बृहत् कम्युनिष्ट एकता आजको आवश्यकता

२०७९ पुष २६ गते, मंगलवार

       

डा. केशव देवकोटा

नेपालको राष्ट्रिय राजनीतिमा धेरै जटिलताहरु रहेका छन् । जसको केस्रा–केस्रा केलाएर ब्याख्या र विश्लेषण नगरेसम्म यसको खास समस्याको पहिचान पनि हुन सक्तैन र निदान पनि हुन सक्तैन । कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय मान्यतानै हो कि ठोस परिस्थितिको ठोस विश्लेषण गरेर कदम चल्ने । तर, नेपालका कम्युनिष्टहरुमा विविध कारणले गर्दा ठोस परिस्थितिको पहिचान नै हुन सकेको छैन । त्यसैले ठोस विश्लेषण हुननसकेको र सही कदम चालिन नसकेको हो । जसका लागि नेपालमा कम्युनिष्ट पार्टी र शक्तिहरुका बीचमा तत्काल बृहत् अन्तरक्रियाको आवश्यकता रहेको छ । जसका लागि कुनै न कुनै पार्टीले पहल लिनु आवश्यक छ । नेपालका कम्युनिष्ट पार्टीहरुको विभाजनमा विचारभन्दा पनि पूर्वाग्रह बढी जिम्मेवार देखिएको छ । हेर्दा सबै कम्युनिष्ट पार्टी भए पनि उनीहरुका बीचमा विभिन्नताहरु रहेका हुन्छन् । जसको गहिराइमा पुगेर चिरफार र औषधी नगरेसम्म यो फुटको रोगको राम्रो उपचार हुन सक्तैन । दलहरुले आपसमा के–के भिन्नता र के–के समानताहरु रहेका छन् तिनको पहिचान गर्न आवश्यक छ । समानताहरुबाट एकताको सिर्जना गर्दै असमानताहरुलाई हटाउने प्रयास गर्नुपर्दछ । त्यसैले बृहत् कम्युनिष्ट एकताको कुरा गर्दा केही खास–खास विषय र प्रसंगहरुका ध्यान दिनुपर्दछ ।

विचार, मूल्य मान्यता र आदर्शको स्थापना ः कम्युनिष्ट पार्टीको मार्ग दर्शक सिद्धान्त भनेकै माक्र्सवाद र लेनिनवाद हो । माओवाद र विचारधाराका बारेमा बहस छ । कम्युनिष्ट राजनीतिलाई सफल बनाउने मूल शक्ति भनेको कम्युनिष्ट पार्टी हो । जसलाई खास विचारधाराले निर्देश गरेको हुन्छ । कम्युनिष्ट पार्टीको संगठन गर्ने, सञ्चालन गर्ने र छलफल गर्नेलगायतका आफ्नै खालका पद्धतिहरु रहेका हुन्छन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार एकजना कम्युनिष्ट अन्तर्राष्ट्रियवादी हुनुका साथै देशभक्त हुनैपर्दछ । देशभक्ति आफैँमा समयसापेक्ष हुन्छ । जस्तो यतिबेला नेपालमा विदेशी हस्तक्षेप मुख्य समस्या बन्दै गएको छ । त्यसैले अन्तर्राष्ट्रिय हस्तक्षेपका विरुद्ध देशभक्त शक्तिहरुलाई संगठित गर्नु कम्युनिष्टहरुको राष्ट्रिय दायित्व हो । यदि नेपालमा क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनै पर्दछ । जुन पार्टी क्रान्तिकारी पद्धतिअनुसार चलेको पनि हुनुपर्दछ । त्यसरी बनेको पार्टी बिना विश्व साम्राज्यवाद र तिनका दलालहरुलाई पराजित गर्न संभव हुँदैन । क्रान्तिकारी पद्धतिबिना विशाल जनसमुदायलाई संगठित गर्न पनि असम्भव हुन्छ । माओले भन्नुभएको पनि छ ‘माक्र्सवाद–लेनिनवादको सिद्धान्तबाट सुसज्जित, स्वआलोचनको पद्धतिलाई अंगालेको, जनसमूहसँग गाँसिएको अनुशासनबद्ध पार्टी बिना शत्रुहरुलाई हराउन असंभव छ ।’ त्यसैले नेपालका कम्युनिष्ट पार्टीहरुले आपूmलाई सुसज्जित र शक्तिशाली बनाउनका लागि आफ्नो पार्टीभित्र निरन्तर शुद्धिकरण आन्दोलन पनि सञ्चालन गर्दै पार्टीका विचार, मूल्य, मान्यता र आदर्शको पुनस्र्थापनामा ध्यान दिनैपर्दछ ।

