सामुहिक उत्पादन अभियानमा नेकपा

२०८० असार २६ गते, मंगलवार

विष्णु पन्त

१. पहिलो संस्थागत उत्पादन अभियान – पछिल्लो समयमा विकसित प्रवृत्तिको एउटा संकट छ, त्यो हो सामुहिकता, संस्थागत, भावना  कम्युनहरुको मृत्यु । विस्तारै हाम्रा ऐँचोपैँचो र सामुहिक मेला, पर्माजस्ता ऐतिहासिक विशेषताहरु पनि हराउन थालेका छन् । आजको मान्छे चरम व्यक्तिवादी, स्वार्थी र असामाजिक बन्दैछ । असामाजिक बन्नु भनेको अमानवीय बन्नु पनि हो र अमानवीय बन्नु भनेको अपराधी बन्नु पनि हो । नेपाली राजनीतिमा समाजवादको व्याख्या र बहस निकै उचाइबाट हुने गर्दछ तर जीवन व्यबहारमा त्यसको उल्टो अभ्यास हुने गर्दछ । विचार व्यवहारमा जब असामन्जस्यता हुन्छ तब विचारको मृत्यु हुन्छ ।

आजको मुख्य समस्यानै त्यही हो कि माओवादी माओवादी जस्तो छैन । एमाले एमाले जस्तो छैन र कांग्रेस कांग्रेस जस्तो छैन । विचार, सिद्धान्त र आदर्श एकातर्फ छ तर आदर्श ठिक उल्टो दिशातिर । विश्वसनीयता, पहिचान र सौन्दर्यहरुको विघटन गरिएको छ । आजको समय वास्तवमा वैचारिक अराजकताको समय हो ।

पराम्परागत नेकां र एमालेका केही सौन्दर्यहरु थिए ती हराएका छन् र नेकां र एमालेविरुद्ध विद्रोह गरेको माओवादी सबैभन्दा कुरुप बनेको छ । जनतामा पुराना दल र नेताहरुप्रति यतिविघ्न घृणा छ कि म फलानो पार्टीको भनेर परिचय दिने अवस्था छैन । नेता, कर्मचारी र व्यापारीलाई लुटेराको उपाधि मिलेको छ ।

यस्तो संकटको अवस्थामा नेकपाले एउटा अभियान चलाएको छ ः सामुहिक र संस्थागत उत्पदन अभियानको । उसले नारा लगाएको छ ः आत्मनिर्भर पार्टी, आत्मनिर्भर राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र । विश्वव्यापी आर्थिक संकट र नेपालको आर्थिक मन्दीको यो अवस्थामा सामुहिक उत्पदन अभियानको महत्व दीर्घकालीन र दूरदर्शी हुन सक्छ । जब–जब विश्वमा वा समाजमा ठूलाठूला आर्थिक संकटहरु आउँछन् तब–तब कयौं क्षेत्रहरु मूल्यहीन हुन सक्छन् । उदाहरणका लागि रोजगारीहरु गुम्न सक्छन्, जग्गा, जमीन र शेयरहरु मूल्यहीन हुन् सक्छन् र पैसाहरुसमेत नचल्न सक्छन् । जति ठूला संकटहरुमा पनि मान्छे बाँच्नका लागि खाना चाहिन्छ । भनिन्छ नि गाँस, बास र कपास मान्छेका न्यूनतम आवश्यकताहरु हुन् ।

आज रुप र युक्रेनको युद्ध रुसविरुद्ध अमेरिका र नेटो युद्धमा परिणत भएको छ र त्यो युद्ध छिट्टै टुंगिने अवस्थमा छैन । अर्काेतर्फ विश्वयुद्ध हुने भविष्यवाणी र अड्कलबाजीहरुको बीच हामी उभिएका छौँ । यस्तो विषम परिस्थितिमा नेकपाले एउटा दीर्घकालीन रणनीतिम महत्वको अभियान चलाएका छन् त्यो हो सामूहिक उत्पादन, आत्मनिर्भर राष्ट्र । शायद नेपालमा संस्थागत उत्पादन अभियान चलाउने पहिलो पार्टीनै  नेकपा हो । सामूहिक उत्पादनको अभियान चलाउने नेता हुन् विप्लव । परिस्थितिले माग गरेको छ ः आत्मनिर्भर अर्थतन्त्रको विकास गर ।

