विकल्पको खोजी र जनआक्रोश
१. उपनिर्वाचनमा विकल्पको खोजी ः हालै सम्पन्न उपनिर्वाचनमा जनताले विकल्पको खोजी गरे भन्ने तथ्य सबैभन्दा सही निष्कर्ष हो । पुराना, संस्थापक र सधैँ दोहोरीने दल र नेताप्रतिको जनआक्रोश चुनावबाट अभिव्यक्त भयो । खासगरी चुनावमा दुई वटा गम्भीर परिणामहरु देखिए ः १. चितवनमा सबै दलहरु मिलेपनि रवि लामिछानेले जित्ने रहेछन भन्ने मतगणनाको परिणाम देखियो । रवि लामिछानेले प्राप्त गरेको मतले यस्तो देखाउँछ कि मानौं उनी सर्वाधिक लोकप्रिय नेता बन्ने निश्चित छ । २. राष्ट्रपति रामचन्द्र पौडलको चुनावी क्षेत्र अर्थात् नेपाली कांग्रेसको प्रभाव क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले विजयी भए । यदि डा. स्वर्णिम वाग्ले नेपाली कांग्रेसबाट चुनाव लडेका भए जित्थे ? मलाई लाग्छ, यो प्रश्न निकै गम्भीर छ । मलाई लाग्छ, स्वर्णिम वाग्ले नेपाली कांग्रेशबाट उठेको भए पराजित हुन्थे । जनताले चुनावमार्फत विकल्प खोजेका छन् । वास्तवमा सो लहर झिल्कोबाट ज्वालामा परिणत भएको छ ।
नागरिकताको मुद्दाले रवि लामिछानेलाई धेरै लोकप्रिय बनायो । सर्वोच्च अदालतले उनलाई ठूलो गुन लगाएको छ । यो चुनावले कानूनी झमेलाबाट रन्थनीएर बसेका रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो हौसला र ऊर्जा प्रदान गरेको छ ।
२. संस्थापक दल र नेतृत्वको जनविद्रोह ः वास्तवमा भन्ने हो भने नेपालमा प्रजातन्त्र वा गणतन्त्र पछिका संस्थापक दल र नेता उनै छन् । पूर्व प्रधानमन्त्रीहरु मध्येबाट हेर्ने हो भने मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई बाहेकका सबै नेता पुरानै छन् । पुरानै नेताहरुबीच कति पटक प्रधानमन्त्री बन्ने भन्ने होडबाजी विचित्रको छ । बाँचुञ्जेल वा आजीवन प्रधानमन्त्री र राष्ट्रपति बन्ने तर, देशका लागि केही पनि नगर्ने चाहना अनौठो छ । आजको जनताले निम्न मुद्दाहरुमा चरम घृणा र असन्तुष्टि जाहेर गरेका छन् ः १. भ्रष्टाचार २. राजनीतिक अस्थिरता ३. सत्ता र शक्तिको दुरुपयोग अनि भागवण्डा, ४. नातावाद र कृपावाद ५. बेरोजगारी, ६. पद्धति वा सिस्टमको अभाव, ७. नेताहरू पाल्ने प्रदेश वा संघीयता, ८. परनिर्भर अर्थतन्त्र, ९. राज्यविहीनता । शायद यीनै विकृतिहरूको भण्डाफोर गरेर रवि लामिछानेको जन्म भएको हो । जनताको एउटै आरोप छ ः बहुदल आयो, गणतन्त्र आयो तर, जनताको जीवनस्तर झनै खस्कियो । आज सबै युवा र बुढाबुढीको दिमागमा समेत एउटै सपना छ ः त्यो हो विदेश पलायन । जनताको पुराना दल र नेतृत्वप्रति चरम आकोश छ । उनीहरू भन्दै छन्– नेताहरू देश लुटेर धनी भए तर, देश र जनता कङ्गाल बने । हँुदाहँुदा त भ्रष्टाचारको छानबीन गर्न पनि डराउने भए । संसदमा ५ वर्ष पहिलाका भ्रष्टाचारको मुद्दा नलाग्ने विधेयकसम्म ल्याउन भ्याए । यसबाट प्रष्ट हुन्छ ः पुराना दल, नेता र कर्मचारीहरू संस्थागत भ्रष्टाचारको पक्षमा छन् । भ्रष्टाचारीलाई उन्मुक्ती दिन लडार्इंमा उनीहरू नियोजीतरुपमा लागेका छन् । गम्भीर विषय के छ भने एउटै व्यक्ति पुराना दलबाट उठ्दा पराजित हुने तर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठ्दा विजयी हुने सम्भावना छ । मेरो निष्कर्ष ः यदि तनहँुमा स्वर्णिम वाग्ले नेकाबाट उठेको भए पराजित हुन्थे ।
