अभ्यासमा माक्र्सवादका आधारभूत प्रस्तावनाहरु

२०८० श्रावण १ गते, सोमबार

डा. केशव देवकोटा

नेपालमा नाममात्रका कम्युनिष्ट पार्टीहरुको संख्या बढ्दो छ । यस्तो हुनुका केही आधारभूत कारणहरु रहेका छन् । जसलाई हालको अवस्थामा बहसको विषय बनाइनु सान्दर्भिक हुन्छ । यसरी नाम मात्रका कम्युनिष्ट पार्टीहरुको संख्या बढ्नुको मुख्य दुई कारणहरु रहेका छन् । पहिलो जनतामा अन्य पार्टीको तुलनामा कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढी हुनु, दोश्रो विश्वमै कम्युनिष्ट पार्टीको आबरणमा कम्युनिष्ट राजनीतिलाई छिन्नभिन्न बनाउने प्रयास हुनु हो । नेपालमा उपरोक्त दुबै कुरालाई ध्यानमा राखेर केही नेताहरुले कम्युनिष्ट पार्टीको प्रयोग गरिरहेको देखिएको छ । त्यसैले नेपालमा कम्युनिष्ट पार्टीहरुका बारेमा बहस गर्नुको कुनै अर्थ छैन । किनकि नाम कम्युनिष्ट भए पनि कतिपय पार्टी कम्युनिष्ट दर्शनमा आधारित पार्टी होइनन् । कम्युनिष्ट राजनीतिका बारेमा भने बृहत् छलफल र विचार–विमर्शको आवश्यकता छ । जसलाई कम्युनिष्ट पार्टीका विश्वब्यापी मूल्य, मान्यता र आदर्शका आधारमा हेरिनु पर्दछ । यो आलेखमा माक्र्सवादका आधारभूत प्रस्तावनाहरुको आलोकमा नेपालको कम्युनिष्ट राजनीतिका बारेमा सामान्य संश्लेषण गर्ने प्रयास प्रयास गरिएको छ । जसले नेपालको कम्युनिष्ट राजनीति कता जाँदैछ र नेपालका कम्युनिष्ट पार्टीहरु के हुन् भन्ने कुराको ठम्याईमा मद्दत गर्ने देखिएको छ । माक्र्सवादका आधारभूत प्रस्तावनाहरुमा मालेमावाद, अन्तर्राष्ट्रिय भाइचारा, साँस्कृतिक क्रान्ति, बल प्रयोग र सर्वहारावर्गको अधिनायकत्वलाई लिने गरिन्छ । नेपालका प्रायः कम्युनिष्ट पार्टीहरुले उपरोक्त प्रस्तावनालाई सही ढंगले अपनाएका छैनन् मात्र होइन, अपनाउने प्रयाससमेत पनि गरिरहेका छैनन् । माक्र्सवादी राजनीतिको मूल आधार वर्ग संघर्षको राजनीति हो । जसभित्र आर्थिक, सामाजिक, सांस्कृतिक र जातीयलगायतका संघर्षहरु समाबेश भएका हुन्छन् । मानव समाज भनेकै वर्गीय समाज हो । जहाँ जानेर वा नजानेर पनि निरन्तर वर्गसंघर्ष भैरहेको हुन्छ । जसलाई कम्युनिष्ट राजनीति गर्न चाहनेहरुले सुनियोजित ढंगले शोषित पीडित र सर्वहारा वर्गको पक्षमा हल गर्नुपर्दछ भन्ने हो । यसैका लागि माक्र्सवादीहरुले जनताका अन्तर्बिरोधहरुको सही सञ्चालन कसरी गर्ने भन्ने कुराको पनि ब्याख्या र बिश्लेषण गरेका छन् । जुन पार्टी वर्गसंघर्षको सिद्धान्तलाई अपनाउँदैन, त्यो कम्युनिष्ट पार्टीनै होइन ।

