अवसरवाद नेपाली राजनीतिको महारोग
विचारको राजनीतिको अन्त्य भएपछि जहाँ पनि र जहिले पनि अवसरवादी नीतिको शुरु हुन्छ । खासमा अवसरवाद कुनै राजनीति नै होइन । यो केवल तिकडमबाजी र राजनीतिको बिकृत रुप मात्रै हो । जसले देश र जनतालाई होइन केही सीमित र अवसरको खोजीमा रहेकाहरुलाई मात्र लाभ दिलाउने काम गर्छ । पछिल्लो समयमा नेपालमा त्यही भएको छ । ०७७ फागुन २३ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई भंग गर्दै एमालेसँगको सहकार्यबाट एकाएक नेपाली कांग्रेससँगको सहकार्यमा पुगेकाहरु दुई वर्ष पनि नपुग्दै एकाएक फेरि नेपाली कांग्रेससँगको सहकार्य छाडेर एमालेसँगकै सहकार्यमा पुगेका छन् । एमालेलाई छाडेर नेपाली कांग्रेससँग पुग्नासाथ त्यसलाई बाम–प्रजातान्त्रिक मोर्चा नामाकरण गरेर १५ वर्षभन्दा बढी समयसम्म टिक्ने भन्न थालिएको थियो भने अब फेरि नेकांलाई छाडेर एमालेसँगको सहकार्यमा पुग्नासाथ त्यसलाई वाममोर्चाको नामाकरण गर्ने प्रयास भैरहेको छ । फेरि माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीका बीचमा पार्टी एकता गर्ने र पुरानै नेकपालाई ब्युँताउनेसम्मका प्रचार हुन थालिसकेका छन् । यथार्थमा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादी तीनवटै संसदवादी पार्टी मात्र हुन् । उनीहरुमा कम्युनिष्ट पार्टीको विश्वब्यापि विचार, मूल्य÷मान्यता र आदर्श कुनै पनि बाँकी रहेको छैन । उनीहरुका बीचमा एकता हुनु र नहुनुको नेपाली जनताका लागि खासै अर्थ पनि छैन । किनकि फेरि मौका मिल्नासाथ माओवादी केन्द्र वा एमाले नेपाली कांग्रेससँगको सहकार्यमा पुग्न सक्तछन् । जसको भित्रभित्र प्रयास भैरहेका समाचारहरु बाहिर आएका छन् । नेपाली कांग्रेसले एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको अफर गर्दै आपूmले समर्थन गर्ने जनाउ दिएको भनिएको छ भने माओवादी केन्द्रलाई फेरि एमालेको साथ छाडेर आएको खण्डमा प्रधानमन्त्रीमा समर्थन गर्ने जनाउ आउन मात्र बाँकी छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादीलाई पनि वर्तमान सरकारमा सहभागी गराउन प्रयासरत रहेको छ भने एमालेले सो समूहलाई फेरि आफ्नै पार्टीमा भित्र्याएर संसदको सबैभन्दा ठूलो पार्टी हुने सपना देखिसकेको छ । केही नेताहरुको प्रयास तीनवटै समूहलाई मिलाएर एकल सरकार बनाउने र सत्ता राजनीतिमा अन्यलाई छिर्ने नदिनेमा समेत केन्द्रित हुन थालेको छ । यो समाचार सुनेर बर्तमान सरकारमा सहभागी भएका र बाहिरबाट समर्थन गरिरहेकाहरुको मनस्थिति कस्तो बनेको होला ? त्यो विचारणीय प्रश्न छ । अवसरवाद व्यक्तिवादमा आधारित हुने भएकाले यो व्यक्ति वा समूहको स्वार्थमा केन्द्रित रहेको हुन्छ । जसका कुनै सीमा, अनुशासन र छेकबार केही पनि हुँदैनन् । खासगरी संसदीय राजनीतिमा यसको गुञ्जायस रहन्छ । अरुले राजनीतिलाई विचारको खेल मान्ने गर्दछन् भने संसद्वादीहरुले सम्भावनाको खेल मान्ने