द्वन्द्वात्मक भौतिकवाद ः संक्षिप्त व्याख्या
माक्र्सको दर्शन भौतिकवादी दर्शनको पुरै परिमार्जित रुप हो, जसले मानव जातिलाई विशेषतः मजदुर वर्गलाई ज्ञानको शक्तिशाली साधन प्रदान गरेको छ ।
– भी. आई. लेनिन, माक्र्स – एंगेल्स – लेनिन ः द्वन्द्वात्मक भौतिकवाद, पृष्ठ १४७, प्रगति प्रकाशन मस्को, दोस्रो संस्करण, १९८५ ।
द्वन्द्वात्मक र भौतिकवादको संश्लेषणबाट द्वन्द्वात्मक भौतिकवाद बन्दछ । अर्थात् द्वन्द्ववाद र भौतिकवाद मिलेर द्वन्द्वात्मक भौतिकवाद बन्दछ । विश्व ब्रह्माण्डमा सारा चीजहरु दुई परस्पर विरोधी तत्व वा कुरा मिलेर बनेको हुन्छ र संसारमा जहाँ पनि विरोधी कुराहरु संगसंगै गाँसिएका हुन्छन् । यस रुपमा विश्व सञ्चालित छ भनि सावित गर्ने वैज्ञानिक सिद्धान्तलाई द्वन्द्ववाद भनिन्छ । हरेक वस्तु भित्र आपसी द्वन्द्व (संघर्ष) वा टक्कर चलिरन्छ । यसै द्वन्द्वले नैहरेक कुराको जीवन (अस्तित्व बनेको छ । हरेक कुरा गतिशील, विकासिल र परिवर्तनशील छन् र । स्थिर होइन, अस्थिर छन् भन्ने सिद्धान्तलाई द्वन्दावाद भनिन्छ । भौतिक तत्व पदार्थलाई प्रथम र चेतनालाई द्वितीय स्थानमा राख्ने सिद्धान्तलाई भौतिकवाद भन्दछन् । भौतिकवादले प्रारम्भदेखि अहिलेसम्म प्रगतिशील तथा अग्रगामी वर्गको सेवा गर्दै आएको छ । दार्शनिक फाँटमा नयाँ भौतिकवाद भनेको द्वन्द्वात्मक भौतिकवाद हो । द्वन्द्वात्मक भौतिकवाद पदार्थ र गतिको एकताको मान्यतामा आधारित रहेको छ । भौतिकवादले पदार्थलाई विश्वको प्राथमिक तत्वको रुपमा अध्ययन गर्दछ । द्वन्द्ववादले भौतिक पदार्थमा विद्यमान गतिको अध्ययन गर्दछ । यी दुबै अध्ययनको पूर्णता द्वन्द्वात्मक भौतिकवादमा हुन्छ ।
अझै यो कुरा स्पष्ट पार्नु छ कि द्वन्द्ववादले पदार्थमा विद्यमान गतिको अध्ययन गर्दछ । भौतिकवादले गतिशील पदार्थलाई विश्वको आदिकरण वा प्राथमिक तत्व मान्दछ । गति र पदार्थ एक अर्कोबाट कहिल्यै पनि अलग्गिँदैनन् । जब गति र पदार्थ एक अर्कोबाट अलगिँदैनन् भने त्यो स्थितिमा पदार्थमा विद्यमान गतिको अध्ययन गर्ने द्वन्द्ववाद र गतिशील पदार्थलाई प्राथमिक स्थानमा राख्नेबीच भौतिकवाद कुनै पनि हालतमा अलग्गिन सक्तैनन् । जब द्वन्द्ववाद र भौतिकवादबीच मिलन हुन्छ त्यसपछि दर्शनको नाम द्वन्द्वात्मक भौतिकवाद पुग्दछ । दर्शनको इतिहासमा एक – अर्कोबाट अलगिएका द्वन्द्ववाद र भौतिकवादलाई एउटै ठाउँमा मिलाउने काम कार्ल माक्र्स (१८१८– १८८३) र फ्रेडरिक एंगेल्स (१९२०–१८९५) ले गर्नुभएको हो । दार्शनिक फाँटमा भौतिकवाद र आदर्शवादका बीच लामो संघर्ष चल्दै आएको छ । त्यसै संघर्षको क्रममा भौतिकवाद, स्वतस्पूmर्त भौतिकवाद र यान्त्रिक भौतिकवाद हुँदै द्वन्द्वात्मक भौतिकवादका रुपमा विकसित हुन पुगेको छ । प्राचीन युनान, भारत, नेपाल र चीनमा पृथ्वी, जल, वायु, आगो जस्ता भौतिक तत्व र तिनका प्रमाणुलाई प्राथमिकता दिने चिन्तनका रुपमा स्वस्पूmर्त भौतिकवादको जन्म भएको थियोे । मध्य युगको अन्त्यतिर पुँजीवादको विकाससंगै युरोपका बेलायत, फ्रान्स लगायतका देशहरूमा यान्त्रिक भौतिकवाद जन्मन पुगेको थियो । यान्त्रिक भौतिकवादले पदार्थलाई प्राथमिक त मान्दछ, तर पदार्थ वा विश्वलाई मेशिनका रुपमा ग्रहण गर्दछ र तिनलाई गति प्रदान गर्नका लागि कुनै वाह्य शक्तिको सहरा लिन खोज्दछ ।
