माओ जन्म दिवस र कम्युनिष्ट आन्दोलन
विश्व सर्वहारा वर्गका महान् नेता तथा विचारक माओत्सेतुङको १३० औं जन्म दिवस भोलि पुस ११ गते (डिसेम्बर २६ ) मा नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । सन् १८९३ को डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको सानो गाउँ शाओशानमा जन्मनुभएका माओत्सेतुङले ८३ वर्षको जीवनावधीमा आफैँले स्थापना गरेको कम्युनिष्ट पार्टीमार्फत् विशाल चीनलाई मुक्त र व्यवस्थित बनाउनु भएका कारण उहाँलाई राजनीतिक क्षेत्रमा प्रेरणको श्रोतकारुपमा लिने गरिन्छ । उहाँको निधन सन् १९७६ को सेप्टेबर नौमा बेइजिङमा भएको थियो । माओको जीवनकाललाई नियाल्ने हो भने उहाँ एक मध्यम किसान परिवारमा जन्मनु भएको थियो । उहाँको प्राथमिक शिक्षा स्थानीय प्राथमिक विद्यालयमा भएको देखिन्छ । त्यसपछि उहाँले हुनानको राजधानी चाङ्सामा थप अध्ययन गर्नुभएको थियो । खेती किसानीका साथ उहाँको अध्ययन र जीवनकाल अगाडि बढेको पाइन्छ । यसैक्रममा उहाँले सानैदेखि सामाजिक परिवर्तनको चाहना राखेर विभिन्न प्रयासहरु गर्नुभयो । उहाँको संगत शुरुमा काङ्ग युवेईजस्ता देशभक्त समाज सुधारकहरुसँग भएको थियो । त्यसैबाट उहाँको राजनीतिक जीवनको शुरुवात भएको देखिन्छ । त्यसैले होला उहाँले जीवनभर आफ्नो देशभक्तिको आदर्शलाई छाड्नु भएन । सन् १९१८ मा माओले सामान्य विद्यालयबाटै स्नातक गर्नुभएको थियो र त्यसपछि उहाँ बेइजिङ पुग्नुभएको थियो । जहाँ उहाँले बेइजिङ विश्वविद्यालयको पुस्तकालयमा न्यून वैतनिक कर्मचारीकारुपमा काम गर्दै विभिन्न राजनीतिक आन्दोलनहरुमा सहभागिता जनाउनु भयो । जुन पुस्तकालय उहाँका लागि जीवनको ठूलो पाठशाला बनेको थियो । त्यहींबाट उहाँले माक्र्सवादी दर्शनको अध्ययन गर्नुभयो र आपूmलाई क्रमशः कम्युनिष्ट पार्टीमा आबद्ध गराउनु भयो । १९२० सम्ममा उहाँले आपूmलाई माक्र्सवादी राजनीतिको बाटोमा अगाडि बढाइसक्नु भएको थियो । सन् १९२१ को जुलाईमा माओसहितको एउटा सानो समूहले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना गरेको थियो । पछि उहाँले विभिन्न क्रान्तिकारी र देशभक्त शक्तिहरुसँग संयुक्त मोर्चा बनाउँदै अगाडि बढेको देखिन्छ । उहाँले चीनमा किसान आन्दोलनलाई अगाडि बढाउनुका साथै उनीहरुलाई माक्र्सवादी शिक्षा प्रदान गर्नुभएको थियो । उहाँको शिक्षामा उत्पादन बढाउनेका साथै किसानलगायत श्रमजिवी वर्गको एकताका कुराहरु थिए । उहाँको त्यो प्रयासले चीनमा किसानहरुलाई देशको शासन ब्यवस्थाकाबारेमा आँखा खोल्नुका साथै परिवर्तनका पक्षम जुझारु बनाउँदै लगेको थियो ।
सन् १९२१ मा माओले बेइजिङ विश्वविद्यालयमै आफ्ना एक गुरुकी छोरी याङ काइहुईसँग विवाह गर्नुभएको थियो । जसलाई पछि सन् १९३० मा कुओमिन्ताङले मृत्युदण्ड दियो । पछि सन् १९३७ मा माओले चियाङ चिङसँग अर्को विवाह गर्नुभएको थियो । जुन विवाह जीवनपर्यन्त रह्यो । किसान आन्दोलन पछि गएर मजदूरलगायतका अन्य पेशागत पक्षहरुसँग जोडिदै गएको थियो । त्यसैगरी तत्कालीन चिनियाँ शासकहरुसँगको दूरी पनि टाढा हुँदै गएको थियो । माओले ग्रामीण क्षेत्रलाई आधार इलाका र प्रशिक्षण केन्द्र बनाउँदै शहरलाई घेर्ने नीति लिनुभएको देखिएको छ । उहाँको जीवनको मुख्य आदर्श भनेको देशभक्ति र विदेशी हस्तक्षेपको विरोधमा आधारित थियो । उहाँले सन् १९२० को दशकको अन्त र १९३० को शुरुवातमा रेड आर्मीको स्थापना र जियाङ्सी