समाजवादी मोर्चामा विप्लवको प्रवेश र नेतृत्व
–
१. समाजवादी मोर्चाको आकर्षण ः विप्लव – भर्खरै घोषणा भएको चार राजनीतिक दल सहभागी समाजवादी मोर्चा नेपालले राजनीतिक वृत्तमा एउटा क्रिया, प्रतिक्रिया र बहस सिर्जना गरेको छ । संसदीय व्यवस्था नै नमान्ने विप्लव र अन्य दलबीचको सम्बन्ध के ? भन्ने बहस सिर्जना भएको छ । मोर्चाको अभ्याससँगै पार्टी एकतासम्म पुग्ने एकथरिको व्यवस्था छ भने अर्काथरिकोे भनाइमा सबै वाम, प्रगतिशील तथा राष्ट्रवादी शक्तिहरुलाई एकताबद्ध गर्ने समयको आवश्यकतालाई विश्लेषण गरी यसको सुरुवात गरिएको हो । प्रष्टै छ, यो मोर्चा संसदभित्रको अंकगणित मात्र भएको भए त्यहाँ विप्लवको आवश्यकता पर्ने थिएन । संसद वा सरकारमा अर्काे गठबन्धन हुँदैछ ।
पछिल्ला समयका राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने प्रचण्ड र माओवादी केन्द्रको सफलता खासगरी मोर्चा वा गठबन्धनमार्फत् निष्कर्षमा पुगेको छ । उता प्रतिरोध संघर्षमा रहेका विप्लव वा नेकपा पनि मोर्चा निर्माण वा गठन विघटनका अभ्यासहरु निरन्तर भइरहेका छन् । नेपाली राजनीतिमा एमाले बलियो भएर पनि अरुलाई अस्वीकार गर्ने मनोवृत्तिका कारण पराजित भएको छ । माओवादी केन्द्र संसदमा तेस्रो शक्ति वा आकारमा सानो भएर पनि उसले सरकारको नेतृत्व गरिरहेको छ । संसदीय राजनीतिमा प्रचण्ड धेरै सफल भएका छन् र त्यसको एउटै सिद्धान्त सूत्र छ त्यो हो ः मोर्चा वा गठबन्धनको निर्माण । स्वयम्सिद्ध तथ्य छ, जब एक्लै लड्न सकिँदैन तब मोर्चाको आवश्यकता देख्न सक्नुपर्छ । यति बुद्धि नभएको भए सायद प्रचण्ड र माके उहिले सिद्धिने थियो । एमालेमा म बहादुर र ठूलो छु भन्ने अहंकार अनि दम्भ छ तर आजको मितिसम्म त्यो मनोविज्ञान पटक–पटक पछारिएको छ । त्यसकारण राजनीतिमा अहंकार र रुढीवादी होइन, बुद्धि र परिस्थितिको ठोस विश्लेषण चाहिन्छ । विप्लवमा एउटा गजबको विशेषता छ, त्यो हो कार्यनीतिक गतिशीलता । उनमा बाटोहरु परिवर्तन गर्न सक्ने विशेषता छ । प्रचण्ड र विप्लवमा गतिशीलता पाउन सकिरहेको र दुवैले एकअर्कालाई निकट बनाउने भित्री इच्छा रहेको अनुभूत गर्न सकिन्छ । यदि पूर्वमाओवादी भएर सोच्ने हो भने अस्तित्वको लागि पनि सबै माओवादीहरुबीचको एकता पहिलो आवश्यकता हो । नत्र भने सबै माओवादीहरुलाई अपराधीको संगीन आरोप लगाउँदै जेल हाल्ने दिन धेरै टाढा छैन ।
युद्ध अपराध, भ्रष्टाचार र हेगका आरोपहरु खुलेआम लाग्न थालेका छन् । यसको मुख्य कारण त विभाजन हो भनेर क. किरणले बुझ्न सक्ने कहिले होला ? ठोस परिस्थितिको ठोस विश्लेषण भनेको के हो ? आलोचना वा बहस गर्ने हो भने पार्टी बनेको १०÷१५ वर्षसम्म एउटा पनि सेना बनाउन नसक्ने, जनयुद्धको केही पनि तयारी गर्न नसक्ने तर माओवाद भनिराख्ने क. किरण क्रान्तिकारी कि संशोधनवादी ? स्पष्ट छ, चाहेर वा नचाहेर शान्ति प्रक्रियापछिका सबै माओवादीहरु संशोधनवादी भएका छौं । क. विप्लवसँग सेना र हतियार पनि छन् तर, पुरानै ढंगको प्रयत्न त सफल भएन । सरकारी प्रतिबन्ध र दमनको सामना गर्दै १२ जना योद्धाहरुको सहादत सामान्य कुरा थिएन । के अरु दलले यस्तै कालरात्रीको सामना गर्ने सामथ्र्य राख्छन् ? जसले विप्लवलाई संसदवादी भन्छन् के उनीहरु लड््न सक्छन् ? एउटा गम्भीर प्रश्न उब्जिन्छ ः प्रयत्न नै नगर्नु क्रान्तिकारी हुन्छ कि प्रयत्न गरेर नसकेपछि एक कदम पछाडि हट्नु क्रान्तिकारी हुन्छ ?
