नेपालमा बढ्दो भारत र अमेरिकाको सुरक्षा चासो

२०७९ फाल्गुन १० गते, बुधबार

डा. केशव देवकोटा

काठमाडौँमा गतसाता सोमबार र मंगलबार भारत र अमेरिकाका अधिकारीहरुको चलखेल निकै बढेको देखिएको थियो । एकसाथ सुरक्षा चासो बढाएको पनि देखिएको छ । गत साता सोमबार अमेरिका र भारतका अधिकारीहरु अलग, अलग तर एकैदिन काठमाडौँ आइपुगेका थिए । दक्षिण तथा मध्यएशियाली मामिला ब्युरो हेर्ने उपसहायक विदेशमन्त्री अफरिन अख्तरको सक्रियता सोमबारभन्दा मंगलबार बढी देखिएको थियो । गत साता मंगलबार अख्तरले नेपाली सेनाको मुख्यालयमै गएर प्रधान सेनापति प्रभुराम शर्मासँग आपसी सहयोगका बारेमा लामै छलफल गरेको समाचार बाहिर आएको थियो । नेपालको भ्रमणका क्रममा उहाँले काठमाडौँमा इसिमोड तथा ऊर्जा नेपालका साझेदारहरुसँग पनि छलफल गर्नु भएको थियो । उहाँले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद प्रतिकार्यका साथै लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलार्ई अगाडि बढाउने विषयमा छलफल गर्नुभएको बताइएको थियो । उहाँले राजनीतिक ब्यक्ति÷ब्यक्तित्वसँग वार्ता गरे÷नगरेको बारे खुलेको छैन । यसअघि गत माघको दोश्रो सातामा अमेरिकाकै राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले पनि नेपालको दुई दिने भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकनसमेत गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको दोश्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत रहनु भएकी नुल्याण्डको भ्रमणलार्ई पनि नेपालको सुरक्षासँग जोडेर चर्चा गरिएको थियो । उहाँले नेपाल भ्रमणका क्रममा पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारको अमेरिका—नेपाल सहकार्यबारे छलफल गर्नुका साथै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता कार्यान्वयनबारे पनि छलफल गर्नुभएको थियो । त्यसअघि करिव चार महिनाको अवधीमा चारजनाभन्दा बढी अमेरिकी उच्च अधिकारीहरुले नेपालको भ्रमण गरेको र सबैको चासो एमसीसीको कार्यान्वयन र नेपालको सुरक्षामा केन्द्रित रहेको देखिएको थियो । त्यसैगरी गत साता सोमबारनै नेपालको दुई दिने भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकांका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत संसदमा रहेका प्रायः दलका अध्यक्ष र सभापतिहरुसँग भेट गर्नुभएको थियो । उहाँले परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनलगायतका नेताहरुलार्ई पनि भेट्नुभएको थियो । उहाँले भ्रमणको दोश्रो दिन मंगलबार मधेश केन्द्रित अधिकांश दलका नेताहरुलार्ई भेट्नुभएको थियो । उहाँ नेपालका परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा नेपाल आउनु भएको भए पनि पौडेलसँग याक एण्ड यती होटलमा बसेको बैठकमा सीमा सम्बन्ध, वातावरण, पर्यटन, यातायातलगायतका विषयमा करिव आधा घण्टा मात्र छलफल गर्नुभएको थियो । सो बैठकमा दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा विकास साझेदारी थप सुदृढ गर्ने सहमति भएको बताइएको थियो ।

विदेश सचिव क्वात्रासँगै भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने डिभिजनका सहसचिव अनुराग श्रीवास्तवसहितका अधिकारी पनि आउनुभएको थियो । बैठकमा नेपालकातर्फबाट परराष्ट्रको दक्षिण एशिया डिभिजन प्रमुख रामप्रसाद सुवेदीसहितका अधिकारी सहभागी हुनुभएको थियो । भारतीय विदेश सचिव क्वात्रा परराष्ट्रसम्बन्धी बैठकमा भाग लिन नेपाल आएको भनिए पनि उहाँले आफ्नो भ्रमणको अधिकांश समय राजनीतिक भेटघाटमै बिताउनु भएको थियो । उहाँको चासो आगामी २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा केन्द्रित रहेको देखिन्थ्यो । नेपालका प्रधानमन्त्री दाहाललार्ई भारत भ्रमणको औपचारिक निमन्त्रण गर्न आउनु भएको भनिए पनि विदेश सचिव क्वात्राले अन्तिम समयमा निमन्त्रणा हस्तान्तरणसमेत गर्नुभएन । सो निमन्त्रणा पनि राष्ट्रपतिको निर्वाचनपछि मात्र आउने संकेत गरिएको छ । जबकी प्रम दाहालको भ्रमण यही फेब्रुअरीमा हुने भन्दै दुबै देशका अधिकारीहरुले आबश्यक तयारी गरिसकेका थिए । यसअघि नेपालका पूर्वप्रधानमन्त्री रहनुभएका पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्रीले भेटसमेत दिनुभएको थिएन । दाहालले त्यहाँका कर्मचारीसँग वार्ता गरेर फर्कनु परेको थियो । तर भारतीय सचिवले भने अस्वाभाबिकरुपमा नेपालका प्रधानमन्त्री र राष्ट्रपतिलगायत विभिन्न पार्टीका १४ जना नेताहरुसँग भेट गरेको देखिएको थियो । त्यसैगरी गत माघ २९ गते पाँच दिने भारत भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएका नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले फागुन एकगते सोमबार भारतीय समकक्षी राजनाथ सिंहलार्ई भेट्नुभएको थियो । सो भेटमा दुई देशबीचको आपसी हित र चासोको विषयमा छलफल भएको बताइएको थियो । त्यसैगरी सोही दिन रक्षामन्त्री उप्रेती र भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेबीच पनि भेटवार्ता भएको थियो । रक्षामन्त्री उप्रेतीले सेनाध्यक्ष पाण्डेसँग दुई मुलुकको रक्षा सम्बन्धबारे छलफल गर्नुभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका थिए । उहाँहरुबीच दुई देशबीचको विद्यमान बलियो रक्षा सम्बन्धलार्ई थप विस्तार गर्नेबारे छलफल भएको भनिएको थियो । मन्त्री उप्रेतीका साथमा नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र रक्षामन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि रहनु भएको थियो ।

