सामाजवादी मोर्चा : समयको माग
यही असार ४ गते साजमावादी मोर्चा, नेपाल घोषणा भएको छ । नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी मिलेर सामाजवादी मोर्चा, नेपाल गठन भएको हो । जनताको व्यापक सहभागिता र भब्य उत्साहका साथ समाजवादी मोर्चा निर्माणसँगै समाजमा विभिन्न तरङ्गहरु पैदा भएका छन् । यसबाट वामपन्थी, कम्युनिष्ट र समाजवादीहरु उत्साहित भएका छन् भने दलाल पुँजीवादीहरु, राजतन्त्रवादीहरु अत्तालिएका छन् । त्यसो त निरंकुश शक्तिबाहेक कोही पनि हामीसँग तर्सनु नपर्ने यथार्थता मोर्चा आवद्ध नेताहरुले बताइसक्नु भएको छ । समाजवादी मोर्चा नेपाली जनताको मुक्ति, अधिकार र समानताको लागि निर्माण गरिएको स्पष्ट छ । जनताहरुले पनि अहिलेको संकट मोचन गर्न सबै कम्युनिष्टहरु एक हुनुपर्ने र सबै जनतालाई एक ढिक्का बनाउन सामाजवादी मोर्चाले पहल गरेको प्रतिक्रिया दिएका छन् ।
हामीले यो देशको नेतृत्व गर्नु पर्दछ । नेपालीको समस्याको समाधान सही विचार, नेतृत्व र कार्यदिशाले मात्र हुन्छ । नेकपा (माओवादी केन्द्र) र समाजवाद चाहने पार्टीहरुले नै यसको हल दिने हो र त्यो नैतिक जिम्मा लिन माओवादी केन्द्र र माओवादी आन्दोलनबाट आएका पार्टी अनि समाजवादी पार्टी अगाडि सरेका छन् । यो नै नयाँ विचार, लाइन, ब्यवहार र संस्कार संस्कृतिको विकास हो । समाजवाद चाहने पार्टीहरु छुट्टाछुट्टै पसल खोलेर बस्दा नेपालमा सामाजवाद आउन असम्भव हुन सक्दछ तसर्थ समाजवादी पार्टीहरु एक ठाउँमा आउनु समयको माग हो, नेपाली जनताको आवश्यकता हो । हामीलाई विश्वास छ, समाजवादमा नै हामी सर्वहारा, उत्पीडित र तमाम किसान, महिला, युवा, विद्यार्थी, मजदुरहरुको समस्याको समाधान सम्भव छ तसर्थ पनि सामाजवादी शक्तिहरु एकजुट हुनु हामी नेपालीको लागि खुशी र गर्वको कुरा हो ।
राजनीतिक, सामाजिक, आर्थिक सांस्कृतिक र बाहिरी प्रतिक्रियावादी हस्तक्षेपको संकटबाट देशलाई मुक्त गर्न यो मोर्चाको निर्माण गरिएको छ । समाजवाद चाहने कम्युनिष्टहरु, प्रगतिशील, देशभक्त र राष्ट्रवादी शक्तिहरु, बुद्धिजीवि र देशलाई माया गर्ने सबै जनताहरुलाई एक बनाएर, सकिँदैन मोर्चामा सहभागी गराएर या कार्यगत एकता गरेर संघर्ष गर्ने र देशमा वैज्ञानिक सामाजवाद ल्याउन हरपल प्रयत्न गर्ने सामाजवादी मोर्चाको योजना हो । सामाजवादी मोर्चामा विप्लवको जस्तो क्रान्तिकारी पार्टी समाहित हुनु गर्वको कुरा हो । जुन कुरा माओवादी केन्द्रका अध्यक्षले पनि बताई सक्नु भएको छ ।