प्रान्तमा एक रक्षात्मक आधार क्षेत्रको विकासमा गर्नुभएको थियो । उहाँले ऐतिहासिक लङ मार्चपछिका वर्षहरुमा पार्टीलाई सुदृढ बनाउनु भएको देखिन्छ । चीन–जापान युद्ध र गृहयुद्धको समयमा माओको भूमिका निकै रचनात्मक र प्रभावकारी रहेको थियो । जसले उहाँको नेतृत्वको विकास ग¥यो । उहाँले पार्टी स्थापनाको २४ वर्षपछि १९४५ मा मात्र औपचारिकरुपमा पार्टी अध्यक्षको पद ग्रहण गर्नुभएको थियो । किसानमा आधारित पार्टी र त्यसैका आधारमा भएका छापामार युद्धहरु चिनियाँ कम्युनिष्ट पार्टीका सफलताका कारणहरु हुन् । सन् १९४९ मा जनवादी गणतन्त्र (पीआरसी) को स्थापनापछि विशाल चीनको अनुहार बदलिन शुरु गरेको हो । जसमा माओको अतुलनीय र चातुर्यपूर्ण योगदान रहेको पाइन्छ ।
जनमुक्ति आन्दोलनको सफलतापछि थालिएको भूमि सुधार, कृषिको सामूहिकीकरण र चिकित्सा सेवाको विस्तारलगायतका कुराहरु उल्लेख्य रहेका छन् । यसैक्रममा माओले १९५८ मा ग्रामीण विकासमा आत्मनिर्भर ‘ग्रेट लीप फर्वार्ड’ अभियानको जुन थालनी गर्नुभएको थियो, त्यसले चिनियाँ समाजलाई धेरै अगाडि बढाएको देखिएको छ । माओले सन् १९६६ मा थालनी गरेको महान सर्वहारा सांस्कृतिक क्रान्तिले चिनियाँ कम्युनिष्ट पार्टीलाई मजबुत बनाउन ठूलो योगदान गरेको थियो । जसले देशब्यापिरुपमा कम्युनिष्ट पार्टीको विस्तारका लागि आधार पनि तयार ग¥यो । सन् १९७१ मा माओको हत्या गर्ने प्रयास पनि भयो । १९७६ को सेप्टेबर नौमा बेइजिङमा माओको निधन भएपछि प्रतिक्रान्तिका प्रयासहरु पनि भएका थिए । जसमा देङ सियाओ पिङलगायत सक्रिय भएको देखिन्थ्यो । १९८१ को जुनमा भएको पार्टीको केन्द्रीय समितिले सन् १९५८ पछि माओको शासनको आलोचना गर्ने प्रस्तावलाई अनुमोदन समेत गरेको थियो । शुरुदेखि नै चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ क्रान्तिमा माक्र्सवाद र लेनिनवादको रचनात्मक प्रयोग गरेको देखिएको छ । जसले बल प्रयोगको रुसी मोडललाई कम र माक्र्सवादी शिक्षा र सम्झाइ–बुझाई गरेर विरोधी पक्षलाई पनि आपूmतर्फ तान्ने कलामा बढी जोड दिएको देखिएको छ । माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तहरुलाई चिनियाँ सन्दर्भमा लागू गर्ने प्रयासका क्रममा जेजस्ता विचारहरुको प्रयोग गरिएको थियो, त्यसलाई पछिल्लो पुस्ताले माओ विचारधाराका रुपमा ग्रहण गरेको छ । क्रान्तिको लामो प्रयासमा प्राप्त गरेका विभिन्न अनुभवको सारांश नै माओत्सेतुङ विचारधारा हो । माओले चिनियाँ समाज र वर्ग संरचनाको गहिरो विश्लेषण गरेर पार्टी संगठनलाई परिचालन गर्न सकेकै कारण छोटो समयमै विशाल चीनले आन्दोलनमा सफलता पाएको देखिएको छ । माओले पार्टीमा गरेको एकता, शुद्धिकरण, जनताकाबीचमा एकता र प्रतिक्रियावादी शासकहरुका बीचमा सिर्जना गराएको फुट जनमुक्ति आन्दोलनको सफलताका मुख्य आधारहरु हुन् । उहाँले निरन्तररुपमा पार्टीमा शुद्धिकरण र सुधार अभियानहरु पनि चलाउनु भएको देखिएको छ । जसले पार्टीमा देखिने गलत प्रबृत्तिको निर्मूलीकरण गर्ने काम गरेको थियो । सन् १९४५ को चिनियाँ कम्युनिष्ट पार्टीको सातौं राष्ट्रिय कंग्रेसले माओत्सेतुङ विचारधारालाई चीनमा एक मार्गदर्शक विचारकारुपमा स्थापित गर्नुका साथै पार्टीको विधानमासमेत समावेश गरेको थियो । सन् १९४६–१९४९ को जनमुक्ति आन्दोलनले माओत्सेतुङ विचारधाराको विकास गरेको देखिएको छ । जसले चीनको समाजवादी क्रान्ति र आर्थिक–सामाजिक विकासमा योगदान