संसद्वादी र क्रान्तिकारीबीच बिभेद ः खासगरी नेपालमा संसदवादी र क्रान्तिकारी दुईथरी कम्युनिष्ट पार्टीहरु रहेका छन् । संसदवादमा पतन भैसकेकाहरुले बेलाबखत नेपाली कांग्रेसलाई पनि वामपन्थी देख्छन् । तर, खासमा नेपाली कांग्रेस झन्–झन् घोर दक्षिणपन्थी बाटोमा गइरहेको छ । संसद्वादी र क्रान्तिकारीहरुका बीचमा भेद के छ भने संसद्वादीहरु राजनीतिलाई संभावनाको खेल देख्छन् । क्षणिक र व्यक्तिगत लाभ उनीहरुका लागि प्रधान र महत्वको हुन्छ । तर, क्रान्तिकारीहरु राजनीतिलाई विचारको खेल ठान्दछन् । उनीहरुका लागि दीर्घकालीन र सामुहिक लाभ प्रमुख रहेको हुन्छ । कुनैबेला एमाले र माओवादी केन्द्रजस्ता पार्टीहरु पनि क्रान्तिकारी खेमामा रहेका थिए । त्यतिबेला उनीहरु देश र जनतालाई प्रमुख ठान्दथे । तर, माक्र्सवादी सिद्धान्तअनुसार आपूmलाई परिचालन गर्न नसकेका कारण उनीहरु संसद्वादी भाषमा पुगे । हाल उनीहरुको ध्यान स्वदेशतिरभन्दा विदेशतिर र देश र जनताको पक्षमाभन्दा आफ्नै व्यक्तिगत लाभको पक्षमा केन्द्रित रहन थालेको छ । त्यसैले उनीहरु नामले कम्युनिष्ट भए पनि विचार र व्यवहारले प्रतिक्रियावादी कित्तामा पुगिसकेका शक्तिहरु हुन् । जसले गर्दा क्रान्तिकारीहरुले संसद्वादी र आपूmहरुकाबीचको भेदकाबारेमा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई शिक्षा दिनैपर्दछ र ब्यवहारमा पनि भेद गर्नै पर्दछ । खासमा क्रान्तिकारीका लागि उनीहरु प्रतिक्रियावादीभन्दा पनि खतरनाक शक्तिहरु हुन् । नेपालमा नामका आधारमा को वामपन्थी र को गैरवामपन्थी भनेर छुट्याउने चलन छ । हाल उनीहरुलेसमेत वाम एकताको नारा दिने गरेका छन् । उनीहरुले वाम एकता गर्ने भनेको संसदवादीहरुका बीचमा हो । उनीहरु क्रान्तिकारीको त नामै लिन चाहँदैनन् । क्रान्तिकारीहरुले पनि उनीहरुलाई नामका आधारमा वामशक्ति मान्ने हो भने त्यो भूल हुन जान्छ । संसदवादी राजनीतिमा व्यक्तिगत लाभ र सुख सुविधा रहेका कारण नेपालजस्तो गरीव मुलुकमा धेरैको आकर्षण त्यसतर्फ हुनसक्छ । क्रान्तिकारीहरुले आपूm र संसदवादीहरुकाबीचमा भेद नगर्ने हो भने आफ्नो विचार र सिद्धान्तअनुसार पार्टी संगठन गर्न निकै कठिन हुन्छ ।

