेपालको राष्ट्रिय राजनीतिलाई निरन्तररुपले संकटतर्फ धकेल्दै लगेको छ । मंसिर चारको निर्वाचनको मिति घोषणा गरेसँगै नेकांका सभापति शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकार काम चलाउमा परिणत भैसकेको थियो । जसले आपूmलाई सबै दलको साझा चुनावी सरकारकारुपमा प्रस्तुत गरेको हुनुपथ्र्यो । तर, चुनावी सरकारका प्रधानमन्त्री आफैँ एकपक्षीय चुनाव प्रचारमा हिंडेको देखियो । त्यसैगरी माओवादी जनयुद्धको आधार क्षेत्रहरुमा लगेर माओवादी केन्द्रकै अध्यक्षमार्फत् नेपाली कांग्रेसको चुनाव प्रचार गराइयो । जसले गर्दा तुलनात्मकरुपमा नेकांको बढी मत आएको हो । सो घटनाले माओवादी केन्द्र आफैँ पछाडि धकेलियो । चुनावको घोषणापछि देशलाई दीर्घकालीनरुपमा असर गर्ने कुनै पनि निर्णय गर्नुहुने थिएन । तर, कामचलाउ भैसकेको चुनावी सरकारले त्यतिबेला पनि कामचलाउ भैसकेकै संसदबाट नागरिकता र मिडिया काउन्सिललगायतका अति महत्वपूर्ण बिधेयक आवश्यक प्रक्रियासमेत नपु¥याई फाष्ट ट्रयाकबाट पारित गराउने प्रयास गरेको थियो । मन्त्रिपरिषदबाटै पारित हुन सक्ने कतिपय महत्वपूर्ण विषयका निर्णयहरु गरिए पनि । हाल निर्वाचन भएर नयाँ सरकार गठन हुने मुखैमा पुग्दासमेत देशलाई दीर्घकालीन असर गर्ने कतिपय निर्णय गर्ने÷गराउने कामहरु भैरहेका छन् । हालै मात्र बर्तमान सरकारले विभिन्न बिलासिताका सामानहरुमाथि आफैँले गत बैशाखमा लगाएको प्रतिबन्ध फुकुवा गरेर उपरोक्त कुराको पुष्टि गरेको छ । यो एउटा ताजा उदाहारण मात्र हो । यस्ता अन्तरिम सरकारले गर्न नहुने अनगिन्ती निर्णयहरु भैरहेका छन् । मंसिर चारको निर्वाचनले दिएको जनादेश भनेको नेकां, एमाले र माओवादी केन्द्रलगायतका सबै दल अस्वीकृत भएकाले फेरि स्वतन्त्र र निष्पक्ष ढंगले नयाँ निर्वाचन गराउ भन्ने हो । होइन भने पनि नेकां र एमाले मिलेर सरकार बनाउने र माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दलकारुपमा भूमिका निर्वाह गरभन्ने हो । तर, सत्ता गठबन्धनका घटकहरु त्यो पनि राष्ट्रिय मान्यतासमेत पाउन नसकेका एकीकृत समाजवादीजस्ता दलहरु सरकारमा जान तम्सेका छन् भने ठूला भनिएका पार्टीहरु उनीहरुलाई लिएर सरकार बनाउन तम्तयार भएको देखिएको छ । ०४६ को राजनीतिक परिवर्तनदेखि नै बहुदलीय संसदीय व्यवस्था मान्दै आएका नेकां र एमाले मिलेर सरकार गठन गरेको खण्डमा आगामी पाँच वर्षका लागि टिकाउ सरकार बनाउन सकिने अवस्थालाई पनि मुख्यरुपले नेपाली कांग्रेसले उल्लंघन गर्न खोजी रहेको देखिन्छ ।

नेकांको रोजाईमा माओवादी केन्द्रलगायतका घटकहरु पर्नु देख्ने र सुन्नेहरुका लागिसमेत आश्चर्यको विषय भएको छ । हाल नेकांलगायतका दलहरुले गरेका कतिपय गतिबिधिले देशमा बिद्यमान संसदीय व्यवस्थाकै खिल्ली उडाउने काम गरेको छ । यसरी नेपालका संसदवादी दलहरु आफैँले संसदीय व्यवस्थाको खिल्ली उडाउने काम गरिरहेका छन् । उनीहरुका लागि विश्वमा प्रचलनमा रहेका संसदीय व्यवस्थाका मूल्य, मान्यता र आदर्शहरुको पनि कुनै महत्व भैरहेको छैन । संसदीय निर्वाचनमा भाग लिएका नेपाली जनताले दिएको जनादेशलाई पनि नमान्ने उनीहरुको चरित्रले ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ कहावतलाई पुनः पुष्ठि गर्ने काम गरेको छ । ०७२ को संविधानको खिलाफमा काम गर्नेहरुले नै आपूmहरुलाई संविधानको संरक्षक भनिरहेका छन् । पछिल्लो समयमा काठमाडौँमा रहेका मुख्यतः भारत र अमेरिकाका राजदूतहरुको चलखेल अस्वाभाविक ढंगले बढेर गएको देखिएको छ । उनीहरुले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रमुखहरुलाई पटक–पटक भेटेर नेपालको आन्तरिक राजनीतिमा चासो राखेको र नीति निर्देशन गरेको देखिएको छ । अमेरिका र भारतका कतिपय अधिकारीहरु निर्वाचन अवधीभरी नेपालमै रहेर आफ्नो चाहनाअनुसारको परिचालन गरेका समाचार बारम्बार सार्बजनिक भैरहेका छन् ।

हालैका दिनमा केही भारतीय अधिकारीहरुले नेकां नेतृत्वको बर्तमान सरकार फेरि पनि दोहोरिनु आफ्ना लागि कम्फर्टेबल हुने प्रतिक्रिया दिइरहेका छन् । हुन त ०७८ को असारमा वर्तमान सरकार गठन गर्नुअघि पनि माओवादी केन्द्रका अध्यक्षमार्फत् भारतका लागि कम्फर्टेवल सरकारको प्रशङ्ग उठेको थियो । पछिल्लो समयमा जे–जस्ता राजनीतिक दृश्यहरु देखिएका छन्, त्यसले नेपालमा फेरि पनि राजनीतिक परिवर्तनको चाहना बढेको स्पष्ट गरेको छ । कहिले एमाले र माओवादी केन्द्रलाई मिलाएर सरकार बनाउने र कहिले नेकां र माओवादी केन्द्रजस्ता पार्टीहरुलाई मिलाएर सरकार बनाउने कार्यले राजनीतिक अस्थिरतालाई काफि हदसम्म बढाउने काम गरेको छ । यसरी जबरजस्त राजनीतिक अस्थिरताको सिर्जना गर्नु÷गराउनुको मुख्य कारण नेपालमा विदेशी शक्तिलाई चलखेल गर्न सहज बनाउनु हो । आगामी दिनमा जुन दलका जुन नेताको नेतृत्वमा जतिवटा दल सम्मिलित सरकार गठन गरेपनि देशका जल्दाबल्दा समस्याहरुको समाधान हुने कुनै सम्भावना छैन । त्यसैले अब जनपक्षीय पार्टी र शक्तिहरुको एकता जरुरी बन्दैगएको छ । यो सबैले समयमा नै ध्यान दिनुपर्ने कुरा हो ।

प्रतिक्रियाहरु

[anycomment]