२. समाजवादी अर्थतन्त्रको भ्रुण हो सामूहिक उत्पादन प्रणाली ः पछिल्लो राजनीतिक उतार–चढावका बीचबाट नेपाली राजनीतिमा समाजवादी मोर्चाको बहस पनि चलेको छ । मोर्चा बनाउन सजिलो छ तर समाजवादी दृष्टिकोणको विकास गर्न चुनौतिपूर्ण छ । कम्युनिष्ट पार्टी, वाम गठबन्धन वा प्रगतिशील समूह बनाउन सजिलो छ तर व्यवहार परिवर्तन गर्न गाह्रो छ । केपी ओलीले एक ठाउँमा भनेका छन् ः मलाई कम्युनिष्ट पार्टीको झण्डा ओड्ने रहर छैन । स्पष्टै छ, ओली नेपाल र दाहालमा कम्युनिष्ट हुनुमा गर्व छैन । उनीहरुमा पुरानो दागलाई सफाइ गरेर हटाउन पाए हुन्थ्यो भन्ने अनुभूति छ । उनीहरुलाई आफ्नो इतिहासप्रति कुनै गर्व छैन । अब आपूm र आफ्नो इतिहासप्रति नै माया र सम्मान हुँदैन तब या त वितृष्णा यात अपराध बाँकी रहन्छ । यस्तो संकट, अविश्वास र अराजक परिस्थितिमा नेकपाले समाजवादको भ्रुण वा बिउको संरक्षण र विस्तार गर्ने अभियान चलाएको छ ।

एकातर्फ माओवादी हुँ भन्न लाज लाग्ने अवस्था छ र अर्काेतर्फ राष्ट्रवादी हुँ भन्न ग्लानी हुने अवस्था छ । पुराना नेताहरुका कारण उत्पन्न यो अवस्थालाई आशामा बदल्न निकै गाह्रो छ । समाज र राज्यमा भएको भ्रष्टीकरणको प्रभाव पार्टीमा नपर्ने कुरै भएन । सर्वत्र जसले चन्दा उठायो उ नै नेता बन्ने खतरा रहन्छ । चन्दा नउठाउने वा इमान्दारहरु सर्वत्र अस्तित्वको संकटमा पर्ने खतरा छ । यस्तो अवस्थामा हाम्रा होइन, राम्रा भन्ने अभियान चाहिन्छ । कमरेडी सम्बन्धको विकास गर्न के पार्टीले सक्ला ? जति छ, बाँडेर खाने संस्कृतिको विकास हुन सक्ला त ?

त्यसकारण चिन्ताको विषयय यो छ कि नेकपाको समाजवादी अभियान के सफल होला ? वास्तवमा जसरी पनि यो अभियान सफल हुनुपर्दछ । सामुहिकता नै मानवीय अग्र चेतना हो । स्वयं पुँजीवादीहरु पनि भन्छन् कि आफ्ना लागि त जो पनि बाँच्न सक्छ । अरुका लागि वा देश, समाज, पृथ्वी, ब्रह्माण्ड वा मानव जातिमा लागि बाँच्नु त महान् काम हो । नेकपाको यो अभियान हेर्दा सामान्य भए पनि यसको यात्रा निकै दीर्घकालीन छ ।

माक्र्सले भनेकै कुरा हो ः आजसम्मका दार्शनिकहरुले संसारको व्याख्या मात्र गरे तर व्यवहारमा उल्टो गरे । त्यसकारण सामूहिक उत्पादनको अभियानले समाजवादी दर्शनको वकालत गरेको छ । यो अभियान रोेकिएन र बढ्दै गयो भने एक दिन यो नेपालको पहिचान, सभ्यता र सम्पत्ति बन्नेछ । नेपालमा उत्पादन अभियानबाटै समाजवाद आउनेछ ।

प्रतिक्रियाहरु

[anycomment]