गर्दछन् । त्यसैले संसदीय व्यवस्थालाई ‘खसीकको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था’ भनेर आरोपित गरिएको हुनसक्छ । ०७६ पछिका सञ्चार माध्यमका फाइलहरु खोलेर हेर्ने हो भने ती सञ्चार माध्यमहरु एमाले र माओवादी केन्द्रका नेताहरुको गालीगलौजले भरिएका पाइन्छन् । जसमा यति निकृष्ट शब्दहरुको प्रयोग भएको छ कि त्यसलाई यो आलेखमा स्थान दिनै नसकिने अवस्था छ । ‘कुहिएको आलु र अण्डा’का उदाहरणहरु धेरै पटक प्रयोग गरिएका थिए । कसैलाई कसैको नाम उच्चारण गर्दा पनि मुख कुल्ला गर्नुपर्ने अवस्था थियो । आज तिनै नेताहरु सत्ताका लागि फेरि एक भएका छन् । समाजमा कुनै पनि पक्षकाबीचमा एकता हुनु राम्रो हो । तर, त्यो एकता कृत्रिम र स्वार्थपरक हुने गरेकाले मात्र सर्वसाधारणलाई पिरोलेको हो । हाल एमाले र माओवादी केन्द्र जसरी एकाएक मिले, त्यो मिलाई पनि केवल स्वार्थको मात्र हो भन्ने स्पष्ट छ । यसअघि एमालेका अध्यक्ष ओलीले आलोपालो प्रधानमन्त्री बन्ने÷बनाउने सहमति तोडेकोभन्दै नेकांमा पुगेकाहरुलाई एमालेले फेरि सोही शर्तमा त्यहाँबाट बाहिर निकाल्यो । त्यसपछि तुरुन्तै विश्वासको वातावरण बनिहाल्यो । यस परिघटनालाई नजिकबाट देखेका हालको सत्तापक्षीय सात दलले पनि सिक्ने कुरा त्यहीनै हो ।
सबैसँग बहानाबाजी र तर्कहरु रहेका छन् । जसले जो जता फर्किए पनि स्वाभाविक बनाउँछ । जुन–जुन दल मिलेर जहिले र जस्तो सरकार बनाए पनि देशको राष्ट्रिय राजनीति भाँडिएको अवस्था छ । अब यसलाई लिकमा ल्याउनका लागि नेपाली जनताले अथक प्रयास र संघर्ष गर्नुपर्ने हुन्छ । मंसिर चारगते देशको ठूलो धनराशि खर्च गरेर निर्वाचन भयो । जसमा कतिपय मतदाताले भाग लिए, कतिपयले लिएनन् । जे भए पनि सो निर्वाचनले एक किसिमको जनादेश दिएको थियो । जसमा हालका कुनै पनि दल र तत्कालीन सत्ता गठबन्धन जनअनुमोदित हुनसकेका थिएनन् । तर सरकार गठन हुँदा मंसिर चारको निर्वाचनले दिएको जनादेशको ठीक बिपरित हुन पुगेको छ । नेकांको नेतृत्वमा एमालेसहितको सरकार र माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा रहेर आगामी पाँच वर्ष सरकार सञ्चालन हुन सकेको भए देशको राजनीति लिकमा आउनसक्ने संभावना रहन्थ्यो । जसले पार्टीहरुलाई पनि आ–आफ्नो ठाउँमा पु¥याउँथ्यो । सबैभन्दा कम संख्या रहेको माओवादी केन्द्र सरकारको नेतृत्वमा र सबैभन्दा बढी संख्या रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा पुगेपछि अब देशको राजनीतिले बाङ्गो–टिङ्गो र कलहको बाटो समात्ने देखिएको छ । दलहरुका बीचमा आगामी पाँच वर्षसम्म नै आपसमा तानातान भैरहने अवस्था छ । बर्तमान सरकारको अवस्था कर्कलाको पानीजस्तो छ । एमाले हल्लिनासाथ यो सरकारनै हल्लिन थाल्दछ । अलिकति कोल्टे फेर्ने हो भने भित्तामा पुग्न सक्तछ । अन्तर्राष्ट्रिय संलग्नताका हिसावले पनि सत्तारुढ घटकहरुका बीचमा मतैक्यता कायम हुनसक्ने अवस्था छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै हिसावले सन्तुलन कायम हुन नसक्ने अवस्थाका कारण यो सरकारमा पुगेका दलहरु आफैँ सधैँभरी तानातानको अवस्थामा रहने देखिएको छ ।