समाजवादी मोर्चाको घोषणा कार्यक्रममा विप्लव पुग्दा धेरै ठूलो समर्थन र ताली बज्यो । यो स्वागत अन्य दलका कार्यकर्ताहरु गरेका थिए । त्यसकारण कार्यकर्ता पंक्तिमा विप्लव आकर्षणका केन्द्र बनेका छन् र त्यसको मुख्य कारण हो उनीमा विचारप्रतिको इमान्दारिता र प्रतिबद्धता छ । उनीमा एउटा नयाँ वा नमुना क्रान्ति नायक बन्ने भित्री इच्छा छ । उनी एक्लै उभिएर व्यवस्थाविरुद्ध लड्ने साहस पनि गरे तर सफल हुन सकेनन् । युद्ध जित्नका लागि वा दुश्मनलाई जित्नका लागि उ बस्ने ठाउँमा जाँदै नजाने कुरा त्रुटिपूर्ण हुँदोरहेछ भन्ने उनको निष्कर्ष छ । अहिलेको समाजवादी मोर्चालाई संसदवादबाट पर धकेल्न सके त्यो समाजवादको आधार बन्न सक्छ भन्ने उनको निष्कर्ष सही छ । समाजवादी मोर्चालाई बृहत् र व्यापक बनाउन सके त्यसको सम्भावना उज्ज्वल छ । अहिले बाबुराम भट्टराईलगायतका नेताहरु छुटेका छन् । मेरो विचारमा समाजवादी मोर्चाको नेतृत्व केपी ओली, प्रचण्ड, माधव नेपाल र विप्लवले गर्नुपर्छ ।
पुराना शीर्ष नेताहरुलाई सरकारमा व्यवस्थापन गरी पार्टी वा मोर्चाको नेतृत्व विप्लवले गर्नेगरी बृहत् राष्ट्रिय एकता वा स्वाधीनताको युगका प्रवेश गर्नेछ । हामीले देख्यौं सुशील कोइरालाको पालामा बृहत् संसदीय एकताकै आधारमा संविधान जारी भएको थियो । एमाले र माकेको एकतापछि कम वैदेशिक हस्तक्षेप भएको थियो । अनि आमसहमतिका आधारमा चुच्चे नक्सा पनि जारी गर्न सफल भएको थियो । अब त्यो बृहत् एकता व्यवस्था बदल्ने कुरामा हुनुपर्दछ । संसदीय व्यवस्थालाई बदल्ने सवालमा पनि आमसहमति बन्न सक्छ ।
२. मोर्चा निर्माण सिर्जना गरेको उत्साह, तरंग र अविश्वास– समाजवादी मोर्चाको घोषणापछि आबद्ध दलहरुभित्र उत्साह र बाहिर तरंग वा हलचल उत्पन्न गरेको छ । सकारात्मकरूपमा विश्लेषण गर्दा उत्साह, एकता, पुनर्मिलन र तरंग पैदा भएको छ भने नकारात्मक कोणबाट अविश्वास, आलोचना, आशंका र प्रश्नहरु उत्पन्न गरेको छ । मूल वा सारमा यो मोर्चाले नेपाली राजनीतिमा एउटा नयाँ सनसनी र हलचल मच्चाएको छ । राजनीतिका विद्यार्थी र विज्ञहरुमा कौतुहलता र ध्यान आकृष्ट गरेको छ । मोर्चाको भविष्य कहाँ पुग्ने हो त्यो त आँकलन गर्न नसकिए पनि वितृष्णा वा निराशामा डुबेको समाजवादी आन्दोलनको नारामा एउटा उर्जा वा हौसला प्रदान गरेको छ ।
३. मोर्चाको उद्देश्य यथास्थितिमा क्रमभंग – मोर्चाको निर्माणपछि त्यसमा आबद्ध दलहरुबीच छलफल, बहस र विश्वसनीयता पैदा हुन्छ । सबैलाई थाहा छ, एकताबाट बल पैदा हुन्छ । २०४६ मा नेपाली कांग्रेस र वाम मोर्चाको मोर्चाबन्दी वा एकता भएपछि मात्रै पञ्चायती व्यवस्थाको अन्त्य भएको हो । २०६२÷०६३ मा तत्कालिन संसद्वादी सात साल र माओवादीबीचको मोर्चाबन्दीकै कारण राजतन्त्रको अन्त्य भएको थियो । त्यसकारण मोर्चाको निर्माणबाट एउटा चमत्कारी तागत वा उर्जा पैदा हुन्छ । ठूलाठूला शक्तिहरु पनि एक्लै हिँड्न खोजे पनि पराजित हुन्छन् । आजको विश्वमा समाजवाद पतन हुनुको मुख्य कारण मोर्चाबन्दीको अभाव पनि