गरेको छ । सो विचारधारामा समाजवादी रुपान्तरण, जनताका मौलिक अधिकारहरुको स्थापना र विकास, जनताकाबीचमा दरो एकता, शत्रु पक्षको अन्तरविरोधलाई चर्काउने कला, जनताकाबीचको अन्तरविरोधको सही सञ्चालन, चीनको वास्तविक परिस्थितिसँग मिल्दो आर्थिक विकासको बाटो खोज्ने तरिकाहरुलगायत रहेका छन् । चीन आज पनि त्यही विचारधाराका आधारमा नयाँ परिस्थितिमा आधारित समाजवादी आधुनिकीकरणतर्फ अगाडि बढिरहेको छ । माओत्सेतुङ विचारधाराको मूलतत्व भनेकै सैद्धान्तिक अडान, समाजलाई हेर्ने दृष्टिकोण र जनपक्षीय कार्य विधिहरु हुन् । जुन कुरा विभिन्न देशको अवस्था र समयसापेक्ष हुन्छ । तथ्यका आधारमा सत्यको खोजी गर्नु माक्र्सवादको आधारभूत सिद्धान्तनै हो । जसले आफ्ना हरेक कामहरुमा यथार्थबाट अघि बढ्नुपर्छ, सिद्धान्तलाई व्यवहारमा मिलाउनु पर्छ र व्यवहारमा सत्यताको परीक्षण र विकास गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छ । जनतामा विश्वास गर्ने, जनताबाट सिक्ने र जनताकै लागि काम गर्ने कला पनि माओ विचारधाराबाट सिक्न सकिन्छ । जसले पार्टीलाई जीवन्तता प्रदान गर्नुका साथै र संघर्षलाई क्षमतावान् बनाउन मद्दत गर्दछ । कम्युनिष्ट पार्टीले जनस्तरमा जे–जति प्रयास गर्दछ, त्यतिनै त्यसको प्रभावकारिता र क्षमतामा बृद्धि हुन्छ भन्ने कुरा माओबाट सिक्नुपर्ने मुख्य शिक्षा हो ।
माक्र्सवादको प्रयोग देश र परिस्थितिअनुसार आ–आफ्नै ढङ्गले भएका छन् । सोभियत रुसमा झण्डै ७० वर्ष चलेको कम्युनिष्ट शासन माक्र्सवादी शिक्षामाभन्दा शत्रु सफाया गर्ने बल प्रयोगको नीतिलाई प्रमुखता दिँदा समाप्त भएको देखिएको छ । माओले पनि चीनमा रुसी मोडलको बल प्रयोगमा आधारित पार्टी संगठन र राजनीति गर्ने प्रयास गर्दा पार्टी पंक्ति भित्रैबाट विरोध भएपछि रोक्नुपरेको थियो । नेपालको छिमेकी भारतमा रुसी कम्युनिष्ट पार्टीका अनुभवका आधारमा भारतीय कम्युनिष्ट पार्टीको स्थापना भएको होे । नेपालमा भारतीय कम्युनिष्टहरुकै पहलमा कम्युनिष्ट पार्टी गठन भएको थियो । जसले माक्र्सवादी शिक्षालाई भन्दा बल प्रयोगको सिद्धान्तलाई बढी जोड दियो । फलतः यसमा विभाजन, फुट र असफलताहरु प्राप्त भएका छन् । छिमेकमा रहेर पनि नेपालले चिनियाँ मोडलको कम्युनिष्ट पार्टीको विकास गर्न सकेन । आज पनि नेपालको कम्युनिष्ट आन्दोलन भारतबाट बढी प्रभावित छ । नेपालका कम्युनिष्टहरुले माओ विचारधाराको नाम लिए पनि त्यसलाई नेपालको वस्तुस्थितिअनुसार प्रयोग गर्न सकिरहेका छैनन् । नेपालको कम्युनिष्ट आन्दोलनको असफलताको राम्ररी संश्लेषणसमेत हुन नसकेको अवस्था छ । माक्र्सवाद र लेनिनवादलाई आफ्नो देश, काल र परिस्थितिअनुसार प्रयोग गरेका कारणले आज चीन, उत्तर कोरिया र क्युवालगायतका सीमित मुलुकहरुमा मात्र कम्युनिष्ट पार्टीको शासन रहेको छ । अन्यत्र कम्युनिष्टका नाममा संशोधनवादी विचारधाराको प्रभुत्व बढेका कारण कम्युनिष्टहरुले एकपछि अर्को असफलता ब्यहोर्नु परिरहेको छ । नेपालका कम्युनिष्टहरुले मोहनबिक्रम सिंह, पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईलगायतको दक्षिणपन्थी राजनीतिमा भएको पतनलाई शिक्षाकारुपमा ग्रहण गर्नु पर्दछ । जसको ब्याख्या र बिश्लेषणबाट निस्कने निचोडअनुसार नेपालको समग्र कम्युनिष्ट राजनीति र पार्टीको पुनर्गठन आजको प्रमुख आवश्यकता भएको छ । माओ दिवसका सन्दर्भमा सबैले यस पक्षमा ध्यान दिनु आवश्यक छ ।