रक्षामन्त्री उप्रेती गत पाँच गते शुक्रबार स्वदेश फर्कनु भएको थियो भने भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डे पनि सोही दिन काठमाडौँ आउनु भएको र भोलि ८ गते स्वदेश फर्कने बताइएको छ । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि उहाँ नेपाल आउनु भएको बताइन्छ । उहाँले यसअघि गत भदौ १९ गतेबाट पाँच दिने नेपाल भ्रमणमा गर्नुभएको थियो । त्यसैगरी भारतीय सेनाका पाँचजना पूर्वस्थल सेनाध्यक्षहरु पनि नेपाली सेनाको एक कार्यक्रममा भाग लिन नेपाल आउनु भएको छ । नेपालका रक्षामन्त्री उप्रेतीले दिल्लीतर्फ प्रस्थान गर्नुअघि सैनिक मुख्यालयमा गत माघ २९ गते आयोजित पृतनापति समन्वयात्मक बैठकमा सहभागिता जनाउनु भएको थियो । सो बैठकमा रक्षामन्त्री उप्रेतीले बाह्य र आन्तरिक दुवै सुरक्षा खतरालार्ई सूक्ष्म विश्लेषण र मूल्यांकन गरी न्यूनीकरणका लागि नेपाली सेना तयारी अवस्थामा रहनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी गत माघ २५ गते नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका प्रतिरक्षा सेवामा आबद्ध जनशक्तिसम्बन्धी मन्त्री एनड्रयु मुर्ररीसनबीच भेटवार्ता भएको थियो । सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटवार्तामा उहाँहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार–विमर्श भएको बताइएको थियो । त्यसैगरी प्रधानमन्त्री दाहालसँग गतसाता मंगलबार दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठजनाको टोलीले भेटवार्ता गरेको थियो । प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको सो भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो । त्यसक्रममा द्विपक्षीय सम्बन्धलार्ई थप सुदृढ बनाउने, आर्थिक सहयोग आदान–प्रदानलगायतका विषयमा महत्वपूर्ण छलफल भएको भनिएको थियो । दक्षिण कोरिया अमेरिकी सुरक्षा छातामा रहेको मुलुक मानिन्छ । गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा नयाँ सरकार बनेदेखि नै भारत र अमेरिकालगायतका पश्चिमा राष्ट्रले नेपालमा सुरक्षा चासो बढाएको देखिएको छ । यसबीचमा नेपालका लागि अमेरिका र भारतका राजदूतहरुले एकसाथ पूर्वी तराईको केही जिल्लाहरुको भ्रमण गरिसक्नु भएको छ । यसरी भारतीय र अमेरिकी अधिकारी तथा सैन्य प्रमुखहरुको भ्रमण बढेपछि नेपालमा सरकार परिवर्तनका कुराहरु पनि आएका छन् । भारतीय विदेश सचिवको नेपाल भ्रमण लगत्तैबाट नेपालका नेपाली कांग्रेस, एमाले र जसपालगायतका विभिन्न पार्टीका नेताहरुले सत्ता संकटकाबारेमा चर्चा गर्न थालेको देखिएको छ । धेरैले अनौपचारिकरुपले नेपालमा भारत र अमेरिकाको सुरक्षा चासो बढेको र कुनै पनि बेला अनपेक्षित राजनीतिक दुर्घटना हुन सक्ने आंकलनहरु गर्न थालेका छन् । देशभक्त, वामपन्थी र प्रगतिशील शक्तिको यसतर्फ ध्यान जानुपर्ने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]