सबै कुराका आ–आफ्ना सीमाहरु हुन्छन् । त्यो सीमा नाघेपछि उसको अस्तित्व समाप्त हुन्छ । देशको संविधान, सो संविधानअनुसारको ऐन कानून, सो ऐन कानूनअनुसारका नीति नियम र कार्यक्रमहरु रहेका हुन्छन् । पार्टीको स्थापनानै खास विचारका आधारमा भएको हुन्छ । सोही विचारका आधारमा विधान र सोही विधानका आधारमा पार्टीको सञ्चालन भैरहेको हुन्छ । नेपालका खासगरी संसदवादी पार्टीहरु विचारबिहीन हुँदै गएका छन् । जसले गर्दा सबै पार्टीका विधान र नीति नियम तथा रणनीति र कार्यनीति औचित्यहीन हुन पुगेका छन् । जसले सत्ता र शक्तिमा रहेका पार्टीहरुमा अबसरवादी प्रबृत्तिको सिर्जना गरेको छ । त्यही अबसरलाई मलजल गर्ने प्रयास गर्दा देशमा कलह र राजनीतिक अस्थिरताले बढावा पाएको छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसमा अब जे गरे पनि हुन्छ भन्ने स्वेच्छाचारी प्रबृत्तिको सिर्जना हुनपुग्यो । त्यो प्राडो÷पजेरो र सुरा–सुन्दरी काण्ड हुँदै अगाडि बढ्यो ।
हुँदाहुँदा ०४६ सालको परिवर्तनले स्थापित गरेको संसदीय बहुदलीय व्यवस्था नेपाली कांग्रेसकै नेताको हातबाट ०५८ सालको घटनापछि अन्त्य भयो । त्यसपछि नेपाली जनताले ०६३ को परिवर्तनपछि एक प्रकारको राजनीतिक व्यवस्थाको स्थापना गरे । त्यसपछि पनि माओवादी केन्द्रलगायतका दलहरुको स्वेच्छाचारी प्रबृत्तिले गर्दा हालको अवस्था सिर्जना भएको छ । दलहरुकै कारणले यो व्यवस्था पनि संकटतर्फ धकेलिंदै गएको छ । संसदवादी दलहरुको स्वेच्छाचारी प्रबृत्तिको असर अन्य क्रान्तिकारी दलहरुमा पनि पर्दै गएको देखिएको छ । अबसरवाद राजनीतिको यस्तो महारोग हो, जसले देशमै महामारीको रुप धारण गर्न सक्तछ । त्यसैले नेपालका राजनीतिक पार्टीहरुले आ–आफ्नो पार्टीमा सल्केको र मौलाउँदै गरेको अबसरवादको अन्त्यका लागि प्रयास नगर्ने हो भने राजनीतिक पार्टीहरु त बिघटनमा पुग्छन्नै यसले समग्र देशलाई नै बिघटनमा पु¥याउन सक्तछ । केही दलका केही नेताहरुले नजानिँदो ढंगले देशलाई आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिकरुपमा अस्तब्यस्त बनाउन खोजेको देखिँदैछ । उनीहरुले सबै क्षेत्रमा अराजकता बढाउने प्रयास गरेको धेरैले अनुभव पनि गरेका छन् । जसको अभिप्रायः नेपाललाई सिक्किमको बाटोमा धकेलेर लाने हो भन्ने पनि विभिन्न घटनाक्रमहरुले करिव करिव स्पष्ट गर्दै लगेका छन् । तर प्रायः दलहरुको राजनीति सत्तामुखी र अवसरवाद केन्द्रित बन्दै गएका कारण यसको अन्त कसरी र कहिले हुने हो भन्ने सबैमा अन्योलता देखिएको छ । नेपालको समग्र राजनीतिको मुख्य रोग भनेकै अबसरवाद भएका कारण सबैले आ–आफ्नो पार्टीलाई कसरी सुब्यवस्थित र रोग मुक्त बनाउने भन्ने विषयमा समयमा नै सोच्नु पर्ने देखिएको छ ।