साथै दार्शनिक फाँटमा आदर्शवाद दुई प्रकारका छन्– वस्तुनिष्ठ आदर्शवाद र आत्मनपष्ठ आदर्शवाद । जसले परम विचार, परमात्मा वा परम चेतनालाई प्रधानता दिन्छन् ती वस्तुनिष्ठ आदर्शवादी हुन् । निजी विचार, आत्मा वा चेतनालाई प्राथमिक मान्नेहरु आत्मनिष्ठ आदर्शवादको श्रेणीमा पर्दछन् । द्वन्द्वात्मक भौतिकवाद स्वतस्पूmर्त भौतिकवाद र यान्त्रिक भौतिकवादभन्दा भिन्न रहेको छ । यसलाई सही ढंगले बुझ्नका लागि पदार्थ र गति, दिशा र काल, पदार्थ र चेतना जस्ता प्रवर्गहरुबारे विमर्श गर्न आवश्यक छ । द्वन्द्वात्मक भौतिकवादले पदार्थ र गतिको एकतालाई मान्दछ । पदार्थका बारेमा लेनिनले भन्नुभएको छ, “पदार्थ त्यस वस्तपरक यथार्थलाई अङ्कित गर्ने एक दार्शनिक प्रवर्ग हो जुन मान्छेमा उसका संवेदनाहरुद्वारा प्राप्त हुन्छ र जसलाई हाम्रा संवेदनाहरुद्वारा स्वतन्त्र रुपले अस्तित्वमान रही तिनीहरूद्वारा प्तिलिपित फोटोचित्रित र प्रतिबिम्बित गरिन्छ ।” – माक्र्स – एंगेल्स – लेनिन, द्वन्द्वात्मक भौतिकवाद, पृष्ठ २८४, प्रगति प्रकाशन मस्को, १९८८ ।
पदार्थलाई भूतद्रव्य पनि भनिन्छ । त्यो मानव चेतना वा आत्मा भन्दा बाहिर स्वतन्त्ररुपमा अस्तित्वमान रहेको छ र त्यो संवेदनाद्वारा मानिसको मनमा प्रतिबिम्बित हुन्छ । पदार्थका विभिन्न रुप हुन्छन् । तीमध्ये एउटा रुप हो द्रव्य । द्रव्य सूक्ष्म कण, अणु, परमाणुबाट बनेको हुन्छ । प्रमाणु प्रोटोन, इलेक्ट्रोन, न्युट्रोनजस्ता कणबाट बनेको हुन्छ । द्रव्यलाई ठोस, तरल र ग्यास जस्ता रुपमा विभाजन गर्न सकिन्छ । अझै यो कुरा स्पष्ट हुन जरुरी छ कि त्यस अतिरिक्त पदार्थको अर्को प्रकार क्षेत्र पनि हो कि त्यस अन्तर्गत गुरुत्वाकर्षण, विद्युत चुम्बकीय आदि क्षेत्र पर्छन् । पदार्थमा गति हुन्छ । गति पदार्थको अस्तित्वको अवस्था, आन्तरिक गुण हो र त्यो विभिन्न रुपमा प्रकट हुन्छ । गतिको अर्को नाम अन्तर्विरोध हो । पदार्थका गतिका रुपहरुबारे एंगेल्सले भन्नुभएको छ, “पदार्थको गति केवल भद्दा यान्त्रिक गति मात्र होइन, केवल स्थान परिवर्तन मात्र होइन, त्यो उष्मा र प्रकाश हो, विद्युत र चुम्बकीय तनाव हो, रासायनिक संयोजन र वियोजन हो, जीवन हो र अन्ततः चेतना हो ।” – माक्र्स – एंगेल्स–लेनिन–द्वन्द्वात्मक भौतिकवाद, पृष्ठ ९०, प्रगति प्रकाशन, मस्को, १९८८ ।