मानव जातिको उत्पतिदेखि हालसम्म प्रयोगमा आएका वा ल्याइएका व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था भनेको सामाजवादी व्यवस्था नै हो, यो निर्विवाद कुरा हो । तर, अब हामीले नेपाल र विश्वमा ल्याउन थालेको समाजवाद लेनिनले सोभियत संघमा प्रयोग गरेको समाजवादभन्दा पनि परिस्कृत हुनेछ । समय गतिशील छ भन्ने माक्र्सको भनाईलाई हामीले अनुशरण गर्नुपर्दछ र आफ्नो माटो सुहाउँदो गतिशील समयको समाजवादको निर्माण हामीले गर्नुपर्दछ । अबको समाजवाद मानव श्रमभन्दा पनि विज्ञान प्रविधिको प्रचुर उपयोग गरिएको हुनु पर्दछ तब मात्र हामीले पुँजीवादसँग प्रतिस्पर्धा गर्न सक्दछौं । केही कसैले एक्ल एक्लै लडेर एक ढिक्का भएर आएको दलाल पुँजीवादलाई परास्त गर्न नसक्ने बरु अबको केही वर्षमै कम्युनिष्ट भन्ने वित्तिकै जनताले तिरस्कृत गर्ने अवस्था सिर्जना हुने वस्तुगत र आत्मगत अवस्थाले गर्दा समाजवादी मोर्चामा गोलवद्ध हुने र संसदवादको विकल्प खोज्ने सकारात्मक सोच पलाएको कुरा सत्य हो । जसले जे ब्यख्या गरे पनि समाजवादी मोर्चा आजको अपरिहार्य आवश्यकताका रुपमा बुझौँ र बुझाउने कोसिस गरौं, यसैमा सबैको हित छ ।
हामी आपंmैंले निकै ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट निर्माण गरेको संविधानले समाजवादोन्मुख राज्यमा जाने सङ्कल्प गर्दछ । तर, समाजवादका हिमायति शक्तिहरुबीच एकता र सहकार्यको बलियो आधार तयार नहुँदा त्यसको प्रत्यक्ष लाभ व्यवस्था विरोधीहरुले लिन थालेका छन् । यो कम्युनिष्ट एवं वामपन्थी शक्तिहरुका लागि मात्र चुनौतिको विषय नभएर लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने सबै शत्तिका निम्ति साझा सरोकारको विषय हो । तसर्थ, उल्लेखित चुनौतिहरुलाई सकारात्मक रुपमा स्वीकार गरी नेपाली समाजको अग्रगामी रुपान्तरण एवं जनअपेक्षा अनुरुप जनताको जीवनमा परिवर्तन ल्याउन समाजादी मोर्चाको निर्माण गरिएको हो । वास्तवमा समाजवादी मोर्चा नेपाली विशेषता र मौलिकतासहितको समाजवादी क्रान्तिको कार्यभारमा सहमत शक्तिहरुको संयुक्त मोर्चा हो । नेपालमा अब समाजवादी मोर्चाको निर्माण भइसकेको छ । राष्ट्रिय सभागृहको भव्य कार्यक्रममार्पmत् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेकपाका महासचिव विप्लव सी, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क. माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा समाजवादी मोर्चा, नेपालको उद्घोष गर्नु भएको छ र साझा सहमति पत्रमा हस्ताक्षर पनि गरिसक्नु भएको छ । अब हामी सम्पूर्ण नेकपा (माओवादी केन्द्र) का नेता, कार्यकर्ताहरु र समाजवादी मोर्चामा आवद्ध पार्टीका नेता कार्यकर्ताहरु, सम्पूर्ण देशभक्त, क्रान्तिकारी, समाजवादी नेपाली र सम्पूर्ण नेपाली जनता मिलेर नेपालमा समाजवाद ल्याउने ध्ययले गठन भएको समाजवादी मोर्चालाई साथ दिनु पर्दछ र नेपालमा समाजवादको बिहानीको सुनौलो किरण ल्याउने जिम्मा हाम्रो काँधमा आएको छ भन्दै सम्पूर्ण नेपालीलाई समाजवादी मोर्चा, नेपालमा आवद्ध हुनुहुनुको साथै सामाजवाद नेपालको निर्माण गर्नको निमित्त एकजुट हुनु हुन विशेष आग्रह गर्न चाहन्छु !