समाजवादी मोर्चा ः वैचारिक विकास र नयाँ प्रयोग
विषय प्रवेश
असार ४ गते समाजवादी मोर्चा नेपाल घोषणा भएको छ । जनताको व्यापक सहभागिता र भव्य उत्साहाका साथ समाजवादी मोर्चा निर्माणसँगै समाजमा विभिन्न तरङ्गहरु पैदा भएका छन् । सामाजिक सन्जालहरुमा संयुक्त मोर्चाको वहस भइरहेको छ । समाजवादी मोर्चाको वारेमा विभिन्न टिकाटिप्पणीहरु हुनु स्वभाविकै हो । यो मोर्चालाई कसैले अस्तित्व रक्षाका लागि वनेको गठजोड भनेका छन् । कसैले प्रचण्डको कार्यनीतिक चालवाजी भनेका छन् । कसैले सरकार ढाल्न वनाइएको मोर्चा, कसैले महापतन, कसैले संसदिय चुनाव लड्न गरिएको गठजोड भनेका छन् । , योगेश भट्टराईले यो मोर्चा वृद्धहरुको कलव भएको र काम नभएको प्रतिकृया दिएका छन् । प्रतिक्रिया र टिप्पणीकारहरुले जसले नकारात्मक आलोचना गरेका छन् तिनीहरु की त केही नवुझ्ने बुद्धुहरु या दलालहरुद्वारा परिचालित मान्छे हुन या राजावादी हुनु पर्दछ कि त उनीहरुले अहिलेको विकसित परिस्थिति वुझेका छैनन । कि वुझिवुझी वुझ पचाएका छन् ।
जसले महापतन भनेका छन् उनीहरु कम्युनिस्ट पार्टीको नाममा चन्दा उठाउने र बाँडेर खाने चेतनाभन्दा माथि उठेको देखिँदैन । यस्ताको कुरा कस्ले पत्याउने र मान्ने, जेहोस् बढीभन्दा बढी मान्छेहरुले यो सकारात्मक भएको अहिलेको संकट मोचन गर्न सबै कम्युनिस्टहरु एक हुनुपर्ने र सबै जनतालाई एक ढिक्का बनाउन समाजवादी मोर्चाले पहल गरेको प्रतिक्रिया दिएका छन् । यही विश्लेषण नै अहिलेको वस्तुवादी वुझाई र चेतनावाट पैदा भएको सच्चाई हो । जसले जे जे भने पनि राष्ट्रिय सभाको उपस्थिति, हजारौं जनताको उत्साह र सहभागिता अनि हुटिङ्गले यो मोर्चाले सफलता हासिल गरिसकेको पुष्टि भइसकेकोछ ।
समाजवादी मोर्चा निमार्ण विचारको विकास हो
समाजवादी मोर्चा निर्माण किन आवश्यक भयो । नेपालमा समाजवाद एक्लैले हासिल गर्ने विषय हो या यो मोर्चा संसदिय चुनावमा सहभागी बन्न गरिएको हो भन्ने तमाम भ्रमहरु सामाजिक सन्जालमा छर्ने काम भईरहेको छ । यो एकता र स्वतन्त्रताको द्वन्द्वमा आधारित मोर्चा हो । यो संसदीय दलाल सत्तामा रहेका ३ पार्टी र सडक संघर्षमा रहेको नेकपाबीच भएको संयुक्त मोर्चा हो । यो आफैँमा एक नयाँ प्रयोग पनि हो । समग्र देशको वस्तुस्थिति नयाँ ठाउँमा आएको छ । सरकार, पार्टी, सत्ता, वर्गसंघर्ष, हाम्रो व्यवहार नयाँ ठाउँमा आउँदा हामी पुरानै ठाउँमा वस्यौं भने हामी कसरी राजनीतिमा सफल हुन्छौं । जुन पार्टीले आपूmलाई नयाँ ठाउँमा विकास गर्न सक्छ त्यसैले नै देशका तमाम समस्याको हल गर्न सक्छ र देशको होल नेतृत्व गर्न सक्दछ । त्यो भूमिका ४ पार्टीले निर्वाह गर्न पहल गरेका छन् यो नै नयाँ हो । यसलाई पुनवृत्ति वुझ्नु संकीर्णता र जडको वुझाई हुन्छ ।
समाज परिवर्तनशील छ भनी स्वीकार गर्ने तर आफ्नो जीवनलाई परिवर्तन गर्न नसक्ने सबैभन्दा अवैज्ञानिक संकीर्ण त्यही हुन्छ । आपूmलाई कम्युनिस्ट भन्नेहरुले यो संकीर्णता प्रकट गरिरहेका छन् यिनीहरु कुरा गरी खाने पार्टीमा परिणत भएका छन् । सही कम्युनिस्ट भए समाजवादी मोर्चा निर्माणमा खुसी पो हुने हो यसमा पीडा हुनुपर्ने केही कारण छैन । समाजवादले उहाँहरुको के नै विगार्छ र किन दुःखी हुन पर्ने, यो सामान्य मानिसले वुझ्ने कुरा भएन र ! नेपालमा अहिले अमेरिकी साम्राज्यवाद प्रत्यक्ष रुममा एमसीसीको व्यानरमा सेना लिएर आएको छ । नेपालमा राम्रो गर्छु भन्नेहरुलाई नै गिरफ्तार गरी जेल हाल्छ ।