दिशा र काल, विज्ञान र दर्शन दुबै क्षेत्रमा विशेष महत्वपूर्ण प्रवर्ग हुन् । यस विश्वमा गतिशील पदार्थको अस्तित्व दिशा र काल अन्तर्गत नै रहन सक्छ । त्रियामी हुनु र निश्चित ठाउँ लिनु दिशाको विशेषता हो । दिशाको तीन आयाम मोटाई, चौडाई र लम्बाइमा आधारित हुनु हो । काल भने एक आयमी नै हुन्छ । काल भविष्यतर्फ उन्मुख हुन्छ र अतीत तिर फर्कदैन । यस विषयमा लेनिनले भन्नुभएको छ, “विश्वमा गतिवान पदार्थका अतिरिक्त अरु केही छैन र गतिमान पदार्थ दिशा र कालअन्तर्गत नै गतिमान हुन सक्छन् ।” – माक्र्स–एंगेल्स–लेनिन–द्वन्द्वात्मक भौतिकवाद, पृष्ठ ९०, प्रगति प्रकाशन मस्को, १९८८ । दिशा र कालको अध्ययनमा न्युटन, आइन्सटाइन आदि वैज्ञानिकहरुको विशेष भूमिका रहेको छ ।
यी कुराहरुमा स्पष्ट हुन जरुरी भइरहन्छ कि प्रकृति विज्ञानको क्षेत्रमा निरन्तर विकास हुँदै जान्छ र त्यस अनुरुप माक्र्सवादी दर्शनमा पनि विकास हुँदै जानुपर्छ । अन्यथा माक्र्सवादी दर्शनमाथि नै गंभीर प्रश्न उठ्न पुग्दछन् । पहिले पदार्थको अन्तिम रुप परमनणुलाई मानिन्थ्यो तर जब पदार्थको नयाँ रुप इलेक्ट्रोन पत्ता लाग्यो त्यो बेला आदर्शवादीहरु भौतिकवाद ध्वस्त भयो, प्रमाणु र पदार्थको विलोप भयो भन्दै चिच्याउन थालेका थिए । त्यसपछि लेनिनले आफ्नो महत्वपूर्ण दार्शनिक कृति “भौतिकवाद र अनुभवसिद्ध आलोचना” नामक पुस्तकमा ती प्रश्नको जबाफ दिँदै भन्नुभयो इलेक्ट्रोनको खोजले पुरानो भौतिकवादमाथि प्रश्नचिन्ह खडा गरेको छ, परन्तु नयाँ भौतिकवादको सानदार ढंगले पुष्टि हुन पुगेको छ । किनभने इलेक्ट्रोन पदार्थकै, परमाणुकै एउटा रुप हो । त्यसै गरी प्रकृति विज्ञानमा क्वाटमा भौतिकि सिद्धान्त जन्मियो । अनि गतिशील पदार्थलाई कण र तरङ्गहरुमा अध्ययन गर्न थालियो । अनि प्रश्न उठ्यो कि विश्व परस्पर असम्बन्धित कण र तरङ्गहरुले व्याप्त छ । त्यसैले अब अद्वैतवादको हार र बहुलवाद विजयी भयो बन्ने स्थिति पैदा भयो । ठिक यसै प्रक्रियामा आइन्सटाइनको एकीकृत क्षेत्रको सिद्धान्त जन्मियो, त्यसमा उनले एकीकृत विश्व व्यवस्थाको परिकल्पना गरे । यसलाई स्टेफन हकिङ्सले राम्रोसित पुष्टि गरेका छन् । यस तथ्यले द्वन्द्वात्मक भौतिकवादी अद्वैतवादको थप पुष्टि हुन गएको छ ।
साथै पदार्थ र चेतनालाई दर्शनको महत्वपूर्ण प्रवर्गका रुपमा लिनुपर्छ । किनकि चेतनाका रुपहरुअन्तर्गत संवेदना, भावना, संकल्प, चिन्तन, अवधारणा, सिद्धान्त, दृष्टिकोण आदि पर्दछन् । चेतनाको प्राथमिक रुप संवेदनादेखि सिद्धान्तसम्मको विकास लामो ऐतिहासिक प्रक्रियासँग सम्बन्धित छ । पदार्थ र चेतनाबीचको सम्बन्धको दर्शनशास्त्रीय मौलिक प्रश्नमै आधारित छ र यसको अध्ययन निरन्तर भइरहेको छ । माक्र्सद्वारा विकसित भौतिकवादी द्वन्द्ववाद नै नयाँ द्वन्द्ववाद हो । भौतिकवादी द्वन्द्ववाद माक्र्सवादी दर्शनको चिन्तन पद्धति हो । यो वस्तुको विकास प्रक्रियालाई सही ढंगले अभिव्यक्त तथा प्रस्तुत गर्ने सर्वहारा वर्गको विश्वदृष्टिण हो ।
(केसी वरिष्ठ माक्र्सवादी लेखक हुन् ।)