शोषित पीडित जनताको पक्षमा वकालतगर्ने नेतृत्वदायी संगठन भनेकै कम्युनिष्ट पार्टी हो । कम्युनिष्ट पार्टी निर्माणको सैद्धान्तिक आधार भनेको माक्र्सवाद–लेनिनवाद हो । त्यसैले मालेमावादलाई नअपनाउनेहरुले कम्युनिष्ट पार्टी भएको दावी गर्नु आफैँमा राजनीतिक बेइमानी हो । जस्तो नेपालमा एकथरी कम्युनिष्ट पार्टीले सामन्तवादको नाइके पार्टी नेपाली कांग्रेससँग दीर्घकालीन सहकार्य गरिरहेका छन् । उनीहरुको त्यो कर्म वर्गसंघर्षको सिद्धान्तको ठीक बिपरित कुरा हो । उनीहरुले त्यसरी नेपाली कांग्रेससँग सहकार्य गर्नुपर्नाका विभिन्न तर्कहरु अगाडि सार्ने गरेका छन् । यदि शोषित, पीडित नेपाली जनताको पक्षमा राजनीतिक परिवर्तनका लागि कम्युनिष्ट समूहहरुले कांग्रेससँग केही समयका लागि सहकार्य गर्दछन् भने त्यो सही हुन्छ । जस्तो ०४६ सालको आन्दोलनमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनाका लागि कम्युनिष्ट पार्टीहरुले केही समयका लागि नेपाली कांग्रेससँग सहकार्य गरेका थिए । ०४६ सालको आन्दोलन सफल भएपछि कम्युनिष्ट र कांग्रेसको बाटो अलग भएको थियो । कांग्रेसले त्यसपछि बहुदलीय संसदीय व्यवस्थालाई अपनाएर सत्ता राजनीतिमा प्रबेश गरेको थियोभने कम्युनिष्टहरुले बहुदलीय व्यवस्थालाई ‘खसीको टाउको राखेर कुकुरको मासु बेच्ने व्यवस्था’ भनेका थिए । कम्युनिष्ट नामको प्रयोग गर्नेमध्ये पनि एमालेले पार्टीको बैठकबाट औपचारिकरुपमै निर्णय गरेर माओ विचारधारा परित्याग गर्दै जनताको बहुदलीय जनवाद अपनाएको थियो भने उसले सत्ता राजनीतिलाई रोजेको थियो । त्यसपछि उसले बहुदलीय संसदीय व्यवस्थालाई नै आफ्नो सर्बश्व ठान्यो । विचारका हिसावले एमाले र कांग्रेस निकट देखिए । त्यसैले नेकां र एमाले कैयन पटक सत्तामा पक्ष र प्रतिपक्ष तथा कैयन पटक सत्ता साझेदार पनि भए । एमालेहरु राप्रपाका नेताको नेतृत्वमा सरकारमा जान पनि हिचकिचाएनन् । केहीले ०४६ सालको राजनीतिक परिवर्तनपछि भएको ०४८ सालको निर्वाचनलाई उपयोग गरे । तर, त्यसबाट आफ्नो राजनीतिक अभिष्ट पूरा नहुने ठहर गरेपछि जनयुद्धको बाटो पनि अपनाए । कतिपय कम्युनिष्ट पार्टीहरुले बहुदलीय संसदीय व्यवस्थाअन्तर्गतको सत्तामा जान रुचाएनन् । ०४६ सालमा राजनीतिक परिवर्तन भएको भनिए पनि त्यो नाम मात्रको हुन पुग्यो । कांग्रेसहरुले पूर्वपञ्चको सिको गरे भने एमालेहरुले पनि नेपाली कांग्रेसको सिको गरे । जसलेगर्दा ०४६ मा पुनस्र्थापित बहुदलीय व्यवस्था ०५८ हुँदा नहुँदै संकटग्रस्त भएर देशमा फेरि निरंकुश राजनीतिमा प्रबेश गरेको थियो । कतिपय कम्युनिष्ट पार्टीले वर्गसंघर्ष भित्रको एउटा अंश जातीय संघर्षलाई मात्र प्रमुखता दिए । जसले राजनीतिमा साम्प्रदायिताको प्रबेश हुनपुग्यो । केही कम्युनिष्ट पार्टीहरुले त्यसलाई पहिचानको आबरण दिए । जातीय पहिचानको पछि लागेका हुनाले उनीहरुले आर्थिक, सामाजिक र सांस्कृतिक संघर्षलाई भुले । बरु पहिचानको राजनीतिले परम्परागत संस्कृतिको संरक्षणगर्ने काम ग¥यो ।