युवाहरुको अवस्था दर्दनाक छ, दिनदाहाडै चोरी, हत्या, बलत्कार र मानव वेचविखन भइराएको छ, अर्थतन्त्र ध्वस्त भएको छ, सामान्य जनताको जीवनयापनमा समस्या पैदा भएको छ । व्यवसायीहरु टाट पल्टिने अवस्था छ । पैसा केही दलाल र माफियाहरुले लुकाइरहेको अवस्था छ । भारतले नेपालको भूमि समेटेर आफ्नो नक्सा निर्माण गरी सिमा अतिक्रमण गरिरहेको छ । सरकारको वहालवाला मन्त्रीहरुलाई नै जेल हाल्ने प्रपञ्च रचिएको छ । सहिदहरुको अपमान गरिएको छ । हिजो संघीय गणतन्त्र ल्याउन जीवनमरणको लडाइँ गर्नेहरुलाई अपराधिक वनाउन प्रयत्न हुँदैछ ।
२५० वर्ष जनतालाई लुट्ने राजावदीहरुले ठाडो शिर गरेर सडकमा उफ्रिरहेका छन् । भ्रष्टाचारका केसहरु दिनप्रतिदिन एकपछि अर्को चुलिदैछन् । नियमन निकाय मूकदर्शक वन्नु पर्ने अवस्था आएको छ । सरकारमा हाई प्रोफाइल भएका मान्छेहरु नै मानव तस्करी गरेको अभियोगमा जेल परिरहेका छन् । चरम् खाद्य संकट छ । हाम्रा युवाहरु केही आपराधिक लागूऔषध कारोवारको काममा संलग्न भएका छन् र नेपालका जेलहरुमा भरिन विवश छन् । केही युवाहरु मानसिक रोग र डिप्रेसनका सिकार भएर आत्महत्या गर्न वाध्य भएका छन् । केही युवाहरु विदेशी भूमिमा सस्तो श्रम वेच्न विवश छन् ।
हाम्रा दिदीबहिनीहरु खाडीमा बेचिएका छन्, आइरनले डामिएका छन्, मृत्युवरण प्राप्त गर्नु परेको छ । नेपालका नेताहरु कुर्सीको दाउपेचमा लागेका छन् । हाम्रो खानी अमेरिकी जल्लादहरुले उत्खनन् गरिरहेका छन् । वन सुरक्षित छैन, खानी सुरक्षित छैन, सिमा सुरक्षित छैन । यस्तो संकट हुँदा हामी एक जिम्मेवार राजनीतिक दल हुनुको नाताले हाम्रो विचारलाई नयाँ उचाईमा विकास गरेर समस्याको हल गर्न खोज्नु गलत कसरी हुन्छ ? हामीले यो देशको नेतृत्व गर्नु पर्दछ । यो समस्याको समाधान सही विचार, नेतृत्व र कार्यदिशाले मात्र सम्भव हुन्छ । नेपाल कम्युनिस्ट पार्टी र समाजवाद चाहने पार्टीहरुले नै यसको हल दिने हो र त्यो नैतिक जिम्मा लिन हाम्रो पार्टी र माओवादी आन्दोलनवाट आएका पार्टी अगाडि सरेका छन् । यो नै नयाँ विचार, लाइन, व्यवहार र संस्कार संस्कृतिको विकास हो । यो कुरा सबैले अनुशरण गर्नु पर्दछ । यो कुनै नेतालाई झोंक चलेर बनाइएको विषय होइन, यसको रणनैतिक महत्व छ ।
देशी विदेशी षड्यन्त्रविरुद्ध एक भएर लड्ने देशलाई मुक्त गर्ने कुरासँग सम्वन्धित छ । यसमा कुनै पार्टीका मान्छेहरुले मनगणन्ते रहर, लहट प्रकट गर्ने होइन यसको सहमति पत्र वनेको छ त्यो सहमति पत्रअनुसार आफ्नो लक्ष्य चुम्न कालजयी भएर अघि वढ्नेछ । यो महाअभियानमा विरोध र समर्थन, थपिने र भाग्ने प्रक्रिया निरन्तर चल्ने छ । थाक्नेहरु भाग्ने र नयाँ जोस र जाँगर भएका मान्छेहरु सहभागी हुने कुरा निरन्तर रहिरहन्छ र नयाँ सम्भावना चुम्नेछ ।