पूर्वाग्रहको राजनीति ः नेपालका कम्युनिष्टहरुमा पूर्वाग्रह धेरै रहेको देखिएको छ । त्यही पूर्वाग्रहकै कारण नेपालमा दर्जन बढी कम्युनिष्ट नामका पार्टीहरुको स्थापना हुन पुगेको हो । उदाहरणका लागि खासगरी चौथो महाधिवेशन कालमा नेकपा (चौम)ले पार्टीबाट कारवाही गरेर निष्काशन गरेकाहरुलाई तत्कालीन मालेले आफ्नो पार्टीमा संगठित गरेको थियो । हुन त आज पनि त्यो चलन छ । त्यसैले त्यतिबेला नेकपा (चौम) र तत्कालीन मालेकाबीचमा राम्रो समझदारी कायम हुन सकेको थिएन । गलत मान्छेलाई लिएर संगठन गरेका कारणले सो पार्टी क्रमशः एमाले हुँदै समयक्रममा दक्षिणपन्थी भाषमा फस्दै गयो । पछि क्रान्तिकारी मानिएकाहरु पनि पतन भएपछि त्यही एमालेसँग एक हुँदै गए । जहाँ गलत र सही राजनीतिकाबीचमा भेद हुन छाड्यो । नेताहरुको व्यक्तिगत स्वार्थ मिले मित्रशक्ति, नमिले शत्रुशक्ति भन्न थालियो । यो स्वार्थ र पूर्वाग्रहको राजनीति हो । त्यसैले कम्युनिष्ट पार्टी अर्को कम्युनिष्ट पार्टीकै लागि घातक हुन सक्छ÷भएको पनि छ ।

अन्त्यमा ः आजभोलि खासगरी मंसिर चारको निर्वाचन सम्पन्न भएर एमालेलगायतका दलहरुको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनेपछि वाम एकताको नारा चर्को लाग्न थालेको छ । यतिबेला संसदवादी कम्युनिष्ट पार्टीमध्ये एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीले कम्युनिष्ट समूहहरुसँगको एकतालाई प्रमुखता दिने प्रचार गरेको छ । सो पार्टीका हालै बसेका विभिन्न तहका बैठकहरुमा पनि तत्काल सरकारमा जानेभन्दा पनि कम्युनिष्टहरुका बीचमा एकताका लागि पहल गर्ने भन्ने कुरा उठेको थियो । उता सो पार्टीले एकताका लागि भने जसपासँग पहल गरिरहेको छ । एमालेसँग तत्काल नमिल्ने, माओवादी केन्द्रसँग मिल्न केही समय विचार गर्ने उसको नीति छ । त्यसैगरी माओवादी केन्द्र र नेसपाका बीचको एकताले पनि अहिलेकै अवस्थामा प्रमुखता पाएको छ । कम्युनिष्ट पार्टी र चुनाव चिन्हलाई गौण बनाउन थालिएको छ । रणनीति र कार्यनीतिका बारेमा पछि छलफल गर्दै जाने भन्न थालिएको छ । उता माओवादी केन्द्रका केही नेताहरुले भने एमालेसँग मिल्ने बचनबद्धता ब्यक्त गरिसकेका छन् । नेपाली कांग्रेससँग आगामी १५ वर्ष मिल्न तयार रहेकाहरुले एमालेसँग मिल्नु के आश्चर्य भयो र ? भित्रभित्रै पार्टी एकताको तहसम्म जाने सहमति भएका कारण संसदको तेश्रो दल माओवादी केन्द्रका अध्यक्षको नेतृत्वमा नयाँ सरकार गठन हुन संभव भएको हो । एमालेको जगमा माओवादी केन्द्रका अध्यक्षले सरकार गठन गर्नु भएका कारण उक्त दुई पार्टीकाबीचमा फेरि पार्टी एकता हुनु कुनै आश्चर्यको विषय होइन । एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी ‘विचारले कम्युनिष्ट होइन पपुलिष्ट कम्युनिष्ट पार्टी हो’ भनिसक्नु भएको छ । त्यसैले एमालेले पार्टीको नामबाट कम्युनिष्ट शब्द हटाउने संभावना कम छ । पहिलेनै माधव नेपाल नेतृत्वमा रहेका बेला एमालेको नाम परिवर्तन गरेर सामाजिक जनवादी पार्टी बनाउन खोजिएको थियो । आज पनि सो समूह सोही प्रयासमा रहेको छ । त्यतिबेलाबाटै सो पार्टीले औपचारिक रुपमानै माओ विचारधारा परित्याग गरेको हो । क्रान्तिकारी विचार राख्ने नेकपालगायतका विभिन्न घटकहरुले पनि पछिल्लो समयमा कम्युनिष्ट एकताको नारालाई प्रमुखता दिएका छन् । तर, पार्टी एकताका लागि खासै पहल गरिरहेका छैनन् । नेपालको राष्ट्रिय राजनीति यति छिन्नभिन्न भयो कि अब क्रान्तिकारीहरुले बृहत् कम्युनिष्ट एकताका लागि पहल नगरी सुख्खै छैन । खासमा त्यस्तो पहल लचिलो र दरिलो किसिमले छिटो गर्दा राम्रो हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]