हो । आज चीन र रुसले अमरिकाविरोधी मोर्चाको अभ्यास गरेकै कारण उनीहरु टिक्न सफल भएका छन् । नेपालमा गत संसदीय चुनावमा ठूलो र शक्तिशाली भएर पनि एक्लै हिँड्ने अहंकारका एमाले सरकार बाहिर रहनु प¥यो । अघिल्लो संसदमा नेकपा विभाजनपछि संसदमा एक्लिएकै कारण केपी ओली सरकारबाट पदच्युत हुन पुगे । अमेरिका त्यतिबेलासम्म शक्तिशाली रहन्छ जतिबेलासम्म उविरुद्ध मोर्चाबन्दी हुँदैन । एमाले वा नेकाँ पनि त्यतिबेलासम्म शक्तिशाली हुनेछन्, जतिबेलासम्म उनीहरुविद्ध मोर्चाबन्दी हुनेछैन ।
हामीले देखेका होइनौँ र जर्मनीमा कम्युनिष्ट पार्टीलाई हराउन सबै दल मिलेर सफल भएका थिए । ठूलो दल वा शक्तिका अहंकार, घमण्ड र निरंकुशतालाई चिर्नका लागि पनि मोर्चा अपरिहार्य छ । त्यसकारण, सिद्धान्तः समाजवादी मोर्चाको निर्णय र अभ्यास वैज्ञानिक र सही छ । मेरो विचारमा मोर्चाको पहिलो पहलकद्मी एमाले र केपी ओली गर्नुपर्दथ्यो । अझै पनि ओली, प्रचण्ड, माधव नेपाल र विप्लवले नेतृत्व गर्नु ऐतिहासिक हुन्छ । ठूलो हुनुको अर्थ सानोलाई किच्दै जाने होइन ।
४. ठूलो हुनुको अर्थ सानालाई किच्दै जाने होइन – खासगरी एमाले र नेकाँलाई भन्न चाहन्छु कि ठूलो हुनुको अर्थ सानालाई किच्दै जाने होइन । साना वा फरक अस्तित्वलाई तिरस्कार, अस्वीकार अनि अपहेलना गर्नु नै ठूलो वा महान् हुनु होइन । सानालाई वा फरक विचार र दृष्टिकोणलाई सम्मान गर्न अनि उनीहरुलाई पनि समेट्न सिक्नु महानता हो । खासगरी एमालेले यी तथ्यहरुलाई आत्मसात गर्न र सिकोस् भन्ने मेरो सुझाव छ । म चाहन्छु कि प्रचण्ड, नेपाल र विप्लवले नेतृत्व गरेको मोर्चामा केपी ओली आफैँ आउने इच्छा जाहेर गरुन् । त्यसले ओली र एमालेको उचाइ बढाउनेछ । बाबुराम भट्टराई, किरण, चित्रबहादुर केसी र नारायणमान बिजुक्छेहरु पनि त्यसमा आउन र एउटा बृहत् राष्ट्रिय एकता कायम होस् ।
५. बृहत् राष्ट्रिय एकता बनोस् – विप्लवको जोड सही छ कि देशलाई माया गर्ने अनि समाजवादलाई मान्ने सबै शक्ति मिल्न जरुरी छ । नेपाली कांग्रेस र राप्रपा अनि रास्वपासँग पनि हामी छलफल गर्नेछौँ भन्ने प्रकाण्डको घोषणा सही छ । सबैलाई थाहा छ, हाम्रो देशको मुख्य समस्या नै वैदेशिक हस्तक्षेप हो । यसको समाधान बृहत् राष्ट्रिय एकताबाट मात्र सम्भव छ । हामीले एउटा बृहत् राष्ट्रिय एकता प्रदर्शन गरेर मात्र विदेशी हस्तक्षेपलाई रोक्न सक्छौँ भन्ने सत्य सार्वभौम छ । विभाजनबाट हस्तक्षेपहरु र अतिक्रमण बढ्छन् । हुँदा–हुँदा हाम्रो रेल निर्माणको योजनासमेत विदेशिका कारण रोक्नुपर्दछ । हाम्रा पूर्व–पश्चिम तथा उत्तर–दक्षिण रेल निर्माण गर्ने सपनाहरु विदेशीलाई नरिझाएसम्म पूरा नहुने अवस्थामा छन् । हाम्रोमा एकले अर्कालाई दोष दिने र आपूm पन्छिने पुरातन संस्कृति छ । दोष थुपारेर मात्र होइन दोषको भागीदार भएर अगाडि बढौँ । कसैले चमत्कार गरिदिनुपर्ने हाम्रा चाहनाहरु अवैज्ञानिक छन् । त्यसकारण सबै मिलेर दूरगामी हिसाबले अगाडि बढ्नु र देश निर्माणमा लाग्नु आजको आवश्यकता हो ।