३. वैचारिक युद्धप्रतिको घृणा ः आजको युवामा एउटा अनौठा मनोविज्ञान छ त्यो हो ः विचारप्रतिको घृणा । उनको तर्क छ ः विचारले खान दिँदैन । यसको मुख्य कारण विचारबिहीन राजनीति । विचारहिन गठबन्धन, सरकार र दलहरु यसका मुख्य कारण हुन् । आज न त कांग्रेस कांग्रेस जस्तो छ, न त एमाले एमाले जस्तो र माओवादी माओवादी जस्तो छ । आज जसले विचार, आदर्श र मूल्यमान्यतालाई आत्मसाथ गरेको छ, उ अस्तीत्व संकटमा छ । जनताको दृष्टिकोणमा सबै देश लुट्नका लागि मात्र बनेका हुन् । पुराना दल र नेताहरुमा कुनै फरक पहिचान नै छैन । मनोविज्ञानमा एउटा तर्क छ ः मान्छेभित्रको वास्तविक विचारको अध्ययन गर्नु छ भने उसको व्यवहारलाई अध्ययन गर्नुपर्छ । व्यवहार हेर्दा सबैको समान विचार छ त्यो हो ः केवल म आजीवन सत्तामा बसुँ । आजको आम राजनीतिक दर्शन वा अभिष्ट छ ः म मात्र सत्तासिन बनुँ र देश र जनता कङ्गाल बनुन् । अरुलाई कङ्गाल बनाउन र आपूm मात्र धनि बन्ने, अरुलाई अशिक्षित बनाउन र आपूm मात्र शिक्षित बन्ने यो दृष्टिकोण आज हावी छ । पछिल्लो पटक माओवादीप्रति जनताले ठूलो आशा गरेका थिए तर, हेर्दा हेर्दै माओवादीहरु बोराको आलु जस्तै कुहिएर गन्हाए अनि दुर्गन्धित बने । अब गन्हाउन बाँकी वा कुहिन बाँकी केही छ र ? परिणाम स्वरूप विचारको संकट आजको मुख्य समस्या बन्यो । विचारको कुरो ग¥यो भने जनताले लखेट्लान जस्तो बन्यो ।
४. जनमत दलहरुको नियत्रणबाहिर ः उपनिर्वाचनको परिणामले स्पष्ट देखाएको छ कि जनमत दलहरूको नियन्त्रण बाहिर छ । शायद स्वयम् रवि लामिछानेले पनि सोचेका थिएनन् होला कि यति सहजै चुनाव जित्ने छु । यति चाहिँ सही हो कि आजको दिनमा जनताको घृणा, आक्रोश र विद्रोहको निशानामा सबै पुराना दल, नेता र विचार छ । नेपालको इतिहासमा भड्कावको राजनीति हावी छ । विरोध वा गाली गर्ने र सत्तामा पुग्ने । जनतालाई भड्काउने र सत्तामा पुग्ने मात्र पुरानो निरन्तरतामा क्रमभंग होस् भनेर सचेत हुनुपर्ने आवश्यकता छ ।
५. पुराना दलहरुको रणनीति ः यो व्यवस्था संसदीय व्यवस्था हो र संसदीय अंकगणितमा रास्वपाको संख्या सानो नै छ । आगामी चार वर्ष संसद्मा पुरानै दलहरू हाबी हुनेछन् । वास्तवमा संसदीय दलहरुको रणनीति कस्तो होला भन्ने विषयमा धेरैको जिज्ञासा रहेको छ । मेरो पुरानो निष्कर्ष पुनः स्मरण गराउन चाहन्छु ः तत्कालिन नेकपाको विभाजन र तिक्तताबाट राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको हो । अहिले सबै पुराना दलहरुप्रति आफ्नै भित्रबाट दबाब र चेतावनी बढेको छ ः सक्किने कि सच्चिने । यदि पुराना दल र नेताहरुमा बुद्धि छ भने उनीहरुले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन र उनीप्रतिको क्रेज वा आकर्षण कम गराउन । तर, त्यो तहको धैर्यता र चलाखी पुराना दल र नेताहरुमा छैन । सत्तामा वा सरकारमा भएकाहरु केही नयाँ गर्ने अभियानमा लागेमा उनीहरुप्रतिको विद्रोह मत्थर हुनसक्छन् । मुख्य सुधारका मुख्य मुद्दाहरु छन् ः भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थिरता, वैचारिक स्पष्टता, पारदर्शिता, सत्ता र शक्तिको दुरुपयोग, नातावाद, कृपावाद, आत्मनिर्भर अर्थतन्त्र र रोजगारीका विषयमा केही सत्बुद्धि पलाओस् भन्ने शुभकामना छ ।
६. जनसमर्थनमा उतारचढाव वा अस्थिरता ः नेपालको अहिलेको अवस्था भनेको राजनीतिक र आर्थिक संकटको अवस्था हो । राज्यका सबै क्षेत्र संकटमा छन् । व्यापारी र व्यवसायीहरु नै सबैभन्दा बढी संकटमा छन् । आज अधिकांश पसलहरु बिक्रीमा छन् भन्ने सूचना टाँसिएका छन् । सटरमा विस्तारै खाली हुँदैछन् । आर्थिक लेनदेनमा ठूलो मन्दी र संकट देखापरेको छ । आम जनताहरु बेरोजगारी, महँगी र अनुत्पादनको शिकार बनेका छन् । वास्तवमा यो चरम निराशाको समय हो । यस्तो अवस्थामा जनआक्रोश कता जान्छ भन्न सकिँदैन । जनसमर्थन र विरोधमा उतारचढाव वा उथलपुथल हुनसक्छ । सचेतनापूर्वक र संयमतापूर्वक एउटा बृहत राष्ट्रिय एकताको बाटो अपनाउन सके सबैको जीत हुनेछ ।