जनयुद्ध भएको भनिएको देशमा आज पनि परम्परागत भूतप्रेतमा आधारित जात्रा र चाडपर्बहरु कायमै रहनु उपरोक्त कुराको ताजा उदाहरण हो । देशका केही कम्युनिष्ट पार्टीहरु जातीय पहिचानतिर लागेका कारणले देशको पहिचान हराउँदै गएको छ । खासमा आजको २१ औं शताब्दीमा पनि जातीय राजनीति गर्नेहरु कम्युनिष्ट होइनन् । उनीहरुले घुमाउरो पाराले पुरानै सामन्तवादी व्यवस्थाको संरक्षण गरिरहेका हुन्छन् । हाल विश्व साम्राज्यवादले आफ्नो फुटाउ र शासन गर भन्ने नीतिको सफल कार्यान्वयन र कम्युनिष्ट बिरोधी हर्कतलाई अगाडि बढाउनका लागि चिहानमा पुगिसकेको जातीय कुरालाई उदिनेर अगाडि ल्याउने प्रयास गरिरहेको छ । यसरी कतिपय कम्युनिष्ट समूहहरु वर्गसंघर्षको राजनीतिबाट बिमुख हुँदै परोक्षरुपमा साम्राज्यवादीहरुको हतियार÷मतियार बन्न पुगेका छन् । जो संयुक्त राष्ट्रसंघको नीतिलाई कार्यान्वयन गर्न÷गराउन अग्रसर छन् । नेपालका कतिपय कम्युनिष्ट पार्टीहरुले अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धलाई बिर्सेका छन् । यतिसम्म कि नेपालका प्रायः कम्युनिष्ट पार्टीहरुले छिमेकी चीन र भारतका कम्युनिष्ट पार्टीहरुसँग समेत सम्पर्क गर्न छाडेका छन् । बरु नेपालका केही कम्युनिष्ट नामधारी पार्टीहरु भारतको गैरकम्युनिष्ट पार्टी भाजपासँगको सहकार्यमा रहेका छन् । यसअघि नेपालका कतिपय कम्युनिष्ट पार्टीका नेताहरुको सम्बन्ध भारतीय कांग्रेस आईसँग रहेको देखिन्थ्यो । नेपालका कतिपय कम्युनिष्ट पार्टीहरुले चिनियाँ कम्युनिष्ट पार्टीलाई चीन भ्रमणका लागि मात्र उपयोग गर्ने गरेको देखिएको छ । उनीहरुले चिनियाँ कम्युनिष्ट पार्टीसँग अन्तरंग भाइचारा सम्बन्ध कायम गरेको वा गर्न चाहेको देखिएको छैन । नेपालका कम्युनिष्ट पार्टीहरुले सांस्कृतिक क्रान्तितर्फ खासै आफ्नो ध्यान केन्द्रित गरिरहेका छैनन् । बरु कतिपयले परम्परागत धर्म संस्कृतिलाई अपनाउँदै गएको देखिएको छ । नेपालमा हालसम्म पनि ५०० वर्षअघि देखिका सांस्कृतिक पर्वहरु यथावत् रहेका छन् ।

पछिल्लो समयमा प्रगतिशील साहित्यमा समेत कमी आएको छ । परम्परागत संस्कृति र साहित्यका गलत पक्षकाबारेमा बहससमेत हुन छाडेको छ । सर्वहारा वर्गको अधिनायकत्वको कुरा त कागजमा मात्र सीमित छ । राज्यका विभिन्न अंगमा वर्गीय समाबेशी हुनुपर्नेमा जातीय समाबेशीका कुराहरु ल्याइएका कारण कतिपय शोषक सामन्तहरु नै जातीय आरक्षणको अबरणमा राज्यको माथिल्लो तहमा पुग्न सफल भएका छन् । कम्युनिष्ट पार्टीका नेताहरुले शासन गरेको अवस्थामा पनि भ्रटाचार मौलाउँदो छ । नातावाद, कृपावाद र शोषण बढ्दो छ । गरीव जनताका छोराछोरी खाडी मुलुकमा र सत्ता र शक्तिमा रहेकाहरुका छोराछोरी र आफन्तहरु सहजै सत्ता र शक्तिमा पुग्नेक्रम जारी छ । जहानियाँ भनिएका राणा र राजाका शासनहरु ढले पनि राजनीतिमा नेपालमा जहानियाँतन्त्रको हालसम्म अन्त्य हुन सकेको छैन । आज पनि एउटै परिवारका कैयन ब्यक्तिहरुको पार्टी र शासन सत्तामा हैकम कायमै छ । नेपालका कतिपय कम्युनिष्टहरुले बल प्रयोगको सिद्धान्तलाई भने प्रमुखताका साथ उपयोग गर्ने गरेको देखिएको छ । त्यो बल प्रयोग पनि मालेमावादमा आधारित भने देखिएको छैन । जसलाई ब्यक्तिगत र समूहगत स्वार्थ साधनामा प्रयोग गर्ने गरिएको पाइन्छ । नेपालमा कम्युनिष्ट पार्टी गठन गर्नासाथ कि त सत्ताको भ¥याङ चढ्न प्रयत्न गर्ने कि भने बम र बन्दूकको जोहोतिर लाग्ने गरेको देखिन्छ । खासमा उपरोक्त दुबै कुरा गलत हुन् । कम्युनिष्टहरुले जनताको सेवालाई प्रमुखता दिने, जनतालाई संगठित गर्ने र जनताकै बलमा आफ्नो राजनीति अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ । अन्यथा नेपालको कम्युनिष्ट आन्दोलन सही ढंगले अगाडि बढ्न सक्दैन । कम्युनिष्टको खोल ओढेर कांग्रेसको राजनीति गर्नेहरुले केही समय व्यक्तिगत लाभ हासिल गर्लान् तर शोषित पीडित जनताका लागि केही पनि हुनेवाला छैन ।

प्रतिक्रियाहरु

[anycomment]