देश पीडामा पर्दा समाधान दिन हामी तयार नभएर अरुको हुन्छन् ? के दलालहरुले यो समग्र विषयको हल दिन सक्छन् ? यो प्रक्रिया दलालहरुवाट सम्भव छैन, त्यसैले सबै कम्युनिस्टहरु यो मोर्चामा लामवद्ध हुनु पर्दछ । यदि कोही पनि वास्तविक कम्युनिस्टहरु छन् भने, समाजवाद लक्ष्य हो भने ढिलो किन गर्ने । आउनुहोस सँगै जाउ के तपाईंं एक्लैले अमेरिकी साम्राज्यवादसँग लड्न सक्नुहुन्छ । तपाईंको एकल प्रयासले नेपालमा समाजवाद आउँछ यो कदापि सम्भव छैन । छोडिदिनुस् सर्त र स्वार्थहरु हिजो कसले के ग¥यो, को–के थिए त्यो पनि छोड्नुहोस जनताको नयाँ भविष्यका लागि एक पटक हामी सबै एकतावद्ध वन्नु पर्दछ । एकतामा नै वल हुन्छ । हाम्रो एकता, जनताको एकताले नै समग्र देशको भविस्य उज्वल वन्दछ ।
हामी हाम्रो लक्ष्यमै छौं
छ महिना अगाडि हाम्रो महाधिवेशनको निष्कर्ष विचार, सिद्धान्त मिल्नेसँग एकता, राजनीतिक उद्देश्य मिल्नेसँग संयुक्त मोर्चा र मुद्दा मिल्नेसँग कार्यगत एकता गर्ने थियो । सरकारमा जाने, चुनाव लड्ने र त्यतै हराउने हाम्रो राजनीति लाइन पनि होइन त्यो भ्रम पाल्न जरुरी पनि छैन । हामी हाम्रो योजनामा सफल बन्दै गएका छौं । यो देश र जनताका लागि खुसीको कुरा हो । यसले एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद कुनै पनि मूल्यमा सफलतातिर लिन्छ भन्ने विश्वास दिलाएको छ । हाम्रो पार्टी र मोर्चाले समाजवाद नेपालमा व्यवहारतः स्थापना गर्न सक्दछ । यसले मात्र विजय हासिल गर्छ ।
नेकपाले एकीकृत जनक्रान्ति छोडेको छैन, संसदीय व्यवस्थाको चुनावमा हामी सहभागी हुने कुरा पनि होइन, यो लड्न नसकेर, थाकेर मोर्चा निर्माण गरेको पनि होइन । यो त धेरै जानी–बुझी यो देशको तमाम समस्याको हल गर्न सकिन्छ त्यो पनि हाम्रो पार्टीको नीति, नेतृत्व र पहलमा सकिन्छ । त्यसका लागि नयाँ आधारमा नेपालका सबै कम्युनिस्टहरुलाई एक ढिक्का बनाएर लिन सकिन्छ भन्ने स्पस्ट बुझाई भएर यो मोर्चा बनाइएको हो ।
कसले के भन्दै हिँड्यो त्यो नै आधिकारिक कुरा होइन, आधिकारिक कुरा सहमति पत्र हो या मोर्चा घोषण पत्र हो, त्यसैलाई आधिकारिक मान्नु पर्दछ । मनगणन्ते अफवाहको पछाडि लाग्नुको कुनै तुक छैन । नेपाललाई मुक्त गर्न नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न, अहिलेको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र अमेरिकी हस्तक्षेपको संकटबाट देशलाई मुक्त गर्न एक्लैले सम्भव छैन ।
समाजवाद चाहने कम्युनिस्टहरु, प्रगतिशील, देशभक्त र रास्ट्रवादी शक्तिहरु, वुद्धिजीवि र देशलाई माया गर्ने सबै जनताहरुलाई एक बनाएर, सकिँदैन मोर्चामा सहभागी गराएर या कार्यगत एकता गरेर संघर्ष गर्ने, देशमा वैज्ञानिक समाजवाद ल्याउन हरपल प्रयत्न गर्ने हाम्रो योजना र नीति भित्रकै कुरा हो र हामी आफ्नो योजना मै छौं । यो योजना पुरा गरिछाड्ने सपना पनि बोकेका छौं । हामीलाई विश्वास छ हामी सफल भई छाड्नेछौं । भ्रममा पर्न कोही जरुरी छैन । यो मोर्चावाट अत्तालिएका सण्डमुसण्डहरु विफल हुनेछन् । हामी विजयी हुनेछौं, देश विजयी हुनेछ, जनता विजयी हुनेछन् ।